• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
डर्बी स्याक्सबे
२०८१ असार ३० शनिबार ०७:४०:००
अनुवाद

पितृत्व पुरुष मस्तिष्कको सञ्जीवनी

२०८१ असार ३० शनिबार ०७:४०:००
डर्बी स्याक्सबे

 

जन्मदर घट्दो क्रममा रहेको र मानिसले एक्लोपन महसुस गर्न थालेको समयमा पुरुषहरूलाई ‘बुबाको भूमिका’ले एउटा अंकुशको काम गर्नेछ, सम्बन्धमा बाँधेर राख्नेछ

 

हालै एकजना तीन सन्तानका पिताले मलाई भने, ‘यदि म अतीतमा फर्कन सक्थेँ भने सक्दो छिटो बच्चा जन्माउने सल्लाह दिने थिएँ ।’ पितृत्व (वात्सल्य)ले उनलाई बदलिदियो । अर्थात्, पितृत्वले उनको जीवनलाई उद्देश्यपूर्ण, सार्थक बनाइदिएको छ । न्युरोसाइन्स (स्नायु विज्ञान) उनको कथनसँग सहमति जनाउँछ ।

 

मेरो अनुसन्धानशालाले जब पुरुषहरू पिता बन्छन्, तब उनीहरूको मस्तिष्क कसरी परिवर्तन हुन्छ भनेर अनुसन्धान गर्छ । अध्ययनबाट हामीले पितृत्व–वात्सल्य दिमाग र शरीर दुवैका लागि परिवर्तनकारी हुने तथ्यहरू भेटिरहेका छौँ । ‘नयाँ बुबा’हरूमा हामीले साक्षात्कार गरेका मस्तिष्क र हर्माेनगत परिवर्तनले हामीलाई प्रकृतिले पुरुषहरू पनि बच्चाको स्याहारमा सहभागी होऊन् भन्ने चाहेको बताउँछ । किनकि, प्रकृतिले उनीहरूलाई यसै किसिमको न्युरोबायोलोजिकल आर्किटेक्चरले सुसज्जित गरेको देखिन्छ । बच्चाको स्याहारलाई अक्सर आमाको जिम्मेवारी ठानिन्छ । तर, यी तथ्यले बच्चाको स्याहारको आधारभूत प्रवृत्ति पुरुषमा पनि रहेको संकेत गर्छन् । यति मात्र होइन, पितृत्वमा संलग्नताले मस्तिष्कको स्वास्थ्यका साथै स्वस्थ समाजका लागि समेत दीर्घकालीन फाइदा गर्न सक्छ । पुरुषहरूले सामाजिक एकांगीपन तथा पेसागत सम्भावनामा संकुचन साक्षात्कार गरिरहेको समयमा पितृत्वको भूमिका उनीहरूका लागि पहिचानको अर्थपूर्ण स्रोत हुन सक्छ । तथापि पितृत्वमा संक्रमण एउटा नाजुक समयसमेत हो । यसैले नयाँ–नयाँ बुबा बनेकाहरूलाई सहयोग नीति–निर्माताहरूको प्राथमिकता हुनुपर्छ ।

 

सन् २०२२ मा एउटा अध्ययनका लागि मेरा सहकर्मी र मैले स्पेनका अनुसन्धातासँग सहकार्य गरेका थियौँ । सो अध्ययनमा हामीले पहिलोपटक बुबा बनेका पुरुषहरूको सानो संख्याबाट तिनले पहिलो सन्तान जन्माउनुअघि र पछिको समयका तिनको मस्तिष्कको ‘स्क्यान’हरू संकलन गर्‍यौँ । यस अध्ययनको नतिजा यिनै अनुसन्धानकर्ताले ‘आमा’माथि गरेका यसै प्रकृतिको अध्ययनसँग मिल्दोजुल्दो आयो । ती अध्येताले थुप्रै महत्वपूर्ण अध्ययनमा महिलाहरू आमा बन्दा तिनको मस्तिष्कको ‘ग्रे म्याटर’को भोल्युम घटेको पाए । ग्रे म्याटर मस्तिष्कमा न्युरोनहरूले भरिपूर्ण तन्तुहरूको तह हो । मस्तिष्कको यो हिस्सा सामाजिक एवं भावनात्मक प्रक्रियाका लागि जिम्मेवार क्षेत्र हो । 

 

