• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
निर्वाण चौधरी
२०८१ जेठ २६ शनिबार ०७:५५:००
समाज

निर्वाणको निजी जीवन

२०८१ जेठ २६ शनिबार ०७:५५:००
निर्वाण चौधरी

नेपालका अर्बपति परिवारका उत्तराधिकारी हुन्, निर्वाण चौधरी । बुबा विनोद चौधरी राजनीतिमा पूर्णकालीन बनेपछि निर्वाणको व्यस्तता झनै बढेको छ । एसियादेखि युरोप, अफ्रिका हुँदै अमेरिकासम्म फैलिएको व्यवसायलाई उनले अझै गति दिनु छ । तर, व्यावसायिक व्यस्ततासँगै निर्वाण गीत पनि लेख्छन् । वेलावेलामा सारंगी बजाइरहेका तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गरेकै हुन्छन् । कहिलेकाहीँ ठमेलका एलओडी र पर्पल हेजमा झुल्किन्छन् पनि । ट्रेकिङ जान पनि भ्याएकै हुन्छन् । उद्योगपति निर्वाणका नदेखिएका पक्षबारे नवीन अर्यालले संवाद गरेका छन् :

 

 इभिमा यात्रा
धेरैलाई अर्बपतिको छोरो फेरी–फेरी गाडी चढ्छ होला भन्ने लाग्न सक्छ । तर, अहिले मलाई त्यस्तो रहर छैन । २० वर्षअघि फेरी फेरी गाडी चढ्ने, रोजा ब्रान्ड लगाउने, क्लबहरू धाउने, साथीभाइसँग घुमफिर गर्ने रहर थियो । विदेशमा जाँदा प्रिमियम कार कुदाउन मन लाग्थ्यो, कुदाइन्थ्यो पनि । तर, अहिले जे अगाडि छ, त्यही चढ्छु । अहिले विद्युतीय कारको प्रयोग बढेको छ । म पनि काठमाडौंमा हुँदा प्रायः इभी चढ्छु । हामीले ‘नयाँ जमानामा नयाँ भेहिकल’ भनेर इभी प्रवद्र्धनमा जुटिरहेका छौं । मेरो केही समयअघि मात्रै किनेको रेन्जरोभर छ, त्यो पनि हाइब्रिड नै हो । 


 कम्फर्टेबल र प्राक्टिकल  फेसन 
मलाई जुन  कम्फर्टेबल र   प्राक्टिकल लाग्छ, त्यही लगाउँछु । यही नै मेरो ब्रान्ड भन्ने छैन । ब्रान्ड भन्दै कतिवटा गाडी किन्ने ? कति ब्रान्डका लुगा किन्ने ? म पछिल्लो २० वर्षदेखि अध्यात्मिक यात्रामा छु । त्यसले ‘ह्युमानिटेरियन’ बढाउने रहेछ । जीवनमा प्यासन, डिस्प्यासन र कम्प्यासनको सन्तुलन अध्यात्मले ल्याउँछ । 

 

 गीत गिफ्ट दिन्छु
म गीत लेख्छु । गितार बजाउँछु । आफैँ गुनगुनाउँछु । अहिलेसम्म १० भन्दा बढी गीत लेखिसकेँ हुँला । तर, रिलिज गर्न भने होइन । म परिवार, इष्टमित्र र साथीभाइका लागि गीत लेख्ने गर्छु । यदि कसैको बिहे, एनिभर्सरी वा कुनै फङ्सन हुँदै छ भने उनीहरूलाई नै सोचेर गीत लेखी कम्पोज गरेर पठाउँछु । मैले आठवटा गीत गिफ्ट गरिसकेँ । त्यो गीतमा शब्द, संगीत र स्वर मेरै छ । मोबाइलमा रेकर्ड गरेर गिफ्ट गर्ने हो । बुबा, भाइ, आमा, श्रीमती, बच्चा, गुरु, साथीभाइलाई गीत गिफ्ट गरेको छु । कतिलाई सिडी, कतिलाई पेनड्राइभबाट पनि दिएको छु । कतिपयलाई गीत लेखेको कागज फ्रेम गरेर पनि दिएको छु । 


