
नेपाली सिनेमामा रैथानेवाद, सामुदायिकता र स्थानीयता अझै प्रवेश गरिसकेको छैन । यी तीन पक्षमा गम्भीर हुनुभन्दा पनि आफ्नो भूगोल र अनुहारसँग मात्रै नेपाली सिनेमा सीमित छ । भुइँमान्छेको जीविकोपार्जनसँग जोडिएका विषयमा सिनेमा अझै पुग्न सकेको छैन । हामीसँग प्रेमबारे बनेका सिनेमा धेरै छन् । तर, नेपालबाहिर मानिसको जीविकोपार्जनसँग सम्बन्धित कथाहरूमा सिनेमा बनिरहेका छन् । यस्तै, विषयमा बनेको स्पेनिस सिनेमा ‘अल्कारास’ हो । यो फिल्मले गत वर्ष बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो । स्पेनको एउटा गाउँमा सोलारबत्ती आएपछि आरु बगैँचा मासिँदै गयो र त्यसलाई संरक्षण गर्न एउटा परिवारले गरेको संघर्षमा फिल्ममा केन्द्रित छ । त्यो फिल्म उनीहरूको जीविकोपार्जनसँग जोडिएको छ । तर, हाम्रोमा यस्ता विषय कम उठाइन्छ । नेपालमा मानिसको दैनन्दिनका संघर्षमा कमै सिनेमा बनेका छन् । सिनेमामा नायक प्रेम मात्रै गरिरहन्छन् ।
चीनको बेइजिङ फिल्म फेस्टिभलमा हाम्रो सिनेमा ‘गाउँ आएको बाटो’ हेरेपछि युनानको महिला दर्शकले सोधिन्, ‘युनानको स्थानीय सरकारले स्थानीय ज्ञान र सीपलाई सुरक्षा गरिदिन्छ । उत्पादन भएको सामग्री किन्न र बजारसम्म पुर्याऊँ सरकारले सहयोग गर्छ । तपाईंहरूको त्यस्तो हुँदैन ?’ हामी निरुन्तरित भयौँ । हाम्रोमा गाउँमा त्रिपाल आएपछि बाँसको चित्राको काम हुँदैन । तर, विदेशतिर स्थानीय ज्ञान र सीपलाई संरक्षण गरिन्छ । कोरिया र जापानमा राम्रो चोयाको बास्केट बुन्नेलाई ‘जीवित सम्पदा’को रूपमा लिइन्छ । कोरियामा बाँसको बास्केट बनाउने परम्परा छ । स्थानीय सरकारले त्यस्तो ज्ञानलाई संरक्षण गर्छ र उसको कामलाई बजारीकरण गर्न सघाउँछ । त्यो ज्ञान नमरोस् भनेर हो । स्थानीय ज्ञान र सीप उनीहरूको पहिचानसँग जोडिएको हुन्छ ।
जापानिजहरूले पनि परम्परागत ज्ञानसीपलाई संरक्षण गरेको छ । ‘गाउँ आएको बाटो’ले उठाउँन खोजेको विषय पनि यही नै हो । हाम्रा स्थानीय ज्ञान र सीप नष्ट हुनुहुँदैन । यसको संरक्षण गर्ने उपाय हुन सक्छन् ।विश्वव्यापीकरणले यस्ता ज्ञान र सीप समाप्त भएर केही हुँदैन भन्छ । मान्छेहरूले समयअनुकूल नयाँनयाँ सीपहरू सिक्दै जान्छन् भन्छन् । तर, यही सोचले ठूलो ज्ञान मरेर जान्छ । मान्छेलाई जुन कुराले आत्मसन्तुष्टि दिन्छ, जुन कुराले जिउन उत्प्रेणा दिन्छ, ती ज्ञान र सीपहरूको संरक्षण गर्नुपर्छ ।
