• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अन्वेषण अधिकारी
२०८१ जेठ २६ शनिबार ०६:१५:००
साहित्य

लेखक सत्ताको दुस्मन कि सहयोगी ?

२०८१ जेठ २६ शनिबार ०६:१५:००
अन्वेषण अधिकारी

विश्वका एकथरी विद्वान् अब भन्नलाई बाँकी नयाँ कुरा केही नरहेको बताउँछन् । त्यसकारण, कुन ढंगले भन्नेमा उनीहरू जोड दिन्छन् । तर, संसारसित संसारलाई सुनाउन बाँकी कुरा त कति रहेछन् कति । ती कुरा अहिले आइरहेका छन् । खासगरी हाम्रोजस्तो मुलुकमा त झन् नारीका कुरा, दुर्गमका कुरा, जनजातिका कुरा, दलितका कुरा भन्न कति रहेछन् कति । अहिले विश्वकै लेखक–साहित्यकारले, चिन्तकहरूले फेरि यी विषय अगाडि ल्याइरहेका छन् । नाटकहरू, सिनेमाहरू उत्तिकै बनिरहेका छन् । 


हाम्रै कुरा गर्ने हो भने पनि युरोपको कथा भनेर हाम्रा सिनेमा त्यहाँका फिल्म फेस्टिबलमा छनोट भएका होइनन् । यहीँका हिजो नआएका, भन्न बाँकी कथा बोकेर गएका हुन् । ०६३ सालको परिवर्तनपछि हाम्रो मुलुकमा सूचना, सञ्चार र यातायातको क्षेत्रले फड्को मार्दा यसअघि नजोडिएका गाउँ, बस्ती, सहर र विश्व जोडिए । इन्टरनेट गाउँ–गाउँमा पुग्यो । अहिले ती गाउँबाट नयाँ सर्जक नयाँ कथा लिएर सहर आइपुगेका छन् ।


सहरका सर्जक सहरी सभ्यता बोकेर सांग्रिलाको खोजीमा निस्किएका छन् । जसले आजको सिर्जनामा आमूल परिवर्तन देखिन थालेका छन् । राजनीतिमा झैँ साहित्यमा पनि एक प्रकारको परिवर्तन वा अन्तर्यात्रा त चलिरहन्छ । दलितमाथि पहिले पनि लेखिएका थिए, अहिले पनि लेखिँदै छन् । हिजो बार्दलीमा बसेर साहित्यकारले भुइँ चिहाउँथे होलान् । तिनले तलको मानिसप्रति सद्भाव राखेर लेख्थे होलान् । तर, अहिले त भुइँमै बसेर, भुइँकै समुदायको लेखकले सिर्जनामार्फत ‘म यहाँ छु’ भनिरहेका छन् । यसको अर्थ हिजो लेख्नेहरूले कमजोर लेखे भन्ने होइन ।

चुनावमा जसले नेताका अगाडि नाचिदिन्छ, जसले गुनगान गाइदिन्छ, उसैलाई राज्यले चिन्छ । किनभने सत्तामा तिनै पुग्छन् । तिनले अरूलाई लेखक कलाकार नै देख्दैनन् । नेता वा सरकारको गल्ती–कमजोरीबारे जसले लेख्छ, बोल्छ उसलाई किनारामा धकेल्दै लैजाने मण्डले प्रवृत्ति लोकतन्त्रका शासकमा झन् बलियो छ । यो खराब मनोविज्ञानलाई बदल्नुपर्छ । 

 

राजनीतिक, सामाजिक रूपान्तरणको गाढा उज्यालो अहिलेको साहित्यमा देखिँदै छ भन्ने हो । यद्यपि, साहित्य अग्रजहरूकै अनुकरण गर्दै परिस्कृत भएर आउने कुरा हो । फुइँफुट्टा त धामीझाँक्री मात्रै हुन्छन् । त्यो उनीहरूको विशेष क्षमता हो । लेखक त्यसरी आउने होइन, तर कोही असामान्य लेखक नयाँ विचार, नयाँ दर्शन, नितान्त नयाँ शिल्प लिएर आउन सक्छ । कपिल, बुद्ध जन्मेको भूमि यही हो, नआउलान् भन्ने ठाउँ छैन, तर युगले कुर्नुपर्छ । नत्र त परम्परा पछ्याएरै, सिक्दै, अनुकरण गर्दै आउने हो । हामीले परम्परालाई पछ्याइरहँदा पनि हाम्रो क्षितिजलाई अझ फराकिलो बनाइरहेकै हुन्छौँ । देवकोटाबाट सिकेर देवकोटै भइने त होइन नि । 