गीत लेखियो तर एकदमै पर्सनल । कतिपयले गीत रिलिज गरिदिऊँ भन्नुहुन्छ, मैले मेरो नामचाहिँ नराख्नू भन्छु । हाम्रो परिवारमै म्युजिकको माहोल छ । परिवारमै कवि, गीतकार, गायक हुनुहुन्छ । बुवाले रेडियो नेपालमा गाउने, काकाले गीत र कविता लेख्ने । मैले पनि कनिकुथी गीत लेखेर आफैँ म्युजिक कम्पोज गर्न सिकेँ । गीत–संगीतमा सानैदेखि सोख बस्यो । त्यो सोखले मेरो व्यावसायिक यात्रामा पनि इनर्जी भरिरहेको छ । एउटा आर्टिस्टको इनर्जी बिजनेसमा डाइभर्ट गर्दा सफलता बढी मिल्दो रहेछ । 


 स्क्वास खेलाडी हुँ
म स्क्वासको राम्रो खेलाडी हुँ । नेपालकै नम्बर वान/टु स्क्वास प्लेयर थिएँ । साफ गेममा पनि सेलेक्ट भएँ । तर, खेल बीचमै रोकियो । अब फेरि स्क्वास खेलमै फर्किने ट्राई गर्दै छु । अहिले हेल्थ मेन्टेन गर्न खेलिन्छ । कहिले बास्केटबल, कहिले फुटसल, कहिले टेबल टेनिस खेल्छु । वाकिङ गर्छु । राति नौ बजेतिर बच्चालाई सुताएर म र श्रीमती एक घन्टा वाकिङ गर्छौं ।


मलाई ‘फर्मुला वान’मा पनि रुचि छ । संयोग भन्नुपर्ला, व्यवसायकै सिलसिलामा सिंगापुर र अबुधाबी जाँदा फर्मुला वान च्याम्पियनसिप भइरहेको थियो । मैले बिजनेश मिटिङ पनि गरेँ, फर्मुला वानमा पनि सहभागी भएँ । सोख भएपछि संयोग/अवसर पनि जुर्दो रहेछ । विश्वकप फुटबल हेर्न पनि गएको छु । मेरी श्रीमतीको फुटवलमा ज्यादै लगाव छ । उनी घरेलु नेपाल सुपर लिगको सञ्चालक पनि हुन् । उनी युवालाई फुटबलसँग जोड्न सक्रिय छिन् । युवालाई फुटबलमा भविष्य देखाउँदै छिन् । 

हाम्रो परिवारमै म्युजिकको माहोल छ । कवि, गीतकार, गायक परिवारमै हुनुहुन्छ । बुबाले रेडियो नेपालमा गाउने, काकाले गीत र कविता लेख्ने । मैले पनि कनिकुथी गीत लेखेर आफैँ म्युजिक कम्पोज गर्न सिकेँ । गीत–संगीतमा सानैदेखि सोख बस्यो । स्कुलिङ नै त्यही भयो । त्यो सोखले मेरो व्यावसायिक यात्रामा इनर्जी भरिरहेको छ । एउटा आर्टिस्टको इनर्जी बिजनेसमा डाइभर्ट गर्दा सफलता पनि बढी मिल्छ ।  


 ट्रेकिङमा सोख छ
म र वाइफ दुवैको ट्रेकिङमा रुचि छ । हामी अन्नपूर्ण बेसक्याम्प, एभरेस्ट बेसक्याम्प र किलोमञ्जारो हिमाल चढेका छौँ । ६ हजार मिटर उचाइमा प्रेम/बिहे प्रस्ताव राखेको दिन मेरा लागि विशेष थियो । विश्वकै अग्लो थोरङ्ला पास पुगेको छु । मुस्ताङ पुगेँ । म ट्रेकिङ गरेरै गएको हुँ ।


