• वि.सं २०८२ असोज ४ शुक्रबार
  • Friday, 19 September, 2025
पवन बराइली
२०८१ असार ९ शनिबार ०८:२०:००
संगीत

...त्यसपछि गुमनाम भयो ‘कन्दरा ब्यान्ड’

२०८१ असार ९ शनिबार ०८:२०:००
पवन बराइली

 

‘कन्दरा’ नेपालको लोकप्रिय सांगीतिक ब्यान्डमध्ये एक हो । सन् १९९४ मा स्थापित यो ब्यान्डले नेपाली लोक–पप संगीतलाई आममानिसमा पुर्‍याउन विशेष योगदान गरेको छ । ‘कन्दरा’का ‘लेककी हे माया’, ‘हङकङ पोखरा, ‘रातै बिझायो’, ‘तगारोमा रुमाल राखी’, लगायत दर्जनौँ गीत चर्चित छन् । ब्यान्डका मुख्य गायक हुन्, विवेक श्रेष्ठ । श्रेष्ठले ३० वर्ष लामो कन्दरा ब्यान्डसँगको सहकार्य र आफ्नो कलायात्रा पवन बराइलीलाई सुनाएका छन्:

 

पोखरामा जन्मिएँ । तर, हुर्काइ स्याङ्जाको वालिङमा भयो । रेडियो नेपालमा बजेका भजन र राष्ट्रिय भावका गीतहरू ध्यान दिएर सुन्थेँ । सँगसँगै गाउँथेँ पनि । बिस्तारै मेरो दिमागमा गीत–संगीतको छाप बस्दै गयो । १०–११ वर्षको उमेरमा धेरै गीत गाउँन सक्ने भइसकेको रहेछु ।

 

जंगलतिर जाँदा चराको आवाज र खोलाको आवाज सुन्थेँ । मलाई प्रकृतिले गीत गाउन सिकायो । रेडियोले संगीतको साधना गरायो । 

 

कक्षा ७ पढ्दै थिएँ । घरमै दार्जिलिङको शिक्षक बस्नुहुन्थ्यो । उहाँले फुर्सद हुँदा साँझ–बिहान विद्यार्थीलाई जम्मा गरेर गीत गाउन लगाउनु हुन्थ्यो । एक दिन मलाई पनि उहाँले गीत गाउँन लगाउनुभयो । मैले त्यसवेला दीपक खरेलको ‘यो कर्म भूमिको आँगनमा...’ गाएँ । सबै साथीहरूले ध्यान दिएर सुने । मलाई सरले राम्रो गाउँदा रहेछा भनेर प्रशंसा गर्नुभयो । त्यो नै मेरो जीवनको प्रेरणा बन्यो । म पनि राम्रै गाउँदोरहेछु भन्ने लाग्न थाल्यो । 

 

कक्षा ८ देखि पोखरा पढ्न आएँ । पोखरा आएपछि (कन्दराको ड्रम्स/कम्पोजर) सुनील थापासँग भेट भयो । सुनील र म एउटै कक्षामा थियौँ । कक्षामा ऊ टेबल मात्रै ठटाएर बस्थ्यो । उसको र मेरो राम्रो बोलचाल खासै हुँदैनथ्यो । म पनि कक्षामा गीत गुनगुनाएर बस्थेँ । एक दिन मैले ‘सुपर डान्सर...’ भन्ने हिन्दी गीत गाउँदै थिएँ, उसले टेबलमा ठटाएर ताल ठ्याक्कै मिलाइदियो । कक्षाका सबै साथीहरूले गीत सुने । त्यसपछि उसको र मेरो संगत बाक्लिन थाल्यो । सुनील पोखरामा स्थानीय सांगीतिक समूहमा सक्रिय नै रहेछ । उसले मलाई पनि पोखरामा हुने सांगीतिक कार्यक्रमहरूमा जोड्न थाल्यो ।

 

