• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
चार्ल्स एम. ब्लो
२०८१ असार ९ शनिबार ०७:५०:००
अनुवाद

बुढेसकाल एउटा उपहार हो

२०८१ असार ९ शनिबार ०७:५०:००
चार्ल्स एम. ब्लो

 

अधिकांश पुस्तकको सबभन्दा राम्रो भाग तीनका अन्तिम अध्याय हुन्

 

लेखक फेनी फ्ल्यागको उपन्यास ‘फ्राइड ग्रिन टोम्याटोज एट द ह्विसल स्टप क्याफे’मा एभलिन काउच निन्नी थ्रेडगोडलाई भन्छन्, ‘बूढो भनूँ अलि जवानै छु, जवान भनूँ बूढो हुँदै छु । म त कहीँ पनि फिट नहुने भएँ ।’

 

म विशेषगरी जवानीलाई अतिशय रूपमा महिमामण्डन गर्ने र बुढ्यौलीलाई वैरीका रूपमा हेर्न सिकाउने संस्कृति रहेको परिप्रेक्ष्यमा उल्लिखित पंक्तिबारे अर्थात् असान्दर्भिक भइयो भन्ने त्यस भावनाबारे अक्सर घोत्लिने गर्छु । 

 

वास्तवमा कसैले पनि हामीलाई उमेरलाई कसरी लिनुपर्छ भनेर सिकाउँदैन । यसविरुद्धको कति लडाइँ र कति स्वीकार्यता सही सन्तुलन हो भनेर पनि बताइदिँदैन । जब शरीर शिथिल र खोक्रो हुँदै अनि केश सेतो हुँदै जान्छ, तब हामीले कस्तो महसुस गर्नुपर्छ भनेर पनि हामीलाई कसैले बताउँदैन । उमेरका कारण झोलिँदा छाला वा हाम्रो मुस्कानलाई नराम्रो बनाउने अनुहारका चाउरीलाई हामीले कसरी लिनुपर्छ भनेर पनि कसैले बताउँदैन । 

 

कवि डिलन थोमसले हामीलाई ‘बुढेसकालमा दिन ढलेपछि अत्यास र गनगनले छोप्छ । तसर्थ, रातको आगमनविरुद्ध हामी आक्रोशित, क्रोधित होऊँ’ भनेका छन् । तर अफसोस ! ४० वर्ष पनि नपुग्दै उनको असामयकि निधन भयो । 

 

उमेरको त्यो बिन्दुलाई पार गरेका हामीमध्ये जोकोहीका लागि क्रोध व्यर्थ लाग्छ, ऊर्जाको गलत वितरणजस्तै । बुढ्यौलीमा आखिरकार एउटा माधुर्य पनि त छ । र, बुढेसकाल भनेको हामी शारीरिक रूपमा कस्तो देखिन्छौँ अनि कस्तो महसुस गर्छाैं भन्ने मात्रै पनि होइन । बरु यसभन्दा बढी हो । यो हामीवरपरको संसारले हामीलाई कसरी जोत्दै र तान्दै अघि लैजान्छ भन्ने पनि हो ।

 

म सम्झन्छु, केही वर्षअघि एकजना लामो समयदेखिका साथीले फोन गरेर आफ्नो बुबाको निधन हुन लागेको हो कि भने । मैले अर्काे एकजना साथीसँग गएर उनलाई भेटेको याद छ । उनका पिता एक्लै नहुन् भनेर हामीले उनलाई उनका पिता राखिएको वृद्ध नागरिक हेरचाह केन्द्रमा नै गएर भेटेका थियौँ । त्यहाँ उनले आफ्ना पिताको गाला मुसारेको अनि बुबा भनी बोलाउँदै गर्दा बाको अनुहारमा आँसु टप्किएको देख्यौँ । कतै त्यही रात नै बाको अन्तिम दिन हुने हो कि भन्दै उनी भक्कानिँदा स्याहार केन्द्रको दलानमा मुच्र्छा पर्दै ढलेको दृश्य साक्षात्कार गर्‍यौँ । 

 

उहाँ त्यो खड्गोबाट बाँच्नुभयो । त्यसपछि पनि मृत्यु सन्निकट थुप्रै अनुभवबाट पुनः तंग्रिँदै आउनुभएको छ । तर, साथीका बुबाको स्वास्थ्य कठिनाइका संघर्षलाई एक दिन मैले पनि मेरा आमाबाबुको बुढ्यौली र स्वास्थ्य चुनौतीसँग यसरी नै साक्षात्कार हुनुपर्छ भन्ने रूपमा लिएँ । वास्तवमा कुरा यही नै हो पनि ।

 

वृद्धवृद्धा हेरचाह केन्द्रमा साक्षात्कार गरिएको त्यस हृदयविदारक रातको केही दिनपछि नै एक्लै बस्ने मेरी आमालाई पनि हृदयाघात भयो । सौभाग्यवश, मेरा एक भाइ त्यस बिहान आमासँगै नास्ता गर्न भनी गएका रहेछन् । आमाको बोली लर्बरिँदै गएको देखेर उहाँलाई अस्पतालको आकस्मिक कक्षतर्फ दौडाइएछ ।

 

