• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
रमेश सुवेदी
२०८१ असार २३ शनिबार ०९:५३:००
खेल

नेपाली क्रिकेटका सुरुवाती दिन...

२०८१ असार २३ शनिबार ०९:५३:००
रमेश सुवेदी

 

विश्वकपमा टेस्ट राष्ट्रलाई चुनौती दिने यो हैसियत नेपालले एकैदिन बनाएको होइन । नेपाली क्रिकेटको इतिहासका मुख्य टर्निङ प्वाइन्टहरूबारे पूर्वक्रिकेटर तथा नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेसँग रमेश सुवेदीले गरेको कुराकानी :

 

राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोराहरू बबरशमशेर र मदनशमशेर राणा बेलायतमा पढ्न बस्दा खुबै क्रिकेट खेल्नुहुन्थ्यो । बेलायतबाट पढाइ सकेर फर्केपछि पनि उहाँहरू क्रिकेट खेल्न भारत गइरहनुहुन्थ्यो । बबरशमशेरले त भारत गएर खेल्दा शतक नै हान्नु्भएको छ । उहाँले क्रिकेट खेल्दाका फोटो मैले पनि हेरेको छु ।

 

विसं १९९७ तिर उहाँहरूले दरबारमै क्रिकेट मैदान बनाउनुभएछ । रातो बंगला स्कुलमा रहेको त्यही मैदानमा तत्कालीन राणा परिवारका सदस्य र विशिष्टहरूले क्रिकेट खेल्थे भन्ने हामीले अग्रजहरूबाट सुनेका हौँ ।

 

२००४ सालमा पहिलोपटक त्रियोगीनाथ उप्रेतीको अध्यक्षतामा नेपालमा क्रिकेट संघ गठन भयो । उहाँ त्रिभुवन विश्वविद्यालयको उपकुलपति पनि हुनुहुन्थ्यो । विश्वविद्यालयको काममा सक्रिय हुुनुपर्ने भएकाले संघलाई व्यवस्थित रूपमा अघि बढाउन उहाँलाई समय अभाव भएको हुन सक्छ । संघमा अन्य को–को पदाधिकारी थिए भन्ने स्पष्ट छैन । किनकि, त्यतिवेलाको रेकर्ड नै फेला परेन । 

 

२०२१ सालतिर म क्रिकेट खेल्दै थिएँ । यतिवेला काठमाडौंमा ६–७ वटा त्रिकेट क्लब खुलेका थिए । जयकुमारनाथ शाहले क्रिकेट संघलाई सक्रिय बनाउनका लागि पहल थाल्नुभयो । उहाँले बिस्तारै सक्रिय खेलाडीहरूलाई छानेर विभिन्न जिम्मेवारी दिनुभयो । अध्यक्ष जयकुमारनाथ शाह, वीरगन्जका तारणीविक्रम शाह उपाध्यक्ष, म सचिव र प्रतापविक्रम शाह कोषाध्यक्ष रहेको कमिटीले क्रिकेट संघको विधान तयार गर्‍यो । सदस्यमा काठमाडौं खेल मण्डलबाट दामोदर सुवाल र गिरिजालाल मानन्धर (ब्रिटिस काउन्सिलमा कार्यरत), गैरीधाराबाट शशी पाण्डे र विराटनगरका नरेश श्रेष्ठ (अम्पायर) थिए ।

 

यतिवेला राष्ट्रिय खेलकुद परिषद्मा सु्शीलशमशेर सदस्यसचिव थिए । कार्यालय बागदरबारमा थियो । खेलकुदका सबै संघका पदाधिकारी तथा खेलाडी यहीँ भेला हुन्थे । उहाँले क्रिकेटलाई अगाडि बढाउनका लागि धेरै सहयोग गर्नुभयो । 

 

हामीले हरेक वर्ष विष्णु ट्रफी र मदन स्मृति प्रतियोगिता टुँडिखेलमा आयोजना गर्न थाल्यौँ । मेरो विचारमा यो नै क्रिकेटको सुरुवात हो । यस प्रतियोगितामा सुरुवाती वर्षमा भारतीय दूतावास, जय शाहको वान म्यान वाइएमसिसी, एमेचर्स क्रिकेट क्लब, काठमाडौं खेलमण्डल र जेन्टलमेन क्रिकेट क्लबले प्रतिस्पर्धा गरेका थिए । जेन्टलमेन क्लब भुटानका दोर्जेले खोलेका हुन् । कहिलेकाहीँ बाहिरबाट टिमहरू आएर मिसिएर खेल्ने गरेका थियौं । 

 