गाउँ नसकिएसम्म विकास हुँदैन भन्ने भाष्य जबर्जस्त निर्माण गर्न खोजिएको छ । यो पुँजीवादले बनाएको भाष्य हो । पुँजीवादी विकासले मानवीयतामा ह्रास ल्याउने रहेछ । कृषियुगबाट समाज औद्योगीकरणतिर जाँदा सही नै हो जस्तो सुनिन्छ । तर, त्यसले भुइँमान्छेको जीवनलाई छायामा पार्दाे रहेछ । औद्योगीकरणमा जाँदा मानिसको कृषिमा जुन ज्ञान छ, त्यो क्षमता र ज्ञान समाप्त बनाउँदो रहेछ ।
नेपालमा गाउँ–सहरको बहस
नेपाल गाउँहरूले भरिएको देश हो । हामीले जति धेरै गाउँको कथा भन्न सक्थ्यौँ, त्यति सकिरहेका छैनौँ । यसको अर्थ सिनेमामा सहरको कथा भन्नुहुँदैन भन्ने होइन । सहरमा समस्या छन् । सहरले एक्लोपन ल्याउँछ, मानवीय संकट पनि सहरमा छन् । हामीले सिनेमामा सहरका कथा भन्न जरुरी छ । तर, अहिले गाउँका कथा धेरै भन्न आवश्यक छ ।
अहिले संसारभर विकाससम्बन्धी विवादास्पद ‘आइडिया’हरू आइरहेका छन् । गाउँ एकदमै दुर्गम भएकाले त्यहाँ सेवा–सुविधा पुर्याउन सकिँदैन भनिरहेका छन् । गाउँमा बसिरहेकाहरूलाई सजिलो ठाउँमा स्थानान्तरण गर्दा सेवासुविधा सहज रूपमा पुर्याउन सकिन्छ भनिरहेका छन् । स्थानान्तरण गर्दा मानिसको जीविकोपार्जनमा समस्या आउँछ । त्यति मात्रै होइन, उसको सांस्कृतिक, सामाजिक पक्षमा खलबल ल्याउँछ भन्ने ‘आइडिया’ पनि आइरहेको छ । यही आइडियाकै वरिपरि रहेर ‘जति धेरै सहरीकरण त्यति नै मानव विकास’ भन्ने बहस पनि चलिरहेको देखिन्छ ।
नेपालमा पनि यस्ता आइडियामा अभ्यास भइरहेको छ । पछिल्लो समय हाइड्रोपावर निर्माण र जलाधार संरक्षणको नाममा विभिन्न ठाउँमा मानिसहरूलाई स्थानान्तरण गर्ने काम भइरहेको छ । तर, यस्तो आइडियाबाट मानव विकासले फड्को मार्दैैन भन्ने पनि बहस सँगसँगै छ । यसबारे हाम्रोमा मात्रै होइन, युरोप, अमेरिकातिर पनि निरन्तर बहस चलिरहेकै छ ।
गाउँ नसकिएसम्म विकास हुँदैन भन्ने भाष्य जबर्जस्त निर्माण गर्न खोजिएको छ । यो पुँजीवादले बनाएको भाष्य हो । पुँजीवादी विकासले मानवीयतामा ह्रास ल्याउनेरहेछ । कृषियुगबाट समाज औद्योगीकरणतिर जाँदा सही नै हो जस्तो सुनिन्छ । तर, त्यसले भुइँमान्छेको जीवनलाई छायाँमा पार्दाेरहेछ । औद्योगीकरणमा जाँदा मानिसको कृषिमा जुन ज्ञान छ त्यसले क्षमता र ज्ञान समाप्त बनाउँदोरहेछ ।
२० वर्षअघि हामीले सिनेमामा समुदायको कथा, बहुलताको कथा, नेपाली मौलिकताको कथा र गाउँघरको अग्र्यानिक कथा आउनुपर्छ भन्दै आइरहेका थियौंँ । तर, यो सम्भव छैन भनिन्थ्यो । अहिले नेपालको सिनेमाको मुख्य धारको रूपमा गाउँघरका अग्र्यानिक विषय आइरहेका छन् ।
