• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
हरिशरण खनाल
२०८१ असार १६ शनिबार ०७:३१:००
साहित्य

अग्लो मिथक चियाउने ‘होचो ढोका’

२०८१ असार १६ शनिबार ०७:३१:००
हरिशरण खनाल

 

 

काठमाडौं उपत्यकालाई जीवित संग्रहालय भन्ने र मान्ने गरिन्छ । गोपालवंशी शासनसम्मको इतिहास हाम्रा खोज अनुसन्धानले स्थापित गरेका छन् । त्यसयताका महीषपाल, किरात, लिच्छवि, मल्ललगायत शासकहरूको कला, संस्कृति, साहित्य, भाषा, वेशभूषा आदिप्रतिको अप्रतिम प्रेम र सद्भावका कारण काठमाडौं उत्पत्यका जहिल्यै मानव सभ्यताको केन्द्र रहिआयो । यस क्रममा यहाँ जेजति संस्कार, संस्कृति, चालचलन तथा परम्परा हुर्किए, तीमध्ये कतिपय समय क्रममा विलुप्त भए । कतिपय परिमार्जित हुँदै नयाँ नयाँ आवरणमा देखा पर्दै गए भने कतिपयचाहिँ आजसम्म पनि मौलिक स्वरूपमै जीवित छन् । कतिपयचाहिँ रहस्यमय मिथक बनेर समाजमै अन्तर्घुलित भए । 

 

काठमाडौं उपत्याभित्रका रैथाने बस्तीहरूमा छरिएर रहेका तिनै मिथकहरूको खोज तथा संकलन गरी पत्रकार शिवहरि घिमिरेले ‘होचो ढोका’ नामको पठनीय पुस्तक प्रकाशन गरेका छन् ।

 

काठमाडौंका पुराना बस्ती, बहाल तथा घरहरूमा प्रवेश गर्दा जहिल्यै टाउको ठोक्किन्थ्यो । पुस्तक पढ्दै जाँदा टाउको ठोक्किएको रन्कोमा ‘एउटा ढोका त अग्लो राख्नु नि’ भनेर कतिपटक झनक्क झन्किएको दृश्य मानसपटलमा घुमिरहे । बस्ती तथा बहालहरूको प्रवेशद्वार तथा घरहरूमा होचो ढोका राख्नुको पछाडि त्यति कहालीलाग्दो त्रासद सत्य लुकेको होला भने कहिल्यै कल्पना गरिएको थिएन । आफ्ना छोरीचेलीलाई तत्कालीन राजा र राजपरिवारका सदस्यहरूको गिद्धेनजरबाट जोगाउन तत्कालीन समाजले आविष्कार गरेको सुरक्षाकवच पो रहेछ होचो ढोका भन्ने रहस्य यससित गाँसिएको मिथक पढेपछि मात्र छर्लंग भयो ।

 

पुस्तक पढ्दै जाँदा विशेषगरी काठमाडौं उपत्यकाभित्रका परम्परागत बस्ती, मन्दिर, दरबार, जात्रा, नाच, पर्व, हिटी, पोखरी आदिसित जोडिएका अनेकौँ मिथकसँग साक्षात्कार हुन्छ । वज्रवाराही मन्दिरमा गजुर नदेख्नेजति सबैलाई त्यसको कारणबारे थाहा नहुन सक्छ । धेरैले नेवार जातिको पुरानो बस्ती खोकनामा कुखुरा पाल्ने र काट्ने चलन नभएको थाहा पाएका हुन सक्छन् । तर, त्यसको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ । खोकनावासीले दसैँ नमनाएको पनि धेरैलाई थाहा हुन सक्छ । तर, त्यसको कारणबारे भने धेरैलाई पत्तो नहुन सक्छ । तर, कुल ९० शीर्षक रहेको होचो ढोका पढ्नेले यस्ता अनगन्ती रहस्यको पर्दा उघारेर लुकेका मिथकीय संसारमा विचरण गर्न सक्छ ।

 

