मानिस आफूले आफैँलाई पढ्ने, चिन्ने, जीवनको मैलो मेट्ने र प्रकाशित हुने ठाउँ हो, जीवन विज्ञान । अध्यात्म र भौतिक विज्ञानको संयोजन गर्दै जीवनको बत्ती बाल्ने अत्याधुनिक आध्यात्मिक संस्थाको नाम हो, जीवन विज्ञान । विगत तेह्र वर्षदेखि कार्यरत जीवन विज्ञानले हजारौँ प्रशिक्षक तयार गरी सयौँ प्रयोगशालामार्फत देशको अधिकांश भागका लाखौँ सर्वसाधारणलाई योग–ध्यानको साधना गराउँदै आएको र स्वजागरण ध्यानगृह मन्त्रालयबाट सुरु भई परराष्ट्र मन्त्रालय हुँदै विभिन्न निकायमा फैलिँदै गएको छ ।
संस्थाले ०८० चैत १७ देखि २४ सम्म लुम्बिनीमा आयोजना गरेको विराट् चक्र विज्ञान कार्यक्रममा तीनै तहका सरकार, जनप्रतिनिधि, कर्मचारी प्रधानमन्त्रीदेखि सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेता सहभागी भई नेपाललाई योग–ध्यानमय बनाउँदै विश्वकै शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्ने भनी ‘लुम्बिनी घोषणापत्र’ जारी भएको छ । सरकारले आर्थिक वर्ष ०८१/०८२ को नीति कार्यक्रम र बजेटमा समेत समावेश गरेको जीवन विज्ञानको कार्यक्रमबारे सबैले जान्न–बुझ्न जरुरी छ । त्यसैले देखेसुनेका कुरा उल्लेख गर्छु ।
जीवन विज्ञान संस्था विशेषज्ञद्वय रमेश नेपाल र एल पी भानु शर्माले गठन गर्नुभएको हो । राम्राले केही नगर्ने हो भने नराम्रो रहिरहन्छ भन्ने सोच, आफूहरू प्रकाशित भई अनुभूत गर्नुभएको आनन्द अरूले पनि अनुभूत गर्न पाउन भन्ने सदाशयता र सार्वजनिक पदमा नजाने, संस्थाबाट निजी प्रयोजनका लागि तलब–सुविधा नलिने संकल्पसहित आध्यात्मिक संस्थाको रूपमा जीवन विज्ञान गठन गरिएको रहेछ ।
संस्थाले सबै जाति, धर्म सम्प्रदायका लागि विनाभेदभाव जीवन विज्ञानको योग–साधना गराउँदै आएको छ । संस्था कुनै पनि प्रकारको भेदभावभन्दा माथि छ । छुट्टै आहार, टीका, माला, वस्त्र लगाउनुपर्ने नियम नराखेको संस्थाले धूम्रपान, मध्यपान, लागुऔषध सेवनमा प्रतिबन्ध लगाउँदै सात्विक भोजनको सल्लाह दिन्छ, जोडबल गर्दैन । इको सिस्टमको अन्तर्निर्भरता दर्साएर प्रकृतिले मानिसलाई दिएको सहकार्य र सहअस्तित्वको सन्देशविपरीत दल र समूहले जाति, धर्म र सम्प्रदायका नाममा तोडफोड र द्वन्द्व मच्चाउँदा प्रेम, श्रद्धा र करुणाले भरिनुपर्ने मानिसमा ईष्र्या र प्रतिशोधको भावना भरिई परिवार, समाज हुँदै देशैभरि समस्या बढेको तथ्य मनन गर्छ र गराउँछ । हरेक मानिसमा रहेको क्षमता नै भगवान् हो, अध्यात्मले त्यो क्षमता चिनाउँदै विकास गरिदिन्छ भन्दै समाजमा मानवीय मूल्य–मान्यता स्थापित गराउँदै सबै मानिसलाई भगवान् बनाउने अभियानमा छ, जीवन विज्ञान ।