टुँडिखेलमा प्रतियोगिता आयोजना हुनुभन्दा अघिल्लो दिन सडक विभागबाट रोलर लगेर पिच पेल्न लगाउने गरेका थियौँ । मैदान तयार भएपछि त्यसमा म्याट लगाउँथ्यौँ । खेलाडी आफैँ अम्पायरको भूमिकामा बस्थे । क्रिकेट खेल्ने धेरैजना खेलाडि आफ्नै पेसा–व्यवसायमा सक्रिय थियौँ । फुर्सदको समय क्रिकेट खेल्ने मोहले हामीलाई जोडेको थियो ।

 

मेरो टिममा कोमल पाण्डे, आरआर पाण्डे, किशोर पाण्डे, नीर शाह, कुमार खड्कालगायत खेलाडी नियमितजसो हुन्थे । अन्य खेलाडी खोज्न निकै मिहिनेत गर्नुपथ्र्यो । ब्याट, प्याडलगायत उपकरण महँगो हुने भएकाले पनि धेरैले क्रिकेटमा चासो देखाउँदैनथे । जाडोको समयमा धेरै प्रतियोगिता हुन्थ्यो र बदाम खाँदै खेल हेर्न आउने केही मानिस पनि हुन्थे । टिममा ११ जना नपुगेका वेला दर्शकलाई नै फिल्डर राख्ने गरेका थियौँ । जयकुमार र दोर्जेको टिममा भने खेलाडी पुगेका हुन्थे । यतिवेला हामी टेनिस बलले खेल्थ्यौँ । यसरी नै हामीले वर्षाै खेल्यौँ । यसपछि थोरै क्लबले खेलेर क्रिकेट विकास हुँदैन, देशैभर खेलिनुपर्छ र धेरै खेलाडि जन्माउनुपर्छ भन्ने सोच राखेर योजना बनाउन थाल्यौँ । 

 

टर्निङ प्वाइन्ट : काठमाडौं र वीरगन्ज फरक 

 

०३८ सालको पहिलो राष्ट्रिय खेलकुदमा क्रिकेटलाई पनि समावेश गरियो । त्यसका लागि शरदचन्द्र शाहले पाँच टोली बनाउन निर्देशन दिनुभएको थियो । 

 

त्यतिवेला धेरै क्रिकेट खेलिने ठाउँमा काठमाडौं र वीरगन्ज पर्थे । तर, यी दुवै सहर मध्यमाञ्चलकै थिए । हामीले दुवै सहरलाई फरक टिम बनाउनुपर्ने माग राख्यौँ । 

 

मैले खेलकुद परिषद्मा पुगेर यो राज्यको व्यवस्थाअनुसार क्रिकेट हुँदैन, हामी पाँचै टिम त राख्छौँ तर, हाम्रो अनुकूलताअनुसार काठमाडौं र वीरगन्जलाई अलग–अलग टिमका रूपमा राख्नुपर्छ भनेँ । त्यसपछि हामीले अञ्चल नभनेर विराटनगरलाई एक, जनकपुर र वीरगन्ज जोडेर २, काठमाडौंबाट ३, पोखरा र भैरहवालाई मिलाएर ४ र नेपागन्जदेखि सुदूरका सबै टिमलाई समेटेर पाँचौँ टिम बनायौँ ।

 

यसरी क्रिकेटलाई आफूखुसी टिम बनाउने छुट राखेपले दिएको थियो । बाँकी सबै खेलकुद संघले राष्ट्रिय प्रतियोगितामा अञ्चलअनुसार प्रतिस्पर्धा गरेका थिए । यसको केही वर्षपछि राष्ट्रिय प्रतिस्पर्धामा स्पर्धा गर्ने टिमको संख्या बढाएर सात पुर्‍याइयो । त्यसपछि फेरि नौवटा टिम बने । अहिले संघीय संरचनाअनुसार सात प्रदेशका सातवटै टिम छन् । यसबाहेक विभागीय टिमले पनि प्रतिस्पर्धा गरिरहेका छन् । 

 

वीरगन्ज र काठमाडौंलाई एउटै बनाइएको भए क्रिकेटमा प्रतिस्पर्धा कम हुने थियो र आकर्षण यसरी नबढ्न सक्थ्यो । तर, दुई टिम बनाएपछि धेरै खेलाडीले अवसर पाए । आफ्नो क्षमता देखाए र नेपाली क्रिकेटको स्तरोन्नतिमा योगदान गरे । 

 

क्रिकेट खेल्न अलकत्राको पिच 

 

