• वि.सं २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
२०८१ असार २ शनिबार ०६:४३:००
यात्रा

श्रीलंकाको सरप्राइज

२०८१ असार २ शनिबार ०६:४३:००

वरिपरि मनोहर पहाड । पहाडको काखमा मनै लोभ्याउने चिया बगान । पहाडहरूको बीच भागमा ताल, पार्क र गल्फ कोर्स । युरोपियन शैलीका सुन्दर घरहरू भएको सानो र शान्त बस्ती । चिल्ला र सफा सडक । अनि सुविधा सम्पन्न होटेल तथा रिसोर्टहरू । 


कुनै युरोपियन देशझैँ लाग्ने यो ठाउँ श्रीलंकाको नुवारा इलिया(नुरेली) हो । समुद्री देश श्रीलंकाको एउटा प्रमुख पर्यटकीय गन्तव्य । जुन भौगोलिक बनावट, मौसम मात्र नभई धार्मिक महत्वका कारण पनि निकै लोकप्रिय छ । श्रीलंकाको पुरानो राजधानी केन्डी सहरबाट करिब ७६ किलोमिटर दूरी तथा एक हजार आठ सय उचाइमा रहेको यो ‘हिलस्टेसन’ कुनै समय उपनिवेश शासकहरूको छुट्टी मनाउने र आराम गर्ने ठाउँ थियो । उनीहरूले करिब दुई सय वर्षअघि बनाएका भवनमा समेत अहिले होटेल चलिरहेका छन् । 


त्यसमध्ये एक चर्चित होटेल हो, होटेल ग्रान्ड । उपनिवेशकालमा तत्कालीन बेलायतका गभर्नर एडवार्ड बार्नेसले बिदा मनाउन सन् १८२८ मा त्यहाँ भवन बनाएका थिए । सोही भवनमा अहिले चारतारे बुटिक होटेल चलिरहेको छ । ‘लिटल आइल्यान्ड’ उपनामले समेत चिनिने यो पहाडमा यस्ता थुप्रै ऐतिहासिक भवनमा आकर्षक होटेल सञ्चालित छन् । युरोपियन शैलीका घरका कारण पनि यसको छुट्टै आकर्षण छ । 


यो सानो सहरमा श्रीलंकाको सबैभन्दा अग्लो २५ सय मिटर पहाड पिदुरुतलागला पर्छ । दक्षिण एसियामै सबैभन्दा राम्रोमध्ये एक भनेर चर्चा हुने भिक्टोरिया पार्क र राष्ट्रिय निकुञ्ज यही पहाडको काखमा छ । यहाँको चिया विश्वकै उत्कृष्टमध्येमा पर्छ । युरोपियनहरूले नै यहाँ चिया खेती सुरु गरेका थिए । भूबनोटका आधारमा यहाँ उत्पादन हुने चियाको उच्च गुणस्तरका कारण विश्वबजारमा पुग्ने गर्छ । श्रीलंका विश्वकै चौथो ठूलो चिया निर्यातकर्ता हो । जति अग्लो ठाउँ भयो, त्यहाँको चियाको स्वाद उत्कृष्ट हुने रहेछ । घुम्न आउने पर्यटकलाई निःशुल्क फ्याक्ट्री घुमाएर चिया बनाउने प्रक्रिया देखाउँदै सबै प्रकारका चिया देखाउने श्रीलंकन संस्कृति यहाँ रहेको छ । 


श्रीलंकाकै उच्च पहाडमा रहेको ‘लेक ग्रिगरी’ले यो क्षेत्रको छुट्टै सुन्दरता थपेको छ । साथै, स्ट्रबेरी फार्म, लिटल न्युजिल्यान्डका नामले चिनिने अम्बेला फार्म, बोटानिकल गार्डेन, राष्ट्रिय निकुञ्ज, आसपासमा दर्जन झरना यहाँ गहना हुन् ।

 
हिन्दू धर्मावलम्बीका लागि यो ठाउँ अझै महत्वपूर्ण छ । हिन्दू पौराणिक महाकाव्य रामायणमा रावणले सीतालाई लुकाएको भनिएको ‘सीता अम्मान कोभिल’ मन्दिर यही रहेको छ भने नजिककै पहाडमा पुष्पक वायुयान राखिएको विश्वास छ । गर्मी महिनामा पनि स्विटर लगाउनुपर्ने यहाँको मौसमका कारण नुरेली श्रीलंकाकै आन्तरिक पर्यटकको पनि केन्द्र बन्दै गएको छ । 


