• वि.सं २०८१ माघ ११ शुक्रबार
  • Friday, 24 January, 2025
अन्वेषण अधिकारी
२०८१ असार ९ शनिबार ०८:५८:००
समाज

तनाव भुलाउँदै, खुसी बाँड्दै 

२०८१ असार ९ शनिबार ०८:५८:००
अन्वेषण अधिकारी

 

ह्याप्पी माइन्ड्सको लक्ष्य प्राकृतिक रूपमै मानिसलाई निको पार्ने भन्ने हो । उनीहरूका समस्या सुन्ने अनि हौसला र परामर्श दिने भन्ने नै हो ।

 

श्रेया गिरी मानसिक स्वास्थ्य प्लेटफर्म ‘ह्याप्पी माइन्डस्’ की संस्थापक हुन् । विश्वचर्चित म्यागेजिन फोर्ब्सले एसियामा सामाजिक प्रभाव राख्ने ३० वर्षमुनिका ३० व्यक्तिको सूचीमा उनलाई राखेको छ । ह्याप्पी माइन्डस् स्थापनाको औचित्य र यो संस्थाले समाजलाई पारेको प्रभावबारे गिरीसँग अन्वेषण अधिकारीले गरेको कुराकानी :

 

कोभिड हामारीका कारण सबैजना समस्यामा थिए । लन्डनमा प्रोजेक्ट म्यानेजमेन्ट र बिजनेस म्यानेजमेन्टमा मास्टर्स सकेर भर्खरै काम थालेको थिएँ । फर्मासिटिकल उद्योगमा मार्केटिङ रिसर्चको काम गरिरहेको थिएँ । सेवा–सुविधा सबै राम्रो थियो । औषधिको प्रयोग, प्रभावकारिता र असरबारे डाक्टर, नर्स तथा बिरामीको प्रतिक्रिया लिनुपर्ने काम थियो ।

 

स्वास्थ्यकर्मीका अनुभव सुन्दा सधैँ त्रसित भइन्थ्यो । उनीहरू कोभिडबाट ग्रस्त परिवारका सदस्यलाई घरमै छाडेर अस्पतालमा काम गर्नुपर्दाको अनुभव सुनाउँथे । खाद्यान्न पसलबाट मानिसहरूले आफूलाई चाहिने सामान स्टकमा उठाइसकेका थिए । लकडाउन भएकाले अधिकांश मानिस घरभित्रै थुनिएका थिए । कसैसँग आफ्ना समस्या राख्न सक्ने अवस्था पनि थिएन । धेरै मानिस मरेको सम्झँदा डिप्रेसन हुने, बाबुआमालाई नेपालमा केही भइहाल्यो भने पनि जान सक्ने अवस्था छैन भन्ने भयले एन्जाइटी हुनेलगायत समस्या मलाई देखियो । नियमित उडान अवरुद्ध भएकाले चाहेकै समयमा नेपाल फर्कन सक्ने अवस्था पनि थिएन । एक्लोपन भुलाउन सोसल मिडिया अत्यधिक प्रयोग गर्दा यसैको लतमा पनि परियो ।

 

मैले यो मानसिक अवस्थाबाट मुक्त हुनका लागि त्यहाँको सरकारी निकायमा सहयोग मागेँ । ६–७ महिनापछि मात्रै पालो आउने थाहा पाएँ । पहिलो प्राथमिकता वृद्धवृद्धा, जटिल समस्या भएका, बालबच्चा र घरेलु हिंसा व्यहोरेकाहरूलाई दिइएको थियो । 

 

बेलायतमा म प्राथमिकतामा नपरे पनि जीवनभन्दा ठूलो अरू के हुन सक्छ भन्ने लाग्यो । परामर्शका लागि नेपाली डाक्टर नखोजेको होइन । तर, कसैले रेस्पोन्स गर्नुभएन । परिवारसँग सल्लाह गरेर म अन्ततः नेपाल फर्किएँ । मजस्तै अरू मानिस पनि यसरी नै प्रताडित होलान् भन्ने ठानेर उनीहरूका लागि सहज वातावरण बनाइदिन एउटा प्लेटफर्म खोल्ने सोच आयो । 

