
चलचित्र निर्माता रामकृष्ण पोखरेल सिनेकर्ममा लागेको झन्डै अढाई दशक भयो । नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गर्न मिहिनेत गरिरहने निर्मातामध्ये उनी एक हुन् । उनले निर्माण गरेको सिनेमा ‘द रेड सुटकेस’, ‘ऐना झ्यालको पुतली’, ‘गुराँस’ले भेनिस, भुसानलगायत प्रतिष्ठित फिल्म फेस्टिभलबाट राम्रो प्रशंसा बटुलिसकेका छन् । उनले निर्माण गरेको झन्डै २० सर्ट फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेका छन् । आफ्नो चलचित्रकर्मबारे पोखरेलले पवन बराइलीसँग आत्मसमीक्षा गरे :
सुरुमा फिल्म निर्माता बन्छु भनेर यो क्षेत्रमा आएको होइन । सिने क्षेत्रमा केही काम सिक्छु भनेर आएको थिएँ । काम गर्ने दौरानमा फिल्मबारे थप बुझ्ने इच्छा जाग्यो । त्यसपछि निर शाह सरले स्थापना गर्नुभएको नेपाल फिल्म स्टडिज कलेज पढ्न थालेँ । तीन वर्ष क्यामेरा अध्ययन गरेँ । तर, पछि क्यामेरामा भन्दा व्यवस्थापनतिर आफूलाई देखेँ । त्यसपछि फिल्ममा निर्माताको रूपमा काम गर्न थालेँ । मैले सही निर्णय नै गरेँ जस्तो लाग्छ । क्यामेरामा काम गरेँ भने आफू एक्लै मात्रै इन्गेज भइन्छ जस्तो लाग्यो । क्यामेरा पढ्दा फिल्मको धेरै कुरा बुझियो । फिल्मको सबै विद्याबारे बुझियो । मैले आफ्नो काम पनि देखाउन पाएँ । सायद छायाकार मात्रै भएको भए जिम्मेवारी सीमित हुन्थ्यो । निर्माता भएपछि भने जिम्मेवारी थपियो ।
हामीले फिल्म पढ्ने वेला चलचित्र क्षेत्रमा दुई धार थियो । फिल्म क्षेत्र एकातिर गइरहेको थियो । हामी फिल्म पढेकाहरू अर्काेतिर थियौँ । त्यतिखेर नेपाली भाषामा फिल्म निर्माण भए पनि नेपाली फिल्मजस्तो हुँदैनथ्यो । फिल्म पढेपछि फिल्ममा काम पाउनै गाह्रो भयो । किनभने हामी फिल्म पढेपछि ओभर कन्फिडेन्ट भइयो जस्तो लाग्छ । फिल्म पढेपछि आफूलाई खत्रा ठानियो । तर, काम भने पाइएन । त्यसपछि आफैँ काम खोज्न थालियो । मैले विदेशी फिल्ममेकरहरूसँग काम गर्न थालेँ । केही पैसा पनि कमाइयो ।
तीन वर्ष फिल्म अध्ययनमा बिताइयो । तर, भिजन नै नमिल्ने भएपछि फिल्म क्षेत्रमा काम गर्ने गाह्रो भयो । पहिले विदेशीहरूसँग काम गरेको अनुभव पनि थियो । संसारका जुनसुकै ठाउँमा बन्ने फिल्म बनाउन सकिन्छ भन्ने आँट आयो । विदेशी प्रोजेक्टहरूमा काम गरेको अनुभवलाई बाहिर ल्याउने सोच आयो । आफैँले फिल्म प्रोड्युस गर्ने सोच बनाएँ । सन् २००८ मा आफ्नै कम्पनी ‘आइसफल प्रोडक्सन्स’ सुरु गरेँ । त्यसपछि विनोद पौडेलको ‘अवेकन आइज’ निर्माताको रूपमा काम गरेँ । त्यसपछि मनोजबाबु पन्तको ‘ह्वेर इज द स्टोरी’ निर्माण गरेँ । त्यसपछि नेपालमा पनि सर्ट फिल्म बनाउन थालियो । त्यसवेला सर्ट फिल्म बनाउने चलन थिएन । छिटफुट रूपमा सर्ट फिल्म बन्थ्यो ।
