• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
अन्वेषण अधिकारी
२०८१ असार २३ शनिबार ०८:५७:००
इतिहास

भाषा कस–कसले बिगारे ?

२०८१ असार २३ शनिबार ०८:५७:००
अन्वेषण अधिकारी

 

आठराई गाउँपालिका– २ पाकतिन, तेह्रथुममा जन्मिएका चूडामणि गौतम लामो समयदेखि नेपाली भाषाको संरक्षणमा सक्रिय छन् । उनले नेपाली र अंग्रेजी भाषामा एक सय ११ वटा कृति बजारमा ल्याइसकेका छन् । ‘गौतम नेपाली व्याकरण तथा रचना’, ‘नेपाली बगली कोश’, ‘गौतम विवादित वर्णविन्यासको नेपाली शब्दकोश’, ‘बृहत्तर नेपाली शब्दकोश’लगायतका उनका पुस्तक निकै चर्चित छन् । नेपाली भाषामा देखिएका विकृति र यसको समाधानबारे गौतमसँग अन्वेषण अधिकारीले गरेको कुराकानी :

 

१ सय ११औँ पुस्तक ‘वर्णविन्यासका दुस्मन’ भाषिक आन्दोलनबारे मेरो अन्तिम पुस्तिका हो । अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्रबहादुर कार्कीले २४ भदौ २०७३ मा दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले शिष्ट परम्पराको नेपाली शब्दको वर्णविन्यासलाई प्रकारान्तरले स्वीकृति प्रदान गरेको छ । र यसको पूर्ण पाठ आइसकेपछि सर्वसाधारणमा विस्तृत जानकारी हुने नै छ ।

 

विगतमा राज्यले भाषालाई ख्याल नगर्दा नेपाली भाषामा धेरै विकृति देखिए । जस्तो उच्चारण गर्न मन लाग्छ, त्यस्तै गर्ने । जस्तो मन लाग्यो त्यस्तै गर्ने स्वतन्त्रता सबैलाई छ । तर, जसले नेपाली साहित्यको रचना गर्छ, जो स्रष्टा छ उसले त साहित्यमार्फत देशका लागि ऐनाको काम गरिरहेको हुन्छ । तर, स्रष्टासँग कानुनी हतियार हुँदैन । उसको हतियार कलम हो । उसले समयमा यसको प्रयोग गर्न खोज्छ । कति ठाउँमा सफल होला, कति ठाउँमा नहोला ।

 

हाम्रै कुरा गर्ने हो भने भाषाविद् शरच्चन्द्र वस्ती लामो समयदेखि भाषा संरक्षणमा सक्रिय हुनुहुन्छ । रोचक घिमिरेले २०१८ सालदेखि आजसम्म ‘रचना’ त्रैमासिक पत्रिका निकालिरहनुभएको छ । प्रज्ञा प्रतिष्ठानले भाषा बिगार्दा पनि उहाँले शालीन लेखकहरूका जुन पदचिह्न छ, त्यो हामीले छाड्ने होइन भनेर अडान लिइरहनुभयो ।

 

मैले पनि भाषासम्बन्धी औपचारिक पढाइ गरेको होइन । कानुनमा स्नातक गरेँ, तर त्यसमा पनि लाइसेन्स लिइनँ । सरकारी जागिर पनि खाइनँ । तर, कक्षामा कहिल्यै दोस्रो नभएकाले मसँग भाषामा केही गर्छु भन्ने हिम्मत थियो । भाषा सिर्जनाबाटै जीवन धानिरहेको छु । 

 

भाषिक रूपमा समृद्ध नेपाल

 

हाम्रो देश विविध भाषा र संस्कृतिले सजिएको छ । हरेक जातिको, हरेक भाषाभाषीको आफ्नै महत्व छ । मानिसले मातृभाषालाई प्रेम गर्नुपर्छ, यो उसले आमाको काखमा सिकेको भाषा हो । आफ्नो भाषालाई अनादर गरेर अरूको भाषालाई सम्मान गर्न सकिँदैन ।

