• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
अन्वेषण अधिकारी
२०८१ असार ९ शनिबार ०९:०७:००
इतिहास

लिच्छविकाल अभिलेख सुरक्षित एक ‘स्वर्ण युग’

२०८१ असार ९ शनिबार ०९:०७:००
अन्वेषण अधिकारी

 

लिच्छविकाल त्यस्तो विशेष समय हो, जतिवेला भएका उपलब्धि अहिले पनि विभिन्न अभिलेखमा सुरक्षित छन्

 

हाम्रा पुराण, किम्वदन्ती र विभिन्न समयमा भएका भौगोर्भिक अनुसन्धानले काठमाडौं उपत्यका जलमग्न थियो भन्ने पुष्टि गरिसकेका छन् । तर, काठमाडौं उपत्यका जलमग्न हुँदा पनि यसआसपास मानवबस्ती रहेको हुन सक्ने प्रमाण भेटिएका छन् । रुसको लेलिनग्राद विश्वविद्यालयका प्रोफेसर सेटेन्कोले अनुसन्धान गर्दा बुढानीलकण्ठ, धोवीखोला किनारमा हातेबन्चरो र स्क्रेपर फेला पारेका थिए । यी उपकरणले ढुंगेयुग अर्थात् आजभन्दा करिब ३५–४० हजार वर्ष पहिले पनि उपत्यकाआसपास मानव बस्ती रहेको संकेत गर्छ । सायद उनीहरूआसपासका डाँडामा बस्थे होलान् । सिकार खेल्थे होलान् । 

 

काठमाडौंमा पहिले गोपाल वंशले पाँच सय वर्षजति, आभिर वा महिषपालले झन्डै डेढ सय वर्ष र किराँतहरूले एक हजार वर्षसम्म शासन गरेको मानिन्छ । किंवदन्ती र पुराणमा उल्लेख गरिए पनि यसलाई पुष्टि गर्ने अभिलेखहरू अहिले भेटिन्नन् । 

 

तर, यसपछि सुरु भएको लिच्छविकाल त्यस्तो विशेष समय हो, जतिवेला भएका उपलब्धि अहिले पनि विभिन्न अभिलेखमा सुरक्षित छन् । त्यहीकारण, लिच्छविकाललाई नेपालको ‘स्वर्णयुग’ नै मानिन्छ । यस समय विभिन्न राजनीतिक तथा सामाजिक सुधारका काम भएको अभिलेखबाट थाहा हुन्छ । 

 

लिच्छविकालका झन्डै दुई सय अभिलेख भेटिएका छन् । अझै कति उत्खनन हुन बाँकी नै छ । जय बर्माको विसंअनुसार दोस्रो शताब्दी (शक सम्वत् १ सय ७) को अभिलेख र शिलास्तम्भ अहिले पनि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा सुरक्षित छ । मानदेवकालीन (विक्रम सम्वत्अनुसार पाँचौँ शताब्दी : शक सम्वत् ३८१, ३८६) स्तम्भ र अभिलेखहरू छन् । यसरी लिच्छविकाल स्पष्ट छ । 

 

यसकालमा राजाज्ञा पनि शिलालेख राखेर जारी हुने गरेको देखिन्छ । कँही प्रशस्ती गर्नुपर्‍यो, गुणगान गाउनुपर्‍यो भने पनि शिलालेख नै लेख्ने चलन रहेछ । 

 

कर पनि शिलालेखमै लेखिएको हुन्थ्यो । बिर्ता दिँदा पनि शिलालेख राखिन्थ्यो । काठमाडौंको बलम्बुमा भेटिएको शिलालेखमा विभिन्न करको चर्चा छ । त्यस्तै, थानकोटको अभिलेखमा राजा वसन्त देवले बहिनी जय सुन्दरीलाई उक्त स्थान बिर्तामा दिएको र त्यहाँका मानिसलाई करछुट दिइएको उल्लेख छ । पशुपतिमा एउटा अभिलेख छ, जयदेव द्वितीयको त्यहाँ लिच्छविकालको वंशावली छ । 

 

लिच्छविकालीन दरबार 

 

लिच्छविकालमा धेरै दरबारहरू बने । त्यसमध्ये मानगृह, कैलाशकुट र भद्रादिवास भव्य दरबार थिए । मानगृह राजा मानदेवको समयमा अर्थात् विक्रम सम्वत्को पाँचौँ शताब्दीतिर बनेको थियो । यसको वर्णन मानदेवका करिब २२ वटाजति अभिलेखमा पाइएको छ । उक्त दरबारबाट राजाज्ञा गरिएको अभिलेख पाइन्छ । 

