• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
टेकराज थामी
२०८१ असार ३० शनिबार ०८:२५:००
समाज

...जहाँ थामीको स्वतन्त्र राज्य थियो 

२०८१ असार ३० शनिबार ०८:२५:००
टेकराज थामी

 

सभ्यता मौलाएको त्यो ठाउँको गाउँ, खोला, पहाड, जंगलका नाम अझै थामी भाषामै छन्

 

थामीले आफूलाई थाङ्मी भन्न रुचाउँछन् । पछिल्ला दिनमा थामी जातिका मानिसले ‘थम्बु’बाट पनि आफूलाई परिचित गराएको पाइन्छ । नेपाल थामी समाजका पूर्वअध्यक्ष कुम्भलाल थामीका अनुसार थामी शब्द थान्मीको अपभ्रंशित रूप हो । उनले थामी जातिको उत्पत्तिलाई महाभारतसँग जोडेका छन् । महाभारतकालमा स्थापना भएको दोलखास्थित भीमसेनथानको मन्दिरको सम्पूर्ण दायित्व र भार थामेर बस्ने भएको हुँदा उनीहरूलाई थान्मी भनिएको बताइन्छ । भाषाशास्त्री मार्क टुरिनबाट लिखित ‘द चेन्जिङ फेस अफ ल्याङ्ग्वेज एन्ड लिंग्विस्टिक इन नेपाल सम थट अफ थाङ्मी’ शीर्षकको लेखमा उल्लेख गरेअनुसार तिब्बत र नेपालको सीमा क्षेत्रमा बसोवास गर्ने मानिसहरू नै अहिलेका थामी हुन् । 

 

थामी, थाङ्मी वा थम्बू जसरी सम्बोधन गरिए पनि यी समुदाय नेपालका आदिवासी हुन् । जसको आफ्नै सभ्यता छ । इतिहासको कुनै कालखण्डमा थामीको स्वतन्त्र राज्य थियो । फ्रान्सेली लेखक सिल्भाँ लेभी त थामीले सन् १७६८ सम्म पनि स्वतन्त्र राज्य चलाउने गरेको तथ्य प्रस्तुत गर्छन् । उनले प्रस्तुत गरेको तथ्यअनुसार थामीको राज्य भादगाउँ (हाल भक्तपुर) पूर्वको अन्तिम सिमानातर्फ थियो । भादगाउँबाट उक्त राज्यमा हिँडेर जान ५–६ दिन लाथ्यो ।

 

गोरखा राज्य बलियो हुँदै गयो । किरातहरूको राज्य गोरखामा गाभियो । अहिलेसम्म पनि दुधकोशी र अरुणबीचको भूभागलाई किरात नै भनिन्छ । तर किराती राज्य यो भूभागभन्दा धेरै ठूलो थियो । नेपालको पूर्वको सिमानासम्म फैलिएको थियो । यहाँ रहेका खम्बू, लिम्बू, याख्खा साथै सुनुवार, हायू र थामीहरू यससँग सम्बन्धित छन् (लेभी, २००७, पे.५२) । 

 

लेभीका अनुसार किरातहरूले नेपाल (काठमाडौं उपत्यकासहित आसपासका क्षेत्र)मा २९ पुस्तासम्म शासन गरे । जसको शासन अवधि एक हजार पाँच सय ८१ वर्षसम्म हुन आउँछ । किरातले नेपालमा शासन गरेको अवधि भनेको गोपाल र लिच्छवि शासन व्यवस्थाबिचको कालखण्ड हो । त्यो भनेको इ.पू. १००० देखियता इसाको ५०० सम्मको कालखण्ड हो । यस अवधिमा यलम्बर, पबी, स्कन्धर, हुती, हुमती, जितेदास्ती, गली, पुस्त, सूर्याम, सुनुन्द, थुङ्का/थुमु, स्वनन्दा, स्थुन्का/थुम्को, गिघ्री, नाने/थुर, लुक/लुके/थामु, थोर, थोको, बर्मा, गुज, पुस्क, केसु, सुग/गोन्थो, सन्स, गुनन, खिम्बू, पटुक र गस्ती राजा भए (लेभी, २००७ पे.५३,५४,५५) ।

