• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अन्वेषण अधिकारी
२०८१ जेठ २६ शनिबार ०७:३४:००
फिल्म

नेपालमा विदेशी फिल्म छायांकन : कति सहज कति अप्ठ्यारो ?

२०८१ जेठ २६ शनिबार ०७:३४:००
अन्वेषण अधिकारी

स्वदेशी तथा विदेशी फिल्ममेकरहरूले नेपालमा चलचित्र सुटिङ गर्न झन्झटिलो हुने गरेकाले सहज ऐन–कानुन ल्याउनुपर्ने माग गरेका छन् । गोपीकृष्ण फिल्मस्ले गत साता काठमाडौंमा आयोजना गरेको ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ अन्तर्क्रिया  कार्यक्रममा फिल्म निर्देशक मीन भामले सरकारी नियमलाई सहज नबनाएसम्म सुटिङका लागि विदेशीहरू आकर्षित हुन नसक्ने बताए ।

 

‘नेपालमा राम्रा अन्तर्राष्ट्रिय फिल्महरू सुट गर्न अहिले राम्रो वातावरण छ भन्ने मलाई लाग्दैन । विदेशीको त कुरै पर जाओस्, नेपाली फिल्ममेकरहरू आबद्ध भएका प्रोजेक्टलाई नै नेपालमा ल्याउन सक्ने अवस्था छैन । पर्यटनको लागि नेपाल आफैँमा सस्तो देश हो । तर, सुटिङका लागि महँगो छ । अनुमति लिने प्रक्रिया झन्झटिलो छ,’ उनले भने, ‘अहिलेसम्म त्यस्ता सिनेमा मात्रै नेपालमा सुटिङ भएको छ, जो नगरी हुँदैन । नेपालमा सरकारले गर्ने सहयोग शून्य छ । फिल्मका लागि विदेशबाट आवश्यक सामान ल्याउनै झमेला छ । अर्कोतर्फ, हामीसँग दक्ष जनशक्तिको पनि अभाव छ । यदि हलिउडको दुई वा बलिउडको तीनवटा फिल्म एकैपटक सुटिङ गर्न नेपाल आयो भने प्रोजेक्ट धान्न सक्ने टिम पनि हामीसँग छैन ।’ 


सिनेमा छायांकन गरेबापत फिल्ममेकरले सहुलियत पाउनुपर्नेमा कर छुटसमेत पाउने अवस्था नरहेको भामले बताए । ‘नेपाल एसियाभरमा त्यस्तो देश हो, जहाँ फिल्मका लागि कर छुट हुँदैन । हामी आफैँ पनि महँगो कर तिरेर सुटिङ गर्नुपर्ने देश कसरी विदेशी फिल्मको सुटिङ गन्तव्य हुन सक्ला ? त्यसैले सरकारको पोलेसीमा परिवर्तन नभएसम्म यो सम्भव छैन,’ उनले भने । 


भारतीय लाइन प्रोड्युसर सर्फराज आलम साफूले नेपालमा फिल्म सुटिङका लागि धेरै सम्भावना रहेको बताए । तर, यसका लागि पूर्वाधार विकास र आवश्यक नियम–प्रक्रिया सहज बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘प्राकृतिक रूपमा सुन्दर भएर मात्रै फिल्मका लागि पुग्दैन । फिल्ममेकरहरूले स्क्रिप्टअनुसारको सुटिङ गन्तव्य खोजिरहेका हुन्छन् । त्यससँगै उनीहरूले पूर्वाधार सम्पन्न गन्तव्य चाहन्छन् । जहाँ, क्यामेरा, लाइटलगायत उपकरण सहजै मिलोस्,’ उनले भने, ‘नेपालमा राम्रो पूर्वाधार बनोस्, दक्ष जनशक्ति उपलब्ध होस्, ताकि भारतबाट अन्यत्र सुटका लागि जानेहरूलाई नेपालमा डाइभर्ट गर्न सकियोस् ।’


नेपाली जनताको इच्छाशक्ति र यहाँका फिल्ममेकरको लगावले नेपाललाई राम्रो फिल्म गन्तव्य बनाउन सक्ने उनले बताए । भारतीय र चिनियाँ फिल्म उद्योग मात्रै नभएर युरोप र अमेरिकामा पनि नेपालको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘नेपालले धेरैभन्दा धेरै फिल्म फेस्टिबलमा आफ्ना चलचित्र लैजानुपर्छ,’ उनले भने । 