वडा तहदेखिका सबै जाति, भाषा, धर्म, संस्कृति मान्ने ६ हजारभन्दा बढीको सहभागितामा सम्पन्न लुम्बिनीको विराट् चक्र विज्ञान कार्यक्रम त्यही अभियानको सुरुवात हो । मानिसको ठूलो र अन्तिम लक्ष्य आनन्द प्राप्ति हो । त्यो लक्ष्य आध्यात्मिक जागरणबाट मात्र प्राप्त हुन्छ । त्यसका लागि दिव्य नव व्रत (सत्यता, स्वाध्याय, निरअहंकारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवाभाव, मधुर वाणी लक्ष्यसँग एकाकार र मुमुक्षा) पालना, योग प्राणायाम ध्यानको साधना र आध्यात्मिक ज्ञान हासिल गर्नमा जोड दिन्छ । वेद, पुराण र भागवत गीताको पाठ गर्ने व्यवहार तिनको मर्मविपरीत गर्ने प्रवृत्तिले समाजमा द्वन्द्व र आपराधिक प्रवृत्ति बढ्दै आनन्दस्वरूपमा रहनुपर्ने मानव दुःख र अशान्तिले घेरिएको औँल्याउँदै आएको छ, जीवन विज्ञानले ।
हरेक मानिसको शरीरमा मुख्य सात चक्र (शक्तिकेन्द्र) हुन्छन् । मेरुदण्डको तल्लो भागमा रहेको मूलाधारले चेतना, होस र सजगता बढाउँछ । त्यसमाथिको स्वादिष्टानले मनको व्यवस्थापन गर्छ, नाभी क्षेत्रको मणिपुरले आत्मविश्वास र साहस बढाउँछ, हृदय क्षेत्रको अनाहदले भावको सन्तुलन मिलाउँछ, घाँटी क्षेत्रको विशुद्धिले बौद्धिकता बढाउँछ, निधारको टीका लगाउने क्षेत्रको आज्ञा चक्रले संकल्प शक्ति दिन्छ र शिरको माथिल्लो भागको सहश्रार चक्रले शान्ति र खुसी राख्छ । यी सात चक्र जगाएपछि मानिसले आफ्नो प्रतिभा र क्षमता चिन्ने हुँदा अभियानको रूपमा चक्र विज्ञान कार्यक्रम आयोजना गर्दै आइरहेको छ, जीवन विज्ञानले ।
नेपालको ब्रह्माण्डीय अवस्थिति, उच्च हिमशृंखला, नदी, झरना, हरियाली, ऋषिमुनिहरू जन्मी तप, ध्यान गर्दै हिन्दू र बुद्ध प्रणालीका आधाभन्दा बढी शास्त्र लेखेको भूमि भएको हुनाले नेपालमा जस्तो ऊर्जा अन्यत्र पाइँदैन । त्यसैले नेपालले मात्र विश्वभर ध्यान फैलाउन सक्छ भन्ने ठम्याएर नै हरेक नेपालीलाई योग प्रशिक्षक र नेपाली भूभागलाई योगध्यानमैत्री पर्यटनस्थल बनाई विश्वकै शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्ने योजना अगाडि सारी नेपाली समृद्धिको दिशाबोध गराएको छ, जीवन विज्ञानले ।
योगले मानिसलाई स्वस्थ राख्छ भन्ने आमबुझाइ छ, तापनि मूलतः ध्यानका लागि योगासन गराउने जीवन विज्ञानले मानिसका सबै दुःख जलाएर आनन्दमा स्थित गराउने मुख्य अस्त्र ध्यान हो भन्छ र हो पनि । ध्यान यस्तो मल हो, जेमा लगायो, त्यही बढाइदिन्छ । नकारात्मक कुरामा लगाए नरकमा र सकारात्मक कुरामा लगाए स्वर्गमा पु¥याइदिन्छ ध्यानले । ध्यानले आफूभित्र लुकेको प्रतिभालाई उजागर गर्छ । श्रम र विश्रामको सन्तुलन मिलाउने माध्यम ध्यान हो । ध्यान अज्ञेय प्राप्तिको बाटो हो । ध्यानमा मन, भावना र चेतनाको संयुक्त बल हुन्छ । ध्यानबाट सकारात्मक तरंग उत्पन्न हुन्छ । आफूभित्रको आनन्दसँग जोडिनु ध्यान हो । बोध गर्ने बाटो हो ध्यान । ध्यान मनलाई विश्राममा पु¥याउने कला हो ।
