• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
डा. सुशील सुवेदी
२०८१ असार १६ शनिबार १०:११:००
समाज

सर्वश्रेष्ठ बाली धान

सन्दर्भ : राष्ट्रिय धान दिवस

२०८१ असार १६ शनिबार १०:११:००
डा. सुशील सुवेदी

 

१० हजार वर्षअघि चीनको नदीकिनारमा भेटिएको धान अहिले विश्वभर सबैभन्दा बढी खपत हुने अन्न बनेको छ । सुरुवातमा मोटो, बाक्लो र धेरै फल्ने धान अहिले ‘स्लिम’ हुँदै गएको छ ।

 

चीनको तानजेन नदीमा विश्वमै पहिलोपटक धानको जात देखा परेको थियो । करिब १० हजार वर्षअघि तानजेन नदीआसपास बसोवास गर्ने मानिसको केही समूहले माछा पार्ने क्रममा नदीमा धान भेटाएका थिए । उक्त धान खाँदा मिठो हुने र भोकसमेत मेटाउन सहयोग मिल्ने देखिएपछि चिनियाँले सोही नदीको छेउछाउमा धान खेती नै थालेका थिए । बिस्तारै भारत, पाकिस्तान, अफगानिस्तान र नेपालमा समेत धानखेती भित्रिएको भेटिन्छ । त्यसैले धानको उत्पत्ति दक्षिणपूर्वी एसियाबाटै भएको प्रमाणित भइसकेको छ । कतिसम्म भने संसारमा धानको उत्पत्ति हुँदा नेपालमा समेत सोही समयमा जंगली धानको चारवटा प्रजाति भेटिएको थियो । सिम्रौनगढमा डढेका चामल र जंगलतिर जंगली धान भेटिएको ऐतिहासिक दस्ताबेजमा उल्लेख छ । जसका कारण नेपाललाई समेत धान उत्पत्तिको उद्गम देशका रूप चिनाइने गरिएको छ । नेपालमा विसं १८०० को सुरुवातदेखि धानको खेती थालिएको इतिहास छ ।

 

वर्तमान समयमा खाद्यान्न बालीतर्फ धान सबैभन्दा लोकप्रिय भइसकेको छ । जसका कारण धानको खेती र उपभोग पनि तुलनात्मक रूपमा बढी नै छ । कुनै एक क्षेत्र मात्र नभएर संसारभर मौसम र जमिन अनुकूल भएका देशमा धानखेती विस्तार भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक करोड ४१ लाख हेक्टर जमिनमा धानखेती हुने गरेको छ । चीनमा सबैभन्दा धेरै क्षेत्रफलमा धान उत्पादन भइरहेको छ । एसियाली देशहरू धानखेतीका लागि मौसमअनुकूल छन् । त्यसैले विश्वको ८० प्रतिशत खेती र उत्पादन एसियामै केन्द्रित छ । चीनपछि भारत, इन्डोनेसिया, भियतनामलगायत देशमा धेरै धान उत्पादन हुने गरेको छ । नेपाल भने धेरै धान उत्पादन हुने देशको सूचीमा १६–१७औँ स्थानमा छ । नेपालमा १४ देखि १५ लाख हेक्टरमा खेती हुने र वार्षिक ५०–५५ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको स्थिति छ । मुलुकको वार्षिक माग भने ७८ लाख मेट्रिकटन हो । मागको तुलनामा २०–२५ लाख टन उत्पादन अपुग भइरहेको छ । यद्यपि, समग्र खाद्यन्न (धान, गहुँ, कोदो, मकै र फापर) को उपभोग तोकिएको दरमा गर्ने हो भने आत्मनिर्भर भएको अवस्था छ । हामी धेरै भात खाने र अन्य खाद्यान्नको उपभोग कम गर्ने भएको हुँदा चामल आयात हुने गरेको हो ।

 

मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब आठ प्रतिशत योगदान गर्दै आएको धान बालीलाई सरकारले उच्च प्राथमिकता दिएर धनुषामा ‘राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम’ नामक कार्यालय नै स्थापना गरेको छ । यस कार्यालयले विभिन्न एग्रो इकोलोजीमा हुने उपयुक्त धानका जातको विकास र मूल्यांकन (अगौटे, मध्यम, पछौटे, आकाशे, गहिरो र उच्च क्षेत्र, जाडो, हिउँद तथा बर्खे सिजन), मसिनो र बासनादार, वर्णशंकर जात, डुबान र सुक्खा सहने तथा बायोफोर्टिफाइड जातहरूको विकास तथा मूल्यांकन गर्दै आएको छ ।