समाज औद्योगीकरणतिर लाग्दा मानिस नयाँ परिस्थितिसँग अनुकूलित हुनुपर्छ । त्यो अनुकूलन त्यति सजिलै हुँदैन । संसारका केही औद्योगिक मुलुकहरू त्यो चरणमा पुगेर पनि पुनः यस्तो समाजबाट नहुनेरहेछ भन्नेतिर पुगेको देखिन्छ । अमेरिकामा पनि दिगो विकासको कुरा उठिरहेको छ । औद्योगीकरण हुनुपर्छ, तर त्यो दीर्घकालीन हुनुपर्छ भन्ने बहस उठिरहेका छन् ।
अहिले काठमाडौंमा पनि ‘फार्म टु टेबल’ भन्न थालिएको छ । गाउँबाट सहर आई करिअरको उचाइमा पुगेपछि पुनः गाउँ फर्किएर कृषिमा आबद्ध हुन थालेका केही उदाहरण देखिन थालेका छन् । यस्तो हुनुको पछाडि औद्योगीकरण र सहरीकरणले मात्रै काम गरेन भन्ने बुझिन्छ ।विकास भनेको ठूला सडक, अग्ला भवन मात्रै होइनरहेछ भन्नेबारे पश्चिमा मुलुकमा पनि बहस चलिरहेको छ । ‘ग्लोबल वार्मिङ’ले ल्याएको ‘क्लाइमेट चेन्ज’ त्यसको प्रतिफल हो भन्नेमा विचारकहरू एक ठाउँमा आइपुगेका छन् । कतिपयले क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ नै छैन भन्ने तर्क पनि राखेका छन् ।
ग्लोबल वार्मिङले जापानको सांस्कृतिक सम्पत्ति मानिने ‘साकुरा’ फूल समाप्त हुँदै छ भन्ने कुरा उठिरहेको छ । ‘क्लाइमेट चेन्ज’ विकासको आइडियाले निम्त्यायो । औद्योगिक विकासले अहिले अमेरिका, जापान, कोरियामा गाउँहरू देखिदैनन् । तर, युरोपतिर ठीक उल्टो देखिन्छ । सहरबाट युवाहरू गाउँमा गएर कृषिकर्ममा फर्किरहेका छन् । त्यहाँका युवाहरूमा पढाइसकेपछि प्रकृतिसँग नजिक रहेर, प्रकृतिसँगै एकाकार हुँदै जीवन जिउने सोच सुरु भएको देखिन्छ । सानो स्केलका कृषि उत्पादनसँग सम्बन्धित फ्याक्ट्रीहरू चलाएर जीवन जिउनतिर लागेको देखिन्छ ।
हाम्रोमा गाउँमा सडक सञ्जाल, बिजुलीबत्ती, खानेपानी पुगेपछि विकास भयो भन्ने बुझाइ छ । गाउँमा खानेपानी, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता पुग्नुपर्छ । तर, अहिले हाम्रो मानसिकतामा परिवर्तन भइसकेको छ । देशभित्रका सहरमा होइन, सीधै युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरियाजस्ता देशमा जाने मानसिकताको विकास भएको छ । आफ्नो जीवन त्यहाँ गएर खोज्ने मानसिकता निर्माण भएको छ । मेरो बुबा पुस्ताले त्यसरी सोच्दैनथे । अहिले गाउँ बस्नुहुँदैन भन्ने मनोविज्ञान निर्माण भएको छ । गाउँ छाड्ने लहर अझै लामो समय जान सक्छ ।