 

बौद्ध धर्म प्रचारका क्रममा भारत हुँदै बुद्ध जन्मभूमि नेपाल घुम्न आएका चिनियाँयात्री फाहियान (सन् ४ सय ३ ताका) र ह्वेन्साङ (सन् ६ सय ३६) ताकाले कैलाशकुट दरबारको बयान गरेका छन् । भारत, बर्मा, श्रीलंकालगायत धेरै ठाउँ घुमेर ४० वर्षपछि चीन फर्किएर ह्वेन्साङले त्यहाँको तान वंशीयहरूको वंशावलीमा लेखेका छन्, ‘केही समयअघि नेपालमा अंशु फामो नाम गरेका विद्वान् राजा थिए । उनी विद्वान् थिए । उनले शब्द विद्या लेखेका छन् ।’ 

 

अंशु फामो भनेर उनले अंशु बर्मालाई चित्रण गरेका हुन् । शब्द विद्या भनेको व्याकरण हो । ह्वेन्साङले लेखेका छन्,‘ उनको साततले दरबार थियो । त्यसमा तामाको छानो हालिएको थियो । बुर्जा निकालिएको थियो । बुर्जाबाट गोहीका मुखाकृति तामाकै निकालिएका थिए । गोहीका मुखाकृतिबाट फोहोरा झर्दा निकै आकर्षक देखिन्थे ।’ 

 

यस्तो भव्य वास्तुकला चिनियाँ दरबारमा समेत नरहेको ह्वान्सेङको वर्णन छ । भनिन्छ, त्यस दरबारमा सहजै १० हजार मानिस अट्सक्ने भव्य सभाहल थियो । 

 

यसपछि राजा नरेन्द्र देवको पालामा भद्राधिभास बनेको अभिलेख छ । अभिलेखका आधारमा कैलाशकुट भवन कसैले हनुमानढोका त कसैले हाँडीगाउँ हुनसक्ने चर्चा गरेका छन् । हाँडीगाउँको डबलीमा कैलाशकुट भवनको चर्चा गरिएका दुईवटा अभिलेख पनि छन् । 

 

हुनमानढोका दरबारको एउटा अंशुवर्माकालीन अभिलेखमा भनिएको छ, ‘अघि भएका यहाँका मन्दिर र दरबार सबै जीर्ण भएकाले, त्यसका काठका खापाहरू चरा र किराले खाएकाले जीर्णोद्धार गरियो ।’ तसर्थ यो दरबार हनुमानढोकामै रहेको हुन सक्छ । 

 

आजका दिनमा यी दरबार अभिलेखमा रहे पनि अस्तित्वमा देखिँदैनन् । हामीले त्यसको खोजीकार्य पनि गर्न सकेका छैनौँ । सभ्यता निश्चित कारणले उत्पत्ति र पतन हुन्छन् । पतन भएपछि उत्खनन गरेर लामो समयपछि पनि पत्ता लाग्न सक्छ । जस्तो, कपिलवस्तु १२औँ शताब्दीदेखि लामो समय गायब थियो । १८औँ शताब्दीको अन्त्य (सन् १८९६) मा ब्रिटिसले यसलाई पत्ता लगाए । त्यहाँ उत्खनन गर्दा अशोक स्तम्भ, मायादेवी मन्दिरलगायत सम्पदा भेटिए । 

 

तर, काठमाडौंमा निरन्तर सहरीकरण भयो । कहीँ घर बने, कहीँ दरबार नै ठडिए । यहाँका पुराना सम्पदाको उत्खनन गर्न जटिल छ । 

 

पैसा र व्यापार 

 

पहिले प्राचीन भारत वर्षभर चाँदीका टुक्रालाई मुद्राका रूपमा प्रयोग गरिन्थ्यो । नेपालमा मानदेवले निष्कासन गरेको ‘मानांक’ पहिलो मुद्रा हो । त्यस मुद्राको अगाडिपट्टि मानांक र पछाडि श्री भोगिनी लेखिएको छ । भोगिनी उनकी रानीको नाम हो । 

 