 

उल्लिखित राजाका नामावलीमध्ये थुङ्का/थुमु, स्थुन्का/थुम्को, थुर, थामु, थोर, थोकोर गोन्थो वर्तमान थामी शब्दावलीसँग मेल खान्छ । हालका थामी किरात वंशभित्रका समुदाय भन्नेमा विवाद छैन । त्यसो हुँदा उल्लिखित थामी शब्दावलीसँग मेल खाने ६ राजा थामीका पुर्खा थिए भन्ने निष्कर्ष निस्कन्छ ।

 

वंशावलीअनुसार थुङ्का/थुमले ३७/५८ वर्ष, स्थुन्का/थुम्कोले ५९ वर्ष, थुरले ७१ वर्ष, थामुले ८३ वर्ष, थोरले ३९ वर्ष, थोकोले ५० वर्ष र गोन्थोेले ७४ वर्ष शासन चलाएका थिए (लेभी, २००७, पे.५३, ५४, ५५) । उनीहरूको राजधानी भक्तपुरआसपास थियो । भक्तपुरलाई नेवारी भाषामा ख्वप भन्ने गरिन्छ । तर, खासमा ख्वप नेवारी नभई किराती भाषा हो । किनकि किरातीले भक्तपुरलाई आफ्नो शासनकालमा भक्तपुर नभनी माखोप्रिङ, खोपृङ भन्ने गर्थे ।

 

लिच्छवि राजा मानदेवको पालामा उल्लिखित सिलालेखले यो तथ्यलाई पुष्टि गर्छ । देवपाटनको रत्न संघमा मानदेवको पालामा लेखिएको एउटा शिलालेख छ । जसमा भक्तपुरलाई ‘खोपाङ ग्राम’ भनिएको छ । त्यस्तै, भक्तपुरको खलाछेँ टोलमा पनि मानदेवकै पालामा लेखिएको अर्को शिलालेख छ । त्यहाँ पनि भक्तपुरलाई ‘खृपाङ’ भनी सम्बोधन गरिएको छ ।

 

खोपाङ, खोप्राङ, खोपृङ खासमा किरातीभित्र पनि थामी भाषाका नाम हुन् । खोपाङ, खोप्राङ र खृपाङको अपभ्रंशित रूप नै नेवारी भाषाको ख्वप हो । चाँगु र थिमी/ठिमी पनि थामी शब्दावलीसँग सम्बन्धित छन् । यसको अर्थ उल्लिखित थुङ्का/थुमु, स्थुन्का/थुम्को, थुर, थामु, थोर, थोको र गोन्थो राजाको राजधानी खोपाङ/खोप्राङ/खोपृङ(ख्वप)मा थियो भन्ने निष्कर्षमा पुगिन्छ ।

 

इतिहासको कालखण्डमा भक्तपुर थामीको राजधानी रहेको विषयलाई दोलखाको बिगु गापा–७ र ८ स्थित गाउँको नामकरण ख्वप र चागुसँग मिल्दोजुल्दो हुनुले पनि पुष्टि गर्छ । जस्तो बिगु–७ स्थित गाउँलाई खोपाचागु भनिन्छ । खोपाचागु खोपा+चागुको संयोजित रूप हो । खोपा शब्द खोपाङ/खोप्राङ/खोपृङ(ख्वप)को स्थानान्तरित रूप हो । चागु शब्दको भने रूप परिवर्तन भएन ।

 

त्यस्तै, बिगु–८ मा थामीचागु छ । थामीचागु थामी+चागुको संयोजित रूप हो । यस शब्दावलीमा आएको चागु भक्तपुरबाटै स्थानान्तरित भएर गएको हो । यी दुवै गाउँमा थामीको घना बस्ती छ । उक्त बस्तीसँग थामीको ऐतिहासिक सम्बन्ध छ ।

 

