• वि.सं २०८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
कमलराज भट्ट 
२०८१ असार २३ शनिबार ०७:१२:००
रिपाेर्ट

विदेशमा पढेको ज्ञान देशमा सदुपयोग गर्ने लक्ष्य

२०८१ असार २३ शनिबार ०७:१२:००
कमलराज भट्ट 

 

छात्रवृत्तिमा थाइल्यान्डमा पढ्न पुगेका प्रेरितको नेपालमा सेवा गर्ने चाहना

 

दक्षिण–पश्चिम एसियन राष्ट्र थाइल्यान्ड अहिले नेपाली विद्यार्थीको गन्तव्य बनेको छ । पूर्ण तथा आंशिक छात्रवृत्ति तथा सशुल्क अध्ययनका लागि नेपाली विद्यार्थी थाइल्यान्ड जाने गरेका छन् । नेपाली राजदूतावासका अनुसार थाइल्यान्डमा चार सयभन्दा बढी नेपाली विभिन्न कलेजमा अध्ययनरत छन् । उच्च शिक्षा अध्ययन र त्यसपछिको करिअरका लागि थाइल्यान्ड पुग्ने विद्यार्थीमध्ये कति उतै जागिर गर्छन् भने कतिपय फर्किन्छन् । केही त संसारकै प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीमा पनि काम गरिरहेका छन् । तिनैमध्येका एक हुन्, बाराका प्रेरित अर्याल । उनी थाइल्यान्डस्थित जोन्सन एन्ड जोन्सन कम्पनीमा बिजनेस म्यानेजरका रूपमा कार्यरत छन् । 

 

थाइल्यान्डको यात्रा

 

बाराको कलैयामा हुर्किएका प्रेरित अर्याल मातापिताको जागिरका सिलसिलामा काठमाडौं आएका थिए । ब्याचलरसम्म काठमाडौंमै पढे । ब्याचलरअघि उनलाई सेतो एप्रोन लगाउने एकदमै मनमा रहर थियो । तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनको एमबिबिएस पढ्ने सपना साकार हुन सकेन । ल्याब टेक्निसियन पढे । केही महिना काम पनि गरे । त्यही क्रममा विभिन्न क्याम्पसमा उनले छात्रवृत्तिका लागि आवेदन दिए । छात्रवृत्तिका लागि त्यतिवेला नेपालमा एकदमै सीमित सिट थिए । उनीसँग कि छिमेकी भारत जाने वा अन्य देश जाने विकल्प थियो । तर, युरोप अमेरिका जानेभन्दा पनि पहिला पढाइ सकाउने सोच थियो । पहिला पढाइमा फोकस, त्यसपछि विदेश हेरौँला भन्ने मनोविज्ञानका साथ ब्याचलर सकिएपछि छात्रवृत्तिमा आवेदन दिए । थाइल्यान्डको शीर्ष सातमा पर्ने क्याम्पसबाट मास्टर्स पढ्न पूर्ण छात्रवृत्तिसहित अफर लेटर प्राप्त गरेर २०१४ मा बैंकक आए । बैंककबाट डेढ घन्टा दूरीको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) कलेजमा उनले तीन वर्षमा बायोमेडिकल साइन्स विषयमा स्नातकोत्तर पूरा गरे । पछिल्लो समय विश्वमा नयाँ ब्याक्टेरियाको उत्पत्तिमा पुराना औषधिले काम गर्न नसकेको विषयमा अनुसन्धान गरेका उनले आफ्नो रिसर्च पेपर सार्वजनिक गरे । पढाइ सकेपछि अब के बन्ने प्रश्नमाझ कलेजका साथीले दिएका सुझावका आधारमा अर्यालले थाई कम्पनीभन्दा मल्टिनेसनल कम्पनीमा काम गर्ने निष्कर्ष निकाल्दै अप्लाई गरे । बच्चादेखि नै मेडिकल फिल्डमा काम गर्ने रहरका कारण उनले विश्वकै बहुचर्चित अमेरिकन मल्टिनेसनल फार्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनमा जागिरका लागि आवेदन दिए । पहिलोपटक अस्वीकृत भयो । दोस्रोपटक पनि उनको आवेदन अस्वीकृत भयो । उनले हार मानेनन् । तेस्रोपटकको प्रयासमा उनको आवेदन स्वीकृत भयो र जागिर पाए । २०१८ बाट जागिर सुरु गरेका उनी अहिले जोन्सन एन्ड जोन्सन कम्पनीका मेडिकल इक्युपमेन्ट डिपार्टमेन्टमा कार्यरत छन् । ‘मेडिकल इक्युपमेन्टमा जति पनि सर्जरी हुन्छन्, त्यो मैले हेरिरहेको छु,’ उनी भन्छन्, ‘मैले सेतो एप्रोन लगाएर बिरामी हेर्न नपाए पनि डाक्टर र बिरामीकै लागि काम गरिरहेको छु । म मेडिकल डिभाइसको जुन सेक्टरमा छु, डाक्टरले त्यही मेडिकल डिभाइस प्रयोग गर्नुहुन्छ । बिरामी निको हुन्छ, त्यसमा म खुसी हुन्छु ।’ अर्याल थाइल्यान्ड बस्न थालेको १० वर्ष पुगेको छ । उनको अनुभवले भन्छ, विकसित प्रविधि भित्र्याएर उच्चतम प्रयोग र चिकित्सकलाई एक्सपोजर दिएर थाइल्यान्डको स्वास्थ्य प्रणाली बलियो भएको हो ।