गाउँलेहरूको जीवनस्तर उकास्नलाई सुविधा पुर्याउनुपर्छ । सुविधा पुगेपछि उनीहरूले आफ्नो विकास आफैँले गर्न पाउनुपर्छ । गाउँमा सबै कुरा केन्द्रले लाद्नु हुँदैन । हाम्रोमा ‘पोलिसी मेकिङ’मा केन्द्रले लाद्छ । विकेन्द्रीकरणको आइडिया भर्खरै आएको छ । स्थानीय सरकारको अभ्यास भएको ८÷१० वर्ष मात्रै पुग्दै छ । यस अवधिमा गाउँमा सडक, खानेपानी, अस्पताल बन्न थालेका छन् ।
...अनि मर्छ रैथाने ज्ञान
हाम्रोमा रैथानेवादमा पनि समस्या छ । बाहिरी संसारसँग जोडिनैपर्छ, सबै कुरा केन्द्रले गरिदिन्छ भन्ने आइडियामा पनि समस्या देखिन्छ । केन्द्रले जे सोच्छ सही हुन्छ भन्ने बुझाइ छ, यो गलत छ । स्थानीय यथार्थ केन्द्रमा बस्नेले कसरी देख्छ ? गाउँको आवश्यकता, क्षमता केन्द्रलाई बोध हुँदैन ।हामी मुखले मात्रै बहुल समाज भन्छौँ । तर, विविधतालाई स्विकार्ने संस्कृतिको विकास भइसकेको छैन । हाम्रोमा अहिले पोलिसी मेकिङमा खस–आर्य समुदाय नै प्रधान रूपमा छन् । जसरी मन्दिरको संरक्षण हुन्छ, गुम्बाको संरक्षण त्यसरी हुँदैन । अर्थात्, किराँतीहरू ढुंगामाटोलाई पूजा गर्छन् । त्यो उनीहरूको आस्था हो । पोलिसी मेकरका लागि त्यो ढुंगा माटो मात्रै हो । किराँतीहरूको ढुंगा माटो आराध्यस्थल हो । गाउँमा विकास लैजानेहरूले त्यसलाई ढुंगामाटो मात्रै देख्छन् । फेरि पोलिसी मेकरका लागि मन्दिर आराध्यस्थल हो । मन्दिरको मात्रै संरक्षण हुनुपर्छ भन्ने बुझाइ छ । सबै हाम्रा साझा सम्पत्ति हुन् भन्ने धारणा मुखर रूपमा आउनुपर्छ ।
रैथानेवाद र विश्वव्यापीकरणको सबल र दुर्बल पक्ष हेर्नु जरुरी छ । रैथानेवादले विविधताको कुरा बढी गर्छ । रैथाने स्वादलाई बजारीकरण र संरक्षण गर्नुपर्छ भन्ने धारणा युरोपतिर बलियो देखिन्छ । बेल्जियममा बियर पाँच सय प्रकारको छ । निश्चित स्वादको बाहेक अरू बियर ठूलो परिमाणमा उत्पादन हुँदैन । केही स्वादको बियर थोरै मात्रै उत्पादन हुने भएकाले अगाडि नै अर्डर गर्नुपर्छ । उनीहरूले ‘लोकल इकोनोमी’लाई सुन्दर तरिकाले अगाडि बढाएको देखिन्छ ।
हाम्रोमा लोकल रक्सीलाई अवैधानिक भनियो । तर, रक्सीको ज्ञान पनि फरक–फरक छ । नेवार समुदायले उत्पादन गर्ने रक्सी फरक छ, लिम्बू समुदायको रक्सी फरक छ । त्यसको बजारीकरण गर्न गाह्रो छ । तर, स्थानीय अर्थतन्त्रलाई विकास गर्न यस्ता रक्सीहरूको संरक्षण हुनुपथ्र्यो । रैथानेवाद भनेर सबैतिरबाट अलग हुनुपर्छ भन्ने पनि धारणा छ । त्यो धारणाबाट मुक्त भएर बजारसँग पनि जोडिने, स्थानीय कुरालाई संरक्षण गर्ने स्थानीय सरकारको नीति हुनुपर्छ । नेवारी रक्सी संरक्षण हुनुपर्छ भनेर महानगरले नीति बनाउन सक्छ । रक्सीको क्वालिटी कन्ट्रोल गर्ने मेकानिजम बन्नुपर्ने हो । नगरपालिका र गाउँपालिकाले रक्सी उत्पादन गर्न दिनुपर्छ र क्वालिटी कन्ट्रोलको मेकानिज बनाउनुपर्छ । त्यसो नगरी प्रशासनले रक्सी नै फालिदिन्छन् । त्यसले रैथाने ज्ञान मर्छ ।