पछिल्लो समय हामी विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगिरहेका छौँ । त्यहाँ व्यक्तिगत जोडबलले मात्रै गइरहेका छौँ । तर, त्यहाँ कोही मानिस व्यक्तिगत रूपमा गएको हुँदैन । देशलाई प्रतिनिधित्व गरेर गइरहेको हुन्छ । त्यहाँ जाँदा राज्यले व्यवस्थापन गर्नुपथ्र्यो । राज्यको सहयोग केही पनि पाइँदैन ।
विदेशी फिल्ममेकरसँग काम गर्दा अझ सिक्न मन लागेर फिल्म पढ्न गएको हो । म पढेर खत्रा फिल्म खिच्ने छायाकार बन्छु भन्ने थिएन । तर, रहर हुँदो रहेछ । क्यामेरा पनि किनेको थिएँ । नेपालमा नयाँ प्रविधिको क्यामेरा पनि भित्र्याएको थिएँ । तर, म प्रोड्युसरको रूपमा बढी केन्द्रित भएँ । फिल्मबाट नै धेरथोर पैसा कमाइरहेकै थिएँ । दुई–चारवटा राम्रो फिल्म बनाउनुपर्छ भन्ने सोच आयो । केही निर्देशकलाई कसैले पत्याउँदैनथ्यो । मैले त्यसपछि निरन्तर सर्ट फिल्म निर्माण गर्न थालेँ । मैले नयाँ पुस्ताका निर्देशकसँग पनि काम गरेँ । ती सर्ट फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा राम्रो प्रशंसा कमायो । केही हदसम्म मौलिक सिनेमा निर्माणको अभ्यास भयो । मैले झन्डै २० भन्दा बढी सर्ट फिल्म निर्माण गरेँ । ती अधिकांश फिल्म विदेशका फेस्टिभलहरूमा पुगे ।
मौलिक सिनेमालाई कसैले लगानी गर्ने आँट गर्दैनन् । नेपालमा यस्ता खालका फिल्म निर्माण गर्ने वातावरण पनि छैन । तर, म दीर्घकालीन रूपमा मौलिक फिल्म बनाउनुपर्छ भनेर लागेँ । सबै मान्छेसँग मेरो जस्तो लगाव पनि नहुन सक्छ । तर, अहिले कतिपय फिल्म नबनाएको भए हुन्थ्यो जस्तो पनि हुन्छ । कसैको भविष्य बनाउन फिल्म बनाइदिनुभन्दा छोराछोरीलाई राम्रो स्कुलमा पढाउन पाए हुन्थ्यो जस्तो लाग्छ । काम गर्दै जाँदा सोचेजस्तो नहुँदो रहेछ । पहिले राम्रो आइडिया हुनेबित्तिकै फिल्म बनाइन्थ्यो । तर, अब राम्रो फिल्मभन्दा राम्रो मान्छेसँग मात्रै काम गर्ने सोचमा छु । अहिलेसम्मको अनुभवले यही सिकायो ।
हामीले निर्माण गरेको सिनेमा नेपालमा रिलिज गर्न गाह्रो छ । पछिल्लो समय ‘द रेड सुटकेस’लाई सिनेमा घरहरूले उचित सो दिएनन् । यसअघि ‘ऐना झ्यालको पुतली’ले पनि यही नियति भोगेको हो । यस्ता खालका सिनेमा रिलिज गर्नै सकस हुन्छ । हलमा रिलिज गर्ने वेला फेस्टिभलमा गएको फिल्म भनेर ट्याग लगाउँछन् । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा किन जान्छ यो कुरा बुझ्न जरुरी छ । संसारभरका हजारौँ फिल्ममध्येबाट छानिन्छ । फेस्टिभलले उत्कृष्टभन्दा उत्कृष्ट फिल्म भएर छनोट गर्छ । तर, त्यही फिल्मलाई नेपालमा व्यावसायिक रूपमा सपोर्ट गरिँदैन । फेस्टिभलको फिल्म भनेर भाष्य स्थापित गर्न खोजिन्छ ।
