• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
निर्मल अर्याल
२०८१ असार ३० शनिबार ०९:००:००
साहित्य

गोपीचा : एक क्रान्तिकारीको नालीबेली

२०८१ असार ३० शनिबार ०९:००:००
निर्मल अर्याल

 

भनिन्छ, इतिहास जित्नेहरूको मात्र लेखिन्छ । तर, लेखिने हो भने कहिलेकाहीँ हार्नेको इतिहास जित्नेहरूको भन्दा पनि बलशाली बन्न पुग्छ । इतिहासका दमित पात्र गोपी शर्मा अर्थात् ‘गोपीचा’ एक त्यस्तै पराजित पात्र हुन्, जसको कारुणिक अन्त्यसम्मको कहानी लेखाजोखा गर्ने हो भने उनी श्रेष्ठतम ‘वियोगान्त नायक’ कहिलन सक्छन् । ‘काँठ’ क्षेत्रबाट उदाएका सशक्त साहित्यकार विश्व कुइँकेलको उपन्यास ‘गोपीचा’मा जहानियाँ राणाशासनकालमा विभिन्न हन्डर खाँदै गोपी शर्मा कसरी गोपीचामा परिणत भए भन्ने ऐतिहासिक तथ्यलाई रोमाञ्चक एवं मिहिन ढंगले प्रस्तुत गरिएको छ । 

 

प्रशासक (हाल बझाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी) समेत रहेका कुइँकेलको यो कृति आद्योपान्त पढ्दा जोकोहीको रक्तनलीमा ‘प्रेम’ र ‘इन्कलाब’का अवयव सलबलाउन सक्छन् । उपन्यासमा मायाप्रेम, आकर्षण, घृणा, कुण्ठा, विश्वासघात सबैको सन्तुलित उपस्थिति छ । जुद्धशमशेरकालीन युगमा अन्तर्जातीय प्रेम गरेबापत घर–समाजबाट बहिष्कृत हुँदै जातघटुवामा परी ६ वर्षका लागि जेलमा कोचिएपछि त्यहाँ पनि प्रजातन्त्रका खातिर लडिरहेका युगपुरुषहरूलाई सहयोग गरेबापत बीभत्स मृत्युवरण गरेका गोपी नै यस उपन्यासका मुख्य पात्र हुन् । उपन्यासकारका अनुसार हालसम्म पुष्टि भएका तथ्यलाई तोडमोड नगरी आख्यानीकरण गर्ने प्रयास यसमा गरिएको छ । उपन्यासकार स्वघोषणासमेत गर्छन्, ‘गोपी च्यामेलाई आकार दिने प्रयासलाई अनुसन्धानबाट तथ्यपरक परीक्षण गरियो भने लेखनको अभीष्ट पूरा हुनेछ र लेखकले आफूलाई सफल ठान्नेछ ।’ यहाँ ब्राह्मण परिवारमा जन्मे पनि दलित कन्यासँग प्रेमालाप गरेकै कारण तत्कालीन शासकले मुख्य पात्रलाई न त गोपी शर्मा भन्न दियो, न त गोपी च्यामे नै । शासकहरूको नजरमा ऊ अन्ततः ‘गोपीचा’ हुन पुग्यो । काँठ क्षेत्रको तत्कालीन मौलिक परिवेश तथा विशेष्गरी नेवारी संस्कृति तथा रीतिरिवाजलाई यस उपन्यासले केही हदसम्म उजागर गरिदिएको छ । यद्यपि, उपन्यासमा पाठकले औँल्याउन सक्ने केही कमी–कमजोरी अवश्य छन् ।

 