 

हाम्रोमा धेरै भाषा हुँदाहुँदै पनि देवनागरी लिपिमा लेखिने नेपाली भाषाले सबै जाति र संस्कृतिलाई जोडेको छ । एक–अर्कालाई आफ्नो भाव व्यक्त गर्दा नेपाली भाषा नै प्रयोग गर्नुपर्ने हुन्छ र नेपाली भाषा नै सम्पर्कका रूपमा प्रयुक्त हुन्छ । अरू भाषालाई अनादर होइन । तर, नेपाली भाषालाई नै सम्पर्क भाषाका रूपमा संरक्षण गर्नुपर्छ ।

 

नेपाली मात्रै नभएर विश्वका विभिन्न भागमा छरिएर बसेका नेपालीले पनि यही भाषा नै प्रयोग गर्छन् । शुद्ध वर्णविन्यास भएको, पहिलेका स्रष्टाले प्रयोग गर्ने भाषा संरक्षण भइदिए नै राम्रो हुन्छ भन्छन् । यस अर्थमा विभिन्न जातजातिका नेपालीहरू विभिन्न ठाउँमा छरिएर बसे पनि उनीहरूलाई भाषाले एक बनाएको छ । नेपाली भाषाको उद्भव संस्कृत भाषा भए पनि यसमा विभिन्न भाषा प्रयोग हुन्छन् । धेरै भाषा मिलेर बनेको भाषा नै समृद्ध हुन्छ । देशभित्र प्रयोग हुने अनेक भाषादेखि हिन्दी, तुर्की, फारसी, अरबीलगायत भाषासमेत नेपाली भाषामा प्रयोगमा आउँछ । यो नै भाषाको सुन्दरता हो । 

 

जुम्लाको सिंजा राज्यमा बोलिने खस भाषा नै कालान्तरमा नेपाली भाषाका रूपमा विकास हुँदै आएको छ । भाषा नदीजस्तै हो । प्रवाहमा पर्दै गएपछि हामीले थाहै नपाई यो बदलिँदै जान्छ । जस्तो, कालीगण्डकीमा कालो ढुंगा पाइन्छ । त्यही ढुंगा घोटिएर, धारा प्रवाहले गोलो र चिल्लो हुन्छ अनि, शालिग्राम बन्छ । भाषा पनि यसैगरी नै परिमार्जन हुने हो । पृथ्वीनारायण शाहले ‘बुढा मरे, भाषा सरे’ भनेकै छन् । यसको अर्थ बुढा मरेपछि युवाले त्यो भाषा ठ्याक्कै टिप्न सक्दैनन् र नयाँ ढंगले विकास भएर जान्छ । 

 

हाम्रोमा संस्कृति शब्द यसरी नै परिमार्जन भएर गएका छन् । जस्तो, संस्कृतमा आकाश हुन्छ । तर कतिपयले अकाश पनि लेख्छन् । महिनाको अन्त्यलाई मासान्त भनिन्छ । तर, अहिले हामीले मसान्त नै प्रयोग गर्छौँ । मासको अन्त भनेपछि मासान्त नै हुन्छ । तर, भाषिक तालमेल र वर्णविन्यासको हिसाबले गलत देखिए पनि नेपाली जनजिब्रोले मसान्त नै पक्डिसक्यो । कसैले लादेर होइन, सबैले यसरी नै प्रयोग गर्न थालेपछि यो नेपाली भाषा बन्यो । बहुसंख्यकले मिल्दोजुल्दो शब्द प्रयोग गर्न थालेपछि त्यो भाषाकै शब्द बन्छ । 

 

भाषा बिगार्नेहरू 

 