नेपाली क्रिकेटमा एउटा रमाइलो किस्सा छ । ४० सालको कुरा हो । पोखरामा क्रिकेट प्रतियोगिता गर्ने भनियो । एउटा ठूलो स्कुल थियो । त्यहाँ क्रिकेट खेल्न पिच बनाउनुपर्छ भन्ने कुरा भयो । प्रतियोगिता हुनु तीन दिनअघि म काठमाडौंबाट पोखरा पुगेँ । त्यहाँ त अलकत्रा बिछ्याएर पिच गरिरहेका रहेछन् । मैले यो पिच होइन, हाम्रो पिच अर्कै हुन्छ यसलाई हटाउनुस् भनेर क्रिकेट पिच बनाउन लगाएँ । सुरुवाती चरणमा मानिसलाई क्रिकेटबारे बुझाउन निकै मिहिनेत गर्नुपरेको थियो । आज सबैको लोकप्रिय खेल क्रिकेट बनेको छ, यसमा निकै गर्व लाग्छ । 

 

आइसिसी र एसिसीबाट मान्यता

 

सन् १९८४ ताका जयकुमारनाथ शाहले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा नेपाल क्रिकेटबारे जानकारी गराएका थिए । १९८६ मा एफिलियट मान्यता दिन र नेपालको अवस्था बुझ्न आइसिसीको टिम आयो । त्यतिवेला हामीले रामेश्वर स्मृति क्रिकेट प्रतियोगिता आयोजना गरेका थियौँ । आइसिसीका प्रतिनिधिले अवलोकन गर्ने भएकाले पिच स्तरीय बनाउनुपर्ने अवस्था थियो । अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापाले पिच बनाउँदा आपत्ति व्यक्त गरे । उनीसँग मेरो झगडा नै पर्‍यो । उनी फुटबलको विकासमा अहोरात्र सक्रिय, क्रिकेट विकास हुनुपर्छ भन्ने मेरो मान्यता । क्रिकेट पिच बनाउँदा फुटबल मैदान बिग्रन्छ भन्ने उनको तर्क थियो ।

 

तर, हामीलाई आइसिसीबाट मान्यता लिनका लागि मैदान नभइनहुने अवस्था थियो । अन्नतःपिच बनाएरै छाड्यौँ । आइसिसीका प्रतिनिधिले खेल अवलोकन गरेर गए । १९८८ मा नेपालले एफिलियट मान्यता पायो । त्यसैले क्रिकेटको इतिहास टँुडिखेलसँग गहिरो सम्बन्ध जोडिएको छ ।

 

१९९० मा दुबईमा भएको एसियाली क्रिकेट परिषद् (एसिसी)को बैठकमा सचिवका रूपमा मैले सहभागिता जनाएको थिएँ । ‘हामी पनि क्रिकेट खेल्छौँ । प्रतियोगिता चलिरहेको हुन्छ र दर्शक संख्या पनि बढ्दै छन्’ भनेँ । यसपछि हामीलाई एसिसीले एसोसिएट मान्यता दियो । जयजी र म दुवै व्यवसायमा संलग्न भएकाले विदेशमा हुने बैठकमा जाँदा खर्च जोहो गर्न समस्या थिएन । 

 

पाँचजनाले चलाएको क्रिकेट संघ 

 

सन् १९९० मा जब एसिसी मेम्बर भयौँ त्यसपछि १९९६ सम्म क्रिकेट संघ ४–५ जनाले नै चलाए । क्रिकेट संघमा कोही आउनै नचाहने अवस्था थियो । जयकुमार शाह अध्यक्ष, टिभी शाह उपाध्यक्ष, म महासचिव, कोषाध्यक्षमा शशी पाण्डे थिए । सदस्यमा दामोदर सुवाल र नरेश श्रेष्ठ थिए । १९९६ को एसिसी ट्रफी पनि यही कमिटीले आयोजना गरेको हो । आइसिसीको सदस्य भएपछि उनीहरूले २००० पछि सर्त राखे : चुनाव हुनुपर्छ । त्यसपछि हामीले अंग्रेजीमा विधान बनाएर आइसिसीबाट स्वीकृत गरायौँ । केशव स्थापित राखेप सदस्यसचिव भएपछि उहाँले ११ जनाको क्रिकेट संघ गठन गर्नुभयो । त्यसपछि डेभलपमेन्ट प्रोग्राम सञ्चालन भयो । हामीले यहाँ आफ्ना योजना र कार्यक्रम बनाएर पठाएपछि आइसिसीले पैसा दिन्थ्यो । २००२ देखि २००७ सम्म नेपालले डेभलपमेन्ट प्रोग्रामअन्तर्गत सहयोग पाएको थियो । 

 