उपन्यासको नायक गोपी पुरेत्याइँ गर्ने परिवारको आवारा सदस्य हो, जसले जीवनलाई सधैँ हल्काफुल्का रूपमा लिन्छ । अध्ययनमा रुचि नराख्ने ऊ घुमफिर गर्न बढी रुचाउँछ । रैथाने बाहुनविरोधी नेवार बेखामानको संगतमा ऊ नेवारी खानपान र संस्कृतिको पारखी बन्छ । उसले राजाको रजत–उत्सव हेर्न जाने सिलसिलामा पहिलोपटक सुनमैचा (दलित कन्या सुनकेशरी) लाई देख्छ र उसलाई प्रेम गर्न थाल्छ । सुनमैचालाई पनि गोपी ‘बाहुन’ मनपर्छ । विवाहको औपचारिकता पूरा गर्न गोपीले सुनमैचाको सिउँदोमा सिन्दुर छर्दै तिलहरी पनि लगाइदिन्छ । तर, उनीहरूको प्रेमलाई न त परिवारले अनुमोदन गर्छ, न त समाजले नै । तत्कालीन क्रुर शासकका लागि भने यो अक्षम्य अपराध थियो, चरम यातनापछि गोपीचाले मृत्युवरण गर्दछ । यो नै उपन्यासको मूल सार हो ।

 

उपन्यासले अन्त्यसम्म पाठकलाई तानेता पनि यहाँ अधुरा पाटा पनि छन् । गोपीकी प्रेमिका सुनकेशरीको सिन्दूर–पोतेपछिको अवस्थाबारे उपन्यास पूर्ण मौन छ । गोपीचाले कठोर सजाय पाइरहँदा सुनकेशरी कस्तो अवस्थाबाट गुज्रिन्, यो विषयको उठान नगरिएबाट उनीप्रति घोर अन्याय भएको अनुमान सामान्य पाठकले सजिलै लगाउन सक्छ । उपन्यास पूर्णतः एक व्यक्ति (गोपीचा) केन्द्रित भएकाले अन्य सबै पात्र गौैण देखिन्छन् । उपन्यासको सुरुमा नै आउने पात्र अर्जुनबारे पछि कहीँकतै उल्लेख नभएबाट जबर्जस्ती त्यस पात्रलाई घुसाउने दृष्टता किन गरियो भन्ने लाग्छ । गोपी शर्माका बहिनीहरू छन् मात्र भनिएको छ, अरू केही उल्लेख छैन । प्राविधिक रूपमा हेर्ने हो भने केही ठाउँमा लगातार शब्दहरू जोडिएका छन् (पृ.३८ को दोस्रो अनुच्छेदको पहिलो हरफ, पृ. ४७ को दोस्रो हरफ) जसले पठनलाई केही असहज बनाउँछ ।

 

विषय प्रसंगमा लौहपुरुष गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठलगायतले गोपीचाबारे आफ्नो संस्मरणमा केही तथ्य उल्लेख गरेका छन् । त्यस्तै इतिहास उत्खनन गर्न माहिर पुरुषोत्तमशमशेर जबरा, प्राध्यापक डाक्टर राजेश गौतम, यादव देवकोटा लगायतले पनि गोपीचाबारे प्रसंग विशेषमा कलम चलाएकै छन् । तर, गहन अनुसन्धानपछि गोपीचाबारे रोचक ऐतिहासिक उपन्यास नै सुम्पिएर उपन्यासकार एवं व्यस्त प्रशासक विश्व कुइँकेलले नेपाली साहित्यलाई ठूलो गुन लगाएका छन् । उपन्यासले निर्माण गर्न खोजेको दृष्टिकोण, शैली–शिल्प र विषयवस्तुसमेतका आधारमा ‘गोपीचा’ विशेष महत्व बोकेको दीर्घजीवी कृति हो । उपन्यासकारकै शब्दमा इतिहासका पानाबाट हराएका–हराइएका देशभक्तप्रतिको सच्चा समर्पण हो । निचोडमा काँठ परिवेशमै आधारित ‘सुगन्धपुर’ कृतिबाट पुस्तक यात्रा थालेका कुइँकेलको यो दोस्रो कृतिले नेपाली साहित्यमा अर्को सुगन्ध थपेको छ ।