
समाजशास्त्रीय चिन्तनको गहिराइ पक्रने लेखक नै समाजप्रति बढी जिम्मेवार हुन्छ भन्ने मेरो धारणा छ । लेख्नु फगत समय कटनी हुँदै होइन । यो एक वैचारिक यात्रा हो । त्यस मानेमा हरेक लेखक आफ्नो वैचारिकीसहित नै प्रस्तुत हुन्छन् । यतिखेर भने म एक पाठक मात्र भएर सोचिरहेकी छु । समयक्रमसँगै पठनरुचिमा पनि परिवर्तन आउने रहेछ । यस बखत मेरो रुचिक्षेत्रमा इतिहास, समाज, संस्कृति र चिन्तन परेका छन् । पछिल्लो समय मलाई सुरुचिपूर्ण लागेका पुस्तकमध्येका केही यहाँ प्रस्तुत छन् :
नेपाल निरुपण (२०५५)
इतिहासवेत्ता ज्ञानमणि नेपालले नेपालको प्राचीन इतिहासबारे निरन्तर खोज, अध्ययन र अनुसन्धानपश्चात् तथ्यपरक प्राज्ञिक लेख प्रकाशनमा ल्याएका छन् । उनको ऐतिहासिक कृति ‘नेपाल निरुपण’ प्राचीन नेपालको राजनीतिक, सामाजिक, आर्थिक इतिहासका साथै सांस्कृतिक व्यवस्था नियाल्ने आँखीझ्याल पनि हो । नेपालको अध्ययनले विशेष व्यक्ति, क्षेत्र या घटनालाई मात्र प्राथमिकतामा नराखी नेपालको आदिम गणजातिदेखि उनीहरूको नेपाल आगमन, सामाजिक तथा भौगोलिक परिवेश, नेपाल–भोट–चीन सम्बन्ध हुँदै चौधौँ शताब्दीमा राजकाजमा वर्चस्व कायम गरेका रानीहरूको युगको विस्तृत चर्चा पनि गरेका छन् । साथमा राणाकालीन नेपालमा धर्मराज स्थापनाको वकालत गर्दै विद्रोही आवाज मुखर गर्ने योगमायाको इतिहासलाई पनि यस पुस्तकले समेटेको छ । ‘नेपाल निरुपण’मा समेटिएको इतिहासभित्रको विषयगत विविधताका कारण यस कृति नेपालको प्राचीन इतिहास र संस्कृति बुझ्ने एक महत्वपूर्ण दस्ताबेज हो ।
प्रश्नहरू त बाँकी नै रहन्छन्... (२०८०)
मोमिलाको निबन्ध संग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्...’ आस्तित्वक चिन्तन यात्राका क्रममा आइपरेका विविध जटिलतामाथिको सचेत र दार्शनिक अभिव्यक्ति हो । साथै एक बागी व्यक्तित्वका कारण उनले खेप्नुपरेको अनेक विषम अवस्था र आउटसाइडरीय परिस्थितिको विपर्यास क्रमिक रूपमा उनले तय गरेको अस्तित्व दाबी र वैचारिक यात्राको काव्यिक दस्ताबेजीकरण पनि हो । व्यक्तिगतदेखि राष्ट्रिय र वैश्विक घटनाक्रमलाई समानान्तर रूपमा निबन्धहरूमा समेट्न सक्ने, आस्तित्व–उत्सवमा निमग्न मोमिलाका निबन्धहरू जीवनको साथमा मृत्यु चिन्तनका विशिष्ट सिर्जना हुन् । मन र मस्तिष्क दुवै झङ्कृत पारिदिन सक्ने उनका निबन्ध जीवनका अनेक आयाम आत्मसात् गर्न चाहने जोकोहीका निम्ति बौद्धिक खुराक हुन सक्छन् ।
द रोड टु नो ह्वेर (सन् २०१५)