सबैभन्दा पहिले त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका प्रमुखले तहस–नहस गरे, दोस्रो नेपाल प्रज्ञा प्रतिष्ठानका प्रा.डा. प्राज्ञले गरे, तेस्रोमा आएर पाठ्यक्रम विकास केन्द्रका निर्देशकले तहस–नहस गरे । यसलाई शिक्षा मन्त्रालयले पनि सदर गरिदियो । यसमा संलग्न हुने धेरै छैनन् । दुईवटा हातका औँलाजति भन्ने गरेको छु, झन्डै १० जनाजति छन् । उनीहरूलाई मैले ‘वर्णविन्यासका दुस्मन’ करार गरेर भाषा आन्दोलनको अन्तिम पुस्तिका लेखेको छु । अन्य विषयमा लेखिरहनेछु, तर भाषिक आन्दोलनका विषयमा सर्वोच्चले न्याय दिएकाले मैले लेख्नुपर्ने छैन । 

 

शिष्ट परम्पराअनुसार नेपाली वर्णमाला ५२ अक्षरको छ । नेपालीहरूले बाल्यकालमै पढ्न सिकेको, देवनागरी लिपिमा लेखिएको वर्णमालामा स्वरवर्ण १६ र व्यञ्जनवर्ण ३६ वटा गरी कुल ५२ वटा छन् । तर, ३५ अक्षर मात्रै रहेको नयाँ वर्णमाला बनाउने बालहठ दर्साउने कतिपय लालबुझक्कड विद्वान्हरूको डेढ अक्कली सोच सर्वोच्चको निर्णयले असफल भएको छ । उनीहरूले १३ वटा अक्षर घटाएको कुरा गरे तापनि यथार्थमा आठवटा स्वरवर्ण र नौवटा व्यञ्जनवर्ण गरेर १७ वटा अक्षर हटाएका थिए । मन्त्रालयबाट सदर भएर पाठ्यक्रममै समावेश गरिएको हुनाले पछिल्ला १० वर्ष नेपाली भाषालाई ठूलो क्षति भयो । 

 

यस अवधिमा ‘ण’, ‘ञ’, ‘व’ लगायत नौवटा व्यञ्जनवर्ण पाठ्यक्रमबाट हटाइयो । खाण लेख्नुपर्‍यो भने ‘ण’को सट्टा ‘न’ लेख्दा खान अर्थात् गलत हुन जान्छ । च, छ, ज, झ, को अगाडि ‘ञ्’ लेख्ने गरिएको थियो । जस्तो, बाञ्छनीय, चञ्चल । चन्चल, बान्छनीय लेख्दा भाषा बिग्रिने नै भयो । ‘व’ को सट्टा ‘ब’ प्रयोग गर्दा वकिललाई बकिल लेख्ने ? यसरी भाषालाई विकृत बनाउने काम भयो ।

 

स्वनामधन्य साहित्यकारहरू महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, कोशकार बालचन्द्र शर्मा, कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरे, साहित्यकार भीमनिधि तिवारी, कवि भूपी शेरचन, युग कवि सिद्धिचरण श्रेष्ठ, उपन्यासकार इन्द्रकुमार राई आदि तथा नेपाली भाषा प्रयोगकर्ताहरूले साबिकदेखि नै शिष्ट परम्परामा रहेको वर्णविन्यास प्रयोग गरेको अकाट्य प्रमाण उनीहरूकै लेख–रचनाले पेस गरेका छन् । यसलाई बिगार्ने काम २०४० सालदेखि नै भएको हो । झर्रोवादका नाममा स्थापित परम्परा भत्काउँदै नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (प्रथम संस्करण २०४०) को सम्पादन गर्न पुग्नुभएका सम्पादकमण्डलका निर्देशक भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले आफ्नै नयाँ शब्दकोश ‘झर्रो सब्द्योली’ (कोश)को नामै परिवर्तन गरी विसं २०६३ मा ‘झर्रो शब्द्योली’ (कोश) बनाउनुभएको छ । उहाँले झर्रोवादका कुरा ल्याएपछि हाम्रो विवाद नै भयो । उहाँकै चेला भए पनि मैले स्विकार्न सकिनँ । पछि, उहाँले आत्मालोचना गर्नुभयो, यसरी २०४० सालदेखि नै नेपाली भाषा बिग्रँदै आएको थियो भन्ने स्पष्ट हुन्छ ।