 

नेपालमा मानसिक स्वास्थ्यमा निकै कम मात्रै काम भएको छ । विदेशमा मानसिक स्वास्थ्यका लागि सहायता गर्ने धेरै संस्था छन् । बाटो–बाटोमा होर्डिङ बोर्ड राखेर सचेतना जगाइएको हुन्छ । त्यति हुँदा पनि त्यहाँ लकडाउनमा अवस्था विकराल भयो । 

 

स्रोत–साधनको कमी भएको नेपालमा अवस्था भयावह हुने नै भयो । धेरै मानिसलाई मानसिक सहायताको खाँचो थियो । नेपाल फर्किएको दुई महिनाभित्र मैले यस विषयमा धेरै अध्ययन गरिसकेको थिएँ । लकडाउन भएकाले मानिसहरूसँग प्रत्यक्ष भेट्न सम्भव थिएन । मैले अनलाईनमार्फत नै प्रारम्भिक अनुसन्धान थालेँ । परिवार र साथीहरूले मेरो काममा हौसला दिइरहेका थिए । त्यसपछि मनोपरामर्शदाता तथा थेरापिस्ट खोजी गरेँ । उहाँहरूलाई नेटवर्किङ बेसिसमा जोडे ।

 

नेपालमा दोस्रोपटक लकडाउन हुनभन्दा दुई दिनअघि ‘ह्याप्पी माइन्ड्स’ सुरु गर्‍यौँ । सुरुमा तीन महिना मात्रै भएपनि काम गर्ने भन्ने सोच थियो । हाम्रो लक्ष्य समस्यामा परेकाहरूलाई हौसला दिने भन्ने थियो । 

 

फेसबुक र इन्स्टाग्राममार्फत धेरै मानिस हामीसँग जोडिनुभयो । हामीले गम्भीर मानसिक अवस्थाबाट गुज्रिएर पनि आर्थिक अभावले गर्दा उपचारमा जान नसकेकाहरूलाई त्यतिवेला निःशुल्क परामर्श दियौँ । सम्पर्कमा आउनेहरूको संख्या ठूलो थियो, सबैलाई परामर्श दिनसक्ने क्षमता नभएकाले हामीले कम समस्या भएकाहरूलाई अन्य संस्था र परामर्शदाताहरूसँग सम्पर्क गर्न सुझायौँ ।

 

ह्याप्पी माइन्ड्सको लक्ष्य प्राकृतिक रूपमै मानिसलाई निको पार्ने भन्ने हो । उनीहरूका समस्या सुन्ने अनि हौसला र परामर्श दिने भन्ने नै हो । अहिले, हामीसँग क्लिनिकल र नन्–क्लिनिकल सबै गरेर १८ जनाको टिम छौँ ।

 

मानसिक समस्याका धेरै कारण हुन्छन् । औषधि चलाउनुपर्ने अवस्थामा हामी मानसिक रोग विशेषज्ञकहाँ जान सुझाव दिन्छौँ । कतिपयले थेरापिस्टलाई गएर मेरो यस्तो अवस्था छ भनेपछि उहाँहरूको अवस्था थाहा हुन्छ । त्यसपछि हामी समाधानको बाटोमा जान्छौँ । परामर्शकै क्रममा मानिसको आर्थिक अवस्थाबारे पनि जानकारी भइसकेको हुन्छ । खर्च गर्न नसक्नेहरूलाई थेरापिस्टकै सल्लाहका आधारमा सहुलियतको व्यवस्था गर्छौँ । 

 

परामर्श लिन

 

हरेकको जीवनमा उतारचढाव आइरहेको हुन्छ । हाम्रोे तथ्यांकअनुसार वयस्कमा वातावरण, अस्थिर आर्थिक अवस्था, अन्योल परिस्थिति, पारिवारिक समस्याले मानसिक समस्या निम्त्याइरहेको हुन्छ । मानिसक समस्या कुनै धक मान्नुपर्ने अवस्था होइन । तर, नेपालमा अहिले पनि धेरैजना मानिस मानसिक समस्याबारे खुलेर बोल्दैनन् । मानसिक समस्या भएकाहरूलाई हेर्ने समाजको नजर पनि ठीक छैन । जब कि, जोकोहीमा कुनै पनि समय मानसिक समस्या देखिएर सहायताको खाँचो पर्न सक्छ । 

