‘गाउँ आएको बाटो’ सिनेमा पुँजीवादी विचार र आदिवासी विचारबीचको लडाइँको सिर्जनात्मक दस्ताबेज हो । यो सिनेमा हरेक नेपालीको लाइब्रेरीमा हुन आवश्यक छ ।
महेश राईको लेखन र नवीन सुब्बाको निर्देशनमा बनेको सिनेमा ‘गाउँ आएको बाटो’ले केही गम्भीर विषय सतहमा ल्याइदिएका छन् । सुन्दर सिर्जनाको विशेषता प्रश्न जन्माउन सक्नु नै हो । पुँजीवादी विकास, बजारवाद, रैथानेवादजस्ता विषयमा बहस भइरहेकै छन् । छुटेका र अझ जोड दिनुपर्ने केही विषय यी हुन सक्छन्–
राजनीति एकातिर, समाज अर्कोतिर
नेपालमा गाउँहरू घटाउने क्रम तीव्र गतिमा चलिरहेको छ । गाउँ घटाउनेको तर्क छ, गाउँको भित्ता नभत्काई सुखको ढोका खुल्दैन । उनीहरूले गाउँ भनेको दुःख रुने चिहानघारी हो र सहर भनेको सुख फुल्ने फूलबारी हो भनिरहेका छन् । २०७८ को जनगणना अनुसार ३३.८ प्रतिशत मानिस गाउँवासी र ६६.२ प्रतिशत मानिस नगरवासी भइसके । तर, विचारणीय पक्ष के छ भने राज्य गाउँ भत्काएर नगर बनाउन दौडिरहँदा आममान्छेको रुचि भने गाउँतिरै देखिन्छ ।
सिनेमा समाजको गति नियाल्ने आँखीझ्याल पनि हो । ७० को दशकबाट नेपाली सिनेमामा गाउँका कथाहरू अत्यधिक रुचाइन थालेको देखिन्छ । सिनेकर्मी गाउँका कथा खोज्न हौसिएका छन् । केही वर्षयता बनेका फिल्महरू ‘कबड्डी’का रिसिजहरू, ‘प्रकाश’, ‘जारी’, ‘मनसरा’, ‘सेतो सूर्य’, ‘टलकजंग भर्सेस टुल्के’, ‘कालो पोथी’ ‘ऐना झ्यालको पुतली’जस्ता फिल्ममा गाउँकै कथा छन् । ‘उजेली’ बनाउने दीपेन्द्र गौचनहरू पनि गाउँकै कथावरिपरि छन् । ‘दलन’, ‘नुमाफुङ’ बनाउने नविन सुब्बा पनि गाउँकै कथा भनिरहेका छन् । नयाँपुस्ताका निर्देशक अनिल बुढामगरदेखि चर्चा कमाएका निर्देशक मीन भाम, दीपक रौनियार पनि गाउँकै कथा खोजिरहेका छन् । निर्देशक सुब्बाकै भनाइअनुसार अबको नेपाली सिनेमाको मूलधार सामाजिक विविधता हो । उनले लक्षित गरेको सामाजिक विविधताको जग गाउँ नै हो ।
यता समाजको रुचि गाउँका कथामा छ । समाजले आफ्नो जरा छोड्न मानिरहेको देखिन्न । उता राजनीतिज्ञ भने गाउँ भत्काएर नगर घोषणा गर्न दौडिरहेका छन् । आमसमाजले चाहिँ किन गाउँ कै कथा मन पराइरहेका छन् ? किनभने, गाउँमा मानवताको अवशेष बाँकी छ, सहअस्तित्व छ, आफ्नोपन छ, आत्मसम्मान छ, प्रकृतिसँग लुकामारी छ । तर, सहरमा प्रतिस्पर्धा छ, भागदौड छ, ठेलमठेल छ । यो परिदृश्यले नेपाली राजनीति र समाजको भावनाबीच बेमेल भइरहेको भन्न सकिन्न र ? नेताको दिमागमा चल्ने आधुनिकता र जनताको मनमा धड्किने मानवताबीच ठूलो खाडल बन्दै गएको होइन र ? अहिलेको विकास, समृद्धि, आधुनिकता समाजले मन नपराइरहेको एउटा गतिलो उदाहरण सिनेमाप्रति मानिसको रुचि होइन र ?
