• वि.सं २०८२ असार १८ मंगलबार
  • Tuesday, 01 July, 2025
भिरा बरगेनग्रुएन
२०८१ असार २ शनिबार ०७:४०:००
विज्ञान प्रविधि

युक्रेन : एआई निर्देशित सैन्य प्रविधिको प्रयोगशाला !

२०८१ असार २ शनिबार ०७:४०:००
भिरा बरगेनग्रुएन

जुन १, २०२२ को झिसमिसे बिहानको समय । डाटा–विश्लेषण कम्पनी ‘प्यालनटिर टेक्नोलोजी’का प्रमुख कार्यकारी अधिकृत  एलेक्स कार्प पाँच सहकर्मीलाई साथमा लिएर पैदलै पोल्यान्डको सिमानाबाट युद्धग्रस्त देश युक्रेन पुगे । त्यहाँ उनीहरूलाई दुईवटा पुराना टोयोटा ल्यान्ड क्रुजर पर्खिरहेका थिए । सशस्त्र गार्डहरूले चलाएको सो कार तिनलाई लिएर खाली राजमार्ग हँुदै किभतर्फ अघि बढ्यो । तीन महिनाअघिदेखि सुरु भएको रुसी आक्रमणबाट ध्वस्त भवन, क्षतिग्रस्त पुल, जलेका ट्रक पार गर्दै तिनको गाडी युद्धग्रस्त युक्रेनी राजधानीमा कर्फ्यु लाग्नुअघि प्रवेश गर्‍यो । अर्को दिन, कार्पलाई राष्ट्रपति भवनको बलियो सुरक्षामा रहेको बंकरमा लगियो । उनी तीन महिनाअघि रुसको आक्रमण सुरु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्ने ठूला पश्चिमी कम्पनीका पहिलो सिइओ बने ।


एक चरणको कफी गफपछि कार्पले जेलेन्स्कीसँग किभमा एक कार्यालय खोलेर युक्रेनको प्रतिरक्षाका लागि उनको कम्पनीको डाटा तथा ‘आर्टिफिसिय इन्टिलिजेन्स (एआई)’ सफ्टवेयर प्रयोगमा ल्याउन इच्छुक भएको बताए । कार्पको दाबी थियो, उनको प्रविधिले युक्रेनलाई ‘आधुनिक समयको डेभिड (कमजोर शक्ति अर्थात् युक्रेन)लाई गोलियाथ (विशाल शक्ति अर्थात् रुस) हराउन सघाउनेछ । जर्मन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेका ५६ वर्षीय कार्पका शिक्षक थिए, विश्वचर्चित सामाजिक सिद्धान्तकार जुर्गेन हबरमास । अमेरिकाको स्ट्यानफोर्डमा कानुनको डिग्री लिने क्रममा उनको मित्रता विवादास्पद उद्यमी पिटर थिएलसँग भयो । यही मित्रता प्यालनटिरको प्रस्थानबिन्दु सावित भयो । 


कार्पको दाबी सुनिरहेका युक्रेनी अधिकारीहरू उनीबारे त्यति जानकार नभए पनि प्यालनटिरको प्रतिष्ठासँग परिचित थिए । अमेरिकी जासुसी संस्था सिआइएबाट सुरुवाती लगानी हासिल गरेको यस कम्पनीले अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसिई), घरेलु गुप्तचर निकाय एफबिआई, रक्षा विभाग र विदेशी गुप्तचर एजेन्सीहरूलाई डाटा–विश्लेषण सफ्टवेयर उपलब्ध गराएर आफ्नो व्यवसाय विस्तार गरेको थियो । कार्पले मसँगको कुराकानीमा बताएअनुसार युक्रेनमा उनले ‘पश्चिमको प्रतिरक्षा गर्ने’ र ‘हाम्रा शत्रुलाई भयभीत बनाउने’ प्यालनटिरको लक्ष्य पूरा हुने अवसर देखे । युक्रेनले कार्पसँगको सहकार्यबाट देशलाई रुसविरुद्धको संघर्षमा एक नयाँ सारथि पाउने ठान्यो । रुसीहरूले निर्वाचित सरकारलाई अपदस्थ गर्ने र देशलाई कब्जा गर्ने धम्की दिँदै सुरु गरेको आक्रमणका सन्दर्भमा किभले प्राप्त गर्न सकिने सबैबाट सहयोग लिइरहेको थियो । 