 

अर्को बिडम्बना, हामी खुसीको कुरा मात्रै गर्छौँ । दुःखको कुरा गर्दैनौँ । छोरा मान्छे रुन हुँदैन भनिन्छ । तर, रुनु नराम्रो हो र ? रुँदा त इमोसन रेगुलेसन हुन्छ । यो पनि एउटा अभिव्यक्तिको माध्यम हो । पीडा अभिव्यक्त भइरहेको हुन्छ । तर, हामी न खुलेर रुन दिन्छौँ । न कुरा गर्न दिन्छौँ । त्यसैले पनि मानिस आफ्ना भावना लुकाएर राख्छन्, खुलेर कुरा गर्न मान्दैनन् । 

 

यहाँ मानिसहरू आउँदा हामीले प्रारम्भिक कारणहरू टिप्छौं । उहाँहरूले भन्न मिल्ने र सक्ने कारण भनेपछि थेरापिस्टसँग भेटाइदिन्छौँ । त्यसपछिका बाँकी कुराकानी सबै प्राइभेट हुन्छन् ।

 

हामीले व्यक्तिगत काउन्सिलिङ, समूहमा वर्कसप तथा रोजगार सहायता सेवा उपलब्ध गराउँछौँ । विभिन्न कम्पनीले आफ्ना कर्मचारीलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन हामीलाई सम्पर्क गर्नुहुन्छ । कतिपय अवस्थामा व्यक्तिगत र कतिपय अवस्थामा कार्यालयको कामले पनि कर्मचारीमा तनाव देखिएको हुन सक्छ । यसलाई हल गर्नका लागि कर्पोरेट संस्थाले कर्मचारीलाई मानसिक सहायता उपलब्ध गराउन जरुरी हुन्छ । नेपालमा भर्खरै यो काम हुँदै छ । 

 

हामीले अनलाइन र प्रत्यक्ष रूपमा पनि परामर्श दिने काम गरेका छौँ । विदेशमा रहेका नेपालीहरूले पनि हामीसँग परामर्श लिने गर्नहुन्छ । 

 

२०७७ को सरकारी तथ्यांकअनुसार नै १५ देखि २० प्रतिशत मानिसमा कुनै न कुनै मानसिक समस्या छ । तर, मानसिक स्वास्थ्यका लागि धेरै काम भएको छैन । स्वास्थ्य मन्त्रालयको कुल बजेटमध्ये मानसिक स्वास्थ्यका लागि एक प्रतिशतभन्दा पनि कम बजेट छट्याइएको छ । त्यसको पनि प्रभावकारी कार्यान्वयन छैन । नेपालमा कोरोना महामारी, आर्थिक मन्दी, बेरोजगारी, वैदेशिक रोजगारी (परिवारसँग अलग हुनुपर्दाको पीडा)लगायत विविध कारणले मानसिक स्वास्थ्यलाई ट्रिगर गरिरहेको छ । त्यहीकारण, यस विषयमा स्थानीय तहको पनि ध्यान दिन जरुरी छ । वडावडामा रहेका स्वास्थ्यचौकीमा शारीरिक स्वास्थ्यसँगै मनोपरामर्श उपलब्ध गराउन जरुरी भइसकेको छ ।

 

केही अविस्मरणीय घटना 

 

