• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
गणेश लम्साल
२०८१ असार २३ शनिबार ०७:५९:००
समाज

जो आँखा  बन्द गरेर मूर्ति खोपिरहेछन्

२०८१ असार २३ शनिबार ०७:५९:००
गणेश लम्साल

 

मूर्तिकार तुलसी मण्डल गिनिज बुकमा नाम लेखाउन आँखामा पट्टी बाँधेर मूर्ति खोपिरहेछन् 

 

व्यावसायिक मूर्ति बनाएर जीविका चलाउने कलाकार देशमा धेरै  छन् । तर, मोरङका एक युवा कलाकार भने मूर्ति बनाएर जीविका मात्र चलाउन चाहँदैनन्, विश्व कीर्तिमान नै बनाउन चाहन्छन् । ती युवा आँखा बन्द गरेर मूर्ति बनाई आफनो दक्षता गिनिज बुकमा दर्ज गर्न चाहन्छन् । अलग्गै सपना देखेर गिनिज बुकमा नाम लेखाउन डटिरहेका युवा हुन्, मोरङ जहादा गाउँपालिका– २ डंग्राहा टोलका ३४ वर्षीय तुलसी मण्डल ।

 

तुलसीले हालसम्म हजारौँ मूर्ति बनाइसकेका छन् । मूर्ति खोपेरै उनले जीविका पनि राम्रैसँग चलाइरहेका छन् । स्थानीयस्तरमा ख्याति पनि कमाइसकेकाले उनले अब आँखामा कालोपट्टी बाँधेर मूर्ति बनाएर गिनिज बुकमा नाम लेखाउने धोको राखेका छन् । मूर्तिकलामा जीवन समर्पित गरेका तुलसीले आफ्नो थर नै कलाकार बनाएका छन् । गिनिज बुकमा नाम लेखाउनकै लागि उनले आँखामा पट्टी बाँधेर ४० मिनेटभित्र १८ इन्चको गौतम बुद्धको मूर्ति पनि बनाइसकेका छन् । तर, गिनिज बुकमा मूर्तिकला सूचीकृत नभएकाले उनले आफ्नो नाम विश्व रेकर्डमा दर्ता गराउन नपाएको कलाकार तुलसी बताउँछन् । उनले आँखामा पट्टी बाँधेर मूर्ति बनाउने कार्यलाई गिनिज बुकमा सूचीकृत गराउन सहयोग गरिदिन राज्य र सम्बन्धित संघ–संस्थासँग अपेक्षा गरेका छन् । कलाकार तुलसी भन्छन्,‘मैले चाहेर पनि आफ्नो नाम गिनिज बुकमा दर्ता गराउन पाइनँ । त्यसैले मलाई सरकार र संस्थाले सहयोग गरिदिनुपर्छ ।,’ मूर्तिकलाबारे गिनिज बुकमा पहिलो नाम दर्ता गराउन पाएमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा फैलने विश्वास कलाकार तुलसीको छ ।

 

बिएडसम्म पढेका तुलसी पेसाले शिक्षक हुन् । उनी स्थानीय सन्थाल आधारभूत माविमा पढाउँछन् । फुर्सदको समयमा मात्र मूर्ति पेसामा तल्लीन हुने कलाकार तुलसीले सिमेन्ट, माटो, फाइबर, मार्बल आदिका हजारौँ मूर्ति बनाइसकेका छन् । उनले १५ सयभन्दा बढी माटो बाहेकका मूर्ति बनाइसकेको दाबी गर्छन् । मूर्ति बनाएर वार्षिक १० लाखसम्म आर्जन गर्दै आएका उनले मूर्ति बनाउन स्थानीय युवाहरूलाई पनि सहयोगीका रूपमा रोजगार दिँदै आएका छन् । घरमै मूर्ति बनाउने कारखाना स्थापना गरेका उनी आवश्यक परे स्पटमै पुगेर पनि विभिन्न कलात्मक मूर्ति बनाउने गर्छन् । भारतको बिहार राज्यको धार्मिकस्थल सुन्दरी मोठमा एक सय फिटको भगवान् शिवपावर्तीको कलात्मक मूर्ति निर्माण गरिरहेका तुलसीले अगामी ६ वर्षभित्र उक्त मूर्ति निर्माण गरिसक्ने दाबी गरेका छन् । उक्त आकर्षक मूर्ति निर्माण गरेकै कारण भारत बिहार राज्यका उपमुख्यमन्त्रीले तुलसीलाई उत्कृष्ट कलाकारका रूपमा सम्मान पनि गरिसकेका छन् । उनको चर्चा भारतभरि फैलिए पनि नेपालमा भने उनी गुमनाम छन् ।

 

आफ्नो सीपको प्रसिद्धिले गर्दा नै तुलसीले विभिन्न मूर्ति बनाउने अर्डर पाउने गरेका छन् । उनले व्यावसायिक मूर्तिकारको रूपमा आफूलाई आजसम्म विज्ञापन गरेका छैनन् । आफ्नो प्रसिद्धिले गर्दा नै मूर्ति बनाउन आफूलाई वर्षभरि भ्याइनभ्याइ हुने गरेको कलाकार तुलसीको भनाइ छ ।

 

राष्ट्रियस्तरमा कुनै सम्मान नपाए पनि अब भने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तुलसीको योजना छ । तर, सरकारले ललितकलालाई मात्र प्रोत्साहन दिँदै आएको र मूर्तिकलालाई अझै उपेक्षा गरेको उनी गुनासो गर्दछन् । मूर्तिकलाको आधुनिक समयमा माग बढ्दो भएकाले कलाकारले सम्मानयुक्त सीप हासिल गरेर मनग्गे कमाउन सक्ने र देशको नाम अन्तर्राष्ट्रिय रूपमा चिनाउन सक्नेछन् । तर, त्यसका लागि सरकारले मूर्तिकलाबारे पालिकास्तरदेखि नै पाठ्यक्रम निर्माण गरे विद्यालयस्तरबाट पठनपाठन गराउन थाल्नुपर्ने तुलसी बताउँछन् । उनका अनुसार आजकाल निजी र सार्वजनिकस्तरमा आधुनिक घर, महल, सामुदायिक भवन, मठमन्दिरहर निर्माण हुने क्रमसँगै मूर्तिकला सजाउने सोख पनि बढ्दै गएको छ । आजकाल सार्वजनिक संस्था र व्यक्तिहरूले मान्छे, विभिन्न जनावर, वनस्पति, देवीदेउता र अन्य कलात्मक आधुनिक मूर्तिहरू बनाउन लगाउने गरेका छन् ।