कमल पि. मल्लको ‘द रोड टु नो ह्वेर’ नेपाली समाज, संस्कृति, चिन्तन र वर्चस्ववादी राज्यव्यवस्थामाथिको आलोचनात्मक दृष्टिकोणसहितको आलेखहरूको सँगालो हो । प्राध्यापक मल्लले नेपाली समाज र राज्य संयन्त्रभित्रका अनेकन अवयवमाथि गहिरो विश्लेषण गरेका छन् । जसमा त्रिभुवन विश्वविद्यालय शिक्षा, नेपाली भाषा र त्यससँग जोडिएको शासकीय प्रवृत्ति, नेपालको सांस्कृतिक पहिचानभित्रका अनेक आयामका साथै नेपालका बौद्धिक जमात र काठामाडौंप्रति आलोचनात्मक दृष्टिकोण पनि प्रस्तुत छन् । विगतको एकात्मक राज्य प्रणाली र एकल भाषा संस्कृतिले मारमा पारेका विविध राष्ट्रको पक्षमा वकालत गर्ने मल्ल ब्राह्मणवाद र शासक वर्गको सांस्कृतिक प्रभुत्वका कडा आलोचक हुन् । नेपाली समाजको विकास प्रक्रियासँगै सांस्कृतिक इतिहास बुझ्न चाहनेका निम्ति यो पुस्तक उपयोगी छ ।
परम्परागत आदिवासी ज्ञान (२०७८)
कुमार यात्रुको ‘परम्परागत आदिवासी ज्ञान’ले रैथाने ज्ञानपद्धति तथा आदिवासी समुदायको प्रकृतिसँगको सन्तुलित सम्बन्धका विविध पक्षलाई उजागर गरेको छ । नेपालका विभिन्न आदिवासी समुदायले आदिकालदेखि आत्मसात् गर्दै आएको परम्परागत ज्ञान, लोक साहित्य, संस्कृति, कृषि प्रणाली, जीवन दर्शन र समग्रमा आदिवासी सभ्यताको वैशिष्ट्य तथा व्यावहारिक उपयोगितामाथि लेखक यात्रुले गहन विश्लेषण गरेका छन् । उनले उठाएको जैविक विविधता संरक्षण र वातावरणमैत्री आदिवासी ज्ञानजस्तो विषय पर्यावरणीय संकटको यस घडीमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने क्षेत्र बनेको छ । आदिवासीको पानीजन्य अभ्यासभित्र पर्ने राजकुलो, हिती, पोखरी तथा पधँेरा संस्कृति रैथाने लयको एक मिठो परम्परा थियो । आजको विकासको नवभाष्य र नेपाली भूगोल असुहाउँदो विकासे गतिविधिका कारण दिनानुदिन बढिरहेको वातावरणीय जोखिममाझ आदिवासी ज्ञान प्रणाली अवलम्बनको आवश्यकता टड्कारो भएको छ । परम्परागत तथा रैथाने ज्ञान मार्गतिर लाग्न प्रेरित गर्ने यात्रुको पुस्तक आदिवासी ज्ञान र पर्यावरणीय अध्ययनका निम्ति पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।
एयर टु ए साइलेन्ट सङ : टु रेबल उमन अफ नेपाल (सन् २००१)
सन् १९८१ तिर मानवशास्त्री/लेखक बारबारा निम्री अजिजले अरुण उपत्यका भई यात्रा गर्ने क्रममा त्यसै क्षेत्रका दुई विद्रोही महिला, योगमाया र दुर्गादेवीका बारेमा थोरबहुत सुनेकी थिइन् । उनले तिनै विप्लवी महिलाहरूको विषयमा लामो खोज अनुसन्धान गरी ‘एयर टु ए साइलेन्ट सङ : टु रेबल उमन अफ नेपाल’ नामक पुस्तक प्रकाशित गरेकी छिन् । यस पुस्तकले योगमाया र दुर्गादेवीको विद्रोही व्यक्तित्वको अनेक पाटालाई उजागर गरेको छ । वर्ण व्यवस्थामा आधारित कट्टर हिन्दुवादी राणाकालीन समयमा नै योगमायाले जातीय छुवाछुत र बालविवाहजस्ता अन्यायपूर्ण सामाजिक व्यवस्थाविरुद्ध आवाज उठाएकी थिइन् । उनले विधवाविवाहको पक्षमा पनि वकालत गरेकी थिइन् । योगमायाकै अनुयायी दुर्गादेवीले पनि अन्यायमा परेका महिलाको हकहित तथा न्यायका निम्ति वकालत गर्ने गर्थिन् । अजिजको यस पुस्तकले इतिहासको गर्तमा पुरिएको नेपाली महिलाको प्रतिरोधी चेतना र संघर्षको इतिहासलाई प्रकाशनमा ल्याउने काम गरेको छ ।