नेपालको पराम्परागत ज्ञान समाप्त हुँदै गएको छ । नयाँ पुस्तामा हस्तान्तरण भएन । उदाहरणका लागि गाउँमा रक्सी बिहान पारिन्छ । किनकि बिहानको तापक्रममा रक्सी पर्छ । बिहानको मौसममा पानी तातिन लामो समय लाग्ने र मीठो पनि हुने भएकाले रक्सी पारिएको हो । यस्तो रैथाने ज्ञान अहिले समाप्त हुँदै गएको छ । स्थानीयता मारेर बजारको वृद्धि गरेपछि विकास हुन्छ भन्ने धारणा छ । बेल्जियम, स्विट्जरल्यान्ड र कोरियाजस्ता मुलुकले आफ्नो पहिचानलाई बजारसँग जोडेका छन् । बजारसँग जोडेपछि स्थानीयहरूको जीविकोपार्जनमा सहयोग पुग्ने भयो । कोरियनहरूले स्थानीय खानेकुरालाई प्रवद्र्धन गरेका छन् । हाम्रोमा पनि स्थानीय ज्ञानहरूलाई संरक्षण गर्नुपर्छ । र त्यसको बजारीकरण गर्नुपर्छ ।
कतिपयले रैथानेवादले कतै पुर्याउँदैन भन्ने बहस गरेको पनि देखिन्छ । रैथानेवाद विश्वव्यापी कन्सेप्ट हो । त्यसका सीमितता छन् । रैथानेवाद नेपालको सन्दर्भमा एउटा विषय हो भने युरोपियनहरूको सन्दर्भमा अर्कै विषय । हाम्रो रैथानेवाद स्थानीय अर्थतन्त्र र जीविकोपार्जनसँग सम्बन्धित छ । हाम्रो रैथानेवाद समाजको ज्ञान, सीप, संस्कृति र विकाससँग सम्बन्धित छ । औद्योगिक राष्ट्रको रैथानेवाद उनीहरूले प्राप्त गरेको विकासको सुरक्षाको सवालसँग सम्बन्धित छ । केही समाजशास्त्रीहरूले समाजवादमा जान पुँजीवादको विकास हुनुपर्छ भन्ने विचार बलियो रूपमा राख्दै आउनुभएको देखिन्छ । नेपालभित्र पहिचानको मुद्धा, स्थानीय अर्थतन्त्र, वातावरणमैत्री विकासजस्ता विषय उठिरहेका छन् । यस्ता विषय विकासका लागि अवरोध हुन् त्यसलाई समाप्त पारेर अघि बढ्नुपर्छ भन्ने बुझाइ उहाँहरूको हो जस्तो लाग्छ । तर, त्यस्तो बुझाइले समस्या सिर्जना गर्छ ।
सिनेमाको मूलधार
हामी जेलाई विकास भनिरहेका छौँ, त्यो साँच्चै विकास हो त ? ‘गाउँ आएको बाटो’ले यही प्रश्न गर्छ । हामीले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दर्शकहरूबाट राम्रो माया पायौँ । टोरोन्टो, बुसान, मुम्बईजस्ता फेस्टिभलमा दर्शकले हाम्रो कथालाई सराहना पनि गरे । उनीहरूले नेपाली कथालाई रमाइलो मानेर हेरे । २० वर्षअघि हामीले सिनेमामा समुदायको कथा, बहुलताको कथा, नेपाली मौलिकताको कथा र गाउँघरको अर्गानिक कथा आउनुपर्छ भन्दै आइरहेका थियौंँ । तर, यो सम्भव छैन भनिन्थ्यो । अहिले नेपालको सिनेमाको मुख्य धारको रूपमा गाउँघरका अर्गानिक विषयहरू आइरहेका छन् । नेपाली सिनेमामा समुदाय र गाउँघरको मौलिक कथा आउन २० वर्ष लाग्यो ।