मलाई घुम्न अत्यन्तै मन लाग्छ । तर, कामले त्यति फुर्सद मिल्दैन । अहिले धेरै घुमाइ कामकै सिलसिलामा हुन्छ । कामकै सिलसिलामा देश–विदेश फन्को मारिरहेको हुन्छु । म कतिवटा देश पुगेँ, यकिन छैन । तर, कुन–कुन देश पुग्न बाँकी छ, त्योचाहिँ अलिअलि याद छ । अफ्रिकाका केही देश, बर्मा, भियतनाम, मंगोलिया, क्युबा, ल्याटिन अमेरिका अझै पुगेको छैन । कुनै समय फुर्सद निकालेरै पुग्नेछु । 


नेपालको धेरै ठाउँ पुगियो । जसमध्ये सबैभन्दा बढी मन परेको अन्नपूर्ण बेसक्याम्प र पोखरा हो । पोखरा साँच्चै सुन्दर छ । यो जेनेभाभन्दा पनि धेरै राम्रो लाग्छ । त्यहाँको इनर्जी नै फरक छ । तालैतालको सहरबाट नजिकै मनमोहक हिमाल देखिन्छन् । पोखराको समाज, संस्कृतिसँगै प्रकृति पनि अत्यन्तै राम्रो छ । मलाई लाग्छ– पोखरा मेडिटेसन सिटी हो ।


 घुम्न मन पर्छ श्रीलंका र स्तानबुल
विदेशमा मन परेको श्रीलंका र इस्तनबुल । श्रीलंका पनि पोखराजस्तै लाग्छ । समुद्रको एउटा आइल्यान्ड हो । त्यहाँका मान्छे मिहिनेती र सकारात्मक सोचका छन् । हस्पिटालिटी गज्जब छ । खाना पनि राम्रो लाग्छ । अर्को, टर्कीको स्तानबुल कल्चरल्ली रिच छ । इस्तानबुल संसारको यस्तो भूगोल हो, जहाँ बोस पोरसको सुन्दर प्राकृतिक जलप्रवाह भेटिन्छ, जसले युरोप र एसियालाई छुट्याएको छ । 


म कामकै सिलसिलामा विश्वयात्रा गरिरहेको हुन्छ । व्यक्तिगत फुर्सद दसैँ र नयाँ वर्षमा मात्र हुन्छ । हाम्रो लक्ष्य र भिजन यस्तो छ कि डुलिहिँड्ने फुर्सद नै छैन । कहिलेकाहीँ विदेशमा १५ दिन बिताउँदा १६ सहर पुगेको हुन्छु । दिनभरि काम र रातभरि ट्राभल धेरै हुन्छ ।


 ‘थकाली थाली’को पारखी हुँ
म खानाको सौखिन हुँ । कुनै ठाउँमा पुग्दा साइट सिन गर्नेभन्दा पहिला कुनचाहिँ रेस्टुरेन्टमा पसेर खाने भन्ने प्राथमिकता हुन्छ । रेस्टुरेन्ट रोड साइटको पनि हुन सक्छ, फाइभ स्टारको पनि । विदेशमा जाँदा नयाँ–नयाँ कुजिन ट्राई गरिन्छ । फेरि हामी भेजिटेरियनलाई जुनसुकै रेस्टुरेन्टमा गए पनि डिस कम नै हुन्छ । मलाई सबैभन्दा मन पर्ने थकाली थाली हो । फेवरेट रेस्टुरेन्ट झम्सिखेलको मन्त्र थकाली हो । जहाँ सिम्पल खाना हुन्छ तर असाध्यै मिठो । थकाली सेट खाइहालौँ लाग्छ । विदेशी डिसमा श्रीलंकन थाली मन पर्छ । मलाई परिकार बनाउन चाहिँ आउँदैन । 


 लाइभ म्युजिक मन पर्छ
अचेल क्लब एकदमै कम गइन्छ । तर, कहिलेकाहीँ गेस्टहरू आएको वेला एलओडीलगायत क्लब गइन्छ । लाउड म्युजिकमा पाँच–१० मिनेटभन्दा बढी अडिन सक्दिनँ । मलाई क्लबभन्दा पनि लाइभ म्युजिक मन पर्छ । नेपालमा लाइभ म्युजिक कल्चर पनि बढेको छ । मेरो मन पर्ने ठाउँ ‘पर्पल हेज’ हो । पर्पल हेजमा साथीभाइ र श्रीमतीसँग गइन्छ ।