 

९७ जात उन्मोचन

 

कृषि अनुसन्धान परिषद् (नार्क) सहित सरकारका अन्य निकायबाट अहिलेसम्म ९७ प्रजातिका धानको जात विकास गरिएको छ । नेपालमा रैथाने जातका बाली लगाउने र उपभोग गर्ने परिस्थिति लामो समयसम्म चल्यो । रैथाने जातको उत्पादनले नपुग्ने र परम्परागत खेती मात्र हुने गरेको थियो । तर, विश्वका अन्य देशले उन्नत जातका बिउ विकास गर्ने र उत्पादकत्वमा सुधार गर्ने क्रम बढेपछि सन् १९६६ मा नेपालमा पहिलोपटक धानको उन्नत जात ‘सिएच–४५’ को उन्मोचन गरिएको थियो । यो नै विधिवत् रूपमा दर्ता भएको पहिलो नेपाली जातको धान पनि हो । त्यसयता भने निरन्तर उन्नत जातका बिउ उत्पादन थालिएको छ ।

 

सिएच ४५ मोटो जातको धान हो । यसबाट चामल पनि मोटो नै बन्ने गरेको थियो । यो छोटो समयमा धेरै फल्ने र तुलनात्मक रूपमा स्वादिलो जातको धान हो । रोपेको १३५ दिनभित्रै पाक्ने गरेको छ । तराई, भित्री मधेश र नदीको किनारमा यो जातको धान लगाउँदा बढी लाभदायी हुने भनी सिफारिस गरिएको थियो । यो धान उन्मोचन भएको करिब २५ वर्षसम्म किसानले खेतबारीमा लगाएका थिए । अहिले भने यो जात करिब लोप भइसकेको छ । सुरुवातमा भने धेरै लोकप्रिय थियो ।

 

एक वर्षपछि सन् १९६७ मा भने एकसाथ चार जातको धान उन्मोचन गरिएको थियो । ताइवान उद्गम देश रहेका धानको उन्नत बिउ विकास गर्ने क्रममा चाइनान–२, ताइनान–१, चाइनुङ–२४२ र ताइजुङ–१७६ जातका धान सिफारिस गरिएका थिए । काठमाडौं उपत्यकाको माटो र मौसम सुहाउँदो हुने गरी यी चारवटै जातको धान विकास गरिएको थियो । मोटो र ओझिलो हुने भएकाले उत्पादकत्व पनि सबैभन्दा बढी ६.६ टन प्रतिहेक्टरदेखि ७.९ टन प्रतिहेक्टरसम्म छ । यी चारवटै जातका धान अहिलेसम्म लोकप्रिय छन् । उपभोक्ताले खाने ताइचिन चिउरा यिनै जातका धानबाट बनाइएको हो । सामान्यतया एउटा धानको जात विकास गरेर किसान तहसम्म पुर्‍याउन आठदेखि १० वर्षसम्म लाग्ने गरेको छ । 

 

पछिल्लो समय उन्मोचन गर्ने र दर्ता गर्ने गरी दुईवटा प्रक्रियाबाट धानको जात सूचीकृत गर्न थालिएको छ । अहिलेसम्म देशमा १५१ वटा धानका जात सूचीकृत छन् । यसमध्ये उन्मोचन गरिएको ९७ र थप आठवटा नेपाली जात हुन् । बाँकी विभिन्न देशबाट आयातित जातका धान रहेका छन् ।

 

जैविक विविधता र धानका प्रजाति 

 

हाम्रो मुलुक सानो छ, तर यहाँ धेरै विविधता छ । जसका कारण फरक मौसम र जमिनमा फरक जातका धान लगाउनुपर्ने स्थिति छ । समुद्री सतहदेखि ६०–७० मिटरको उचाइमा तराईको फाँटदेखि दुई हजार सात सय ८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती भइरहेको छ । तराईबाट दुई–तीन सय मिटर उकालो लाग्न थालेपछि छुट्टाछुट्टै जातको धान चाहिन्छ र सोहीअनुसारको विकास पनि गरिएको छ ।

 

तराईमा एकैजनाको धेरै जमिन हुने गर्छ । त्यहाँ मिठो–मसिनो चामलको माग हुन सक्छ भनेर सोहीअनुसारको जात सिफारिस गर्ने गरिन्छ । पहाड र हिमालतिर जग्गा थोरै हुने हुँदा मोटो र धेरै फल्ने जातको खोजी हुने गरेकाले सोहीअनुसारको धानको जात सिफारिस गर्ने गरिएको छ ।