भारतीय टिम नेपाल आउँदा नेपाली टिम गायब 

 

भारतको पे्रसिप डी मार्क भन्ने बहुचर्चित कम्पनी सन् २००२ मा नेपाल भ्रमणमा आयो । भारतको यू–१९ विश्वकप जितेको टोलीलाई नेपाल ल्याउने कुरा भयो । सुरेश रैनालगायतको टिम नै आएको थियो । उक्त टिम हायातमा आएर बस्यो । तीन खेल आयोजना भएको थियो । अन्तिम दिन बिदाइ कार्यक्रम थियो । सचिव भए पनि त्यो कार्यक्रमको आयोजनाको समितिमा म थिइनँ । युवराज पारसले पुरस्कार दिने कार्यक्रम थियो । म जाँदा भारतीय टिमका खेलाडी ब्लेजर लगाएर त्यहाँ बसेका रहेछन् । तर नेपाली टिम नै छैन । उपाध्यक्ष टिभी शाहले ‘टिम खै’ भनेर आयोजक समितिलाई सोधे । फोन गरेर सोध्दा टिम होटेलमै छ भन्ने खबर आयो । तर, टिम नै आएन । 

 

टुँडिखेलबाट टियू

 

पहिले–पहिले टुँडिखेलमा क्रिकेटका खेलहरू हुन्थे । नेपालले एसिसीको सदस्यता पाएपछि हाम्रो अन्तर्राष्ट्रिय सम्पर्क बढ्यो । यतिवेला भारत र पाकिस्तानले युएईको शाहजाहाँ क्रिकेट मैदानलाई न्युट्रल भेन्यु बनाएर खेल्ने गरेका थिए । त्यहाँ भारत धेरैजसो हार्ने । त्यसैले भारतले यो मैदानबाट अन्यत्र खेल्न चाहेको थियो ।

 

सन् १९९० मा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को अध्यक्षमा माधवराव सिन्डिया थिए । उहाँसँग दिल्लीमा भेट भयो । उनले नेपालमा आउने इच्छा व्यक्त गरे । भारतीय क्रिकेट टिमको प्रायोजक जिटिभीका अध्यक्ष सुवास चन्दसँग पनि कुराकानी भयो । उनीहरूले नेपालमै मैदान बनाउने इच्छा देखाए । मोरक्को र मलेसियामा पनि उनीहरूले सम्भावित मैदानका लागि अध्ययन गरेका थिए ।

 

१९९२ मा हाम्रोमा आएर हल्चोक मैदान हेरे । तर उनीहरूलाई चित्त बुझेन । त्यसपछि त्रिभुवन विश्वविद्यालयको मैदान हेरे । तत्कालीन उपकुलपति मंगलसिद्धि मानन्धरले लिजमा यो मैदान पाँच वर्षका लागि दिनुभयो । जिटिभीले नै यो मैदान तयार गरिदियो । यसको केही वर्षभित्रै क्रिकेट संघले भक्तपुरस्थित सैनिक आवासिय विद्यालय, जावलाखेलको सेन्ट जेभियर्स र पुल्चोकको इन्जिनियरिङ कलेजमा पनि मैदान बनायो ।

 

...अनि क्रिकेटमा राजनीति घुस्यो

 

सन् १९९८ ताका आईसीसीको केन्द्रीय कार्यालय सार्ने कुरा आयो । यसको मुख्य कारण थियो : लन्डनमा भवन राखेबापत बेलायत सरकारलाई तिर्नुपरेको चर्को कर । कार्यालय भवन दुबईमा सार्ने र एकेडेमी नेपालमा राख्ने योजना आईसीसीको थियो ।

 

उपेन्द्र भट्टराईको संयोजकत्वमा काठमाडौंको मूलपानीमा क्रिकेट एकेडेमी बनाउने तयारी गर्‍यौँ । नेपाल सरकारले पनि यसमा ६ करोड रुपैयाँ लगानी गर्ने भयो । आइसिसी पनि सकारात्मक थियो ।

 

तर, यो परियोजना बनाउने भएसँगै क्रिकेटमा राजनीति घुस्यो । तत्कालीन राखेप सदस्यसचिव विनोदशंकर पालिखेले पोखरामा परियोजना लैजानका लागि दबाब दिए । केही राजनीतिज्ञले वीरगन्जमा लैजानुपर्ने माग गरे । तर, त्यहाँ पाँचतारे होटेल नभएकाले आइसिसी सहमत थिएन ।

 