पोभर्टी पोर्न
गाउँका कथा त आए, तर कस्ता कथा आइरहेका छन् ? बहस गर्नुपर्ने यो अर्को विषय हो । गाउँ र कमजोर पारिएका वर्ग जाति, समुदायबारे फिल्म बनाउने परम्परा हिजो पनि थियो आज पनि छ । ती कमजोर पारिएका वर्गबारे कस्ता फिल्म बनिरहेका छन् ? ‘गाउँ आएको बाटो’ले यसमा के फरक काम गर्यो ? यसबारे मन्थन गर्नु उपयुक्त हुन्छ ।
सन् ८० को दशकबाट प्रयोग भएको शब्द हो ‘पोभर्टी पोर्न’ । यसको सरल अर्थ हो ‘पोर्नोग्राफी अफ पोभर्टी ।’ अफ्रिकी मुलुकमा एड्सको महामारी फैलिएपछि संक्रमित बालबालिकाको तस्बिर पत्रपत्रिकामा छापियो र चन्दा संकलन गरियो । हृदयविदारक तस्बिर छापेर पैसा असुल्ने कामलाई आलोचकहरूले भनिदिए– पोभर्टी पोर्न । गरिबीलाई भद्दा मजाकको रूपमा प्रस्तुत गर्ने, त्यो मजाक वा दरिद्रतालाई कलात्मक रूपमा प्रस्तुत गरेबापत पाठक/दर्शकबाट सहानुभूति र तारिफ बटुल्ने, अनि त्यो सहानुभूतिलाई पैसामा कन्भर्ट गर्ने । यो नग्न व्यवसाय विभिन्न रूपमा अहिले पनि जारी छ ।
नेपाली राजनीतिमा ‘पोभर्टी पोर्न’ छ्यासछ्यास्ती छ । गरिबी उन्मूलन गर्ने नाममा सञ्चालित एनजिओ, आइजिओहरूले फरक स्वरूपमा यही काम गरिरहेका छन् । यो रोगबाट नेपाली सिने जगत् अलग पटक्कै छैन । विपन्न बनाइएका मानिसका दुःखलाई फिल्मांकन गरेर विपन्नकै मजाक उडाइन्छ । जसको बारेमा सिनेमा बन्छ उनीहरू नै सिनेमाघरको गेटमासम्म ढिम्किन पाउँदैनन् । जसले पाइतालामुनि दबाएर राख्छ उनीहरू नै भुटेको मकै चपाउँदै सिनेमाको मजा लिन्छन् । यो महारोगबाट ‘गाउँ आएको बाटो’ मुक्त छ त ? यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ ।
कुनै पनि सिनेमाको मुख्य पात्र सम्झिँदा तपाईंको मनमा गर्व महसुस हुन्छ, पात्रप्रति माया र सम्मान भाव उत्पन्न हुन्छ भने त्यो सिनेमा महारोगबाट मुक्त छ । यदि पात्रहरू सम्झिँदा मनमा बिचरा, च्वकच्वकवाला भाव र दिगमिग लाग्छ भने महारोगबाट सिनेमा ग्रसित छ । जस्तो, फिल्म ‘साँघुरो’को मुख्य पात्र कृष्ण सम्झिँदा दिगमिग लाग्छ । झाङ यिमाउको ‘नट वन लेस’की मुख्य पात्र सम्झिँदा उनको माया लाग्छ र उनीप्रति अगाध स्नेह जाग्छ । नेपालका ‘बुलबुल,’ ‘पशुपति प्रसाद,’ ‘पुजार सार्की’ र नेपालबाहिरका ‘स्लम डग मिलेनियर’जस्ता फिल्महरू कमजोर वर्गको कथा खोसी पैसा कमाउन सफल फिल्म हुन् । ‘गाउँ आएको बाटो’ ‘पोभर्टी पोर्न’को धन्दाबाट मुक्त नै देखिन्छ ।
‘गाउँ आएको बाटो’को ‘सफलता’पछि नेपालमा आदिवासीका दुःखको वृत्तान्त भन्ने चलन सुरु हुन सक्छ । उतिवेला लुटिएको कथा अहिले भन्नैपर्नेछ, साथै लुटको विरुद्ध आदिवासीले गरेको प्रतिरोधको पनि कथा भन्नुपर्नेछ । नदी–किनारबाट माझी विस्थापित गरिँदै छन्, साथै माझीहरूले प्रतिरोध पनि गरिरहेका छन् । राजधानीवरिपरिका डाँडाबाट तामाङ विस्थापित हुँदै छन्, साथै प्रतिरोध पनि गर्दै छन् । जंगलबाट चेपाङ लखेटिएका मात्रै छैनन्, निरन्तर प्रतिरोध पनि गरिरहेका छन् । पीडा मात्रै उल्लेख गर्ने, त्यो समुदाय वा व्यक्तिले गरेको संघर्ष नदेख्ने, उनीहरूको आत्मसम्मान र समाजमा उनीहरूको योगदानको बेवास्ता गर्ने वैचारिक रुझानले रचनाकारलाई अन्ततः ‘पोभर्टी पोर्न’कै बाटोमा लैजान्छ ।