भारतको डिभाइन लाइट प्रडक्सनका लाइट प्रोड्युसर टेरेन्स कार्डोजले नेपालमा फिल्म सुटिङ गर्न कम खर्चिलो हुने गरेको अनुभव सुनाए । उनले यस विषयलाई पनि प्रचार गरेर फिल्ममेकरलाई आकर्षित गर्नुपर्ने बताए । ‘अहिले माल्टा, हंगेरीजस्ता देशमा हलिउडका निर्माता आकर्षित भइरहेका छन् । त्यहाँ कुल लगानीको झन्डै ३० प्रतिशत रकम फिल्म सुटिङ सकेपछि फिर्ता हुन्छ । जहाँ धेरै सहुलियत पाइन्छ, फिल्ममेकर त्यतै आकर्षित हुन्छन् । फिल्ममेकरले आवश्यक सरसहयोग र सहुलियत पाएनन् भने ती ठाउँको प्रमोसन नगर्न सक्छन् । द मदर फिल्मका केही अंश स्पेनमा सुटिङ गरिए पनि त्यसलाई क्युवा भनेर देखाइएको थियो, किनकि स्पेनले कुनै सहुलियत दिएको थिएन । भोलिका दिन नेपालका सुन्दर लोकेसनमा सुटिङ गरेर पनि यसलाई अर्कै देशको कथाका रूपमा प्रस्तुत गर्न सक्छन् । यसतर्फ यहाँको सरकारले पनि ध्यान दिनुपर्छ,’ उनले भने । 


कम खर्चमै सुटिङ गर्न सकिने नेपालको विशेषताबारे पनि फिल्मकर्मीले पर्याप्त प्रचार गर्नुपर्ने उनले बताए । ‘मेरा हकमा म युरोपमा सुटिङ गर्न चाहनेहरूलाई निरुत्साहित गर्ने गर्छु । किनकि, युरोप निकै महँगो छ । भारतमा १० रुपैयाँमा पानी पाइन्छ । त्यही पानी युरोपमा किन्दा सय भारुबराबर पर्न जान्छ । एक लाख डलर लगानी गरेर ३० हजार डलर सहुलियत लिनुभन्दा कम खर्च लाग्ने गन्तव्यमा सुट गर्न जानु नै राम्रो हुन्छ भनेर कन्भिन्स गर्ने गर्छु । नेपालमा प्रडक्सन निकै सस्तो छ । यहाँ लोकेसन निकै राम्रो छ । किन जाने युरोप ? किन फस्ने सहुलियतको झमेलामा ? किनकि सहुलियत लिन पनि केही समय त लाग्छ । म यसरी कन्भिन्स गर्ने गर्छु । खिच्नका लागि अनुमति लिन सहज हुने, आवश्यक पूर्वाधार निर्माण गर्नेलगायत कुरामा सरकार र पर्यटन बोर्डले पनि ध्यान दिन जरुरी छ,’ उनले भने । 


फिल्मकर्मी एकजुट हुन जरुरी
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले विद्यमान ऐन–नियममा समस्या भएकाले यसलाई सहज बनाउने गरी नयाँ कानुन ल्याउने प्रक्रिया चलिरहेको बताइन् । ‘केही समयअघि मैले सदनमा चलचित्र विधेयक चाँडै पेस गरियोस् भनेर आवाज उठाएको थिएँ । हामी सबैको चाहना सहज कानुन बनोस् भन्ने हो । तर, चलचित्रकर्मीहरू मन्त्रालयमा अलग–अलग समूह बनाएर जाने गर्नुहुँदो रहेछ ।

