• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना 
२०८१ असार ९ शनिबार ०७:३७:००
इतिहास

भीमसेन थापाकालीन दस्ताबेजको प्रकाशनबारे

२०८१ असार ९ शनिबार ०७:३७:००
डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना 

 

भीमसेन थापाले ३१ वर्ष नेपालको शासन पद्धति सम्हाले । यस अवधिमा भए गरेका विविध कामकाजबारेका कागजात नेपालको राष्ट्रिय अभिलेखमा राखिएको छ । यसैगरी, नेपालको परराष्ट्र सम्बन्धबारेका कागजात पनि नेपाल सरकार परराष्ट्र मन्त्रालयको स्वीकृतिअनुसार राष्ट्रिय अभिलेखालयले अध्ययनार्थ उपलब्ध गराउँदै आएको छ । नेपालको राज्यव्यवस्थाका विविध पक्षको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि यी दस्तावेजको अध्ययन गर्नुपर्ने र यसका लागि प्रत्येक अनुसन्धानकर्ताले राष्ट्रिय अभिलेखालयमा रहेका कागजातका पोका खोली खोजी गर्नुपर्ने हुन्छ र यसले लामो समय लिन्छ । अनुसन्धानकर्ता, नीति–निर्माता र इतिहासकारलाई भीमसेन थापाकालीन समयमा भए गरेका कार्यको विवरण समावेश भएका विभिन्न प्रकारका कागजातको फोटोकपी गरी सोको पुस्तकको रूपमा प्रकाशन गरेमा सबैलाई उपयोगी हुने ठानी भीमसेन थापा स्मृति प्रतिष्ठान नेपालले त्यस्ता अभिलेख संकलन गरी प्रकाशनमा ल्याएको हो । दस्तावेजका संकलनले निम्न फाइदा हुने देखेको छु :

 

इतिहासकारहरूलाई चाहिने आवश्यक तथ्य एउटै पुस्तकमा पाइयो । यहाँ प्राप्त कागजातबाट त्यही तथ्यलाई अझै प्रमाणित गर्ने वा नयाँ तथ्य प्राप्त भएमा सोको आधारमा नवीनतम रूपले विश्लेषण गर्न सकिनेछ ।

 

दोस्रो महत्व भनेको नीति बनाउने तहमा पुग्नुभएकाहरूले यस्ता दस्तावेजको अध्ययन गर्नु आवश्यक छ । यी दस्तावेजमा भएका कतिपय कुरा वर्तमानमा पनि मिल्दाजुल्दा छन् । मुलुकको सार्वभौमसत्तालाई अक्षुण्ण राख्न गरिएका सन्धि, सम्झौता, लडाइँ र यसको बन्दोबस्तीका बारेमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ ।

 

तेस्रो महत्व भनेको वर्तमान कार्यपालिकामा रहेका प्रधानमन्त्री, मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू सबै तहका प्रशासनका प्रमुखका लागि पनि यी कागजातको अध्ययन गर्नु अति आवश्यक छ । यो संकलनमा समावेश भएका विविध विषय क्षेत्रसम्बन्धी कागजातको अध्ययन गराउन मन्त्रिपरिषद्को कार्यालयमा कानुनविद्, प्रशासक र राजनीतिज्ञ भएको एक समिति गठन गरी कार्यपत्र तयार पारी कार्यपालिकाका पदाधिकारीको बैठकमा प्रस्तुत गर्ने गरेमा हाम्रो कार्यपालिकाको निर्णय लिने आधार अझै बलियो हुने देख्दछु ।

 

चौथो फाइदा भने परराष्ट्र मन्त्रालयको नीति निर्माण तथा परामर्श सेवा दिने संस्थाले यी कागजातको अध्ययन गर्नु अति आवश्यक छ । यसका लागि पनि केही दक्षबाट कार्यपत्र तयार गरी परराष्ट्र मन्त्रालयका कर्मचारीको बैठकमा प्रस्तुत गर्नु उपयुक्त हुने देखेको छु । भीमसेन थापाको समयमा भारतसँग भएको लडाइँ र त्यसबाट नेपालमा पर्न गएको प्रभावजस्ता विषयले नयाँ तथ्य उपलब्ध गराउने हुँदा यसको अध्ययन अति आवश्यक छ । वर्तमानमा नेपाल र भारतको सम्बन्ध लडाइँमा हुँदैन, तर आर्थिक र सामाजिक समस्याका आधारमा तलमाथि भइरहन्छ । तसर्थ, वर्तमानमा वैदेशिक नीति विशेष गरी भारतसँगको सम्बन्धको अध्ययनका लागि यो संकलन निकै उपयुक्त हुन्छ भन्ने ठानेको छु ।

 

पाँचौँ कुरो इतिहास, संस्कृति र अन्य सामाजिकशास्त्रका विषय पढ्ने स्नातकोत्तर तहका विद्यार्थी र विद्यावारिधि अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि यो संकलन ज्यादै उपयुक्त हुन्छ भन्ने ठानेको छु ।

 

भीमसेन थापा प्रतिष्ठान नेपाल र बगाले थापा कल्याणकारी परिषद् मिली यो दस्तावेज प्रकाशन गर्नुको मूल उद्देश्य भीमसेन थापाका सगोत्रीलाई र भीमसेन थापा प्रतिष्ठानका सदस्यका लागि पनि बौद्धिक खुराक हुने ठानेको छु । यी दुवै संस्था मिली दस्तावेजका आधारमा त्रैमासिक छलफल गरेमा यी दुवै संस्थाका काम ज्यादै प्रभावकारी हुन्छन् भनी भीमसेन थापाका देनबारे विभिन्न प्रकारका विश्लेषण गर्न सकिन्छ । 

 

(तिमिल्सिना भीमसेन थापा स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हुन् ।)