क्लियरभ्युका अतिरिक्त जर्मन ड्रोन निर्माता क्वान्टम सिस्टम्सले हालै किभमा अनुसन्धान र निर्माण केन्द्र खोल्ने घोषणा गरेको छ । जापानी प्राविधिक कम्पनी राकुटेनले पनि युक्रेनी राजधानीमा कार्यालय खोल्ने आफ्नो योजना सार्वजनिक गरेको छ । टर्कीको चर्चित ड्रोन निर्माता बायकरले सन् २०२५ सम्म युक्रेनमा अनुसन्धान र निर्माण केन्द्र निर्माण गर्न लगभग १० करोड डलरको लगानी गरेको छ ।

 

प्यालनटिर र युक्रेनी सरकारबीचको सहकार्यले उलेख्य प्रगति हासिल भएको छ । कार्पको जेलेन्स्कीसँगको सुरुको भेटको डेढ वर्षमा प्यालन्टिरले आफूलाई युक्रनी सेना र सरकारको दिनहुँको काममा समाहित गरेको छ । युक्रेनका रक्षा, अर्थतन्त्र र शिक्षा मन्त्रालयसमेत आधा दर्जनभन्दा बढी युक्रेनी एजेन्सीहरू उसका उत्पादन प्रयोग गरिरहेका छन् । भूउपग्रहीय तस्बिर, खुला रूपमा उपलब्ध तथ्यांक, ड्रोन फुटेज र जमिनबाट प्राप्त रिपोर्टहरूलाई एआईको प्रयोग गरेर विश्लेषण गर्ने प्यालनटिरको सफ्टवेयरले अहिले युक्रेनी कमान्डरहरूलाई सैन्य निर्णयमा सघाइरहेको छ । कार्पको दाबीअनुसार अहिले युक्रेनले अधिकांश रुसी निसाना छनोट गर्न उनको कम्पनीको प्रविधि प्रयोग गरिरहेको छ । 


युक्रेनी युद्ध प्रयासलाई सघाउने प्रविधि कम्पनी प्यालनटिर एउटा मात्र होइन । विश्वका ठूला प्रविधि कम्पनी माइक्रोसफ्ट, अमेजन, गुगल, स्टारलिंक आदि युक्रेनलाई रुसी साइबर आक्रमणबाट जोगाउन, महत्वपूर्ण सरकारी तथ्यांक क्लाउड प्रणालीमा स्थानान्तरण गर्न र देशको इन्टरनेट प्रणाली सुचारु राखेर युक्रेनी प्रतिरक्षामा करोडौँ डलर खर्चिरहेका छन् । विवादास्पद अमेरिकी ‘फेसियल रिकोग्निसन (अनुहार पहिचान गर्ने)’ कम्पनी क्लियरभ्यु एआईले १५ सयभन्दा बढी युक्रेनी अधिकारीलाई आफ्नो उपकरण उपलब्ध गराएको छ । क्लियरभ्युको प्रविधिमार्फत युक्रेनी अधिकारीले तिनको देश आक्रमण गर्न आएका दुई लाख तीस हजार रुसीहरूको पहिचान गर्न सफल भए । यसबाहेक स्वचालित ड्रोनमा केन्द्रित कैयौँ अमेरिकी तथा युरोपेली कम्पनीले पनि किभमा तिनको शाखा स्थाापना गरेका छन् । विदेशी प्राविधिक कम्पनी र युक्रेनी सेनाबीचको सहकार्यले (अहिले प्रत्येक युक्रेनी बटालियनमा सफ्टवेयर इन्जिनियरहरू तैनाथ गरिएको बताइन्छ) एआईको सैन्य प्रयोगलाई दिशा दिइरहेको छ । 


