• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अन्वेषण अधिकारी
२०८१ जेठ १९ शनिबार ०८:५९:००
साहित्य

कथाले भरिएका हाम्रा अस्पताल

नेपालमा स्वास्थ्यसम्बन्धी विषय साहित्य वा सिनेमामा गहिरोसँग आउन सके समाजमा नयाँ बहस सुरु हुन्छ

२०८१ जेठ १९ शनिबार ०८:५९:००
अन्वेषण अधिकारी

 

मलाई दिनमा एउटा राम्रो कविता वा कथा पढेर आनन्द लिएर सुत्न पाइयो भने त्यो दिन सुखद भएजस्तो अनुभव हुन्छ । तर, पछिल्लो समय अध्ययनका लागि चाहिने समय व्यवस्थापन गर्न सकेको छैन । दैनिक ४५ मिनेट वा एक घन्टा समय व्यवस्थापन गर्न पाउँदा पनि निकै खुसी लाग्छ । कुनै उपन्यास वा पुस्तकलाई टुंगोमा पुर्‍याउन पाउँदा आउने मीठो भावना र सन्तुष्टि अमूल्य नै लाग्छ ।


कस्तो पुस्तक अरूलाई पढ्न सुझाउने भन्ने प्रश्न उठ्दा मलाई के लाग्छ भने मैले सुझाएका किताबको अरूका लागि उही माने वा मतलब नहुन सक्छ । जस्तै, मेरो विश्वचेत अलिक खुल्दै गरेको वेलामा मलाई कुन किताबको सबैभन्दा बढी प्रभाव प¥यो होला भन्ने सोच्दा म केही पुस्तक र लेखक सम्झन्छु । मेरा साथीले मेरो बारेमा टिप्पणी गर्दा नैतिकता र पेसागत निष्ठाबारे आवश्यकताभन्दा धेरै नै चिन्ता गर्छ भन्छन् ।

 

खासमा आफ्नो चेतना विकास हुँदै गर्दा पढेका केही पुस्तकले मभित्र यस्ता भावना विकास गरे भन्ने लाग्छ । लियो टल्सटोयको ‘पुनरुत्थान’, जुन मैले भीष्म साहनीको हिन्दी अनुवादमा पढेको थिएँ, फ्योदोर दोस्तोवस्कीको ‘अपराध र दण्ड’, अनि सानोमा आमाले सुनाउने नीतिकथाको प्रभाव यो दिशामा बढी थियो । त्यसै वेलातिर किताबलाई पछ्याउँदै जाँदा पहिले रवीन्द्रनाथ ठाकुर र पछि बट्र्रेन्ड रसेल दुईजनालाई भेटेँ, त्यसपछिका केही वर्ष ती दुई लेखकका भेटेजति सबै पुस्तक पढ्न लागेँ ।

हाम्रो कामका दौरानमा कतिपय त्यस्ता विन्दु पनि हुन्छन्, जहाँ हाम्रो थोरै बढी ऊर्जा, थोरै बढी माया, थोरै बढी धैर्यता र समयले बिरामीको जीवन र उसको परिवारको जीवनमा ठूलो फरक पार्न सक्छ । त्यस्ता विन्दुलाई ठीक समयमा पहिचान गर्न सक्नु राम्रो डाक्टरको खुबी हो ।

 

ठाकुर युगकै सबैभन्दा प्रखर कवि हुनुका अलावा आधुनिकताउन्मुख दक्षिण एसियाली प्रबोधनका सबैभन्दा ओजस्वी उदाहरण थिए, र अर्कोतर्फ यहाँको प्राचीनकालदेखिको सभ्यताका राम्रा, धारण गर्न लायक सबै गुणहरूलाई जीवन्त बनाउने सबैभन्दा बेजोड व्यक्तित्व र दार्शनिक थिए । दार्शनिक र गणितज्ञसमेत रहेका रसेल तार्किक सोच पद्धतिलाई पैरवी गर्ने गजबका लेखक थिए । अनि नेपाली लेखकमा बिपीका मोदीआइनजस्ता कृतिले पनि प्रभावित गरे । यो सम्झँदा मलाई के लाग्छ भने मैले सुझाएका किताब होइन, सबैले त्यसैगरी पढ्दै जाने र आ–आफ्ना लागि ठाकुर, रसेल र बिपीलाई पत्ता लगाउनुपर्छ ।