मस्तिष्कको यो संकुचन खराब समाचारजस्तो सुनिए पनि कुरा यसो होइन । यी परिवर्तनले मस्तिष्कलाई अझ कुशलतापूर्वक काम गर्न सक्ने बनाउन सक्छन् । किशोर मस्तिष्कले पनि विकसित हुने क्रममा आफ्नो ‘ग्रे म्याटर’लाई घटाउँदै लैजान्छ । जुन महिलाको मस्तिष्कको ‘ग्रे म्याटर’ धेरै संकुचित भएको वा घटेको थियो, तिनले बच्चा जन्माएपछि आफ्ना शिशुप्रति थप बलियो अनुराग (बोन्ड) देखाएका थिए । यो संकुचनले मातृ–शिशु बन्धनमा वृद्धिको संकेत गर्छ ।

 

बुबाहरूको सम्बन्धमा पनि हाम्रो अध्ययनको नतिजा यस्तै छ । पुरुषहरूले पनि पितृत्व अनुभव गरिरहेको समयमा ‘ग्रे म्याटर’ गुमाएका थिए । नयाँ–नयाँ मातृत्व अनुभव गरेका महिलाको मस्तिष्कमा जुन भागमा परिवर्तन पाइएको थियो, लगभग पुरुषहरूको पनि मस्तिष्कको उसै हिस्सामा परिवर्तन पाइयो । यद्यपि पिता बनेका पुरुषको ‘ग्रे म्याटर’को भोल्युम महिलाको तुलनामा कम घटेको थियो । आमाहरूमा पाइएको नतिजा यति आश्चर्यजनक थिए कि मेसिन–लर्निङ एल्गोरिदमले आमाहरू र गैरआमाहरूलाई उनीहरूको मस्तिष्कको ‘स्क्यान’द्वारा नै छुट्याउन सक्यो । पुरुषमा यस्तो परिवर्तन उत्तिको सुस्पष्ट थिएन । मेरो आशंका के भने बुबाहरूमा अभिभावकत्वको संलग्नताका स्तरमा धेरै भिन्नता हुनाले पुरुषको मस्तिष्कका परिवर्तन कम स्पष्ट देखिएको हुनुपर्छ ।

 

हामीले यो सिद्धान्तलाई हाम्रो फलो–अप अध्ययनमा पनि परीक्षण गर्याैं । त्यसमा हामीले बुबाहरूले सन्तान जन्मनुअघि र पछि आफ्ना बच्चाबारे कस्तो महसुस गरे भनेर मापन गर्‍यौँ । जन्मन बाँकी रहेको आफ्नो बच्चासँग लगाव महसुस गरेका र शिशुको जन्मपछि कामबाट बढीभन्दा बढी समय निकाल्ने विचार गरेका बुबाहरूको कोर्टेक्समा ‘ग्रे म्याटर’को भोल्युम घटेको थियो । मस्तिष्कको यो भागले उच्च–चिन्तन गर्छ । यसैगरी, जन्मेको तीन महिना आफ्ना शिशुहरूको हेरचाहमा बढी समय बिताएका बुबाहरूको पनि ‘ग्रे म्याटर’ निकै कम भएको पाइयो । ग्रे म्याटरको भोल्युम धेरै गुमाएका बुबाहरूले आफू सन्तानसँग धेरै रमाएको र जसका कारण हेरचाहको तनाव कम भएको पनि बताए ।

 

तर, मस्तिष्कमा यस्तो संकुचनका पनि नकारात्मक असर हुन सक्छन् । हामीले के पायौँ भने ग्रे म्याटर धेरै गुमाएका बुबाहरूमा बच्चा जन्मिएको पहिलो वर्ष अनिद्राका साथै डिप्रेसन र चिन्ताको अधिक लक्षण पाइए । निष्कर्षमा पुग्न पुरुषहरूबाट ठूलो संख्यामा नमुना लिएर अध्ययन गर्न आवश्यक छ । यद्यपि हाम्रो प्रारम्भिक निष्कर्ष के छ भने वात्सल्यमा संलग्न ‘पितृ–मस्तिष्क’ले पुरुषहरूको कल्याणमा जोखिमको संकेत पनि दिन्छ ।

 

शिशुको हेरचाह थकाइलाग्दो र एकान्तिकजस्तो पनि हुन सक्छ । यसले आमाहरूलाई जस्तै यसमा संलग्न बुबाहरूलाई पनि असर गर्न सक्छ । यो कुरा बुझ्न सकिन्छ । हाम्रो प्रयोगशालाले पुरुषहरूको टेस्टोस्टेरोनको सम्बन्धमा यस्तै ढाँचा फेला पारेको छ, जुन नवपितृत्वको समयावधिमा थप कम हुन सक्छ । टेस्टोस्टेरोनमा कमी आउँदा यौनचाहना तथा निद्रालगायत कमी आएर अभिभावकत्वमा बुबाको लगानीलाई बढावा मिलेजस्तो त देखिन्छ, तर यसले पोस्टपार्टम–डिप्रेसन (सुत्केरीपछिको अवसाद)को जोखिम पनि बढाउन सक्छ ।