किराती अन्तिम राजा गस्तीलाई लिच्छविहरूले युद्धमा नराम्रोसँग हराए । गस्तीको ठाउँमा अब सुपुष्प देव राजा भए । उनले किरातहरूलाई चर्को दमन गरे । ज्यान जोगाउन किरातीहरू भक्तपुरको पूर्वतर्फ भागे । सुपुष्पदेवपछि हरिदत्तदेव र उनीपछि मानदेव शासनसत्तामा आए । मानदेवले पूर्वका किरात सामान्तहरूलाई नियन्त्रणमा लिएर अझ दमनपूर्वक शासन चलाए (आचार्य, गौतम, बराल, २०८०, पे.५३) । उनको पालामा नेपालको सीमा पूर्वमा कोशी, पश्चिममा गण्डकी र उत्तरमा हिमालयसम्म विस्तार भएको थियो (पौडेल, दाहाल, ढकाल, खनाल, घिमिरे, भट्टराई, २०८०, पे.४६) ।

 

मानदेवको दमनमा पर्नेमा त्यसवेलाका अन्य किरात समुदायझैँ थामी पनि थिए । दमन सहन नसकेर उनीहरू ज्यान जोगाउन सुरक्षित ठाउँको खोजीमा निस्के । यही क्रममा उनीहरू राङ्राङथाली (हाल दोलखा भीमेश्वर नपा–१ मा पर्छ) पुगे । बन्जर जंगल फँडानी गरे । बस्ती विस्तार गरे । राङ्राङथाली आसपासका क्षेत्रलाई सुस्पा पनि भनिन्छ । सुस्पा थामी भाषाको शब्दावली हो । सुल्सिसा भन्ने शब्दालीबाट सुस्पा बनेको हो । जसको अर्थ हुन्छ– लुक्नु वा लुक्ने ठाउँ । अर्थात्, तत्कालीन शासकको दमनबाट जोगिन थामीहरूले सुस्पालाई चुनेका थिए । कालान्तरमा सोही ठाउँबाट थामीको बस्तीसँगै वंश विस्तार भयो । सन् १७६८ (वि.सं.१८२५) सम्म आइपुग्दा उनीहरूको बस्ती हरेलङ्का (पूर्व)मा दोलखास्थित टानिटापुर (गौरीशंकर पर्वत), थरेलङ्का (पश्चिम)मा सिन्धुपाल्चोकको राम्चे हुँदै तातोपानी, गोलाइलङ्का (उत्तर)मा चीनको स्वशासित क्षेत्र तिब्बत र नक्सालङ्का (दक्षिण)मा दोलखाको तामाजोर (जिरी)सम्म फैलिएको थियो । जसलाई थाङ्मी (थामी) भाषामा ‘थाङ्मी राड्डे’ भनिथ्यो । जहाँ थामीले स्वतन्त्र राज्यको अभ्यास गरेका थिए । थामी सभ्यता मौलाएको यही समयमा हो । उक्त क्षेत्रमा गाउँ, खोला, पहाड, जंगलका नामावली थामी भाषामा रहनु यसका प्रमाण हुन् ।

 

थामी भाषामा राखिएका दोलखाका उत्तरी क्षेत्रका केही स्थाननामहरू– राङ्राङथाली, सुस्पा, डोक्थली, कुथेली, लापिलाङ, गुजरिपा, माकारथाली, कुसाहाती, चाइबाटा, आइबाटा, बाटा, टुवाँपा, क्याङ्पोल, बेगुम्पा, ड्योत्मोआपो, सोनाआपो, लाइस्याप, चिœया, लेप्टुङ आदि ।

 

इतिहासकार धन बज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रूपरेखा नामक पुस्तकमा थामी दोलखाको मूलवासी रहेको उल्लेख छ । दोलखाको लिस्तीटोलस्थित नारायणको मन्दिरमा जितादेवको पालाको अभिलेख छ । वि.सं. १६२४ को उक्त अभिलेखमा दोलखा आसपास बसोवास गर्ने नेवार, संज (तामाङ र शेर्पा) र थामीको चर्चा गरिएको छ । त्यसो हुँदा दोलखाका मूल बासिन्दा नेवार, संज र थामी हुन् (बज्राचार्य, श्रेष्ठ, २०३१, पे. ६७) । 