परिणामस्वरूप युक्रेनी भूमिमा अहिले युद्धको परम्परागत चरित्रमा सबैभन्दा आधारभूत परिवर्तनले गति लिइरहेको अमेरिकी सेनाका जोइन्ट चिफ अफ स्टाफका पूर्वअध्यक्ष जनरल मार्क मिलेले वासिंटनमा पत्रकारहरूसँगको कुराकानीमा भने । ‘युक्रेन सबै खालका नयाँ सैन्य प्रविधिको सबैभन्दा राम्रो परीक्षणस्थल बनेको छ,’ युक्रेनका डिजिटल रूपान्तरण मन्त्री मिखाइलो फेदोरोभले गर्वका साथ भने, ‘यहाँ नयाँ प्रविधिलाई वास्तविक युद्धभूमिमा परीक्षण गर्न सकिन्छ ।’ हुन पनि युक्रेनको युद्धमैदानमा हाल परीक्षण भइरहेको प्रविधिले विश्वव्यापी असर पार्नेछ । युद्ध मैदानमा सफ्टवेयर र एआईको प्रयोगसँगै अधिक रूपमा सैन्य निर्णय एल्गोरिदमको जिम्मामा सुम्पिने सम्भावना बढ्नेछ । त्यसपछि युद्धमा समेत प्रविधि कम्पनीको भूमिका ह्वात्तै बढ्नेछ । त्यसबाहेक राष्ट्रिय सुरक्षा अधिकारी तथा सुरक्षा विज्ञहरू यी नयाँ प्रविधि सजिलै विरोधी शक्तिको हातमा पर्न सक्ने चेतावनी दिन्छन् । यस चेनावनीलाई प्रविधि कम्पनीले अस्वीकार गरेका छैनन् । 

युक्रेनको युद्धमैदानमा हाल परीक्षण भइरहेको प्रविधिले विश्वव्यापी असर पार्नेछ । युद्ध मैदानमा सफ्टवेयर र एआईको प्रयोगसँगै अधिक रूपमा सैन्य निर्णय एल्गोरिदमको जिम्मामा सुम्पिने सम्भावना बढ्नेछ । त्यसपछि युद्धमा समेत प्रविधि कम्पनीको भूमिका ह्वात्तै बढ्नेछ ।


प्यालनटिरले गर्ने काम प्रायः वातानुकूलित कार्यालयमा जम्मा भएका एक दर्जनभन्दा कम संख्याको स्थानीय कर्मचारीको समूहले गर्ने गर्छन् । युक्रेनी अधिकारीसँग ती प्रत्यक्ष रूपमा सम्पर्कमा रहने गर्छन् । ‘यो काम कुनै प्रविधि स्टार्टअपको कार्यालयमा गरेजस्तो अनुभूति हुन्छ । दुई पुराना क्यामेरा र ड्रोनको सहयोगमा के गर्न सकिन्छ हेर्दै छु,’ अमेरिकी प्राविधिक कम्पनीको जागिर छोडेर किभस्थित प्यालनटिरसँग भर्खरै जोडिएका एक इन्जिनियर भिकले भने । केही क्लिकको भरमा कुनै युक्रेनी प्यालनटिर इन्जिनियरले युद्धक्षेत्र विशाल तथ्यांक ‘माइन’ गर्न सक्छन्, जुन कार्य गर्न पहिले सयौँ मानिस लाग्ने गथ्र्यो । प्यालनटिरको सफ्टवेयरले ड्रोन, भूउपग्रह, बादललाई वारपार देख्ने राडार, विरोधी फौजको चाल पहिचान गर्ने तापमापन तस्बिर र युद्धमैदानमा तैनाथ युक्रेनीलगायत स्रोतबाट प्राप्त कच्चा गुप्चतर जानकारीलाई प्रशोधन गर्छ । 

 

एआईमा आधारित कम्प्युटर मोडेलहरूले त्यसपछि सैन्य अधिकारीलाई शत्रुको अवस्थिति र तीमाथि प्रहार गर्ने सबैभन्दा प्रभावकारी विकल्प प्रस्तुत गर्छ । प्यालनटिरका अनुसार तिनको सफ्टवेयरले बनाएको मोडेलले युक्रेनी सेनाको प्रत्येक स्ट्राइकलाई सटिक र बढी घातक बनाएको छ । प्यालनटिरले युक्रेनी सरकारी अधिकारीलाई युद्धक्षेत्रको वास्तविक–समयमा सटिक चित्र दिने उसको ‘मेटाकन्सटेलेसन’ नामक औजार प्रयोग गर्न प्रशिक्षित गरेको छ । यसले सैन्य अधिकारीलाई शत्रुको स्थिति कमान्डरहरूलाई सम्प्रेषित गर्न वा लक्ष्यमा प्रहार गर्ने निर्णय गर्न सहज बनाएको छ । 

 