 

सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस रहेको आसियान क्षेत्रमा जोन्सन एन्ड जोन्सन कम्पनीमा काम गर्ने आफू पहिलो नेपाली भएको उनको दाबी छ । अमेरिका र न्युजिल्यान्डमा बस्ने नेपाली पनि यो कम्पनीमा आबद्ध रहेको भन्दै अर्याल एसियामा आफू नै पहिलो भएको दाबी गर्छन् । जोन्सन कम्पनीमा अरू नेपालीलाई पनि अवसर रहेको उनी बताउँछन् । यसका अलावा आइटी, सर्भिस सेक्टर र एनजिओतिर पनि नेपाली विद्यार्थीलाई अवसर रहेको उनको अनुभव छ ।

 

नेपालमा काम गर्ने धोको 

 

थाइल्यान्डमा जोन्सन एन्ड जोन्सन कम्पनीको महत्वपूर्ण जिम्मेवारीमा रहेका अर्याल आफूले सिकेको सीप तथा ज्ञान स्वदेशमा प्रयोग गर्न चाहन्छन् । नेपालको स्वास्थ्य प्रणालीको सुधार र विकासमा योगदान गर्ने उनको चाहना छ । थाइल्यान्डबाट हेर्दा उनी नेपालको स्वास्थ्य क्षेत्रमा एकदमै अवसर देख्छन् । ‘समय लाग्छ तर अथाह सम्भावना छ । नेपालमा एउटा ग्याप छ । मैले यहाँ सिकेको कुरा त्यसमा प्रयोग हुन सक्छ । नयाँ प्रविधि ल्याउन सक्छौँ । स्वास्थ्य सेवा छिटोछरितो बनाउन सक्छौँ । विकसित प्रविधिसहितको उपकरणको प्रयोगले सामान्य सर्जरीमा बिरामी एक–दुई दिनमै डिस्चार्ज हुन सक्छन् । कुनै सर्जरी त एकैदिनमा हुन्छ । त्यसैले पर्याप्त सम्भावना देखेको छु । तर, यसले समय लिन्छ,’ उनले भने, ‘मेरो गन्तव्य पेसेन्ट र डक्टर नै हो । त्यो पनि आफ्नै देशमा सेवा गर्ने हो ।’ परदेशमा रहेका युवाले सीप सिकेर नेपालको अवस्था सुधार गर्न सोच्नुपर्ने आफ्नो धारणा रहेको सुनाउँदै अर्यालले आफूले पनि योगदान गर्न चाहेको दोहोर्‍याए । नेपालमा बायो–मेडिकल साइन्सका विधामा पर्याप्त अनुसन्धानको पनि अभाव रहेको उनको विश्लेषण छ । 

 

नेपालमा मेडिकल डिभाइस सेक्टरमा सरकार सहयोगी रहेको पाएको भन्दै अर्यालले तर नवीन प्रविधि भित्र्याउन पर्याप्त लगानी जरुरी रहेको औँल्याए । ‘नवीन प्रविधि अमेरिका र युरोपमा बन्छ । त्यसलाई भित्र्याउन सरकारले सहयोग गर्नुपर्छ । त्यसो भयो भने नयाँ प्रविधिसहितको अत्याधुनिक स्वास्थ्य सामग्री भित्र्याउन हामीले योगदान गर्न सक्छौँ । प्रविधि भित्र्याएपछि बिरामीको उपचार र सर्जरी थप छिटो र सरल हुन्छ । उच्चतम प्रविधिको उपकरण प्रयोगमा सघाउन सक्छौँ,’ उनले भने । नवीन प्रविधि भित्र्याउँदा चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीकै समय बचत हुने, चाँडो स्वस्थ हुने भएकाले लगानी बढाउनुपर्ने, जनशक्तिलाई तालिममा पठाउनुपर्ने उनको सुझाव छ । ‘थाइल्यान्डमा स्वास्थ्य क्षेत्रमा भएको प्रगति देख्दा नेपालले पनि गरोस् भन्ने लाग्छ । भविष्यमा देशका लागि केही न केही गर्नेछु, गर्न चाहन्छु,’ उनी भन्छन् ।