हामी समूह–समूहमा विभाजित भएर होइन, एक ढिक्का भएर कुरा राख्न सके मात्रै कानुन निर्माणको प्रक्रिया चाँडो अगाडि बढ्छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘अर्कोतर्फ पर्यटन तथा संस्कृति मन्त्रालयअन्तर्गत चलचित्र विकास बोर्डलाई राख्नुपर्ने थियो । सञ्चार मन्त्रालयअन्तर्गत राखिएको छ । फिल्ममेकिङको झन्डै ९० प्रतिशत कुरा पर्यटन र संस्कृति मन्त्रालयमा जोडिन्छ । चलचित्रकर्मीले त्यहाँ गएर आफ्ना समस्या राख्दा हाम्रो क्षेत्राधिकारमा पर्दैन भन्ने रहेछन् । सञ्चार मन्त्रालयले कुनै मतलब नगर्ने रहेछ । किनकि, सञ्चार मन्त्रालयको प्राथमिकतामा चलचित्र पर्दैन । यस विषयमा मैले पार्टी र सरकारमा पनि पैरवी गरिरहेको छु । सञ्चारबाट पर्यटनमा सिफ्ट गर्नका लागि तपाईहरूले पनि लबिङ गर्न जरुरी छ ।’ 


सामाजिक सञ्जालमा निकै लोकप्रिय रहेकी चीनकी सांस्कृतिक अभियन्ता तथा कलाकार लियु यूले नेपालले आफ्ना गन्तव्यलाई धेरैभन्दा धेरै प्रवद्र्धन गर्नुपर्ने बताइन् । ‘मलाई नेपाल धेरै मन परेको छ । यहाँ राम्रा दृश्य छन् । सबैभन्दा महŒवपूर्ण कुरा नेपालीहरू निकै मित्रतापूर्ण व्यवहार गर्छन् । मैले यहाँ धेरै भिडियो बनाएको छु । ती ठाउँको प्रवद्र्धन गर्न मन छ । धेरै चिनियाँ जनताले नेपाललाई हेर्न सकून्,’ उनले भनिन्, ‘मलाई यो देश निकै मनपर्छ । म नेपालीहरूलाई पनि चीन घुम्न आग्रह गर्न चाहन्छु । हेलिकोप्टरबाट हेर्दा यहाँका दृश्य र हिमाल धेरै राम्रो देखियो ।’


चिनियाँ कला सम्पादक तथा निर्देशक ली झिहानले पनि नेपालका दृश्य निकै राम्रो लागेको बताइन् । ‘मलाई आफ्ना अनुभव सुनाउन पाउँदा निकै खुसी लागेको छ । काठमाडौं निकै सुन्दर छ । यहाँका मानिस निकै रमाइला छन्,’ उनले भनिन्, ‘नेपालका दृश्यलाई मैले सिनेमामा पनि हेरेको थिएँ । त्यो पोखराको दृश्य थियो । हिजो म हिमालयमा हेलिकोप्टर लिएर घुम्न गएँ । ती दृश्य निकै राम्रा थिए ।’ 


भारतको माउन्टेन रिभर फिल्मस्का फिल्म निर्माता चन्द्रकान्त झाले समस्याका बाबजुद पनि नेपालमा फिल्म सुटिङ भइरहनुलाई सकारात्मक रूपमा लिएको बताए । ‘नेपालमा मैले एक जापानिज, एक इटालियन र २–३ नेपाली फिल्म बनाइसकेको छु । यहाँ समस्या सिनेमामा मात्रै होइन, धेरै ठाउँमा छ । यी सबै समस्याका बाबजुद धेरै विदेशी फिल्महरू नेपालमा सुट भइसकेका छन् । त्यहीकारण हामी धेरै चिन्तित हुनुपर्ने जरुरी छैन,’ उनले भने । 


बलिउड तथा विदेशी सिनेमा उद्योगमा राम्रो पोजिसनमा रहेर काम गरिरहेका नेपालीलाई यहाँको फिल्म क्षेत्रसँग जोड्न जरुरी रहेको उनले बताए । ‘नेपालमा ज्याकी चेन आएका थिए । एभरेस्टमा उनको फिल्म सुट भएको थियो, यो फिल्मले चीनमा राम्रो कमायो । तर, नेपालमा खासै चर्चा भएन,’ उनले भने, ‘बलिउडमा पनि नेपालीहरूको राम्रो उपस्थिति छ । बालाजी फिल्मका आर्ट डाइरेक्टर नेपाली छन् । यसरी विदेशी फिल्ममा पनि नेपालीले राम्रो योगदान गरिरहेका छन् । तर, उनीहरूकै विषयमा यहाँ त्यति चर्चा हुँदैन । उनीहरूलाई बोलाउने, अन्तर्राष्ट्रिय बजारका विषयमा छलफल गर्ने गर्न सकिन्छ ।’