नेपालमा जति पनि मातृभाषा छन्, ती सबैको समग्र साहित्य नै नेपाली साहित्य हो । तिनका सौन्दर्य, रहस्य, दर्शन, वैचारिकीसमेतलाई निचोरेर, सार खिचेर ल्याएपछि बल्ल नेपाली साहित्यको पूर्ण तस्बिर बन्छ । अझैसम्म नेपाली साहित्य भन्नासाथ हाम्रो दिमागमा आउने तस्बिर नेपाली खसभाषाको साहित्य भन्ने मात्रै छ । जब समग्र तस्बिर आउँछ, अनि बल्ल त्यसले विश्व साहित्यमा आफ्नो अस्तित्व खोज्न सक्छ । अनि मात्रै हामीले विश्व साहित्यमा हामी कहाँनेर छौँ भनेर तुलना गरेर हेर्ने ठाउँमा आफूलाई पाउँछौँ । 


मलाई लाग्छ, अहिले नेपाली साहित्यको पुनर्जागरण (रेनेसाँ) को समय हो । तर, हिजो पनि हाम्रो साहित्य कमजोर थिएन । अहिले त झन् हुने कुरै भएन । हिजोका परम्परागत साहित्य होस् वा आधुनिक साहित्य हामी कमजोर छैनौँ । निरंकुश व्यवस्थाका समयमा दबाइएका आवाज लोकतन्त्रको प्राप्तिपछि अझ मुखरित हुन थालेका छन् । तसर्थ यो समयलाई अबका लेखक, साहित्यकारले स्वर्णकाल बनाउन सक्छन् । जसले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउन सक्नेछ । लेखकका आआफ्नै धारणा हुन्छन् । कसैले समाज बदल्न वा समाजलाई अग्रगति दिन गरिने महान् कर्मका रूपमा साहित्यको वकालत गर्छन् । कसैले स्वान्त सुखायः वा एरिस्टोटलले भनेजस्तो विरेचनको कुरा गर्छन् । जे होस्, हामीलाई सबैखाले साहित्य चाहिन्छ । यी सबैखाले साहित्यले मानिसको भलो नै गर्छ । 


पछिल्लो समय मुद्दाकेन्द्रित साहित्य अलि धेरै लेखिनुको कारण हाम्रो देशको राजनीतिक परिवर्तनले दिएको अवसर हो । जसको लाभ असल लेखकले उठाउँछन् नै । विषय र विचार बलियो भए पनि त्यसको कलात्मक उच्चताबारे अझै प्रशस्त बहस गर्नु जरुरी छ । तर, बहस स्वस्थ हुनुपर्छ । अहिलेका कतिपय लेखकमा अलि छिटो सिर्जनालाई बाहिर ल्याउने हुटहुटी छ । जसले रचनाको गाम्भीर्य, चिन्तन र साधना नपुग्ने वा कम हुने जोखिम पनि त्यत्तिकै देखिन्छ । झट्टै लेखौँ र चलिहालौँ भन्ने लोभ र महत्वाकांक्षाले कतिपय स्रष्टा र सिर्जनालाई दिग्भ्रमित वा सतही बनाइदिन्छ । तर, साहित्यलाई जति विशिष्ट ढंगले भन्न सक्यो, त्यो त्यति नै जीवन्त हुन्छ । उदाहरणका लागि ‘अधिकार चाहियो’ त सबैले भन्छन् ।

 

सर्वसाधारणले, अधिकारकर्मीले, नेताले सबैले भन्लान् । तर, साहित्यमा यसलाई कलात्मक रूपले ल्याउन सकिएन भने त्यो व्यर्थ हुन्छ । यसको अर्थ, म तथाकथित रूप वा कलावादी पनि होइन । मात्रै साहित्यकारको न्यूनतम योग्यताको कुरा गरेको मैले । आजभोलिका गीतसंगीतजस्तै पर्सि बिर्सिने सिर्जनाको पनि समाजमा महत्व होला । तर, अविस्मरणीय बन्ने महत्वाकांक्षा हो साहित्य । 