चारैतिर समुद्रले घेरिएकाले श्रीलंकाको पहिचान समुद्री टापुका रूपमा रहेको छ । तर, गत साता भ्रमण गर्दा श्रीलंकाका आकर्षक पहाड नुरेली हेर्दा सुनेको र देखेको श्रीलंकामा ठूलो भिन्नता देखियो । श्रीलंका घुम्न जाने धेरै पर्यटकका लागि यहाँ सुन्दर पहाड ‘सरप्राइज’ हुने गरेको स्थानीय होटेल व्यवसायी सुनाउँछन् । 

पछिल्लो समय श्रीलंकाको नामसँगै आर्थिक संकटमा फसेको देशको छवि आउँछ । देशमा बढेको पर्यटकीय तथा आर्थिक गतिविधि हेर्दा श्रीलंका पुरानै ‘लिक’मा फर्किसकेको आभास हुन्छ । 


नुवारा इलियाबाट करिब ५४ मिटर अघि बढेपछि अर्काे आकर्षक पहाडी गन्तव्य पुगिन्छ–एला । यहाँको जैविक विविधतासँगै पहाडको रेल विदेशी मात्र होइन, स्थानीयमाझ पनि निकै लोकप्रिय छ । आकर्षक पहाडी परिदृश्य हेर्दै ‘छुकछुके’ रेलको रोमाञ्चक यात्रा अन्तर्राष्ट्रियस्तरमै चर्चित छ । केन्डी सहरबाट एलासम्मको ट्रेन यात्रा पर्यटकका लागि लोकप्रिय बन्दै आएको छ । त्यही रेल चढ्नसमेत पर्यटकको घुइँचो लाग्ने रहेछ । एला नेपालको भेडेटारको झल्को दिने सानो पहाडी सहर हो । जहाँबाट केही तल झरेपछि समथर भूमि पुगिन्छ । बीचमा श्रीलंकाकै चर्चित रावना झरनाको मजा लिन सकिन्छ । 


श्रीलंका चारै क्षेत्रबाट समुद्रले घेरिएको र नेपाल भूपरिवेष्टित देश भए पनि कतिपय दुई देशका केही भौगोलिक बनावटमा समानता छ । जसरी नेपालमा चर्काे गर्मी छल्न केही मिनेटमै पहाडी गन्तव्य पुग्न सकिन्छ, त्यसैगरी श्रीलंकामा समुद्रबाट पहाडी क्षेत्रहरू छोटो दूरीमा छन् । पर्यटक तान्न पछिल्लो समय यही कुरालाई श्रीलंकाले मार्केटिङ गरिरहेको छ । समुद्री तटमा रमाउनेदेखि पहाडमा ट्रेकिङ जानेसम्मको एउटै गन्तव्यका रूपमा श्रीलंकामा पर्यटक बढिरहेका छन् । 

पहाडी क्षेत्रका सडकमा समेत कतै खाल्डाखुल्डी थिएनन् । श्रीलंकाको सडकको अनुशासन उच्च देखिन्थ्यो । सडकमा हत्तपत्त हर्न सुनिँदैन । सार्वजनिक यातायातमा एकैथरीका ठूला बस सञ्चालित छन् । पहाड–पहाडसम्म ट्रेनको सेवा छँदै छ । प्राकृतिक सुन्दरताका कारण श्रीलंकालाई ‘इन्डियन समुद्रको मोती’का उपनामले पनि चिनिन्छ ।


तीन दशक लामो गृहयुद्धपछि तीव्र गतिमा आर्थिक विकास गरेको श्रीलंका पछिल्लो समय कोभिड महामारी, सन् २०१९ को आतंककारी हमला र दुई वर्षअघि आर्थिक संकटका कारण टाट पल्टिने अवस्थामा पुगेको थियो । यहाँका सहर घुम्दा थाहा हुन्छ, देशले अहिले तीव्र गतिमा ‘रिकभरी’ गरिरहेको छ । 