 मेडिटेसनले बदलेको जीवन 
म ड्रिङ्स गर्दिनँ । फर्मालिटीका लागि पिए मात्र हो । भेजिटेरियन हुँ । प्रत्येक दिन मेडिटेसन गर्छु, कहिले घरमा त कहिले अफिसमा । यात्रा लामो भए प्लेनमै पनि मेडिटेसन गर्छु । कुनै दिन बिराउँदिनँ । मैले २० मिनेट सुदर्शन क्रिया गर्छु । सुदर्शन क्रियाले माइन्ड क्लियर गरिदिन्छ । पोजेटिभ इनर्जी दिन्छ । मैले मेडिटेसन गर्न थालेको १५ वर्षजति भयो । त्यहीँबाट मेरो जीवनशैलीमा पनि परिवर्तन आयो । स्ट्रेसकै बीच ‘कुल’ हुन सिकेँ । सकारात्मक सोचको विकास भयो । मान्छेप्रति रेस्पेक्ट बढायो । 


 गाडीमा म्युजिक सुन्छु  
पहिला ड्राइभिङमा खुबै रुचि थियो । फेरि व्यवसायको ठूलो जिम्मेवारी पनि थिएन । गाडी कुदाउँदै मेची–महाकाली पुगेको छु । परिवार, उमेर र जिम्मेवारी बढ्दै गएर होला अहिले गाडी कुदाउन त्यति मन लाग्दैन । शनिबार परिवारसँग ड्राइभिङ गर्न मन लाग्छ । म गाडीमा जतिवेलै गीत सुन्छु । जतिवेला पनि कानमा हेडफोन हुन्छ । सबैभन्दा धेरै गीत नेपाली नै सुन्ने गर्छु । मलाई सुशान्त केसी मन पर्छ । ऊ मलाई वल्र्ड क्लास आर्टिस्ट लाग्छ । आफैँ लेख्ने, आफँै कम्पोज गर्ने, आफँै गाउने । मलाई यात्रा (कार वा प्लेन) गर्दा ओटिटी प्लटफर्ममा सोहरू हेर्न मन लाग्छ । कतिपय फ्लाइटमा गीत पनि लेखेको छु । बादलमाथि जाँदा किन–किन मलाई अर्कै इनर्जी आउँछ । 


 पहिला बुक पढ्थेँ, अहिले अडियो बुक सुन्छु 
म पहिला धेरै बुकहरू पढ्थेँ । तर, अहिले धेरै समय पाउँदिनँ । यसैले अहिले दैनिक अडियो बुक सुन्ने गरेको छु । कुनै पनि बुकको समराइज अडियो । मलाई मोटिभेसन, अटोबायोग्राफी, उत्प्रेरणा दिने, सिकाउने, सकारात्मक सोचको विकास गरिदिने खालका बुक पढ्न मन लाग्छ ।  