साहित्यको साधना गर्नु भनेको लेखकले जीवनभर भाषासित खेल्नुपर्ने हरिगुड्डु पनि हो । कुमालेले माटोको भाँडा बनाएजस्तै, मूर्तिकारले मूर्ति बनाएजस्तै यसमा अभ्यास र धैर्य चाहिन्छ । जति धेरै मिहिनेत र अभ्यास गर्‍यो, त्यति नै राम्रो हुन्छ । तर, के–कस्तो बनाउने ? चेतना, विचार वा योजना अझ अघिल्लो कुरा हो । मैले के भन्ने ? र, कसरीभन्दा पारखीका लागि सुयोग्य हुन्छ ? भन्ने स्रष्टाको सही बोध नै उसको पहिलो चेतना हो । 


साहित्यको इतिहास र अभ्यास मानव सभ्यताजत्तिकै लामो छ । हामीले मात्रै लेखेका छैनौँ, लेखिरहेका छैनौँ । विश्वभर लेखिएको छ, लेखिइरहेका छन् । त्यस्तो गम्भीर कलात्मक उच्चतासहित लेखिने साहित्य हाम्रोमा कति छन् त ? हामीले सोच्नुपर्ने वेला आएको छ । लेखेका छैनौँ भने अब लेख्नुपर्छ । यस विषयमा अब धेरैभन्दा धेरै विमर्श हुुनुपर्छ । किनभने आजको लेखक (लोकल दादा) भनेजस्तो वा आदिकवि, महाकवि, युगकवि, राष्ट्रकवि भनेजस्तो साँघुरो बिम्ब होइन । उसको स्पेस सिंगो पृथ्वी हो ।

अहिले नेपाली साहित्यको पुनर्जागरणको समय हो । तर, हिजो पनि हाम्रो साहित्य कमजोर थिएन । निरंकुश व्यवस्थाका समयमा दबाइएका आवाज लोकतन्त्रको प्राप्तिपछि अझ मुखरित हुन थालेका छन् । तसर्थ यो समयलाई अबका लेखक, साहित्यकारले स्वर्णकाल बनाउन सक्छन् । जसले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउन सक्नेछ ।


स्वस्थ विमर्शको कमी
हाम्रा साहित्यकार वैचारिकीका आधारमा विभिन्न समूहमा छन् । डेमोक्य्राटको एउटा, वामपन्थीहरूको अर्को समूह छ । अरू पनि होलान् । यस्तो हुनु नराम्रो त होइन, तर यी दुई समूहबीच एकले अर्कालाई सकभर निषेध गर्ने । एकले बोलाएको कार्यक्रममा भरसक अर्को नजाने । आफ्नो समूहका सामान्य लेखकलाई पनि महान् भनिहिँड्ने, तर अर्काे समूहको राम्रो लेखकलाई पनि केही होइन भन्ने ।

 

आलोचना मात्रै गर्ने गलत प्रवृत्ति पनि छ । यसले समाजमा स्वस्थ सिर्जनात्मक बहस हुनबाट रोक्छ । र, सिर्जनात्मक बहस नहुने समाज मृतप्रायः हुन्छ । मृत समाज मानिसका लागि योग्य रहँदैन । म यी दुई र यस्ता अनेक समूहबीच बारम्बार विमर्श हुनुपर्ने जरुरी देख्छु । तर, त्यो बहस र आलोचना स्वस्थ भने हुनैपर्छ । हाम्रा लेखकमा पनि आलोचना सहने बानी छैन । लेखकले आलोचना सुन्नुपर्ने हो । वास्तवमा, आलोचनाले नै लेखकलाई तिखार्छ । असल लेखकले आलोचनाबाट सिक्छ । तर, हाम्रो आलोचना पनि स्वस्थ छैन । आग्रह वा पूर्वाग्रह राखेर गर्छौं । वस्तुगत आलोचना हुनुपर्‍यो । वस्तुगत आलोचना स्विकार्ने हिम्मत पनि लेखकमा हुनुपर्‍यो । सर्जकले फराकिलो भएर सोच्न सक्नुपर्छ । कुनै विचारधारासँग नजिक भए पनि ऊ समग्र समाजको प्रतिनिधि हो । उसको सिर्जना समग्र समाजको सम्पत्ति हो । आजको दुनियाँमा उसको सिर्जनाले आफ्नो छेउकोसित मात्रै होइन, समग्र विश्व साहित्यसित प्रतिस्पर्धा गरिरहेको हुन्छ । आजका लेखकले यो बुझ्नुप¥यो ।