हामी विश्व सिनेमामा प्रारम्भिक चरणमा छौँ । यो वर्ष मात्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा तीनवटा नेपाली फिल्म पुगे । टोरोन्टो, भेनिस, बर्लिनजस्ता फेस्टिभलमा हाम्रो सिनेमा पनि मुख्य प्रतिस्पर्धामा छनोट हुन थालेका छन् । यसले हामीलाई के बताउँछ भने बिस्तारै राम्रो हुँदै छ । यो वर्ष हामी कान्समा पुग्न सकेनौँ । अर्काे वर्ष पक्कै हामी कान्समा पुग्छौँ होलाजस्तो लाग्छ ।
नेपाली सिनेमा विश्वका ठूला फेस्टिभलमा पुग्दा बजार विस्तारमा सहयोग पुग्छ । कान्स वा ओस्करमा एउटा सिनेमा छनोट हुनु भनेको अन्तर्राष्ट्रिय बजारको ४० प्रतिशत वृद्धि हुनु हो । हाम्रा सिनेमा त्यस्ता प्लाटफर्ममा पुग्न सम्भव हुनुथाले । हामीले अवार्ड लिन सक्यौँ भने हाम्रो सिनेमाको बजार विस्तार हुन्छ । हामी अहिले समुदायको कथा भन्ने ठाउँमा मात्रै आइपुगेका छौँ । हामीले समुदायको कथा त भनिरहेका छौँ, तर केही समुदायको कथा भन्न अझै सकेका छैनौँ । हामीले सिनेमा मधेशको कथा ल्याउन सकिरहेका छैनौँ ।
काठमाडौं नेवार समुदायको कथा ल्याउन सकेका छैनौँ । सुदूरपश्चिमको कथा ल्याउनसकेका छैनौं । महिलाहरूकै कथा पनि सिनेमा ल्याउनसकेका छैनौँ । हाम्रो कथामा बहुलता आइसकेको छैन । त्यो बहुलताभित्र यति धेरै कथ्यशैलीहरू छन्, कथा भन्ने तरिकाहरू छन्, त्यो कथा भन्ने तरिकामा टेकेर नेपाली कथा भन्ने शैली निर्माण गर्न सक्छौँ । कथा भन्ने शैली निर्माण गर्न बाँकी छ । मैले ‘नुमाफुङ’, ‘गुडबाई काठमाडू’ र ‘गाउँ आएको बाटो’ बनाएँ । यी सिनेमामा मैले समुदायको कथा कति नै ल्याएँ र ? । हुन त अरू साथीहरूले पनि काम गरिरहेका छन् । उनीहरूले कति नै कथा लिएर आए त ? कथा त आएका छैनन् नि । तर, हामीले कथाको कथ्यशैली र जनरा निर्माण गर्न सक्छौँ । तर, बजार सीमितता र प्रविधिको सीमितता छ । हामी फिल्ममेकरको क्षमता पनि त्यति छैन । म आफूलाई पनि त्यस्तो क्षमतावान् निर्देशक मान्दिनँ । हामीले प्रयासचाहिँ गरिरहेका छौँ । विश्व सिनेमा पुग्दा आफू कहाँ छु भनेर थाहा हुन्छ । हामीले क्षमताको विकास गर्न अझै सकिरहेका छैनौँ ।
प्रस्तुति : पवन बराइली