युद्धको सुरुवाती महिनामा युक्रेनी अधिकारीले जस्तोसुकै सहयोग स्वीकार गरेका थिए । तिनले माइक्रोसफ्ट, अमेजन र गुगलबाट क्लाउड सेवा लिए । एलोन मस्कको स्टारलिंक अवरुद्ध इन्टरनेट सेवा सुचारु राखे । क्लियरभ्युबाट अनुहार पहिचान गर्ने सफ्टवेयर लिए । त्यस्तै ठूला रक्षा कम्पनीदेखि स्टार्टअप कम्पनीसम्मबाट प्रयोगात्मक ड्रोनहरू, क्यामेरा र जामिङ किटहरू लिए । देशको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न र रुसी साइबर हमलाको प्रतिवाद गर्न डिजिटल रूपान्तरणमन्त्री फोदोरोभले चार लाख स्वयंसेवक ह्याकरहरूको ‘आइटी सेना’ परिचालन गरेका थिए । अहिले उनको लक्ष्य प्रविधि क्षेत्रको सहयोगलाई रुसविरुद्धको युद्धमा प्रयोग गर्ने र युद्ध अन्त्यपछि देशमा बलियो प्रविधि क्षेत्र निर्माण गर्नेतर्फ बदलिएको छ । यसका लागि प्रविधि अब इजरायलाई उनले मोडल मानेका छन् । 


फेदोरोभ र उनका प्रतिनिधि अहिले विश्वका ठूला प्रविधि कम्पनीका सिइओसँग भेटघाट गर्ने, रक्षा भेला तथा व्यापार शिखर सम्मेलनमा चक्कर लगाइरहेका छन् । पूर्वडिजिटल–मार्केटिङ उद्यमी तथा जेलेन्स्कीको मन्त्रिपरिषद्को सबैभन्दा कान्छो सदस्य ३३ वर्षीय फोदोरोभ भेटघाट तथा भेलामा उनको देशको युद्धमैदान नयाँ प्रविधिको परीक्षणका लागि सबैभन्दा उत्कृष्ट स्थानका रूपमा प्रस्तुत गर्छन् । युक्रेनी प्रयासमा सिलिकन भ्यालीका लगानीकर्ताले सकारात्मक रुचि देखाएका छन् ।

 

युक्रेनी सरकाले पनि रक्षा–प्रविधि कम्पनीलाई किभमा आउन विशेष करछुटको घोषणा गरेको छ । धेरै अमेरिकी तथा युरोपेली प्राविधिक कम्पनीले युक्रेनी सरकारलाई युद्ध जित्न सघाउने खालको सामग्रीको आपूर्ति गरिरहेका छन् । यसमा सबैभन्दा सफलमध्ये एक क्लियरभ्यु छ । युक्रेनका आन्तरिक मामिलाका उपमन्त्री लियोनिड टिमचेन्कोले त क्लियरभ्युलाई रुसी सेनाविरुद्ध युक्रेनको ‘गोप्य हतियार’ बताए । क्लियरभ्युको उत्पादन १८ युक्रेनी एजेन्सीका १५ सय अधिकारीद्वारा प्रयोग गरिरहेका छन् । बदलामा क्लियरभ्युलाई पनि फाइदा हुन्छ, युक्रेनमा परीक्षणका क्रममा क्लियरभ्युको उत्पादनमा सुधार भइरहेको यसका सिइओ होआन टोन–थ्याटले बताए । 

 

क्लियरभ्युका अतिरिक्त जर्मन ड्रोन निर्माता क्वान्टम सिस्टम्सले हालै किभमा अनुसन्धान र निर्माण केन्द्र खोल्ने घोषणा गरेको छ । जापानी प्राविधिक कम्पनी राकुटेनले पनि युक्रेनी राजधानीमा कार्यालय खोल्ने आफ्नो योजना सार्वजनिक गरेको छ । टर्कीको चर्चित ड्रोन निर्माता बायकरले सन् २०२५ सम्म युक्रेनमा अनुसन्धान र निर्माण केन्द्र निर्माण गर्न लगभग १० करोड डलरको लगानी गरेको छ ।

 