नेपालीमा बिपीका कथा र उपन्यास मलाई मनपर्छ । मोदीआइन त छोरीहरूलाई पनि पढेर सुनाइसकेँ । शंकर लामिछानेका निबन्ध, गोपालप्रसाद रिमाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, विमल निभा र भूपी शेरचनका कविता मनपर्छ । नेपालीमा विश्वस्तरका कृति थुप्रै छन् । जस्तै, कुनै वेला दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’ पढ्दा अप्रत्यासित रूपमा त्यो चेतनाले हिर्काएको सम्झन्छु । नेपाली लेखकका कृति विश्वस्तरका भईकन पनि विश्वबजारमा पुग्न नसकेको मुख्य कारण चाहिं विदेशमा जस्तो लेखकका कृतिलाई सकेसम्म सबै दृष्टिकोणले परिष्कृत बनाउन अनेक मिहिनेत गर्ने सम्पादकीय अभ्यास छैन । त्यसका लागि त्यस्तो क्षमता र लगन भएका सम्पादक, तिनलाई उपयोग गर्ने प्रकाशन गृह, त्यस्ता सम्पादकसँग सहकार्य गर्न र परेमा २०–२५ पटक पनि आफ्नो कृति पुनर्लेखन गर्ने धैर्य भएका लेखक नै नभएकाले होला ।


भर्खरै मात्र ‘भुक्तमान’ पढेर सिध्याएँ । यस पुस्तकको विमोचनमा पनि वक्ताका रूपमा थिएँ । सञ्चारकर्मी धीरेन्द्र सिनालले लेख्नुभएको यो पुस्तकले नेपालको स्वास्थ्य प्रणालीलाई एउटा बिरामी र तिनका परिवारको आँखाबाट हेरेको छ ।गर्भवती श्रीमतीको मिर्गौला खराब भएपछि उपचारका क्रममा आउने जटिलतालाई उहाँले पुस्तकमा उतार्नुभएको छ । १० वर्षसम्म उहाँहरूले भोग्नुपरेको सास्तीले साँच्चै रुवाउँछ । उपचारका लागि कहिले काठमाडौं, कहिले पश्चिम तराईका जिल्ला, कहिले सीमापारिका जिल्ला र कहिले दिल्लीका ठूला अस्पताल धाउँदाका अनुभव यसमा छन् । त्यहाँ अन्य बिरामीका अनुभव, चिकित्सकको व्यवहार, विद्यमान प्रणालीले औसत बिरामीलाई गरेको व्यवहारलगायत पुस्तकमा समेटिएका छन् । राज्यले काठमाडौंमा बनाएको नीति मोफसल पुग्दा कसरी काम नलाग्ने भइसक्छ भन्ने कुरा मिहिन रूपमा चित्रण गर्नुभएको छ ।

हाम्रो पेसा नै विशेष आँखीझ्याल हो । विपन्नदेखि उच्च वर्गसम्मका समाजका विभिन्न तहका मानिस भेट्न पाइन्छ । देशका विभिन्न वर्ग, विभिन्न आर्थिक श्रेणीका मानिस आउने भएकाले यहाँ बस्दा समाजबारे धेरथोर जानकार भइन्छ ।


एउटा बिरामी भएको परिवारको मानिसले हेर्दा हाम्रो स्वास्थ्य प्रणाली कस्तो देखिन्छ ? यस विषय जान्नका लागि पुस्तक उपयोगी छ । स्वास्थ्यसम्बन्धी सबै सरोकारवाला र राज्यको नीति बनाउनेहरूले यो पुस्तक पढ्नैपर्छ ।रमेश विकलको ‘आज फेरि अर्को तन्ना फेरिन्छ’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’लगायतमा अस्पतालको चित्रण छ । तर, ती फिक्सन भए । विनोदविक्रम केसीले आफ्नी आमा बिरामी हुँदाको भोगाइबारे मर्मस्पर्शी छोटा निबन्ध लेख्नुभएको छ । तर, आम नेपालीको नेपालको स्वास्थ्यसेवा प्रणालीको भोगिएको प्रथम पुरुष अनुभव र ती अनुभवका गल्लीहरूबाट देखिने नेपालको स्वास्थ्य सेवा प्रणालीको जस्तो विस्तृत चित्र सिनालजीले व्यक्तिगत संस्मरणका रूपमा लेख्नुभएको छ, त्यसरी पहिले लेखिएको थिएन जस्तो लाग्छ ।