राज्यको जिम्मेवारी
लेखनको क्षेत्र व्यावसायिक बन्न नसकिरहेको हाम्रोजस्तो मुलुकमा राज्यको दायित्व हुन्छ नै । लेखकलाई राज्यले पाल्नैपर्छ भन्ने त होइन, तर वातावरण बनाइदिने काम गर्नुपर्छ । आफ्नो देशको साहित्यलाई प्रवद्र्धन गर्न राज्यले रुचि देखाउनैपर्छ । राम्रो साहित्यले देशलाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि राज्यले यसतर्फ ध्यान दिनुपर्छ । हेर्नुस् न विदेशतिरबाट कुनै सामान्य लेखक वा कलाकार नेपाल आए भने पनि उनीहरूका दूतावासले भव्य कार्यक्रम गरिदिन्छन् । हाम्रा दूतावासले हामी विदेश जाँदा त्यसरी सम्मान गर्ने त परै जाओस्, ‘हाई–हेलो’समेत गर्दैनन् ।

 

उनीहरूलाई मतलबै छैन । सरकारले मान, पदवी, तक्मा नै दिँदा पनि आसेपासेलाई दिन्छन् । खास योगदान गरेका लेखक र बुद्धिजीवीलाई सम्झिँदैनन् । नेपालमा लेखकलाई बाँच्न गाह्रो छ । प्रज्ञा प्रतिष्ठानजस्ता निकायमा एक–दुईजनालाई जागिर खुवाएर केही हुनेवाला छैन । म आफैँ त्यहाँ चार वर्ष बसेर आएको हुँ । किनभने सरकारले ती संस्थालाई छाती खोलेर काम गर्न पर्याप्त बजेट नै दिँदैन । पुुस्तक बेचेर दुई–चार लेखकले कमाए पनि होलान् । यो त हो कि, हो कि भनेजस्तै भयो । यसरी नयाँ लेखक फक्रन सक्दैनन् । हुन त राज्यले लेखक बनाउने होइन, लेखक आफैँ बन्ने हो । तर, उसले प्रतिभावान् लेखकहरूलाई वातावरण बनाइदिन सक्छ । नेपालमा लेखक सधैँ सत्ताको विपक्षमा हुन्छ, हुनुपर्छ भन्ने क्लासिकल न्यारेटिभले पनि लेखकले दुःख पाएका छन् । त्यसो होइन । लेखक सत्ताको कुकर्मको आलोचक त हो, तर दुस्मन होइन । ऊ असल शासकको सहयोगी पनि हो ।

 लेखक सधैँ सत्ताको विपक्षमा हुन्छ, हुनुपर्छ भन्ने क्लासिकल न्यारेटिभले पनि लेखकहरूले दुःख पाएका छन् । त्यसो होइन । लेखक सत्ताको कुकर्मको आलोचक त हो, तर दुस्मन होइन । ऊ असल शासकको सहयोगी पनि हो ।


हाम्रोमा संस्कृतिकर्मी र नेताहरूको सम्बन्ध उहिले दरबारमा राजा–महाराजालाई नृत्य, गीत, नाटक देखाउने–सुनाउने थियो । गाउँमा सामन्तहरूलाई नौटंकी देखाई खुसी तुल्याउने स्तरको थियो । अहिले पनि नेताहरूका अगाडि कविता, गजल सुनाउने होडबाजी चल्छ । अझै, चुनावमा जसले नेताका अगाडि नाचिदिन्छ, जसले गुनगान गाइदिन्छ, उसैलाई राज्यले चिन्छ । किनभने सत्तामा तिनै पुग्छन् । तिनले अरूलाई लेखक, कलाकार नै देख्दैनन् । नेता वा सरकारको गल्ती–कमजोरीबारे जसले लेख्छ, बोल्छ, उसलाई किनारामा धकेल्दै लैजाने मण्डले प्रवृत्ति लोकतन्त्रका शासकमा झन् बलियो छ । यो खराब मनोविज्ञानलाई बदल्नुपर्छ । 


