• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
कृष्ण पोखरेल
२०८१ असार ९ शनिबार ०८:४४:००
साहित्य

झापा विद्रोहको साक्षी

२०८१ असार ९ शनिबार ०८:४४:००
कृष्ण पोखरेल

 

वर्गशत्रुको रगतले हात नरंगिउन्जेल सच्चा कम्युनिस्ट होइन्न भन्ने चारु मजुमदारको लाइन युवाले समाते

 

भद्रपुरपुगेपछि सुरुका दिनमा म बिदा भयो कि झापाका विभिन्न गाउँ डुल्न निस्किन्थेँ । झापा र मोरङमा मैले उल्लेख्य भिन्नता पाएँ । मोरङका गाउँमा अनुपस्थित सामन्तहरूको प्रधानता थियो भने झापामा त्यसभन्दा विपरीत अवस्था थियो । मोरङमा ठालुहरू प्रायः सहरमा बस्थे र गाउँमा रहेको आफ्नो कामतमा वर्षको केही खास समय खेती लाउन र बाली उठाउन जान्थे । तर, त्यसविपरीत झापाका ठालुहरू मुख्यतया गाउँमै बस्ने र छोराछोरी पढाउन सानो घर सहरमा बनाउने प्रचलन रहेछ । ठालुहरू नै गाउँमा बस्ने हुनाले झापाका गाउँमा बढी चहलपहल देखिन्थ्यो । प्रायः ठूला गाउँमा अनिवार्य हाइस्कुल थिए । मोरङका अधिकांश हाइस्कुल विराटनगरमा थिए, जब कि झापाको स्थिति हेर्ने हो भने भद्रपुरमा जम्मा एउटा हाइस्कुल मात्र थियो ।

 

झापामा किसान आन्दोलनको इतिहास पुरानो थियो । २०१७ सालपछि जब कम्युनिस्ट पार्टी भूमिगत रूपमा क्रियाशील हुन थाल्यो, पूर्वकोशी पार्टीमातहत झापामा त्यसको नेतृत्व गोपालकृष्ण प्रसार्इंले लिए । उनी आफैँ पूर्वकोशी प्रान्तीय कमिटीका सदस्य थिए । उनीबाहेक ज्ञानी भट्टराई, जयप्रसाद ढकाल, मदन खपांगी, टीकाप्रसाद सापकोटा, बलबहादुर त्यहाँका पुराना नेता थिए । यीमध्ये अघिल्ला दुई त मैले थाहा पाउँदा त्यति क्रियाशील थिएनन् । विद्यार्थी आन्दोलनले गति लिन थालेपछि रामनाथ दाहाल, राधाकृष्ण मैनाली, नेत्र घिमिरे, द्रोणाचार्य क्षेत्री, लीला उदासी, वासुदेव शर्मा, सिपी मैनाली, रुद्र खरेलजस्ता युवा त्यसमा जोडिन पुगे । यसले त्यहाँ पार्टीमा एकछत्र हैकम चलाएर बसेका गोपालकृष्ण प्रसाईंजीको नेतृत्वविरुद्ध चुनौती थपियो । झापाका प्रसाईंमाझ एउटा कथन खुबै प्रचलित रहेछ । सत्यवादी प्रसाईं को ? रामबाबु, विद्वान् प्रसाईं को ? गणेश प्रसाईं, ठूला नेता को ? सिके प्रसाईं, शूरा प्रसाईं को ? गोपालकृष्ण । गोपालकृष्णजीको शूरोपनको बखानको खास कारण उनी धनाढ्य भएर पनि कम्युनिस्ट हुनुसँग जोडिएको रहेछ । युवाहरू कम्युनिस्ट आन्दोलनसँग जोडिएपछि तिनले गोपालकृष्णजीको कार्यशैलीमाथि प्रश्न खडा गरे । खास गरी उनको आफ्नै मोही र हलीहरूसँगको शोषणपूर्ण व्यवहारप्रति उनीहरूको विरोध थियो ।

 