म फिक्सनभन्दा पनि ननफिक्सन धेरै पढ्ने गर्छु । स्वास्थ्यसम्बन्धी अनुसन्धानमूलक लेखहरूको लेखपढ हुन्छ नै । विशेषगरी ट्विटरमा धेरै समय बित्छ । त्यहाँ सेयर गरिएका राम्रा आलेख पढ्न मन लाग्छ । प्रायः ननफिक्सन नै हुन्छन् ।विगत केही महिनामा पढेका किताबमा पाउलो फ्रेरेको ‘पेडागोजी अफ द अप्रेस्ड’ पढ्न साथीहरूले लामो समयदेखि नै सुझाब दिइरहेका थिए । केही महिनाअघि पढेर सकेँ । समाजकै क्रान्तिकारी रूपान्तरण गर्ने शिक्षा कस्तो हुन्छ, त्यस्तो रूपान्तरणकारी शिक्षा लिने–दिने कसरी हो, यसका मुख्य पात्र को हुन्छन्, गुरुहरूमा कस्ता गुण हुनुपर्छ लगायत विषय यसमा छन् । रोमन सम्राट् र ‘स्टोइक’ दार्शनिक मार्कस अरेलियसको ‘मेडिटेसन्स’ पनि भर्खरै पढेको कृति हो । यो दुई हजार वर्षभन्दा अघि लेखिएको कृति हो । 


आजकल पढ्नेभन्दा अडियो बुक र पडकास्ट सुन्ने बढी हुन्छन् । यसै सालमा अल्जेरियन मूलका फ्रेन्च उपन्यासकार अबलेर कामुको ‘द प्लेग’ सुनेँ । पहिले आइएस्सी कालमा पढेको थिएँ । कोभिड सुरु भएदेखि नै यो पुस्तकमा फर्कन मन लागिरहेको थियो । १९४७ मा लेखिएको यो पुस्तकमा महामारी आउँदा समाजका विभिन्न तप्काका मानिसले कसरी व्यवहार गर्छन् भन्ने कथा छ । यो अस्तित्ववादी दर्शनबाट प्रभावित उपन्यास हो । जेम्स बाल्डविनका निबन्धको संग्रह ‘नोट्स फ्रम अ नेटिभ सन’ पनि यसै साल सुनेको कृति हो । उनी आफ्ना लेखनीमा सत्य र न्यायको बफादारी र पिँधमा पुगेकाको पैरवी मर्मभेदी दृष्टि र ओजपूर्ण शैलीसाथ राख्ने अश्वेत अमेरिकी लेखक हुन् । 


अहिले एम्पायर भन्ने पोडकास्ट सुनिरहेको छु । यसमा दुई इतिहासविद् विलियम डेरिम्पल र अनिता आनन्दले मानव समाजमा गएको ५–६ हजार वर्षदेखि उदाएका र अस्ताएका विभिन्न साम्राज्य, जस्तै– पर्सियन साम्राज्य, ग्रिक साम्राज्य, मेसिडोनियन साम्राज्य, बेलायती साम्राज्यलगायतको गठन र विघटनको इतिहासबारे रोचक चर्चा गरेका छन् । यो सुन्दा विभिन्न किसिमका क्रान्ति, दासप्रथा, विश्व व्यापार, संस्कृतिहरूको विकास आदि अनेक विषयमा कसरी प्रभाव पारे र विश्व समाज आजको अवस्थामा आइपुगेको छ भन्नेबारे धेरै बुझिन्छ ।


बानिरा गिरीको ‘कारागार’ पनि पहिलेदेखि पढ्नुपर्ने भनेर राखिरहेको थिएँ । आमा बिरामी छँदा अस्पताल कुर्न बस्दा पढेर सकेँ । यस अवधिमा पढेको प्रगति राईको ‘थांग्रो’ उपन्यास पनि निकै मनपर्‍यो । राजु स्याङ्तान मलाई असाध्यै मनपर्ने कवि हुन् र लामो प्रतीक्षापछि उनको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ पढ्न पाइयो । त्यो सारै मन परेको थियो । नयाँ कवितामा मेरा जेठान दाजु गणेश श्रमणको संकलन ‘आगो लिएर गाउँ–गाउँमा’ का केही कविता आफ्नै मान्छेको भएकाले पनि प्रिय लाग्छन् । 