पर्यटन उद्योगबाट पनि त्यसको झल्को मिल्छ । सन् २०२३ मा श्रीलंकामा १४ लाख विदेशी पर्यटक पुगेका थिए । श्रीलंकन टुरिजम डेभलपमेन्ट अथोरिटीका अनुसार सन् २०२४ मा पर्यटक आगमन अघिल्लो वर्षभन्दा झन्डै दोब्बर भइसकेको छ । यो वर्ष जनवरीमा दुई लाख आठ हजार, फेब्रुअरीमा दुई लाख १८ हजार, मार्चमा दुई लाख नौ हजार, अप्रिलमा एक लाख ४८ हजार र मे महिनामा एक लाख १४ हजार पर्यटक पुगेको प्राधिकरणको तथ्यांक छ । तुलनात्मक रूपमा ‘अफ सिजन’ मानिने महिनामा पनि एक लाख पर्यटक श्रीलंका पुगेका छन् । 


श्रीलंका एयरलाइन्सका मार्केटिङ विभागका प्रमुख समिन्दा परेरा भन्छन्, ‘हाम्रो देशमा यसरी पर्यटक आगमन बढिरहेको छ कि कुन महिनालाई सिजन र कुनलाई अफसिजन भनेर छुट्याउनै गाह्रो भइसकेको छ ।’ कोभिडअघि चिनियाँ पर्यटक श्रीलंकामा पहिलो नम्बरमा रहेकोमा हाल भारतीय अगाडि छन् । त्यसपछि रसियन, बेलायती, जर्मनी र चौथो नम्बरमा चिनियाँ छन् । 


श्रीलंकाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी श्रीलंकन एयरलाइन्सले नेपाल र श्रीलंकाबीच पनि पर्यटक आगमन बढाउने प्रयास गरिरहेको छ । हाल नेपालमा उसको हप्तामा पाँच उडान छन् । दुई देशबीच धार्मिक पर्यटक धेरै छन् । दुबई, थाइल्यान्ड, भियतनामजस्ता देश घुम्न जाने पर्यटकलाई समेत श्रीलंकाले तान्ने प्रयास गरिरहेको छ । 


बुद्धको जन्मस्थल नेपाल भएकाले नेपालमा पनि श्रीलंकन पर्यटक अपेक्षाकृत आउन सकेका छैनन् । आउनेहरू पनि धेरैजसो भारतबाट सडकमार्ग हुँदै आउने गरेका छन् । भारतीय टुर अपरेटरहरूले नै उनीहरूको व्यवस्थापन गर्ने भएकाले नेपाली पर्यटन उद्योगले श्रीलंकन पर्यटकबाट फाइदा लिन सकेको छैन । हवाईमार्गबाट काठमाडौं आएर लुम्बिनी जाँदा खर्चिलो र धेरै समय लाग्ने भएकाले पनि भारत हुँदै आउने गरेका छन् । काठमाडौं–श्रीलंका फ्लाइट बढेकाले हवाईमार्गबाटै श्रीलंकन पर्यटकलाई नेपाल ल्याउने प्रयास भइरहेको श्रीलंकन एयरलाइन्सका नेपालस्थित कन्ट्री मेनेजर निलिन पाथिरना बताउँछन् । 


समुद्री तट, ऐतिहासिक सहर र रावणको दरबार 
नेपाली पर्यटकलाई श्रीलंका तान्ने धेरै पर्यटकीय स्थल छन् । समुद्री तटको आनन्द लिनु पर्यटकको प्रमुख इच्छा हुने गरेको छ । कोलम्बो तथा गल सहरमा समुद्री तटमा दर्जनौँ लक्जरी होटेल तथा रिसोर्ट सञ्चालित छन् । ठूलो आर्थिक संकटका बाबजुद श्रीलंकामा महँगी अझै नियन्त्रणबाहिर गइसकेको छैन । दुई वर्षअघिको आर्थिक संकटपछि श्रीलंकाले पेट्रोलियम पदार्थको मूल्य झन्डै तेब्बर गर्दा पनि महँगी नेपालकै बराबर मात्र छ । 