विश्रामले श्रम गर्ने शक्ति दिँदै नयाँ सोच फुराउँछ, नयाँ सोचले जीवनलाई नयाँ दिशा र जोस दिँदै चौतर्फी प्रगति गराउँछ ।
ध्यान मानिसले जन्मिँदै लिएर आएको हुन्छ, बिर्सेर समस्या भयो । ध्यान अक्रिया हो, यसले निरीक्षण मात्र गर्छ । ध्यान सजगता हो । ध्यान चेतना हो । दुःखको भकुन्डो जहाँको तहीँ रोक्ने अस्त्र हो ध्यान । व्यक्ति, समाज र राष्ट्रमा ध्यानको अभाव भएकाले उनीहरूले आफ्ना दुःख अरूतिर फालिदिँदा परस्परमा द्वन्द्व बढ्दै युक्रेन र गाँजामा अघोषित विश्वयुद्ध घटित भई विश्वभरका व्यक्ति, समाज र राष्ट्रमा अराजकता र अशान्तिले पराकाष्ठा नाघेकाले ध्यानमार्फत सबैमा आन्तरिक स्वजागरण ल्याउँदै सुख, शान्ति, समृद्धिसम्म पु¥याउने लक्ष्य लिई अग्रसर भएको छ जीवन विज्ञान ।
‘ज्ञान गुगलले दिन्छ, गुरुले विवेक र सजगता दिने हो’ भन्दै जीवन विज्ञानका गुरुद्वयले व्यक्ति र समाजले भगवान् को हो ? भन्ने गलत प्रश्न उठाउने गरेकाले मूर्तिमा भगवान् खोज्दै जति पाप गरे पनि मन्दिर गई पाठपूजा गरे पखालिन्छ भन्ने गलत र नकारात्मक भाष्य स्थापित ग¥यो, भगवान् के हुन् ? भनी सही प्रश्न गर्न सिकाई सद्गुणी क्षमतामा भगवान् भेटिन्छ, क्षमतामा विश्वास गर भन्ने सकारात्मकता स्थापित गर्न प्रेरित गर्नुहुन्छ । स्वर्ग, नर्क, वैकुण्ठ अन्त कतै छैन । सकारात्मक सोच स्वर्ग हो । नकारात्मक सोच नरक हो । कुण्ठारहित हुनु वैकुण्ठमा निवास गर्नु हो । परिवार नै सबैभन्दा ठूलो सम्पत्ति र खुसीको स्रोत हो । घरमा योगध्यान गर्ने वातावरण बनाएर परिवारमा आनन्द भर्ने ज्ञान दिन्छ, जीवन विज्ञानले ।
लक्ष्यले मात्र मानिसलाई क्षमतावान् र जीवन्त बनाउँछ, खुसी हुँदै काम गरे सफल भइन्छ भन्दै युवालक्षित ऐश्वर्य विज्ञान कार्यक्रम सञ्चालन गरी स्पष्ट लक्ष्य र योजना बनाउन सिकाउँदै आएको छ । व्यक्तिको जस्तै जीवन समाज र राष्ट्रको पनि हुन्छ । लिने र दिने कुराको सन्तुलन जीवन हो । अहिले व्यक्ति, समाज र राष्ट्रमा लिन चाहने, दिन नचाहने प्रवृत्ति बढ्यो । देशको अर्थतन्त्रको प्रमुख पिलरमध्येको सहकारीमा गैरसहकारिता हाबी हुँदा अर्थतन्त्र कमजोर मात्र होइन, सरकार र संसद्को गतिविधिसमेत प्रभावित पारेको छ ।
सबै मानिसलाई भगवान् बनाई आनन्दमा स्थित गराइदिने सनातन हिन्दू धर्मलाई नक्कली धर्मभिरुले दुरुपयोग गरिदिँदा धर्मको वास्तविक अर्थ र महत्व बुझ्नबाट वञ्चित हिन्दूहरू नै धर्मान्तरण गरी भगवान् अन्तै छ, हामी तिम्रा लागि प्रार्थना गरिदिन्छौ भन्नेहरूतिर लागी झनै पराधीन बन्न पुगेका छन् । आफू स्वयं भगवान् हुँ भन्ने बिर्सी बाहिरतिर नक्कली भगवान् खोजेझैँ । देशभित्रका अपार सम्भावना नहेरी स्वदेशमा केही हुँदैन भन्ने नकारात्मक मनोविज्ञानका साथ रोजगारी र उच्च शिक्षाको लागि युवाहरू विदेश पलायन भइदिँदा जनसांख्यिक लाभको अवसर पाएको नेपाल वृद्धाश्रममा परिणत हुने जोखिममा छ ।