हामी आफैँले दर्शकलाई नयाँ टेस्ट दिन खोजेका छैनौँ । जब नयाँ टेस्ट दिन खोजिन्छ, विभिन्न अवरोध गरिन्छ । दर्शकको सिनेमा चेत विकास गर्नका लागि सबैको उत्तिकै दायित्व छ । दर्शकलाई बिस्तारै साक्षर बनाउन हामी फिल्ममेकर पनि चुकेका छौँ । जुन सिनेमा नेपालको प्रतिनिधित्व गर्दै संसारमा हेरियो, त्यो सिनेमा नेपाली दर्शकले चाहिँ हेर्दैनन् भन्ने भाष्य निर्माण गर्न थालियो । हामी दर्शकको कलाचेत उकास्नभन्दा पनि व्यापारमा बढी केन्द्रित छौँ । यस्ता सिनेमा हेर्न दर्शकलाई बानी पार्नुप¥यो । यसका लागि चलचित्र क्षेत्रका हरेक व्यक्ति र संस्था उत्तरदायी हुनुपर्छ ।
पहिले चलचित्र घरेलु उद्योगमा मात्रै सीमित थियो । तर, अहिले त्यस्तो अवस्था रहेन । अहिले हाम्रो प्रतिस्पर्धा पनि विश्वव्यापी भइसकेको छ । हामीले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ । विश्व बजारलाई ध्यानमा राखेर फिल्म बनाउनुपर्छ । नेपाल र नेपालबाहिर रहेका नेपालीलाई लक्षित गरी फिल्म बनाउँदा दुई–चारवटा फिल्मले बाहेक अरूले कमाउन सकेनन् । यो परिस्थितिले पनि हामीलाई अप्ठ्यारो पारिरहेको छ ।
पछिल्लो समय हामी विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगिरहेका छौँ । त्यहाँ व्यक्तिगत जोडबलले मात्रै गइरहेका छौँ । तर, त्यहाँ कोही मानिस व्यक्तिगत रूपमा गएको हुँदैन । देशलाई प्रतिनिधित्व गरेर गइरहेको हुन्छ । त्यहाँ जाँदा राज्यले व्यवस्थापन गर्नुपथ्र्याै । राज्यको सहयोग केही पनि पाइँदैन । मार्केटिङ प्रमोसनका लागि धेरै पैसा खर्च गर्नुपर्छ । त्यसपछि सानो देश र सानो फिल्मले झन् धेरै मिहिनेत गर्नुपर्ने रहेछ । सबै कुराको सपोर्ट नहुँदा हामी हराउने रहेछौँ । त्यहाँ हामीले आफ्नो स्पेस नै बनाउन नसक्ने रहेछौँ ।
कतिपय फिल्ममेकरले विदेशी फिल्म फेस्टिभलबाट आफ्नो यात्रा सुरु गरौँ भनेर सोचेका हुन्छन् । त्यो प्रोसेस एकदम कठिन छ । त्यहाँसम्म पुग्न उत्कृष्ट फिल्म बनाउनुपर्छ । त्यहाँ पुग्न फिल्म बनाउन सुरु नै नगरी रिलिज मिति घोषणा गरेजसरी फिल्म बनाएर पुगिँदैन । अध्ययन अनुसन्धान धेरै गर्नुपर्छ । विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा पुग्न सजिलै सकिँदैन । राज्यबाट पनि यस्ता फिल्मलाई सहयोग हुन थाल्यो भने ‘कान्स’, ‘भेनिस’ सबै फेस्टिभलमा पुग्न सकिन्छ । हामी अहिले एक रुपैयाँ राज्यको सहयोगविना विदेशी मञ्चमा पुगिरहेका छौँ । भोलि थोरै सहयोग भयो भने अझ बलियो उपस्थित जनाउन सकिन्छ ।