यसपछि विभिन्न गुणांक, विष्णुगुप्तस्व, श्री अंशुलगायत गरेर लिच्छविकालमा सातवटा मुद्रा निष्कासन भएको अहिलेसम्मको अध्ययनले देखाउँछ । 

 

व्यापार–व्यवसायमा पनि यस युगमा राम्रै थियो । तेलमा कर लाएको भन्ने कुरा आउँछ । सायद, तेल बनाउने कारखाना थिए होलान् । सिन्कर भनेपछि काठमा कर लाग्यो, सायद काठ उद्योग हुन सक्छ । चोइलकर, यसको अर्थ कपडा उद्योग हुन सक्छ । 

 

नेपालको कपडा लिच्छविकाल सुरु हुनअघि नै भारतसम्म पनि प्रख्यात थियो । ईसापूर्वमै कौटिल्यको अर्थशास्त्रमा यसको चर्चा पाइन्छ । किराँतकालमा सुरु भएको भारतसँगको व्यापार लिच्छविकालमा थप विस्तार भएको देखिन्छ । अर्कोतर्फ, यही कालमा नेपालले तिब्बतसँग पनि व्यापार थाल्यो । 

 

भृकुटीले बिहे गरेर तिब्बत जाँदा मैत्रेय बुद्धका मूर्ति लगिन् । धातुका मूर्ति लगिन् । नेपालबाट बौद्ध धर्म भित्र्याइयो । तिब्बतमा पनि नेपालकै बज्रयान बुद्ध धर्म मानिन्छ । संसारका अन्य बौद्ध धर्मभन्दा यो पृथक् छ । यो तान्त्रिक बौद्ध धर्म हो । यसमा हिन्दू देवीदेवताको पनि पूजा हुन्छ । यसरी धर्म प्रचार र कूटनीतिको काम पनि भएको देखिन्छ ।

 

यसले व्यापारबाट पनि राम्रै गरेको थियो । नेपालले खाद्यान्न, मसाला, भाडावर्तन तिब्बतमा बेच्थ्यो । खुर्सानी, धर्मग्रन्थ यहाँबाट किनेर लैजान्थे । नेपालबाट विद्वान्हरू धर्मग्रन्थ लेख्न र व्याख्या गर्न तिब्बत जान्थे । उताबाट, चमर, नुन, सुन आदि आउँथ्यो । 

 

भारतमा पनि भाँडाकुँडा, मूर्ति, जडीबुटी जान्थे । चित्र र कागजपत्र बनाइयो । भारतमा लिच्छविहरूको पहिल्यैदेखि वैवाहिक सम्बन्ध थियो । भृकुटी विवाह भएर तिब्बत गएपछि त्यहाँ पनि लिच्छविहरूको सम्बन्ध बन्यो । 

 

लिच्छविकालीन कृषि

 

कृषिको विकासमा लिच्छविकालमा पर्याप्त ध्यान दिइएको थियो । त्यतिवेला सिँचाइका लागि तिलमक (राजकुलो) निर्माण गरिएको थियो । ‘ढल्पा’ अर्थात् कर्मचारी त्यसको रेखदेखमा खटिएका हुन्थे । राजकुलो बनाउने र त्यहाँको पानी सिँचाइ र ढुंगेधारामा प्रयोग गर्ने गरिन्थ्यो । 

 

लिच्छविकालमा धेरै ढुंगेधारा बने । ढुंगेधारा निर्माण मध्यकाल र मल्लकालमा पनि जारी रह्यो । तर, लिच्छविकालमा बनेका ढुंगेधारामा बुट्टा कम छन् । डुड हेरेरै अनुमान लगाउन सकिन्छ । पशुपतिनाथ (भुवनेश्वरी मन्दिर छेउ)को वरुणधारा, हाँडीगाउँको ढुंगेधारा लिच्छविकालीन हुन् । सुन्धारा पनि लिच्छविकालमै बनेको हुन सक्छ । लिच्छविकालीन ढुंगेधाराको विशेष, कम बुट्टा अलंकार हो । सम्भवतः यतिवेलाका धेरै ढुंगेधारा पुरिए । कतिपय ढुंगेधारा मध्यकाल र मल्लकालमा पुननिर्माण पनि भए । 

 

स्वर्ण पत्र 

 