 

नेपालमा पछिल्लो समय सबैतिर भाषा बिग्रिएको देखिन्छ । कम्प्युटरमा प्रयोग हुने भाषा पनि धेरै बिग्रिएको छ । विशेष गरी युनिकोडमा प्रयोग हुने भाषामा धेरै समस्या देखिएका छन् । जसकारण, अनलाइन पोर्टलले प्रयोग गर्ने भाषा पनि बिग्रिएको छ । सरकारी कामकाजमा प्रयोग हुने भाषा पनि बिग्रिएको छ । पत्रपत्रिकाले पनि भाषा शुद्ध बनाउन पर्याप्त ध्यान दिन जरुरी छ । त्यस्तै, टेलिभिजन र रेडियोले पनि शुद्ध उच्चारणमा ख्याल गर्नुपर्छ । किनकि, सञ्चारमाध्यममा प्रयोग हुने शब्दले पनि धेरैलाई प्रभावित गरिरहेको हुन्छ । 

 

संस्कृत पुस्तक जलाउनु गल्ती 

 

विगतमा माओवादीले संस्कृत शिक्षा बहिष्कार गर्‍यो । संस्कृत विद्यालय भत्काइयो । पुस्तक जलाइयो । जब कि, हाम्रो भाषाको उद्भव नै संस्कृतबाट भएको हो । अहिले माओवादी नेतालाई नै संस्कृत चाहिने भयो । नेता, भाषण, नेतृत्व, मिलनसार, एकाकार, संयुक्त, राजनीति, अराजकता, राज्यलगायत अहिले राजनीतिमा प्रयोग हुने धेरै शब्द संस्कृत हुन् । नेपाली भाषामा राम्रो भाषण तयार गर्नुपर्‍यो भने ८० प्रतिशत संस्कृत शब्द प्रयोग गर्नुपर्ने बाध्यता छ । संसारका धेरै भाषाको जननी संस्कृत हो । जर्मनीमा संस्कृत विश्वविद्यालय छ र त्यहाँ संस्कृतका धेरै विद्वान् जन्मिसके । तर, हामीले यसको प्रवद्र्धन गर्न सकेनौँ । 

 

शब्द रचनाका केही अनुभव 
शब्दकोशमा नभएका शब्दहरू पनि धेरै हुन्छन् । हामीले आफैँ शब्द पनि निर्माण गर्नुपर्ने हुन्छ । जस्तो, पानी वा बाढीले सडक नबिगारोस् भनेर सडकभित्र प्वाल राखेर इन्जिनियरले निकास कटाउने बनाएको हुन्छ, यसलाई अंग्रेजीमा कल्भर्ट भनिन्छ । नेपालीमा यसको शब्द थिएन । यसको काम भल आएपछि कटाउने हो । त्यसैले मैले यसलाई ‘भल्कट’ बनाएँ । ‘भल्कट’ भनेको भल कटाउने हो । 

 