‘होचो ढोका’ले रहस्यमय मिथकलाई मात्र उजागर गरेको छैन, इतिहासका कतिपय रहस्यमय तथ्यलाई समेत समेटेको छ । पुस्तकमा काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ठाउँठाउँमा उधिनेको टुकुचा खोलाको इतिहास र यससँग गाँसिएका ऐतिहासिक रहस्यहरू पनि अटाएका छन् । पुस्तकमा हिटी नै हिटीले भरिएको काठमाडौं उपत्यकामा बसोबास गर्ने स्थानीयवासीको तिर्खा मेट्ने हिटीहरू पहिले कस्ता थिए ? र, अहिले तिनको अवस्था कस्तो छ भन्नेबारे पनि जानकारी पाइन्छ । 

 

‘होचो ढोका’बारे मन्तव्य दिनुहुने शताब्दी पुरुष सत्यमोहन जोशीले भनेजस्तै यो पुस्तकका हरेक पाना, हरेक शीर्षक र हरेक अनुच्छेदमा त्यस्ता रोचक रहस्य भेटिन्छन्, जुन पहिले थिए, अहिले नासिएर गए अनि मिथक बनेर बाँचे । राष्ट्रकवि माधव घिमिरेले भनेजस्तै यो पुस्तक समाजभित्र दबिएर रहेका सांस्कृतिक पक्ष र अनौठा कथाकुथुंग्रीको रहस्यमय पोको नै हो, जसलाई अहिलेको पुस्ताले जोगाउन जानेन या सकेन ।

 

सदर्भ सामग्रीको सूचीसहित कुल ३०८ पृष्ठ र रु. ६०० मूल्यको यो पुस्तक प्राचीन रहस्य र मिथकको अध्ययन गर्न रुचाउनेका लागि एक गतिलो खुराक बन्न सक्छ । यसमा समेटिएका मसिना रहस्य र जानकारीले काठमाडौं उपत्यकाको प्राचीन संस्कृति, परम्परा र इतिहासको झल्को दिन्छन् । इतिहास, धर्म, संस्कृति, संस्कार, पम्परा, मिथक आदिमा रुचि हुनेजति सबैका लागि यो पुस्तक रुचिकर सामग्री बन्नसक्छ । यो पुस्तक लेखेर लेखक शिवहरि घिमिरेले पाठकप्रति ठुलो गुन लगाएका छन् ।

 

तर, पुस्तक तयार गर्ने क्रममा लेखक र प्रकाशकले अपनाउनुपर्नेजति सावधानी भने अपनाउन नसकेको पुस्तक पढ्दै जाँदा अनुभव हुन्छ । एउटै प्रसंगबारे पटकपटकको पुनरुक्तिले पाठकलाई छिनछिनमा घोच्छ । एउटै प्रसंग एउटै शीर्षकभित्र त पटकपटक दोहोरिएका छन् नै, फरकफरक शीर्षकमा पनि उही प्रसंग दोहोरिएका छन् । उदाहरणका लागि ‘पानी पार्ने जात्रा’, ‘मच्छिन्द्रनाथलाई किन ललितपुरमा राखियो ?’ र ‘पाँचतलेमा किन राखिएन मच्छिन्द्रनाथ ?’ यी तीन शीर्षकभित्र लगभग एउटै विषय र प्रसंग समेटिएका छन् ।

 

लेखक स्वयंले हतार नगरी यसको पुर्नलेखन र सम्पादन गर्नुपर्थ्यो, नभए सम्पादनको जिम्मा कसैलाई दिए अझै राम्रो हुन्थ्यो ।

 

लेखकले कतिपय स्थानमा मिथकलाई मिथककै रूपमा छाडिदिनु पर्थ्यो । पुस्तकभित्र त्रुटिहरू निकै ठाउँमा भेटिन्छ । आगामी संस्करणमा यस्ता त्रुटि सच्चाइयो र सम्पादनमा मिहिन ध्यान पुर्‍याइयो भने पुस्तक ‘होचो ढोका’ सर्वकालीन पठनीय सामग्री बन्न सक्छ ।