सफा समुद्री तटसँगै उपनिवेश कालदेखिका पुराना भवन र त्यही शैली पछ्याएर बनेका घर श्रीलंकाका आकर्षक हुन् । कोलम्बो तथा गल सहरमा सयौँ वर्ष पुराना फोर्ट तथा लाइट हाउसहरू संरक्षण गरेर राखिएका छन् । उपनिवेशकालमा शासकहरू बस्ने कतिपय भवनमा हाल बुटिक होटेल तथा रेस्टुरेन्टहरू सञ्चालनमा छन् । मुख्य सहरमा अन्तर्राष्ट्रिय चेन होटेल धमाधम निर्माण भइरहेका छन् । कोलम्बोमा समुद्र पुरेर बनिरहेको ‘पोर्ट सिटी’ले पनि श्रीलंकाको रिकभरी गति देख्न सकिन्छ । दक्षिण भागमा हालै चीनले दुई सय किलोमिटर लामो आकर्षक एक्सप्रेसवे बनाएको छ । पछिल्लो समय श्रीलंकाको नामसँगै आर्थिक संकटमा फसेको देशको छवि आउँछ । देशमा बढेको पर्यटकीय तथा आर्थिक गतिविधि हेर्दा श्रीलंका पुरानै ‘लिक’मा फर्किसकेको आभास हुन्छ । 


हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रीलंकाका निकै पवित्र गन्तव्य छन् । कोलम्बोबाट करिब एक सय ६० किलोमिटर उत्तरमा रहेको सहर धम्बुलामा रावणको दरबारका रूपमा चिनिने सिगिरिया (सिंहागिरी) तथा नजिकै बुद्धको मन्दिर रहेको पिदुरंगला मन्दिर छन् । जंगलको बीचमा भीमकाय ढुंगामा रहेका यी ठाउँ पुग्न पर्यटकको भिड लाग्ने गर्छ । 


यहाँबाट करिब ७२ किलोमिटरको दूरीमा श्रीलंकाको पुरानो सहर क्यान्डी छ । जहाँ बुद्ध धर्मावलम्बीहरूको पवित्रमध्येको एक मन्दिर ‘टेम्पल अफ टुथ’ रहेको छ । जहाँ बुद्धको दाँत राखेको विश्वास छ । विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको यहाँ भिड लाग्ने गर्छ । करिब ७० प्रतिशत बुद्धिस्ट जनसंख्या भएकाले पनि यो मन्दिर आन्तरिक पर्यटकको पनि गन्तव्य बन्दै आएको छ । जेम्स, जडीबुटी र मसलेदार स्थानीय खानाका लागि पनि श्रीलंका लोकप्रिय छ । 


गत साता कोलम्बोबाट धम्बुला, क्यान्डी, नुवारा इलिया, एला, गल हुँदै सडकमार्गबाट कोलेम्बोसम्म फर्किंदा श्रीलंकामा समुद्रदेखि पहाडको भौगोलिक विविधिता र सुन्दरता अवलोकन गर्ने अवसर मिल्यो । पहाडी क्षेत्रका सडकमा समेत कतै खाल्डाखुल्डी थिएन । श्रीलंकाको सडकको अनुशासन उच्च देखिन्थ्यो । सडकमा हत्तपत्त हर्न सुनिँदैन । सार्वजनिक यातायातमा एकैथरीका ठूला बस सञ्चालित छन् । पहाड–पहाडसम्म ट्रेनको सेवा छँदै छ । प्राकृतिक सुन्दरताका कारण श्रीलंकालाई ‘इन्डियन समुद्रको मोती’का उपनामले पनि चिनिन्छ । देशको सुन्दरता र सस्तो गन्तव्य भएकाले श्रीलंका विश्वभरिका पर्यटकको गन्तव्य बन्दै गएको छ । 


तीन वर्षअघि नेपालमा उडान फेरि सुरु गरेको श्रीलंकन एयरलाइन्सले आफ्नो उडान संख्या थप्दै गएको छ । अहिलेको आफूहरूको प्रमुख लक्ष्य काठमाडौंमा दैनिक उडान भर्नु रहेको श्रीलंकन एयरलाइन्सका कन्ट्री डाइरेक्टर निलिन पाथिरना बताउँछन् । ‘श्रीलंकाको उत्कृष्ट पक्ष के हो भने छोटो समयमै आर्थिक क्षेत्रले बाउन्स ब्याक गरेको छ,’ उनी भन्छन्, ‘पर्यटन हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो, त्यही कारण हामी विशेष प्याकेज तयार गरी बिदामा घुम्न जाने नेपाली पर्यटकलाई पनि स्वागत गर्न तयार छौँ ।’ भैरहवामा समेत उडान भरेर श्रीलंकन पर्यटकलाई नेपाल ल्याउने आफूहरूको लक्ष्य रहेको र त्यसमा नेपाली पक्षसँग कुरा भइरहेको उनले सुनाए ।