 

यति हुँदाहुँदै पनि अधिकांश बुबाहरूले आफ्ना सन्तानसँगको सम्बन्धबाट जीवनमा ठूलो अर्थ र उपादेयता पाएको हामीलाई बताए । समकालीन बुबाहरूले आमाहरूले जत्तिकै आफ्नो पहिचानको केन्द्रबिन्दु अभिभावकत्व (वात्सल्य) भएको दाबी गर्न सक्ने सम्भावना छ । साथै पुरुषहरूले महिलाहरूको तुलनामा बच्चाले आफ्नो कल्याणमा सुधार भएको बताउने सम्भावना पनि अझ बढी हुन्छ । साथै, पछिल्ला तथ्यांकले अभिभावकत्वले अन्ततः मस्तिष्कको दीर्घकालीन स्वास्थ्यलाई बढावा दिन सक्ने देखाउँछन् । पुरुष र महिलाहरूमा, मस्तिष्कको उमेरसम्बन्धी एउटा अल्गोरिदमले बच्चा भएका व्यक्तिहरूको मस्तिष्क तुलनात्मक रूपमा जवान भएको देखाएको छ ।

 

पुरुषहरूका लागि, मस्तिष्कको यो परिवर्तन सायद राम्रो कुरा हो, भलै यसले कमजोरीलाई पनि उजागर गरोस् । पोडकास्टर र बुझक्कडहरू पुरुषहरूलाई प्रतिद्वन्द्विता, आइस बाथ, भारोत्तोलन र ‘रेड लाइट थेरापी’को माध्यमबाट आफ्नो टेस्टोस्टेरोनको लेबल वृद्धि गरी पुरुषत्व बढाउन आग्रह गर्ने गर्छन् । तर, यहाँनेर उनीहरूले पुरुषहरूको स्वास्थ्यको कुरालाई भने छुटाउँछन् । सुन्दर जीवनका लागि बदलिँदो मागअनुसार ढल्न सक्ने फिजियोलोजी पनि चाहिन्छ ।

 

मेरो ल्याबले बाबु बन्न गइरहेका एक सयभन्दा बढी पुरुषसँग अन्तर्वार्ता गरेको छ । विषयचाहिँ ‘रूपान्तरण’ थियो । मैले पितृत्वलाई प्रत्यक्ष साक्षात्कार गरेको छु । सन् १९८० को दशकमा मेरो आमाबाबुको सम्बन्धविच्छेद भएपछि र मलाई संयुक्त संरक्षणमा राख्न सहमत भएपछि, मेरो बुबा मेरो प्रत्येक अर्काे हप्ताका एकल अभिभावक थिए । यदि तपाईंले उहाँलाई पितृत्वको त्यो अनुभवका बारेमा अहिले सोध्नुभयो भने उहाँले यसलाई ठूलो ‘आनन्द’ भन्नुहुनेछ । उहाँले हामीले उसलाई धैर्य र सहनशीलता सिकायौँ भन्नुहुनेछ । 

 

रूपान्तरणका लागि समय र अभ्यासको आवश्यकता पर्छ । यसर्थ, एउटा स्वस्थ समाजले बन्धन (बोन्ड)लाई बढावा दिने र प्रारम्भिक अभिभावकत्वका तनाव कम गर्ने नीतिमा लगानी गर्छ । जस्तो कि पारिवारिक बिदा र कार्यस्थल संस्कृतिमा । यसले बुबाहरूलाई अभिभावकत्वलाई प्राथमिकता दिन अनुमति दिन्छ । हामीले के बुझ्नुपर्छ भने पितृत्वले पुरुषहरूलाई त्यसरी नै परिवर्तन गर्छ, जसरी महिला र शिशुहरूको हेरचाहमा समय दिने अरू कसैलाई परिवर्तन गर्छ । जन्मदर घट्दो क्रममा रहेको र मानिसहरूले एक्लोपन महसुस गर्न थालेको समयमा, पुरुषहरूलाई ‘बुबाको भूमिका’ले एउटा अंकुशको काम गर्नेछ, सम्बन्धमा बाँधेर राख्नेछ ।

 

(पितृत्व (वात्सल्य)ले मस्तिष्कमा कसरी परिवर्तन ल्याउँछ भन्ने विषयमा पुस्तक लेखिरहेकी स्याक्सबे युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाकी मनोविज्ञानकी प्राध्यापक हुन् ।) 

 

– द न्युयोर्क टाइम्सबाट नारायण शिवाकोटीको अनुवाद