अस्पताल कथाको भण्डार
जनजीवन पनि देखिने गरी, सरकारलाई पनि दबाब हुने गरी, रचनात्मक तरिकाले अझै धेरै साहित्य सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ । आन्तोन चेखव, आर्थर कोनन डोयल, माइकल क्रिकटन, खालेद होसेनी, ओलिभर स्याक्सजस्ता केही डाक्टरले आफूलाई इतिहासमा महान् साहित्यकारका रूपमा स्थापित गरेका छन् । उनीहरूको लेखाइमा अन्तज्र्ञान, संवेदनशीलता, पात्रका मनोभावको सूक्ष्म बुझाइ देखिन्छ । चिकित्सा पेसाको अभ्यास र प्रशिक्षणले पनि उनीहरूको लेखाइमा तीक्ष्णता ल्याउन भूमिका खेलेको हुनुपर्छ ।


हाम्रो पेसा नै विशेष आँखीझ्याल हो । विपन्नदेखि उच्च वर्गसम्मका समाजका विभिन्न तहका मानिस भेट्न पाइन्छ । विभिन्न समुदाय र क्षेत्रबाट आउनुहुन्छ । यही कीर्तिपुर अस्पतालमा सुदूपश्चिम र कर्णालीका धेरै बिरामी आउनुहुन्छ । देशका विभिन्न वर्ग, विभिन्न आर्थिक श्रेणाीका मानिस आउने भएकाले यहाँ बस्दा समाजबारे धेरथोर जानकार भइन्छ ।मैले कतिपय कवि र लेखकलाई बिरामीका रूपमा पनि भेटेको छु । निको भइसकेपछि हस्ताक्षर गरेर आफ्ना कृति दिनुहुन्छ । साहित्यप्रेमी बिरामीसँग साहित्यको कुरा पनि चल्छ । 


समाजमा कतिपयले डाक्टरको पेसालाई मानिसहरूले दया, करुणासँग र निःस्वार्थतासँग मात्र जोडेर रोमान्टिसाइज गर्छन् । तर, यसरी अतिरञ्जित गर्दा उल्टै मानिसका पूरा हुन नसक्ने गरी अपेक्षा बढ्छन् ।डाक्टर कतिपय अवस्थामा मात्र एउटा सामान्य सिपाही, कारिन्दा वा मानिसको स्वास्थ्य समस्यामा सहयोगी हो । ऊसँग कुनै मायावी शक्ति हुँदैन । बाहिरबाट बिरामीलाई देख्नेबित्तिकै सबै थाहा हुने पनि होइन । जादुले निको पार्ने क्षमता पनि हुँदैन । अस्पताल सञ्चालन गर्ने सयौँ कर्मचारी हुन्छन् । कोही निको भए भने एउटा डाक्टरको मात्र प्रतापले होइन, सारा प्रणालीको कारणले निको हुने हो । 


तर, हामीले सारा सिस्टमको प्रतिबिम्बका रूपमा एउटा डाक्टरलाई उभ्याएर हेर्छौं  । धेरैजसो अवस्थामा, हामी सामान्य कारिन्दा मात्रै हौँ । तर, त्यसो भन्दै गर्दा हाम्रो कामका दौरानमा कतिपय त्यस्ता विन्दु हुन्छन्, जहाँ हाम्रो थोरै बढी ऊर्जा, थोरै बढी माया, थोरै बढी धैर्यता र समयले बिरामीको जीवन र उसको परिवारको जीवनमा ठूलो फरक पार्न सक्छ । त्यस्ता विन्दुलाई ठीक समयमा पहिचान गर्न सक्नु राम्रो डाक्टरको खुबी हो ।