 

दोलखा आसपासका क्षेत्रमा थामीको छुट्टै राज्य थियो । हाइहाइ राजा, हुइहुइ राजा, स्युस्यु राजा उनीहरूका राजा थिए (बज्राचार्य, श्रेष्ठ, २०३१, पे.१६) । लेख्य प्रमाण फेला नपरेका तर अनुश्रुतिमा आधारित उक्त तथ्य सही रहेको उक्त पुस्तकमा उल्लेख छ ।

 

थामी पालाखे/मुन्दुमलाई आधार मान्ने हो भने थामीको ऐतिहासिक पृष्ठभूमि सिम्रौनगढसँग जोडिन्छ । युद्धमा पराजित भएपछि ज्यान जोगाउन सिमाङघाट (सिम्रौनगढ)बाट केही मानिस उत्तरतर्फ लागे । सोहीमध्येका थिए, यापा र सोना नामका दम्पती । उनीहरू तामाकोशीको तिरैतिर उकालो लागे । नागदहमा पुगेपछि उनीहरू कुथेली खोलाको तिरैतिर उकालो लागे । उनीहरू राङ्राङथाली पुगे । गुम्फा आपोमा बसे । सोही ठाउँबाट उनीहरूले बस्ती विस्तार गरे । हालका थामी उनीहरूकै सन्तान हुन् ।

 

पालाखेमा आउने सिमाङघाट नै बारास्थित सिम्रौनगढ हो भने सबैभन्दा अघि सिम्रौनगढको ऐतिहासिक पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ । सिम्रौनगढमा राज्य स्थापना गर्ने नान्यदेव थिए । उनले वि.संं. ११५४ मा कर्नाटक वंशको राज्य स्थापना गरेका थिए । उक्त राज्य दुई शताब्दीसम्म चल्यो । वि.सं. १३८३ (इ.सं.१३२६)मा दिल्लीका सुल्तान गयासुद्दिन तुगलकले सिम्रौनगढमा बर्बर आक्रमण गरे । त्यसवेला सिम्रौनगढमा हरिसिंहदेव राजा थिए । उनी छोरा, परिवारका अन्य सदस्य र मन्त्रीसहित सुरक्षित आश्रयस्थल खोजी गर्दै दोलखातर्फ लागे । उनको तीनपटनामा मृत्यु भयो । उनीसँगै आएकाहरू भने कैदमा परे (आचार्य, २०७६, पे.९०) ।

 

मुन्दुमलाई आधार मान्दा थामीको ऐतिहासिक पृष्ठभूमि वि.संं. ११५४ भन्दा अघि जाँदैन । तर, इतिहासका अध्येताहरूले फेला पारेका प्रमाणलाई आधार मान्दा थामीको ऐतिहासिक पृष्ठभूमि २५ सय वर्षभन्दा पुरानो देखिन्छ । किनकि, थुङ्का/थुमु, स्थुन्का/थुम्को, थुर, थामु, थोर, थोको र गोन्थो सोही समयमा शासन चलाएका थिए । त्यसो हुँदा मुन्दुममा उच्चारण हुने सिमाङघाट नान्यदेवले स्थापना गरेको सिम्रौनगढ नभई अर्कै भएको निष्कर्षमा पुगिन्छ ।

 

उल्लिखित तथ्य विश्लेषणपछि आजका अल्पसंख्यक थामी इतिहासको कालखण्डमा मुलुकका शासक थिए भन्ने निष्कर्षमा पुगिन्छ । तर, उनीहरू कालन्तरमा आफ्नै भूमिमा भूमिहीन बन्न पुगे । दोलखामा थामीको राज्य थियो । उनीहरू भूमिपति थिए र उनीहरूमाथि विभिन्न कालखण्डमा तत्कालीन शासकले चर्को कर लगाएको प्रमाण भने प्रशस्त फेला परेका छन् ।