बढ्दो भ्रष्टाचार, हत्याहिंसा, बलात्कारका घटनाले नागरिकमा देशप्रति नै अविश्वास बढेको छ । त्यसमाथि विश्व महाशक्ति को बन्ने भन्ने होडबाजी, देशको सामरिक अवस्थिति र बढ्दो पराधीनताले खडा गरेको पेचिलो परिस्थितिप्रति दल र नेताहरू संवेदनशील भएको देखिँदैन । महाभारतमा वाणको मृत्युशड्ढयामा रहेका भीष्म पितामहलाई द्रौपदीले मलाई दुःशासनले कौरवसभामा निर्वस्त्र पार्ने चेष्टा गर्दा किन मौन रहनुभयो ? भनी प्रश्न गर्दा जनतालाई दुःखी बनाएर जम्मा गरेको दुर्योधनको अन्न खाएको हुँदा मेरो संस्कार क्षीण भएको थियो भनी प्रस्टीकरण दिएको प्रसंग छ । के हाम्रा नेताले पनि भ्रष्टाचारबाट थिचिएर मन दुखाएका जनताले तिरेको कर नेताहरूमा रहेको असल संस्कार क्षीण बनाउने कारक बनेको हो ? भनी प्रश्न उठाउनुपर्ने अवस्थामा पुगेनौँ र हामी ? समृद्धि भिœयाउने लक्ष्य लिई आध्यात्मिक र अन्य संस्थाबीच समेत सहकार्यको हात बढाउँदै कार्यान्वयनमा जुटेको जीवन विज्ञानजस्तो अरू कोही विकल्प बन्न तयार छन् ?
धनीलाई मान र गरिबलाई अपमान गर्ने, पुरुषभन्दा महिला तल्लोस्तरमा देख्ने विभेदकारी प्रवृत्ति नहटाएसम्म द्वन्द्व नमेटिने तथ्य समावेशी र पहिचानवादीको बाटोबाट केही टाठाबाठा संसद् र सरकारमा पुगे पनि निमुखा महिला तथा जनजातिको पीडा झन् बढेबाट पुष्टि हुन्छ । सबै मानिसलाई भगवान् देखे मात्र पारस्परिक सम्मान, सद्भाव, पहिचान, स्वाभिमान सबै मिल्छ । जीवनको मैलो मेटाउँदै सबैलाई भगवान् देख्दै भगवानै बनाउन अभियान चलाएको जीवन विज्ञानबारे आफूलाई पहिचानवादी भन्न रुचाउने र नरुचाउने सबै जनजाति महिला र पछाडि पारिएको समुदायले बुझ्न र साथ दिन जरुरी छ ।
अन्त्यमा, द्वन्द्वका घाउमा मलमपट्टी गर्न बाँकी तर अर्थतन्त्र कमजोर भएको र अज्ञानताले बढाएको आपराधिक प्रवृत्तिले खडा गरेको विषम परिस्थिति आध्यात्मिक स्वजागरण अभियान र हजार चिरा परेको मन ध्यानले सिलाए, बाहिर–भित्र भत्केको जीवन प्रेमले मिलाए भन्ने संगीतको मर्म व्यवहारमा उतारेर सम्बोधन गर्न अग्रसर जीवन विज्ञान संस्थाले ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतः । अभ्युत्थान अधर्मस्य तादात्मानं सृजाम्यहम ।’ भन्ने गीताको श्लोकको भावार्थ कार्यान्वयन गर्न खोजेको बुझ्न सकिन्छ । गर्न खोज्नेलाई पनि समाजमा व्याप्त अज्ञानता र नकारात्मक मनोविज्ञानले अवरोध गर्ने प्रवृत्तितर्फ सचेत रहँदै सबै संघसंस्था र अगुवा नागरिकले राम्रो काम गर्दासम्म जीवन विज्ञानलाई साथ–सहयोग गरेमा अपार सम्पदा रहेको नेपालमा जन्मिने सौभाग्य पाएका हामी नेपाली समृद्ध हुन धेरै समय लाग्नेछैन ।