चाँगुनारायण मानदेवभन्दा पनि अघि नै निर्माण भएको हो । । त्यहाँ रहेको एउटा अभिलेखमा पूर्वका सामन्त र पश्चिमका सामन्तहरूले शिर उठाएको हुनाले उनीहरूलाई दबाएर, त्यहाँ यज्ञ गरिएको र गरुडध्वज स्थापना गरेको चर्चा छ । चाँगुमा मानदेवले आमालाई पुण्य प्राप्तिका लागि यज्ञ गरिदिनु र गरुडध्वज चढाउनुले यसको अवस्थिति पहिलेदेखि थियो भन्ने पुष्टि गर्छ । मानदेव वा त्यसभन्दा अघि नै यहाँ सुनको कवच चढाइएको थियो ।

 

मानदेवभन्दा करिब दुई सय वर्षपछि अंशुवर्माले त्यसलाई मर्मत गरेको अभिलेख छ । लिच्छविकालमा यस्ता धेरै स्वर्णपत्र, ताम्रपत्रमा अभिलेख लेखिएको हुन सक्छ । जसको अनुसन्धान अझै हुन बाँकी छ । 

 

लिच्छविकालीन मूर्ति 

 

लिच्छविकालको पहिलो ढुंगेमूर्ति च्यासलहिटीको गजलक्ष्मी हो । प्रथम शताब्दीतिर यो मूर्ति बनेको मानिन्छ । पशुपतिको आर्यघाटमा विरूपाक्षको मूर्ति चौथो शताब्दीमा बनेको हो । 

 

पाँचौँ शताब्दीमा मानदेवको पालामा लाजिम्पाट र तिलगंगामा विष्णुविक्रान्तका मूर्तिहरू बनाइएको पनि अभिलेख भेटिन्छ । लाजिम्पाटको मूर्ति राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ । यो पनि अत्यन्तै सुन्दर छ । तिलगंगाको मूर्ति त्यहीँ नै छ । त्यहाँ मानदेवको पालामा मन्दिर पनि थियो भन्ने विभिन्न अध्ययनले देखाउँछ । 

 

लिच्छविकालमा ढुंगाका मूर्ति धेरै बने । सबैभन्दा महत्वपूर्ण मूर्ति कालिया दमनको मूर्ति हो । यसलाई हनुमानढोकाको मोहनचोकमा राखिएको छ । बालकृष्णले कालीनागलाई दबाउँदै गरेको नेपालको एउटा मात्रै अत्यन्तै सुन्दर मूर्ति हो । त्यो सातौँ शताब्दीतिरको हो ।

 

बुढानीलकण्ठको मूर्ति विष्णु गुप्तको पालामा बनेको हो । यो सातौँ शताब्दीकै हो । हनुमानढोका दक्षिणतिरबाट ढुंगा तानेर लगेर त्यहाँ मन्दिर बनाएको हो । त्यो मूर्ति बनाउन ढुंगा तानेर लगेबापत यताका मानिसलाई करछुट दिइएको अभिलेख पनि पाइन्छ ।

 

अहिले १० रुपैयाँको नोटमा अंकित गरुडासन पनि लच्छवीकालको सुन्दर सिर्जना हो । यो मूर्ति चाँगुनारायण मन्दिर परिसरमै छ । लिच्छविकालमा यस्ता सयौँ मूर्ति, शिललिंग बनेको अभिलेखमा उल्लेख छ । ती अति आकर्षक छन् । कालीगढहरूले निकै मिहिनेत गरेर खोपेका थिए । यसले हामी मूर्तिकलामा निकै पारंगत थियौँ भन्ने देखाउँछ ।

 

हुन त कतिपयले लिच्छविकालमा भारतको गुप्तकालीन शैलीको प्रभाव परेको पनि भन्छन् । किनकि, भारतमा गुप्त साम्राज्य कला र संस्कृतिका लागि विशेष थियो । 

 

लिच्छविकालमा नेपाल बनेका र भारतमा बनेका मूर्तिहरू उस्तैउस्तै छन् । किनकि धर्म मिल्थ्यो, लिच्छवि र त्यहाँका गुप्तहरूबीच बिहेबारी चल्थ्यो । तर, नेपालीले गुप्तहरूबाट सिकेको नभएर नेपालबाट गुप्तहरूले सिकेको पनि हुन सक्छ । यसबारे अध्ययन जरुरी छ । 

 

लिच्छविकालीन सिमाना 

 