 

सिँचाइ पूर्वाधार अपर्याप्त रहेकाले आकासे पानीको भरमा हुने खेतीका लागि र कुलो, ट्युबेल, डिप बोरिङलगायतबाट सिञ्चित हुने जमिनका लागि फरक–फरक जातका धान सिफारिस गर्न थालिएको छ । मौसम र जमिनको विविधताका कारण धानको जात लामो, छोटो, मोटोलगायत विशेषताका छन् । यसले उत्पादन वृद्धि गर्न र किसानले खोजेकोजस्तो उत्पादन गर्न सघाउ पुगिरहेको छ ।

 

तराईमा छोटो र नढल्ने जातका धान 

 

सन् १९७९ मा विकास गरिएको सावित्री जातको धानले तराईको उत्पादनमा ठूलो सुधार ल्याएको छ । साढे चार महिनामा पाक्ने यो धान तराई, भित्री मधेश र नदीकिनारमा लगाउनु उपयुक्त हुन्छ भनेर सिफारिस गरिएको थियो । यसको उत्पादकत्व क्षमता पनि चार टन प्रतिहेक्टर रहेको छ । सावित्री धान लगाउने किसान धेरै सन्तुष्ट देखिएका छन् । यो पुरानो जात भयो भनेर पछिल्लो समय हर्दिनाथ र चैते–५ जातको समेत विकास गरिएको छ । यी दुवै जातलाई असार र चैत दुवै सिजनमा रोप्न सकिन्छ । मसिनो धानका लागि लंका बासमती, अलि फरक प्रकृतिको धान खोज्नेलाई कालानमक तथा पश्चिम तराईमा राधा–४ जातको धान लोकप्रिय भइरहेको छ । राधा–४ तुलनात्मक रुपमा होचो हुने भएकाले असोज–कात्तिकमा आउने बैमौसमी हावाहुरी र पानीले नलडाई जोगिने गरेको छ । त्यस्तै सुक्खा सहेर पनि राम्रो उत्पादन दिने क्षमता राख्छ । अहिले भने हर्दिनाथ जातको धान तराईमा लोकप्रिय छ । छोटो, नढल्ने र धेरै उत्पादकत्व भएकाले किसानको रोजाइमा परेको हो । धेरै सुक्खा सहनका लागि सुक्खा तीन जातको विकास गरिएको छ र अहिले धेरै प्रयोगमा समेत छ ।

 

पहाडमा मोटो, हिमालमा चिसो सहने धान

 

पहाडी क्षेत्रका लागि खुमल जातको धान सिफारिस गरिएको छ । खासमा लोकल चामल भनेर हामीले खाइरहेको खुमल–४ जातको धान हो । यो धेरै फल्ने र खानलाई पनि मिठो छ । खुमल जातको एकदेखि १४ सम्मका प्रजाति विकास भइसकेका छन् । त्यस्तै, बासमती १६ समेत लगाउने किसान बढ्दै गएका छन् । हिमाली क्षेत्रमा लेकाली, चन्दननाथ, चोम्रोङधान, पालुङ–२ लगायत धानखेती भइरहेका छन् । यी जातमा अत्यधिक चिसो सहन सक्ने क्षमता हुन्छ ।

 

धान वा अन्य बाली उत्पादनका लागि जमिनको उपलब्धता सीमित छ । विविध कारणले खेतीयोग्य जमिन घटिरहेको तथ्यांक आइरहेका पनि छन् । त्यसैले पछिल्लो समय सीमित जमिनमा अधिकतम उत्पादन हुने जातको विकासलाई प्राथमिकता दिन थालिएको छ । यसक्रममा धानका लागि छिटो पाक्ने र धेरै फल्ने जातको खोजी तीव्र पारिएको छ । अनुसन्धानको सुरुवातको समयमा विकास गरिएका जात एक सय ८० दिनसम्ममा पाक्ने पनि थिए । अहिले त धेरै सुधार भइसकेको छ ।

 