पोखराकी काठमाडौं भनेर यहाँ पाँच–सात वर्ष नै विवाद चल्यो । यही वेला दुबईका राजाले आफ्नै खर्चमा त्यहाँ स्पोर्टस् कम्प्लेक्स बनाइसकेका रहेछन् । आइसिसी त्यही कम्प्लेक्समा सर्‍यो । यसपछि अन्तर्राष्ट्रिय एकेडेमी नभए पनि नेपाल एकेडेमी बनाउनका लागि मैले आइसिसीलाई सहयोग मागेको थिएँ । त्यहाँबाट सकारात्मक जवाफ पनि आएको थियो । तर, दुबई त्यत्रो मैदान बनेर आइसिसी सरिसक्दा पनि हाम्रोमा कुन ठाउँमा मैदान बनाउने भन्ने तय भइसकेको थिएन । यदि कुनै विवाद नगरी ठाउँ टुंग्याएको भए एसिसी र आइसिसीको अनुदानमा भव्य मैदान बन्ने थियो ।

 

मैले सचिव छँदा र अध्यक्षका रूपमा (सन् २००६–२०११) सम्म देखेको नेपाली क्रिकेटको मुख्य समस्या पूर्वाधारको कमी हो । यसमा राज्यले पर्याप्त ध्यान दिएको देखिन्न ।

 

यदि, आइसिसीले एकेडेमी बनाउन चासो दिएका वेला हामीले राजनीति नगरेको भए हाम्रो पूर्वाधार र क्रिकेटको स्तर अझै माथि पुग्ने थियो । अझैसम्म पनि अभ्यासका लागि जुन उपकरण र मैदान हुनुपर्ने थियो, त्यसको कमी छ । धेरै दर्शक क्षमता अट्ने मैदान बनाउँछौँ भनेर हल्ला धेरै भयो । तर, अहिलेसम्म पनि त्रिवि मैदानबाट नेपाल उठ्न सकेको छैन । यो दुःखद पक्ष हो । तर, यसका बाबजुद पनि उमेर समूहदेखि सिनियर टिमसम्म नेपालले हासिल गरेको सफलता उदाहरणीय छ ।

 

सन् १९९७ मा आइसिसी र एसिसीको मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा पाइला राखेको हो । आधिकारिक रूपमा नेपालमा क्रिकेट सन् १९२५ देखि सुरु भएको मानिन्छ । त्यसताका नेपालमा दुई क्रिकेट टोली थिए । मदनशमशेरले १९३५ मा आफ्नो श्रीदरबार–११ नाम राखेर व्यक्तिगत क्रिकेट टोलीको स्थापना गरे । सन् १९४८ मा क्यानको स्थापना भयो । सन् १९४८ मा राणाशासनको पतनसँगै राणापरिवार र मित्रबाहेक आमनेपाली जनताले पनि क्रिकेट खेल्न थाले ।

 

सन् १९८८ मा नेपालले आइसिसी र एसिसीको एफिलिएट सदस्यको मान्यता पायो । सन् १९९६ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो । सुरुका दुई खेलमा नेपालले ब्रुनाई र जापानलाई निराश पार्‍यो । ६ टोलीबीच भएको प्रतिस्पर्धामा नेपाल चौथो भयो । सन् १९९८ मा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा एसिसी ट्रफी आयोजना गर्दै भौतिक पूर्वाधार निर्माण्ँको थालनी गर्‍यो ।

 

सन् २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो । सन् २००३ मा नेपालले इमर्जिङ नेसन्स कप आयोजना गर्दै उपाधि जित्यो । सन् २००४ मा नेपालले पहिलोपल्ट आइसिसी इन्टरकन्टिनेन्टल कपका नाममा प्रथम श्रेणीको क्रिकेट खेल्यो । सन् २००४ मा एसिसी फास्टट्र्याक नेसन्स प्रतियोगितामा नेपाल तेस्रो हुँदै सन् २००५ को एसिसी ट्रफीका लागि छानियो । नेपालले सन् २००८ मा एकदिवसीय क्रिकेट प्रतियोगिता छनोट खेलका रूपमा लिइएको विश्व क्रिकेट डिभिजन–५ मा प्रतिस्पर्धा गर्‍यो, जहाँ नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भयो ।

 

सन् २०१० मा डिभिजन–५, सन् २०१२ मा डिभिजन–४ र सन् २०१३ मा डिभिजन–३ को विजेता हुँदै नेपाल सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप छनोटमा प्रवेश गर्‍यो । २०१३ मा एसिसी टी–२० कपमा उपविजेता हुँदै नेपालले सन् २०१४ को टी–२० विश्वकपलाई छनोट भएको थियो । त्यसपछि नेपालले एकै पटक दश वर्षपछि सन् २०२४ को विश्वकप खेलेको हो ।