डाक्टर र बिरामीबीचको सम्बन्ध निकै गहिरो हुन्छ । अरूलाई कसैलाई नभनेका कुरा पनि बिरामीले डाक्टरलाई भनेका हुन्छन् । उहाँहरूबाट डाक्टरले स्वास्थ्यसम्बन्धी धेरै विवरण पाउँछन् । त्यसका कारण खोज्दा सामाजिक पक्ष आउँछ । बुढाबुढीको झगडा पर्छ वा पर्दैन । ऋण छ वा छैन । मानसिक समस्या किन छ ? यस्ता कुरा थाहा हुन्छ । बिरामीलाई लिएर डाक्टरका भोगाइ फरक–फरक हुन्छन् । कुनै वेला धेरै भावुक भइएला, कुनै वेला कम भावुक भइएला । थाम्न गाह्रो होला । कतिपय घटनाले रुवाउँछन् । बिरामीसँग उपचारमा संलग्न हुँदा नजिक भइएको हुन्छ । उनीहरूसँगको अन्तर्क्रियाले एउटा भावनात्मक सम्बन्ध बनेको हुन्छ । चिकित्सकको यो अनुभव साहित्यमा काम आउन सक्छ । यस्ता धेरै कथा अस्पतालमा हुन्छन् ।


नेपालमा बिरामीले स्वास्थ्यसँगै ठूलो आर्थिक समस्या पनि बोकेर आएका हुन्छन् । कहिलेकाहीँ महँगो औषधि चलाउनुपर्ने हुन्छ । तर, बिरामीसँग पैसा नहुन सक्छ । सबैलाई तनाव हुन्छ । एउटा प्रणालीमा चलेको देशमा यस्तो समस्या नहोला । भारतमै विपन्न नागरिकका लागि धेरै सहुलियत छ । हाम्रोमा घोषणा धेरै भएको छ । तर, कार्यान्वयन कम हुन्छ । राम्रो नेतृत्व र व्यवस्थापन क्षमता हुने हो भने अहिलेभन्दा धेरै राम्रो उपचार दिन सकिन्थ्यो होला ।


स्वास्थ्य बिमा पनि सोचेजस्तो प्रभावकारी छैन । सबै अस्पताललाई यसले समेटेको छैन । बिमा सुविधा भएका अस्पतालमा धेरै विषयका विशेषज्ञ चिकित्सक उपलब्ध नहुन सक्छन् । सर्वसाधारणका आवश्यकता पूरा गर्नभन्दा पनि अनावश्यक परीक्षण गरेर सरकारको पैसा दुरुपयोग गर्नका लागि बिमा सेवा भएजस्तो पनि देखिन्छ ।


नेपालमा स्वास्थ्यसम्बन्धी विषय साहित्य वा सिनेमामा गहिरोसँग आउन सके समाजमा नयाँ बहस सुरु हुन्छ । लकडाउनकै विषयमा धेरै कथाहरू बन्न सक्छन् । अहिले ननफिक्सन पुस्तकहरू आएका छन् । स्वास्थ्य प्रणालीमा नीतिगत सुधारका कुरा आइरहेका छन् । केही समयपछि फिक्सनमा पनि आउला । आधुनिक मानव इतिहासमै विश्वभर यति नराम्रो अनुभव बिरलै भयो । यही देशमा पनि उपचारै नपाएर मर्ने, अक्सिजन लगाइरहेका बिरामीलाई अक्सिजन सकियो, अब जता जान सक्छौँ जाओ भन्ने र हाहाकार हुने अवस्था आयो । यो कथा सायद कसैले लेख्दै होलान् । केही कविताहरूले लेखिसक्नुभयो ।


स्वास्थ्यबारे साहित्य लेख्न प्राविधिक ज्ञान भने जरुरी हुन्छ । विज्ञान सारक्षता चाहिन्छ । साइन्स फिक्सन वा हेल्थकेयरसम्बन्धी फिल्म वा पुस्तक निकाल्नेहरूले स्वास्थ्य र विज्ञानबारे धेरैभन्दा धेरै अध्ययन गर्न जरुरी छ । त्यसपछि मात्र उनीहरूले प्राविधिक पक्ष आफैँ खोज्न र पर्गेल्न सक्छन् । त्यसलाई सही रूपमा व्याख्या गर्न पनि उनीहरू सक्षम हुन्छन् । वा, सुरुवाती चरणको लेखनदेखि नै कोही विज्ञको सहयोग लिँदा यथार्थपरक हुन्छ ।

-प्रस्तुति : अन्वेषण अधिकारी