तराई क्षेत्रका लागि सिफारिस गरिएको हर्दिनाथ र गैया जात तुलनात्मक रूपमा छिटो पाक्ने गरेका छन् । हर्दिनाथको एक जात ११० दिन भित्रै पाक्ने गरेको छ भने हर्दिनाथ ४ जात ११५ दिन, हर्दिनाथ तीन जात एक सय २० दिन र हर्दिनाथ पाँच जातको धान एक सय २५ दिनमा फल्छ । त्यस्तै तराईकै लागि सिफारिस गरिएको घैया १ पनि एक सय १५ दिनमा फल्ने गरेको छ । चैते धान त बिउ राखेको एक सय २५ दिनभित्र फल्ने गरेका छन् । चैतमा लगाइएको धान छिटो फल्ने भएकाले नै असारमा पुनः अर्को धान लगाउन सकिने अवस्था बनेको छ ।

 

हाम्रो अहिलेको अध्ययनले छिटो पाक्ने जातको उत्पादन ढिला पाक्नेको तुलनामा अलि कम नै हुने गरेको भेटिएको छ । तर, पछिल्लो समयको अनुसन्धान भने छिटो पाक्ने, धेरै फल्ने र खाँदा पनि मिठो हुने जातको विकास गर्नेतर्फ उन्मुख भइरहेको छ । 

 

केही देशमा वर्षमा तीन बाली धानसमेत हुने गरेको भेटिन्छ । तर, नेपालको परिप्रेक्ष्यमा वर्षमा दुई बाली धान नै ठीक हो । दुई बालीबाटै उत्पादनमा बृहत् सुधार गर्न सक्नुपर्छ । अर्कातिर, मसिनो धानको उत्पादन वृद्धि गर्नुपर्ने बाध्यता पनि छ । किनभने, मसिनो र बासनादार चामलको माग बिस्तारै बढ्न थालेको छ । अहिले कुल खेतीमध्ये ६० प्रतिशतभन्दा बढी मोटो धान नै उत्पादन भइरहेको छ ।

 

खान पुग्ने फल्छ एक दिन

 

मुलुकभरको उत्पादनले पछिल्ला वर्षको माग धान्न सकेको छैन । जसका कारण अर्बाैंको चामल आयात भइरहेको छ । तर, सधैँ यस्तै स्थिति रहन्छ भन्ने होइन । बर्खे धानको तुलनामा चैते धानको उत्पादन वृद्धिका लागि थोरै मात्र पहल गर्‍यौँ भने आत्मनिर्भरताको स्थितिमा पुग्छौँ । चैत धान आकासे पानीको भरमा हुँदैन । कुलो, नहर, डिप बोरिङ, स्यालो ट्युबेललगायत सिँचाइका पूर्वाधारको भरमा चैते धान खेती भइरहेको छ । त्यसैले सिँचाइको पूर्वाधार बढाउनेतर्फ ध्यान दिनु जरुरी छ । 

 

धान धेरै उत्पादन हुने झापा, मोरङ, सुनसरीलगायत मधेशका आठ जिल्ला र पश्चिम तराईमा सिँचाइ सुविधा सहज रूपले पुर्‍याउन सकियो भने खान पुग्ने धान फलाउन कुनै समस्या छैन । यसका लागि चैते धान प्रतिहेक्टर ५.५ टनसम्म र क्षेत्रफल करिब चार लाख हेक्टर बढाउनु जरुरी छ । यति गर्नासाथ १८ लाख टन बढी धान फलाउन सकिन्छ । अहिले नपुगेको र आयात गर्नुपरेको परिमाण नै यही हो ।

 

नेपालले विकास गरेका केही प्रमुख धानका जात
- डुबान सहन सक्ने गंगा सागर–१, गंगासागर–२, सुवर्णा सब–१ र सम्भा मंसुली सब–१ 
- विभिन्न बालीसँगै लगाउन सकिने सेहराग जातको विकास
- सिँचित क्षेत्रका लागि धेरै लोकप्रिय राधा–४, सावित्री, जानकी, राधा–१२, हर्दिनाथ–४,५,६ र हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हईब्रिड–३ 
- धेरै उत्पादन दिने सिँञ्चित क्षेत्रका लागि उपयुक्त सुगन्धित धान–१ र राधा–१४ को विकास
- चैते धानका जातहरू चैते–५ र हर्दिनाथ–१ लगायतको विकास
- सुक्खा क्षेत्रका लागि धेरै उत्पादन दिने जात सुक्खा–१,२,३,४,५,६, बहुगुणी–१, राधा–१३ 

 

(कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत वैज्ञानिक डा. सुवेदीसँग अजित अधिकारीले गरेको कुराकानीमा आधारित ।)