अन्तरविरोध चर्केपछि त्यो विवाद प्रान्तीय कमिटीमा आयो । पार्टीले त्यसबारे छानबिन थाल्यो र साथमा त्यहाँ पार्टी काममा सहयोग गर्नलाई मोहनचन्द्रलाई पठायो । हो, यही नै झापा विद्रोहको निर्णायक बिन्दु बन्न पुग्यो । उनले आफूसँग कम्युनिस्ट विचारको प्रचारप्रसारका लागि विराटनगरका नरनाथ गौतमजीले सञ्चालन गरेको बाजेको पसलसँग मिलेर माक्र्सवादी साहित्यका पुस्तक लिएर गए र जनज्योति कुइनेटो नामक पुस्तक पसल पनि खोल्ने व्यवस्था गरे । पसलका लागि धन राधाकृष्णको सम्पर्कसूत्री मोहनचन्द्रको झापा पुगेपछि त्यहाँको समग्र परिस्थितिको मूल्यांकन गरेर उनी गोपालकृष्णजीविरुद्ध युवाहरूका पक्षमा लागे । उनका लागि झापा आफूले युवावस्थादेखि साँचेर राखेको कम्युनिस्ट क्रान्तिको सपना साकार गर्ने मलिलो जमिन साबित भयो । नक्सलवादी आन्दोलन चरम अवस्थामा पुगेका वेला पश्चिम बंगालको कुनै जेलब्रेक गरेर भागेका राजेन र भोगेन सेल्टरको खोजी गर्ने क्रममा झापाका आफन्तकहाँ आए । तिनका माध्यमबाट मोहनचन्द्रलगायत अन्य युवा क्रान्तिकारी पश्चिम बंगालमा नक्सलवादीको नियन्त्रणमा रहेका कतिपय आधार इलाका डुले । त्यहाँका क्रान्तिकारी सेना र लालदस्ताको परेड देखेर उनीहरू रोमाञ्चित मात्र भएनन्, साह्रै प्रभावित पनि भए । एक समय यस्तो पनि आयो कि पश्चिम बंगालबाट विहार जान नक्सलवादीहरूलाई गाह्रो पर्दा झापा र मोरङ सुरक्षित मार्ग बन्यो ।

 

झापाली युवाहरूको क्रान्तिकारी प्रयोगको पहिलो निसाना ज्यामिरगढीका कर्णबहादुर गौतम बने । वर्गशत्रुको रगतले हात नरंगियुन्जेल सच्चा कम्युनिस्ट होइन्न भने चारु मजुमदारको लाइन समातेर सच्चा कम्युनिस्ट बन्न मोहनचन्द्रको साथ र वीरेन राजवंशीको नेतृत्वमा यो कार्य सम्पन्न भयो । तर, स्थानीय प्रशासन यी राजनीतिक गतिविधिबाट बेखबर थियो । उसले त ती मारिनेसँग रिसइबी भएकाहरू खोजी–खोजी पक्रियो र छानबिन थाल्यो । म झापा पुग्दा यो क्रान्तिकारिताको प्रदर्शन भइसकेको थियो । हाम्रो वृत्तमा यो कुरा सबैलाई थाहा थियो । पूर्वकोशी पार्टीको हेडक्वार्टरले थाहा पाएपछि त्यसका नेताहरू स्तब्ध भए । भरतमोहन दाइ आफैँ झापा आउनुभयो । उहाँको त्यो यात्रा झन्डै दुःखान्त भएको थियो । यसको उल्लेख उहाँले पनि आफ्नो संस्मरणमा गर्नुभएको छ । कुनै उपाय नलागेपछि पार्टीले तुरुन्तै झापाली क्रान्तिकारीहरूलाई बोलायो । तर, त्यो वार्ताले कुनै सकारात्मक परिणाम ल्याएन । त्यो आ–आफ्नो बाटो हिँड्ने सोचका साथ विभाजनमा पुगेर टुंगियो ।

 