पोखरामा अग्रजले गीत गाउन लगाउनुहुन्थ्यो । दीपक मुल्मी, विजय गुरुङदाइहरूसँग पनि संगत बाक्लिँदै गयो । मैले गीत गाएको सबैले मन पराउन थाल्नुभयो । उहाँहरूले मलाई ‘कन्दरा’का लागि नयाँ गीत रेकर्ड गर्न काठमाडौं जानुपर्छ भन्नुभयो । म त भर्खर एसएलसी दिएर बसेको थिएँ । १५/१६ वर्षको मान्छे कसरी काठमाडौं जाने ? तर, मलाई घरबाट पनि काठमाडौं आउन अनुमति दिनुभयो । र, म गीत रेकर्ड गर्न काठमाडौं आएँ । 

 

पोखरामा बुद्धिराज बज्राचार्य, दीपकराज मुल्मी, आनन्द तझ्या, सुनील भट्टचन र विजय गुरुङहरू मिलेर ‘कन्दरा ब्यान्ड’ स्थापना गरिसक्नुभएको रहेछ । त्यो कुरा मलाई थाहा थिएन । पछि मलाई पनि खुसी लाग्यो । काठमाडौंमा कन्दराका लागि ‘चञ्चले कान्छी’ एल्बमको पाँचवटा गीत रेकर्ड भयो । सबै गीत मैले गाएँ । ‘चञ्चले कान्छी’ एल्बम सुपरहिट भयो । त्यसपछि मेरो काँधमा कन्दरा ब्यान्डको जिम्मा आयो । दुर्भाग्य त्यसपछि केही दाइहरू ‘कन्दरा’बाट अलग हुनुभयो ।

 

पहिलो एल्बमदेखि नै म ‘कन्दरा’मा छु । त्यसपछि ब्यान्डमा सुनील थापा पनि जोडिए । सन् १९९४ को कुरा हो । हामीले त्यसवेला ‘डाँडापारि’ एल्बम निकाल्यौँ । सुनील थापा र मेरो सहकार्यको पहिलो एल्बम थियो । त्यो एल्बमले ‘कन्दरा ब्यान्ड’लाई संसारभर चिनायो । त्यो क्यासेट सर्वाधिक बिक्री भयो । ‘लेककी हे माया’, ‘विदेशिएर गइन उनी’, ‘डाँडा पारी’, लगायत ८ वटा गीत थियो । सबै हिट भयो ।

 

सन् १९९६ मा पहिलो कार्यक्रमका लागि अफर बुटवलबाट आयो । बुटवलमा साउनको महिना थियो, त्यसवेला एकदमै गर्मी थियो । म मात्रै भोकलिस्ट थिएँ । मान्छेहरूको भिड धेरै भएपछि बेलुका पनि कन्सर्ट गर्नु पर्‍यो । हामीले बेलुका पनि गरेका थियौंँ । तर, म गर्मीले बिरामी नै भएछु । लगत्तै हङकङमा कन्सर्ट थियो । हाम्रो पहिलो विदेश यात्रा थियो । त्यो वर्ष मात्रै ६–७ पटक विदेश गएँ । विदेशमा कलाकारहरू गएर कार्यक्रम गर्ने चलन त्यसवेला भर्खर सुरु भएको थियो । 

 

गुमनाम दशक
हाम्रो ब्यान्ड (कन्दरा) एकदमै उचाइमा थियो । ब्यान्ड र मेरो सबैतिर चर्चा थियो । मलाई देश–विदेशको कन्सर्टमा भ्याइनभ्याइ थियो । तर, सन् २००१ मा म विदेश (बेलायत) गएँ । आर्थिक बाध्यताले होइन, देशबाट दिक्क भएर पनि होइन, तर म बेलायतमै अलमलिन थालेँ । एउटा उमेर आउँदोरहेछ, सबैभन्दा जान्ने आफूलाई ठान्ने । अगाडि–पछाडि केही पनि नदेख्ने । सायद यस्तो सबैलाई हुन्छ होला । एउटा परिस्थितिले म विदेशतिरै बस्न थालेँ । विवाह उतै भयो । केही समयपछि फर्किन्छु भन्ने सोचले गएको थिएँ । तर, उतै बस्नैपर्ने बाध्यता आइलाग्यो । त्यसवेला अर्कै खालको जिद्दिपन थियो मेरो । केही समयका लागि भनेर गएको थिएँ, १३ वर्ष बितेको पत्तै पाइनँ ।