लुजियानाको उडानमा रहँदा मैले आफूलाई शान्त राख्ने निष्फल प्रयास गरेँ । म पुग्दा उहाँको अवस्था कस्तो पाउने हो भन्ने मलाई थाहा थिएन । स्ट्रोकले के–कति क्षति पुर्‍याएको थियो भन्ने पनि थाहा थिएन । जब मैले आफ्नै आँखाले उहाँलाई देखेँ, हामी भाग्यमानी रहेछौँ भन्ने कुरामा म निश्चिन्त भएँ । किनकि, मेरो भाइले एकदमै होसियार भएर तुरुन्तै अस्पताल लगिहालेछ उहाँलाई । मेरी आमा पूर्ण निको त हुनुभयो तर अस्पतालको शय्यामा देखेको दृश्यचित्रले मलाई नराम्ररी हल्लायो, विचलित गरायो । त्यो याद बनेर मसँगै रहिरहेको छ, आजपर्यन्त । त्यो दृश्य मेरो मस्तिष्कमा गढेको उहाँको एक मजबुत, अजेय छविभन्दा कता हो कता भिन्न थियो ।

 

त्यस क्षणमा मलाई मेरी आमा अब आफ्नो जीवनको अन्तिम अध्यायमा हुनुहुन्छ र मचाहिँ जीवनको एउटा नयाँ चरणमा जाँदै छु भन्ने कुराको याद आएको थियो । एउटा नयाँ पारिवारिक भूमिकाको ग्रहण, बुढ्यौलीको गहन भावनात्मक हिस्सामध्ये एउटा हो । मलाई मेरा भाइ र म अब काकाबाट ‘एल्डर (घरमुली)’मा उक्लिँदै छौँ भन्ने लाग्यो ।

 

यसै वर्ष मेरो जेठो छोरो ३० वर्षको भयो । जब तपाईंको सन्तान यो उमेरको हुन्छ, तब तपाईंसँग आफूलाई जवान ठानिराख्ने अब कुनै तरिका बाँकी रहँदैन । हुन त ऊ अझै बाबु बनिसकेको छैन । तर, मलाई थाहा छ नि, उसको उमेरको हुँदा मेरा तीन सन्तान भइसकेका थिए र पारपाचुकेसमेत भइसकेको थियो । वास्तवमा, म उसको उमेरको हुँदा मेरी आमाका नातिनातिना पनि जन्मिसकेका थिए ।

 

तपाईं जतिसुकै जवान देखिनुहोस् वा जवानै रहेको महसुस गर्नुहोस्, समयले रोकिन मान्दैन । यो त अगाडि बढी नै रहन्छ एकनासले । म अहिले मेरा आमाबाबुको त्यो उमेरको वरपर छु, जब मैले पहिलोपटक उहाँहरूलाई बूढो ठान्न थालेको थिएँ ।

 

मलाई थाहा छैन, यो संसारले मलाई कहिले बूढो ठान्नेछ । सायद पहिलेबाटै बूढो मानिसकेको पनि हुन सक्छ । तर, मलाई थाहा छ, अब म योसँग डराउँदिनँ । यसलाई स्वागत गर्छु अब म । र, मलाई थाहा छ, धेरैजसो पुस्तकको सबभन्दा राम्रो भाग तिनका अन्तिम अध्याय हुन् ।

 

राष्ट्रिय रूपमा प्रसारित हुने रेडियो कार्यक्रम ‘द ब्रेकफास्ट क्लब’मा आउने गरेकी अभिनेत्री जेनिफर लेविसले एकपटक टिप्पणी गरेको सम्झन्छु, ‘म ६१ वर्षकी भएँ । मसँग अझै ३० जति वसन्त बाँकी छन् जिउन ।’ उनका यी शब्द सुनेदेखि मैले मेरो आफ्नो जीवनबारे पनि यसरी नै सोच्ने गरेको छु ।

 

मेरा अब कति वसन्त बाँकी छन् अनि मैले अझै कतिचोटि पालुवाहरू पलाएको र फूलहरू फक्रेको देख्नेछु ? मैले पोखरीको छेउमा अझै कति दिन बिताउन पाउनेछु वा गर्मीको दिनमा अझै कति आइसक्रिमको आनन्द उठाउन पाउनेछु ? म आफूलाई यी प्रश्नहरू चिन्ताका कारणभन्दा आफूलाई धन्य भएको याद दिलाउन अनि सन्तोष दिलाउन गर्ने गर्छु । तपाईं पनि हरेक वसन्तको आनन्द लिनुहोस् । तिनलाई सक्दो तन्काउनुहोस् । तिनलाई सम्झनाहरूले भर्नुहोस् । जतिसक्दो मुस्कुराउनुहोस्, हाँस्नुहोस् । साथीहरूसँग भेला हुनुहोस् र पारिवारिक भेटघाट बढाउनुहोस् । आफूलाई मन परेको काममा मात्रै लाग्ने गर्नुहोस् । म आफ्ना वसन्त ऋतुकालहरूलाई सक्दो सुन्दर बनाएर जीवनको बहीखातामा जोड्ने गर्छु । 

 

आफ्नो बुढ्यौलीका विरुद्ध आक्रोशित हुने मेरो कुनै मनसाय छैन । म यसलाई अँगाल्न चाहन्छु । प्रज्ञा र अनुग्रह/कृपा वृद्धिको मूल्यका रूपमा मांसपेशी दुखाइ र बांगिँदै गएका खुट्टाका दुखाइलाई अँगाल्न चाहन्छु । बुढ्यौलीको उमेरलाई बुझ्नु भनेको आफूलाई आफ्नो शरीरले छोड्दै छ भन्ने बुझ्नु होइन । मेरो जीवनले मलाई इनाम दिँदै छ भन्ने बोध गर्नु हो । मैले जसरी हेर्ने हो भने बुढेसकाल एउटा उपहार हो । र, म त्यो उपहारलाई कृतज्ञताका साथ ग्रहण गर्नेछु ।

 

(चार्ल्स ‘द न्युयोर्क टाइम्स’का स्तम्भकार हुन् । यो लेख ‘द न्युयोर्क टाइम्स’बाट नारायण शिवाकोटीले अनुवाद गरेका हुन् । )