पाँचौँ शताब्दीमा भारतका गुप्त राजा समुद्र गुप्तको प्रयाग अभिलेखमा नेपाललाई ‘कामरूपा नेपाल कर्तिपुर’ भनेर उल्लेख गरिएको छ । कामरूपा भनेको अहिलेको आसाम र कर्तिपुर भन्नाले कुमाउ हो । यसले नेपालको भूभाग लिच्छविकालमा ठूलै थियो भन्ने संकेत गर्छ ।

 

केन्द्र काठमाडौं भए पनि गाउँगाउँमा छोटे राजा थिए, जसलाई सामन्त भनिन्थ्यो । सामन्तलाई सबै अधिकार दिइएको हुन्थ्यो र उनीहरूले केन्द्रलाई स्विकारेर कर बुझाउनुपर्ने हुन्थ्यो । केन्द्र कमजोर भएको वेलामा ती सामन्तले आफैँ राजा घोषणा गर्थे अनि केन्द्रले पनि मौका ढुकेर उनीहरूलाई दबाउँथ्यो ।

 

राजा धर्मदेवको मृत्यु हुँदाको अस्थिर परिस्थितिमा पूर्व र पश्चिमतर्फका सामन्तले शिर उठाएको भन्ने चर्चा छ । पूर्व (कोशी) र पश्चिम (मल्लपुरी) हुन सक्छ । मल्लपुरी भन्नाले अहिलेको स्याङ्जा भन्ने संकेत मिल्छ किनकि स्याङ्जामा उत्खनन गर्दा ठूलो परिमाणमा मल्लकालको सिक्का भेटिएको छ ।

 

बाबुको मृत्युको समयमा शिर उठाउने सामन्तलाई मानदेवले दलबलसहित गएर दबाएका थिए । पश्चिमतर्फ मामाको सहयोगले मानदेव विजयी भएको चाँगुनारायणको ६४ लाइनको स्तम्भ अभिलेखमा उल्लेख छ ।

 

लिच्छविकालमा राजाहरूलाई गुप्तले केन्द्रमा हस्तक्षेप गर्ने गरेका थिए । गुप्तहरूको हस्तक्षेप अति नै भएपछि राजा शिवदेवले अंशुबर्मालाई सहयोगीका रूपमा लिएको इतिहासमा उल्लेख छ । पछि उनले सबै अधिकार नै अंशु बर्मालाई दिए । अंशुबर्माले कैलाशकुट भवन बनाए, मुद्रा चलाए, सुधारका धेरै काम गरे । अंशुबर्मा शक्तिमा छँदासम्म गुप्तहरू राजनीतिमा हाबी भएको देखिदैंन । तर, अंशुबर्माको अन्त्यपछि राजा शिवदेवका छोरा उदयदेवको पालामा फेरि गुप्तहरू शक्तिमा आए । त्यसपछि उनीहरूले उदयदेवलाई नै हस्तक्षेप गर्न थाले । जसकारण, उदय देव भागेर तिब्बत गएर बसे । यता, विष्णु गुप्त र भिमार्जुन देवले शासन गरिरहेका थिए । कालान्तरमा उदय देवका छोरा नरेन्द्र देवले तिब्बतको सहयोगमा उनीहरूलाई दबाएर आफ्नो शासन फर्काए ।

 

आन्तरिक राजनीतिका यस्ता धेरै घटनाक्रम पनि अभिलेखमा सुरक्षित रहनु लिच्छविकालको सुन्दरता हो । लिच्छविहरूको पतन हुनेबित्तिकै नेपालमा विभिन्न राज्यहरू खडा भए । पश्चिमतर्फ बलियो खस मल्ल राज्य देखापर्‍यो । मध्यकालमा यो राज्य कैलाश मानसरोवर, तिब्बत, गण्डकी, कुमाउ गढवाल, सतलजसम्म फैलिएको थियो । अफगानिस्तानसम्म नेपालको सिमाना थियो ।

 

बारा जिल्लामा सिम्रौनगढ राज्य लिच्छविकालको पतनलगत्तै उदायो । तर, यी दुवै राज्य धेरै समय शक्तिशाली रहेनन् । खस मल्ल राज्य फुटेर बाइसे–चौबिसे बने ।

 

(त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाली संस्कृति, इतिहास र पुरातत्वविभागका पूर्वप्रमुख प्रा.डा. सोमप्रसाद खतिवडासँग अन्वेषण अधिकारीले गरेको कुराकानीमा आधारित ।)