 थोरै समय पाउँदा पनि परिवारसँग बिताउँछु
म परिवारसँग समय बिताउन चाहन्छु । एक मिनेट पनि एक्स्ट्रा समय पाउनेबित्तिकै परिवारसँग बिताउँछु । बच्चासँग हाँस्छु, खेल्छु । मैले बच्चाहरूबाट हाँस्न सिक्छु । उनीहरूमा खुसी भेट्टाउँछु । परिवारसँग भेट्नेबित्तिकै स्ट्रेस नै कम हुन्छ । हाँसो, खुसी, सन्तुष्टि परिवारले भरिदिन्छ । मेरो अफिसबाहेक ९० प्रतिशत समय परिवारमै बित्छ । साथीभाइसँग बाहिर जाने भनेको महिनामा एक–दुईचोटि हुन्छ, त्यो पनि श्रीमती सँगै हुन्छिन् । हाम्रो पारिवारिक गफमा पनि ७० प्रतिशत बिजनेसकै कुरा हुन्छन् । बुबासँग भेट्दा व्यावसायिक गतिविधिबारे ब्रिफिङ गर्छौं । उहाँसँग पनि भेट भइरहँदैन । किनभने, उहाँ राजनीतिमा पनि सक्रिय हुनुुहुन्छ । धेरै समय स्वदेश–विदेश दौडादौडमा व्यस्त रहनुहुन्छ । बुबा र दाजुभाइ भेट हुँदा व्यवसायकै कुरा बढी हुन्छ । बुबाको चाहना पनि छ– हामी जति चाँडै बिजनेसमा पर्फेक्ट भयौँ, त्यति नै फ्री भएर राजनीतिमा सक्रिय हुन पाउनुहुन्थ्यो । बुबामा राजनीतिमार्फत देशको मुहार फेर्ने हुटहुटी छ । मलाई लाग्छ, देशमा ठूलो परिवर्तन ल्याउनका लागि बुबाले धेरै भूमिका खेल्न सक्नुहुन्छ । 


वर्ल्डक्लास ब्रान्ड बनाउने रहर  
बुबाले वाइवाइलाई ग्लोबल ब्रान्ड बनाउनुभयो । थाइल्यान्डमा जन्मेर नेपालमा हुर्की, बढी ग्लोबल्ली फैलिएको ब्रान्ड हो वाइवाइ । वाइवाइ ग्लोबल्ली ३० देशमा पुगेको छ, जहाँ वार्षिक तीन अर्ब प्याकेट खपत हुन्छन् । पाँच देशमा फ्याक्ट्री नै सञ्चालनमा छ । वाइवाइ देशकै आइडेन्टिटी बनेको छ । हामीले अझै थप उचाई दिन प्रयासरत छौँ ।


जसरी ‘टाटा’ ट्रस्टेवल ब्रान्ड बनेको छ, त्यसैगरी सिजीलाई पनि ट्रस्टेवल ब्रान्ड बनाउने हो । र, बन्दै छ पनि । हामीले सिजी सिमेन्ट, सिजी नेट, सिजी फिन्को किन राख्यौँ, यसमा ट्रस्ट छ । मेरो सोखको बिजनेश टेलिकम हो, तर त्यो ल्याउन नपाए पनि आइएसपी ल्याऔँ ।

 

 ६ हजार मिटरमाथि प्रेम प्रस्ताव गरेँ
सन् २०११/२०१२ तिरको कुरा । हामी माउन्ट किलिमन्जारो चढ्दै थियौँ । बीचमा पुगेपछि गाह्रो भएर फर्किने मनस्थिति बनाइसकेको थिएँ । तर, आश्रयता (श्रीमती)ले चुचुरोमा पुग्नैपर्छ भनेर ढाडस दिइन् । लक्ष्य लिएपछि पूरा गरेरै छाड्नुपर्छ भनिन् । चुचुरोतिर लम्कियौँ । मलाई त्यही वेला लाग्यो, लाइफ पार्टनर त यस्तो हुनुपर्छ । मनमनै गमेँ, बिहे गरेँ भने यिनैसँग गर्छु । मैले पाँच हजार ८९५ मिटर अग्लो चुचुरोमा प्रपोज गरेँ, त्यो वेला मौसम सायद ३० डिग्री थियो । त्यो क्षण कैद गर्न हामीसँग क्यामेरा थिएन । हामीले भूकम्पको समयमा विवाह ग¥यौँ । १२ मे २०१५ मा दोस्रोपटक भूकम्प आयो । अर्को दिन १३ मेमा विवाह गरेका थियौँ । हामीलाई विवाह बन्धनमा बाँधिन भूकम्पले रोक्न सकेन । किन मैले मे १३ मै विवाह गरेँ भन्दा ‘मे तेरा, तेरा मे’ । सम्बन्ध झन् बलियो र मिठासपूर्ण हुन्छ नि । बैंग्लोरको आश्रममा गुरु श्रीश्रीश्री रवि शंकरले विवाह गरिदिनुभयो ।