 

पुनरागमन
सन् २००५ मा नेपाल आएँ । त्यसपछि ‘तागारोमा रुमाल राखी’ गीत रेकर्ड गरेँ । आठ वर्षको ग्यापमा निकालिएको गीतले पनि निकै चर्चा पायो । त्यसवेला मेरो सुखद पुनरागमन नै थियो । तर, फेरि विदेश फर्किनुपर्‍यो । पारिवारिक परिस्थितिले सजिलै आउन नदिनेरहेछ । विदेशमा ‘एकान्त छु उदास छु, तर लाचार छु...’ भन्ने गीत पनि निकालेको थिएँ ।

 

बेलायत बसेर पनि मैले गति गाउँन छोडिनँ । तर, नेपालको जस्तो सन्तुष्टि मिल्दैनथ्यो । म बेलायत गएपछि ‘कन्दरा’ पनि गुमनामजस्तो भयो । हुन त म एक दिन पनि संगीतबाट अछुतो थिइनँ । तर, ‘कन्दरा’ले १० वर्षमा एउटा पनि एल्बम निकाल्न सकेन । बेलायत गएको एक महिनामै कार्यक्रम गर्न सुरु गरेको थिएँ । बेलायतमा लाइभ कन्सर्टहरू हुँदैन थियो । म गएपछि त्यहाँ लाइभ कन्सर्ट गर्न थालेँ । सांगीतिक गतिविधिमा सक्रिय थिएँ । तर, नेपाललाई छोडेर बाहिर गएपछि पहिलो दर्जाको नागरिक नमान्ने रहेछन् भन्ने महसुस भयो । त्यसैले पनि मलाई नेपाल आउन प्रेरित गर्‍यो ।

 

सन् २०१५ को भूकम्पपछि नेपाल आएँ । केही समय राहत वितरणमा खटिएँ । त्यसपछि पूर्ण रूपमा नेपालमै बसेँ । नेपाली गीत–संगीतमा सक्रिय हुनथालेँ । अहिले पूर्ण रूपमा नेपालमै समय बिताइरहेको छु । त्यसपछि २०१७ मा ‘कन्दरा’ले एल्बम ‘भेडी गोठ’ निकाल्यौँ ।

 

स्वर्णिम यात्रा
हिजोको त्यो स्वर्णिम समय सम्झिँदा अचम्म लाग्छ । हाम्रो पालामा संगीत विसुद्ध संगीत नै थियो, अहिले संगीत व्यवसाय भएको छ । गीत–संगीत भनेको पैसा कमाउन मात्रै गर्ने हो भन्ने बुझाइ छ । योचाहिँ एकदमै गलत होजस्तो लाग्छ । गीत–संगीतमा हामीले कहिल्यै पैसा खोज्नुहुँदैन । तर, अहिले यति वटा कन्सर्ट गर्ने, यति कमाउने भनेर पहिले नै हिसाब गरिन्छ । संगीत भनेको आत्मलाई शुद्ध पार्ने माध्यम हो । यो कुरा नेपालमा कताकता हराइरहेको छ । यो कुराले मलाई एकदमै घोचिरहेको छ ।

 

भाइरल हुन गाह्रो छैन । तर, त्यो गीतको आयु कति हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले बजारमा व्यापक चलेको गीत दुई महिनापछि हराउँछ । हामीले खोजेको नेपाली गीत–संगीत त्यही हो त ? हामी स्रष्टा सर्जकले व्यवसायको नाममा जे पायो त्यो गर्न मिल्दैन । हाम्रो आत्मसन्तुष्ट भए पनि मात्रै गीत निकाल्नुपर्छ । नेपाली संगीतमा नेपालीपन हुनैपर्छ । नेपाली बाजागाजा प्रयोग हुनैपर्छ । अनि पो हामी नेपाली संगीत भनेर भन्न सक्छौं । अहिले भाइरलले राम्रा सिर्जनाहरू छायाँमा परेका छन् ।