विदेशमा गर्भवती, नवजात शिशुका बाबुआमा, युद्धका घाइते, दीर्घरोगीलगायतलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरिन्छ । नवजात शिशुका बाबुआमालाई बच्चा जन्मनेबित्तिकै उनीहरूलाई स्याहार्ने तरिका तथा हुर्कँदै गएपछि उनीहरूसँग गर्नुपर्ने व्यवहारबारे बुझाइन्छ । किनकि, सबै कुरा उनीहरूले पनि जानेका हुँदैनन् । गर्भावस्थामा आउने मानसिक उतारचढाव र बच्चा जन्माइसकेपछि देखिन सक्ने असरका विषयमा पनि महिलालाई परामर्श दिइन्छ । उनीहरूलाई आशावादी रहन प्रेरित गरिन्छ ।

 

हाम्रोमा एकजना क्यान्सरकी बिरामी ह्विलचेयरमा आउनुहुन्छ । उहाँसँगै उहाँको श्रीमान्, छोराछोरी सबैले परामर्श लिइरहनुभएको छ । अलग–अलग थेरापिस्टले उनीहरूलाई अलग–अलग राखेर कुरा सुन्छन् र परिस्थितिलाई कसरी सम्हाल्ने भनेर सुझाव दिन्छन् । यस्तो परिस्थितिमा आफ्नो तनाव कसरी कम गर्ने र बिरामीलाई कसरी सपोर्ट गर्ने भन्नेबारे कुराकानी हुन्छ ।

 

अर्को एकजना युवा हुनुहुन्छ । उहाँ आइटी कम्पनीमा काम गर्नुहुन्छ । हामीसँग परामर्श लिन आउँदा उहाँमा आत्मबल निकै कम थियो । उहाँ त्यही आत्मबल बढाउने उपायका लागि हामीकहाँ आउन चाहिरहनु भएको थियो । तर, हामीसमक्ष आउने आत्मबल पनि कम भयो । यहाँ कार्यालयभित्र छिर्दा पनि कसैले नदेखोस् भन्ने उहाँलाई लागेको थियो । त्यति धेरै एन्जाइटी थियो । दुई वर्ष भयो, अहिले व्यवहार निकै परिवर्तन भइसकेको छ । उहाँ सबै टिमसँग बस्ने, खाने र रमाउने गर्नुहुन्छ । आफ्ना भावना खुलेर अभिव्यक्त गर्नुहुन्छ । उहाँको व्यक्तित्वमा आएको यो विकासले पनि मलाई निकै खुसी दिलाएको छ ।

 

कतिपयमा भने काउन्सिलिङकै अवधिमा पनि समस्या देखिन्छ । अमेरिका बसेर मास्टर्स पढ्ने एकजना विद्यार्थी हामीसँग अनलाइनमार्फत जोडिनुभएको छ । उहाँले तीन वर्षदेखि सेसन लिइरहनुभएको छ । एकपटक उहाँको घरमा झगडा परेकोरहेछ । वाक्कदिक्क भएर उहाँले पुलमा पुगेर ह्वाट्सएपमा फोन गर्नुभयो । नेपालको रातको दुई बजेको थियो होला । समय नमिलेकाले पहिले यहाँ फोन उठेन । संयोगवश, यहाँ एकजना स्टाफ निद्राबाट ब्युँझनुभएछ । उहाँले कलब्याक गर्नुभयो । ती युवा पुलबाट हाम्फाल्ने तयारीमा रहेछन् र अन्तिमपटक थेरापिस्टसँग कुराकानी गर्न खोजेका रहेछन् । 

 

त्यसपछि हाम्रो स्टाफले लगातार फोन गरेर थेरापिस्टलाई जगाउनुभयो । सम्पर्क हुनासाथ थेरापिस्टसँग उनले आफ्ना सबै भावना राखे । थेरापिस्टसँग मानिसको निकै नजिकको सम्बन्ध हुन्छ । सबै कुरा भन्छन् । ती युवा थेरापिस्टसँग कन्भिन्स भएपछि पुलबाट घर फर्किए । एउटा स्टाफ संयोगले निद्राबाट ब्युँझँदा अर्को युवाको ज्यान बचेको यो घटनालाई सायद म कहिल्यै भुल्न सक्दिँन । स्थापनाको तीन वर्षमै ‘ह्याप्पी माइन्ड्स’ यस्ता धेरै घटनाक्रममा सहयोगी बनेको छ ।