• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
विश्वराज पछल्डङ्ग्या
२०८१ असार ३० शनिबार ०९:०३:००
रिपाेर्ट

इतिहास र संस्कृति जोगाउन थारू सांस्कृतिक संग्रहालय

२०८१ असार ३० शनिबार ०९:०३:००
विश्वराज पछल्डङ्ग्या

 

तुलसीपुरबाट करिब ११ किलोमिटर पश्चिममा अवस्थित यो संग्रहालयमा थारू जातिको इतिहास अवलोकन गर्न सकिन्छ

 

दाङ उपत्यकालाई थारू समुदायको उद्गम स्थलका रूपमा लिइन्छ । थारू समुदायले आदिम कालदेखि दाङ उपत्यकामा बसोवास गरेको विभिन्न इतिहासकारले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । यो समुदायको आफ्नो मौलिक भाषा, संस्कृति, संस्कार, रहनसहन, खानपान, चाडपर्व र वेशभूषा छन् । तर, अन्य जातिको बसोवास बढ्दै गएपछि थारू समुदायको मौलिक संस्कृति पनि बिस्तारै लोप हुँदै गएको छ । आधुनिक प्रविधि र विकासले थारू समुदायको संस्कृतिमाथि पनि असर पारेको छ ।

 

नयाँ पुस्ता र गैरथारू समुदायलाई थारू संस्कृति, संस्कार, परम्परा, खानपान र वेशभूषाबारे जानकारी दिन थारू सांस्कृतिक संरक्षण केन्द्रले दंगीशरण गाउँपालिका–३, चखौरामा थारू सांस्कृतिक संग्रहालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । तुलसीपुरबाट करिब ११ किलोमिटर पश्चिममा अवस्थित यो संग्रहालयमा थारू जातिको इतिहास देख्न सकिन्छ । संग्रहालयमा प्रवेश गर्नेबित्तिकै दाङमा राजकाज गरेका थारू राजा दंगीशरण, दंगीशरणले प्रयोग गर्ने वायुपंखी घोडा देख्न सकिन्छ ।

 

यो संग्रहालयमा थारू समुदायको परम्परागत घर, घरभित्र थारू समुदायले प्रयोग गर्ने वस्तु, डिउह्रार, भान्सा र सुत्ने कोठा, डिउह्रार कोठामा गुर्वाले पूजा गरेको, बैठक कोठामा आगो तापेको, जाँतो पिसेको, ढिकी कुटेको, गुर्वाले आछत हेरेको मूर्ति दुरुस्त देख्न सकिन्छ । थारू संस्कृति झल्काउन पालीघर बनाइएको छ । उक्त पालीघरमा राखिएका भेडा, सुँगुर, भैँसी, गाईको प्रतिमूर्ति, गोबरको गुइँठा, दाउराको कट्कौरा र परालको टौवाले थारू समुदायको परम्परागत गाउँलाई जीवित बनाएका छन् ।

 

संग्रहालयमा जन्म, विवाह, मृत्यु संस्कार समेटिएका चित्र, मूर्ति, विवाहमा दुलाहा चढ्ने ड्वाला, दुलही बोक्ने डोली र थारू समुदायले परापूर्वकालदेखि दैनिक जीवनमा प्रयोग गर्दै आएका वस्तु राखिएका छन् । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भने, ‘थारू समुदायमा प्रचलित संस्कार, संस्कृति, परम्परा समेटिएका मूर्ति र चित्रले थारू गाउँ र घरलाई पूर्ण बनाएका छन् ।’ यो संग्रहालयलाई नेपालको मात्र नभई एसियाकै उत्कृष्ट बनाउने लक्ष्य राखिएको थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले बताइन् । ‘थारू संस्कृतिबारे अध्ययन गर्ने विद्यार्थीलाई मात्र नभई थारू भाषा, संस्कार, परम्परा, रीतिरिवाजबारे चासो राख्नेका लागि पनि संग्रहालय उत्तम थलो बनेको छ,’ उनले भनिन् ।