यो परिघटनाले स्वयं झापाको पार्टी संगठनमा पनि ठूलै तरंग ल्यायो । गोपालकृष्णजी गाउँ जान छाडे, वासुदेव शर्माले त झापा नै छाडे । द्रोणजी र लीला उदासीजी सुरुदेखि नै यो लाइनको विरुद्धमा उभिए । प्रारम्भमा साथ रहेका रुद्र खरेल पनि यसबाट अलग भए । कम्युनिस्ट पार्टीको नेतृत्व सर्वहाराको हातमा हुनुपर्छ भन्ने शास्त्रीय माक्र्सवादबाट प्रेरित मोहनचन्द्रकै जोडबलमा कमिटीको सचिवको जिम्मेवारी धनी किसानका छोरा राधाकृष्ण मैनालीको हातबाट खिचेर गरिब किसानका छोरा खड्ग ओलीजीको हातमा आइसकेको थियो । यो नेतृत्व परिवर्तन मुख्यतः तीन कारणबाट भएको थियो । एक– राधाकृष्ण बिमार हुनु, दुई– मोहनचन्द्रको जोडबल र तीन– काम कम र गफ बेसी गर्ने ओलीको व्यवहारलाई जिम्मेवारी दिएर परीक्षण गर्ने । यसैबीच एक बर्खा गरामनीको धान खेतमा विष्णुप्रसाद विमली र ईश्वरीप्रसाद चुडालको निर्मम हत्याको खबरले झापा तात्तियो । हिलोमा गाडिएको अवस्थामा भेट्टिएको जुत्ता गरामनी स्कुलका विद्यार्थीले चिने र तिनको निर्दोष मुखबाट अनायासै निस्क्यो– यो त हाम्रो नेत्र सरको जुत्ता हो । बल्ल सरकारले यो हत्यालाई राजनीतिसँग जोडेर हेर्न थाल्यो ।

 

बीचमा अरू पनि वर्गशत्रु सफायाका वारदात भए । चुडाल र विमलीभन्दा अगाडि नै बुटन चौधरी मारिएका थिए भने उद्रकान्त राजवंशी त्यसपछि मारिए । तर, सबैभन्दा ठूलो हंगामा त्यसपछिको वारदातबाट भयो । त्यो थियो– शनिश्चरेका ठालु एवं पूर्वरापंस धर्मप्रसाद ढकाल र तिनका छोरा ज्ञानी ढकालको हत्या । त्यसपछि भने झापा मात्र होइन, मुलुक नै थक्र्याे । झापाका गाउँगाउँबाट भागेर ठालुहरू कि सदरमुकाम आए कि राजधानी काठमाडौं पुगे । कलेज पढ्ने युवाहरूको ठूलो समूह यो विद्रोहबाट आकर्षित भएर पढाइ छाडेर त्यसमा समाहित हुन थाले भने डराएका कतिपय अभिभावकले आफ्ना छोराछोरी मेची क्याम्पसबाट निकालेर काठमाडौंतिर पठाउन थाले । सरकारमाथि गाउँका सामन्तहरूलाई सुरक्षा दिन नसकेको आरोप लाग्यो । अब भने सरकार साँच्चै हरकतमा आयो । शनिश्चरे वारदातका वेला झापाबाहिर रहेका मोहनचन्द्र र खड्ग ओली त्यसपछि फेरि कहिल्यै झापा फिरेनन् । खड्गजी नफर्केपछि पार्टीको नेतृत्वमा सिपी मैनाली आए । युद्धस्तरमा थालिएको सर्च अभियानमा रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल समातिए । प्रिवारको अनुरोधमा तत्कालीन झापा जिल्ला सभापति गोपालचन्द्र सिंह राजवंशीको प्रयासबाट राजनीति छाड्ने सर्तमा भारतबाट झापा फर्केर तारिखमा छुटेका वीरेन राजवंशी पनि पक्राउ परे । उनलाई पक्रनुको खास उद्देश्य उनबाट उनका पुराना सहकर्मीको सुराक पाइन्छ भन्ने थियो । तर, जेल परेपछि जब पुराना साथीहरूको संगतमा आए उनी पुनः त्यही रंगमा रंगिहाले । सर्च अभियानकै दौरान रामप्रसाद श्रेष्ठ र चन्द्र डाँगी निर्ममतापूर्वक मारिए । यही झापा विद्रोहकै कारण झापाभरि ग्राभेल सडकको विस्तार भयो ।