सर्वोच्च अदालतका अधिकृतले एक दिन जुंगा काट्दा छाला काटेछ । रगत आयो । अनि, साथीले सोध्दा ओठ काट्यो भनेछन् । तर, ओठभन्दा माथिको छाला काटिएको थियो । आनन्द नेपालले मलाई फोन गर्नुभयो । सर, यसका लागि शब्द बनाउनुपर्‍यो भन्नुभयो । नाकदेखि तल र ओठभन्दा माथिको भागका लागि हाम्रोमा शब्द थिएन । केही सोचेपछि मैले शब्द जुराएँ । हामी धर्तीमा बस्छौँ, यहाँ माटो हुन्छ । माटोमा कुनै बिउ हालिदिनुभयो भने नगोडी राखे पनि उम्रिन्छ । उम्रियो भने त्यो धर्तीको भुइँ भयो । ओठदेखि माथि र नाकभन्दा मुनिको सपाट भाग पनि भुइँ नै भयो । किनकि, त्यसमा पुरुषको जुंगा उम्रन्छ । त्यहीकारण यसको नाम जुंगे भुइँ राखेँ । महिलाको जुंगा हुँदैन, उनीहरूलाई के भन्ने पनि लाग्न सक्ला । तर, उनीहरूका पनि मसिना जुंगा हुन्छन् । महिलामा हार्मोनका कारणले जुंगा बढ्दैन । पुरुषमा बढ्छ । 

 

नङ काट्ने उपकरणलाई हामीले नेलकटर भन्छौँ । तर, यो अंग्रेजी शब्द हो । हाम्रै गाउँ तेह्रथुममा एकजना बूढा मानिसले नेलकटर नातिसँग माग्दा ‘नङकट’ले त भन्नुहुन्थ्यो । नेल+कटर = नेलकटर हो । नङ+कट = नङकट हो । तर, नङकटको अर्थ कटिङ (अंग्रेजी) नभएर काट्ने (नेपाली) हो । 

 

उभयत समर्थक शब्दहरू

 

अंग्रेजीमा राडार भन्ने शब्द छ । जताबाट पढे पनि हुने । मलाई अस्ट्रेलियाबाट एकजनाले यस्ता शब्दलाई नेपालीमा के भन्ने भनेर जिज्ञासा राख्नुभयो । नेपाली शब्दकोशले यस्ता शब्दलाई कुनै नाम दिएको थिएन । कटक, कालिका, नवजीवन, हुबहुलगायत शब्द जताबाट पढ्दा पनि उस्तै लाग्छ । यी शब्दहरूलाई ‘उभयत समर्थक’ भन्नुपर्छ भन्ने लाग्यो । उभयत भनेको दुवैतिरबाट र समर्थक भनेको समान अर्थ दिने हो । यी शब्द अगाडिबाट पढ्दा पनि पछाडिबाट पढ्दा पनि एउटै हुन आउँछ । 

 

केही गल्ती 

 

उच्चारणमा ख्याल : सबैभन्दा पहिले ‘ऋ’ को उच्चरण राम्रो भइरहेको छैन । ऋषि बोल्दा ‘ऋ’को उच्चारण जिब्रो बटारेर गर्नुपर्ने हुन्छ । ‘र’ उच्चारण गर्दा हल्का तरिकाले गरिन्छ । ऐनालाई पनि ‘अ‍ै’ उच्चारण गर्नुपर्ने हुन्छ । ऐनलाई पनि ‘अ‍ै’ हुनुपर्नेमा कतिपयले उच्चारण गर्दा एन भन्छन् । यस्ता गल्ती धेरै छन् । हामीले सच्याउनुपर्छ । 

 

यको उच्चारण पनि गलत प्रयोग गरिरहेका छन् । (इ +अ=य ) हुनुपर्छ । कतिपयले ‘ए’ उच्चारण गरिरहेका छन् । जो गलत छ । 

 

‘ञ’ अक्षर जुन छ । चारवटा अक्षर (च, छ, ज, झ) भन्दा अगाडि ‘ञ्’ प्रयोग गर्नुपर्छ उदाहरण ः बाञ्छनीय, चञ्चल प्रयोग गर्नुपर्छ । कतिपयले गल्ती गरेर ‘न्’ उच्चारण गरिरहेका छन् । 

 

‘ण’ चाहिँदैन भने कतिपयले हटाएर न प्रयोग गर्न थालेका छन् । खाणमा ‘न’ प्रयोग गर्दा खान हुन्छ । राणामा ‘न’ प्रयोग गर्दा (राना) हुन्छ । जो गलत छ । यसलाई सच्याउनुपर्छ ।