युक्रेनको युद्धक्षेत्रमा सिकिएका केही पाठ अहिले नै विश्वव्यापी हुन थालिसकेका छन् । युक्रेनलाई मोडल मान्दै ताइवानले चीनसँग बढ्दो तनावबीच सेनाभित्र बलियो ड्रोन कार्यक्रम निर्माण गर्न सेनाको निगरानी हुने गरी व्यावसायिक ड्रोन निर्माता र एयरोस्पेस फर्म भर्ती गरेको छ । गत जनवरीमा ह्वाइट हाउसले रुसविरुद्ध प्रयोग भएको युद्ध प्रविधिबारे छलफल गर्न प्यालनटिर तथा केही रक्षा कम्पनीलाई आमन्त्रण गरेको थियो । जनवरीकै प्रारम्भमा हमासविरुद्ध जारी युद्धबीच इजरायलको रक्षा मन्त्रालयले ‘युद्ध–सम्बन्धित उद्देश्यलाई सघाउ पुर्‍याउने उन्नत प्रविधि प्रयोग गर्न’ प्यालनटिर कम्पनीसँग सम्झौता गर्‍यो ।


युद्धमैदानमा एआईको प्रयोग अझै प्रारम्भिक चरणमै रहन्छ । केही अमेरिकी अधिकारीले यिनै प्रविधिले मात्र युक्रेनलाई रुसविरुद्धको युद्ध जित्न सघाउनेमा शंका गरेका छन् । युद्ध तेस्रो वर्षमा प्रवेश गर्दा युक्रेनी प्रत्याक्रमण अहिले थामिएको छ । ‘सिलिकन भ्यालीका टेक ‘ब्रो’हरूले आफैँले युद्ध हाँकेजस्तो गरे पनि अहिले युक्रेनमा चलिरहेको युद्ध सिलिकन भ्यालीको सहायताले लडिएको छैन । तिनको योगदान उलेख्य छैन,’ अमेरिकी रक्षा मन्त्रालयका अन्डरसेक्रेटरी बिल लाप्लान्टेले अघिल्लो वर्ष एक रक्षा सम्मेलनमा खुलेरै भने । त्यसबाहेक युद्धमैदानमा प्यालनटिर र क्लियरभ्युजस्ता प्रविधि कम्पनीले उपलब्ध गराएका उपकरणको प्रयोगले प्रविधिको प्रयोग कहिले र कसरी गर्नुपर्छ भन्ने जटिल प्रश्न पनि खडा गरिदिएको छ । त्यसबाहेक केही अधिकारकर्मीले यी कम्पनीले व्यक्तिको गोपनीयता अधिकारविरुद्ध प्रयोग हुने प्रविधिको परीक्षण गरेको भनी आलोचना गरिन्छ । 


मानव–अधिकारवादी समूह तथा गोपनीयताको अधिकारका पक्षधरले प्यालनटिर र क्लियरभ्युजस्ता कम्पनीका प्रविधिले सामूहिक निगरानी र अन्य दुरुपयोगहरू निम्त्याउने चेतावनी दिएका छन् । प्यालनटिरमाथि युरोपमा गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोप नै छ । ‘युक्रेन अहिले एक जीवित प्रयोगशाला बनेको छ, जहाँ गरिएका प्रत्यक्ष प्रयोग र निरन्तर पुनरावृत्तिले केही एआईबाट चल्ने प्रणालीले परिपक्वता हासिल गर्न सक्छन्,’ प्रतिरक्षा एआईसम्बन्धी अनुसन्धान फर्म आरएआइएनका निर्देशक जोरिट कमिंगाले भने । यसको सबैभन्दा जोखिम भनेको यी नयाँ प्राविधिक शक्ति प्रायः निजी कम्पनीको स्वामित्वमा रहनेछन्, जसले सरकारजस्तो जनताप्रति जवाफदेही हुनुपर्दैन ।


‘पहिलोपटक युद्धमा धेरैजसो महत्वपूर्ण प्रविधि सरकारी खर्चमा बनेका अनुसन्धान प्रयोगशालाबाट नभएर व्यावसायिक कम्पनीबाट आइरहेको छ,’ प्रविधि भेटरान तथा स्टानफोर्ड विश्वविद्यालयका राष्ट्रिय सुरक्षा नवप्रवर्तन केन्द्रका सहसंस्थापक स्टिभ ब्ल्यांकले भने, ‘यी प्रविधि तथा औजारको बजार रहेकाले जोखिम निकै उच्च छ ।’

(टाइम म्यागजिनका लागि भिरा बरगेनग्रुएनको आलेख ।) अनुवाद : श्रवण उप्रेती