 

तिनताक मेची अञ्चलाधीशमा छिरिङ तेञ्जिङ लामा र एसपी पद्मबहादुर मानन्धर थिए । सरकार जिल्लाका सामन्तलाई आश्वस्त पार्न चाहन्थ्यो भने एक कान दुई कान मैदान हुँदै झापा विद्रोहका विषयमा फैलिएका रोमाञ्चक कथाबाट थप युवा त्यसतर्फ आकर्षित नहोऊन् भन्ने पनि चाहन्थ्यो ।

 

गृह मन्त्रालयबाट बोलावट भएर राजधानी पुगेका अञ्चलाधीश र एसपी झापा फर्के । पटकथा काठमाडाैंमै लेखिसकिएको थियो । अब मञ्चनको काम बाँकी थियो । अन्ततः त्यो अप्रिय रात आइछाड्यो । २१ फागुन २०२९ का दिन जेल सार्ने भनेर रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल चन्द्रगढी जेलबाट सरकारी गाडीमा इलामतर्फ लगिए । शनिश्चरेमा केही समय रोकिएपछि यात्रा पुनः प्रारम्भ भयो । यसपटक त्यो सुखानीको जंगलमा रोकियो र हात बाँधिएकै अवस्थामा गोली ठोकेर पाँचैजनालाई कायरतापूर्वक मारियो । सरकारी वृत्तमा त यो सूचना राति नै फैलियो तर आमजनताले भोलिपल्ट मात्र थाहा पाए, जब तिनलाई पोस्टमार्टम गर्न भद्रपुर अस्पतालको मुर्दाघरमा ल्याइयो । उनीहरू मुठभेडमा मारिएका भए कुनै कुरा थिएन । तर, समातेर जेलमा हालिसकेको अवस्थामा हात पछाडि बाँधेर मार्नु भनेको ‘कोल्ड ब्लडेड मर्डर’ थियो । निरंकुश पञ्चायती व्यवस्थाले दग्ध गरेको त्यो कालखण्डमा आवाज उठाउने कसको पित्ताम ? यो त स्थानीय सामन्तलाई आश्वस्त गर्ने र राजनीतिक विद्रोहीलाई दमन गर्न राज्य जुन अतिसम्म पनि जान सक्छ भनेर सन्देश दिने उद्देश्यबाट सोची–सम्झीकन गरिएको हत्या थियो । 

 

पछि राधाकृण मैनाली झापाबाटै र मोहनचन्द्र अधिकारी र खड्ग ओलीहरू गौरबाट समातिए । त्यसको केही समयपछि सिपी मैनालीका अतिरिक्त लीला कट्टेल र कलिलै उमेरकी सीता खड्का पनि समातिए । यी सबै रामनाथजीहरूझैँ पहिलो खेपमा समातिएका हुँदा हुन् त अवश्य नै फर्जी मुठभेडको सिकार हुने थिए । तर, यिनको सौभाग्य नै भन्नुपर्ला कि यी पछिबाट समातिए र त्यस्तो मुठभेडबाट जोगिए । झापा विद्रोहको झिल्को झापामै निभेजस्तो देखिए पनि सिपी मैनालीको नेतृत्व र माधव नेपालको साथबाट पहिले कोअर्डिनेसन केन्द्र (कोके), र पछि ऐतिहासिक नख्खु जेलब्रेकपछि उनकै सोच र नेतृत्वमा भएका राजनीतिक प्रयासका कारण त्यही कोअर्डिनेसन केन्द्र (कोके) को गर्भबाट नेकपा (माले) का रूपमा एक शक्तिशाली कम्युनिस्ट पार्टीको उदय भयो । वस्तुतः यो संगीन अवसरमा सिपी मैनालीको नेतृत्व नपाएको भए यो विद्रोहले राजनीतिक कलेबर पाउने थिएन । त्यो फगत डाका र हत्याराले मच्चाएको एक आतंककारी परिघटनाका रूपमा इतिहासमा विलिन हुने थियो ।

(लेखक पोखरेलको शनिबार सार्वजनिक हुने पुस्तक ‘फर्केर हेर्दा’ बाट)