लेखक भएकै कारण बैंकको सिइओ, कुनै संस्थानको जिएम हुन खोज्नु फाल्तु कुरा हो । तर, वर्षौं योगदान गरिसकेपछि यही क्षेत्रबाट उसले केही पाउने अपेक्षा राख्नु गलत होइन । कुनै पुरस्कार वा सम्मानको अपेक्षा राख्नु त झन् गलत हुँदै होइन । यो त उसको अधिकारको कुरा हो । यसरी योगदान गरेकाहरूलाई राज्यले विशेष नीति बनाएरै सम्मान गर्न सक्नुपर्छ । युवा लेखकलाई के कुराले बाधा पारिरहेको छ, त्यो फुकाइदिनुपर्छ । भोको पेट लिएर स्रष्टाले सिर्जना गर्न सक्दैन । यसो भन्दा राज्यले तिमीलाई लेखक÷कलाकार भइदेऊ भनेको हो र, हेर्नुपर्ने ? जस्ता कुतर्क गर्ने पशुतुल्य मनुवा पनि हाम्रै समाजमा छन् । तिनीहरू कलाको मूल्य, सिर्जनाको शक्ति वा राष्ट्रको वैभव नबुझ्ने स्वाँठ हुन् । मुख्र्याइँको औषधी हुन्न ।

 

लेखक–कलाकारलाई कसरी आर्थिक रूपमा बलियो र सिर्जनात्मक रूपमा स्वतन्त्र बनाउन सकिन्छ भन्ने विषयमा राज्यले अब अलग ढंगले सोच्नुपर्छ । जागिर खुवाउनेभन्दा पनि लेखकलाई वृत्ति दिने, अध्ययन भ्रमण, सभा सेमिनार, कृतिको बजार व्यवस्थापन गरिदिन सक्छ । कसैले म कुनै गम्भीर सिर्जना गर्छु, सोध–अनुसन्धान गर्छु भन्दा उसलाई सहयोग गर्न सक्ने हैसियत, इच्छाशक्ति र विधिविधान राज्यसित हुनुपर्‍यो ।


युरोपमा कफीसपदेखि तारे होटेलका नाम पनि लेजेन्ड लेखक–कलाकारको नामबाट राखिएका हुँदा रहेछन् । हाम्रोमा त भएका पनि मेट्ने–भत्काउने गरिन्छ । चीनमा अनगिन्ती लेखक–कलाकारको संग्रहालय, स्मारकहरू बनाइएका छन् । त्यहाँ पैसा तिरेर पर्यटकले तिनका दस्ताबेज हेर्छन् । हाम्रोमा त्यस्ता हजारौँ स्रष्टा छन्, जसलाई त्यसरी नै सम्मान गर्न सकिन्छ ।

 

टोपी खस्ने पहाडैपहाड भएको देशमा भ्युटावर बनाइराख्नै पर्दैन, हामीसित हाम्रा टावरिङ पर्सनालिटी लेजेन्ड स्रष्टाहरू नै काफी छन् । तिनलाई सिंगार्नुपर्‍यो । र, त्यहाँ नयाँ लेखक–कलाकारलाई इङ्गेज्ड गराउन सकिन्छ । यस्तो हुँदा नयाँ लेखक–कलाकारले पुरानाको महत्व अझ बुझ्ने थिए र आफ्नो यात्रालाई मजबुत बनाउन सक्ने थिए । चक्रपथमा नारायणगोपाल चोक छ । तर, यो पनि सरकारले घोषणा गरेको होइन, जनताले नै नाम राखेर जबर्जस्त स्थापित गरेका हुन् ।

 

राज्यले गरेको भए अझै कति राम्रो हुने थियो ? एक समय नागपोखरी नक्सालछेउमा भूपी शेरचन चोक बनाउन केही साहित्यकारले पहल गरेका थिए रे ! तर, स्थानीयले मानेनन् रे ! दिएनन् रे ! त्यस्तै सोलु सल्लेरीतिर बैरागी काइँला घुम्ती वा यस्तै केही बनाउन खोजिएको थियो रे, त्यो पनि त्यस्तै भयो रे, बनेन रे ! यदि यो कुरा साँचो हो भने कति दुःखद र लाजमर्दो कुरा भयो । यसरी नयाँ नेपाल बन्छ र ? जुन देशले स्रष्टाहरूको महत्व बुझ्दैन, त्यो देश कहिल्यै उँभो लाग्दैन ।


कवि मुकारुङसँग अन्वेषण अधिकारीले गरेको कुराकानीमा आधारित