इन्डिजिनियस फ्युचरिजम
सन् २००२ मा पहिलोपटक अमेरिकन लेखक ग्रेस एल डिलनले ‘इन्डिजिनियस फ्युचरिजम’ शब्दको प्रयोग गरिन् । यो एकप्रकारको साहित्यिक सांस्कृतिक आन्दोलन हो । लेखक, फिल्म मेकरहरूले आदिवासीका कथा साइन्स फिक्सनको नाममा फेटासीका रूपमा मात्रै प्रयोग गरेपछि यो अवधारणा अगाडि आएको देखिन्छ । जस्तै, सन् २००९ मा आएको जेम्स क्यामरुनको फिल्म ‘अवतार’मा बाहिरियाहरूको आक्रमण र रैथानको विस्थापनको कथा छ । तर त्यो फिल्मसँग नेटिभ अमेरिकनको पीडाको कुनै साइनो छैन । केवल आदिवासीको थिम खोसेर नाम र दाम कमायो ।
‘इन्डिजिनियस फ्युचरिजम’ अवधारणाले आदिवासीहरूको विगत, वर्तमान र भविष्यको कल्पना गर्छ, उपनिवेशबाट मुक्तिका लागि प्रतिरोध र सार्वभौमिकताको वकालत गर्छ । आफ्नो सभ्यताको मिथक र परम्परागत ज्ञान प्रणालीलाई सम्मान गर्दै भविष्यको समाजमा ती ज्ञानलाई कसरी आकार दिने भन्ने कल्पना पनि गर्छ । यसले ‘डिप इकोलोजी’ र ‘फेमिनिस्ट मुभमेन्ट’सँग पनि नजिकको साइनो राख्छ । यो आन्दोलनको उदय आदिवासीहरूले आफ्नो कथा आफैँ भन्ने आन्दोलनसँग पनि सम्बन्धित देखिन्छ । जरा अर्थात् परम्परा र आधुनिकताबीचको सहअस्तित्वको कुरा गर्छ । प्रकृतिसँगको सम्बन्धको कुरा गर्छ ।
यो अवधारणाबारे छुट्टै विमर्शको खाँचो छ । यसका सकारात्मक पक्षबारे नेपाली सिने जगत्मा बहस गर्दा उपयुक्त हुने देखिन्छ । यो अवधारणाको चस्माले ‘गाउँ आएको बाटो’ हेर्दा कस्तो देखिन्छ त ?
नेपालमा आदिवासीका कथा आजसम्म प्रायः प्रतिरोधभन्दा पनि पलायनमा टुंगिएको देखिन्छ । नेपालका इन्डिजिनियसबारे बनेका अधिकांश सिनेमा सम्झनलायकसमेत देखिन्न । ‘नुमाफुङ’ अपवाद भन्न मिल्ने गरी बनेको सुन्दर सिनेमा हो । तर, त्यो सिनेमा पनि एक किसिमले हारको सिनेमा बन्यो । लिम्बू परम्परागत संस्कृति र आर्थिक विषमताको चेपुवामा परेर नुमासँगै उनका बुबाआमा गाउँ छाड्न बाध्य हुन्छन् । ‘गाउँ आएको बाटो’ पनि समाजलाई भयंकर प्रश्न छाडेर पलायनकै कथा बन्न पुगेको देखिन्छ ।
‘इन्डिजिनियस फ्युचरिजम’ले भनेजस्तो प्रतिरोधका महाख्यान नेपालमा लेखिन अझै बाँकी छ । ‘गाउँ आएको बाटो’ले जराको पक्षपोषण गर्दै परम्परागत ज्ञानको वकालत गर्छ, प्रकृतिसँगको निकटता÷निर्भरता, पुँजीवादी विकासको तीव्र भण्डाफोर गर्छ । तर, यसले सार्वभौकिताका लागि लड्ने, जरा र आधुनिकताबीचको सहअस्तित्व स्विकार्ने कि नस्विकार्ने, आदिवासीले चाहेको समाज वा भोलिको संसार कस्तो हो भन्नेबारे बोल्दैन ।
०००
केही कमजोरीका बाबजुत ‘गाउँ आएको बाटो’ गर्व गर्न लायक वैचारिक सिनेमा बनेको छ । सिनेमा आलोचनात्मक यथार्थवादी धारामा उभिएको छ । यो सिनेमाले कोरेको गोरेटोमा नेपाली सिनेमा हिँड्नुपर्छ । यो सिनेमा पुँजीवादी विचार र आदिवासी विचार बिचको लडाइँको सिर्जनात्मक दस्तावेज हो । यो सिनेमा हरेक नेपालीको लाइब्रेरीमा हुन आवश्यक छ र यसले उठाएका महत्वपूर्ण सवालबारे दशकौंसम्म बहस चलिरहन आवश्यक छ ।