• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका
२०८१ असार ३० शनिबार ०९:४७:००
सम्झना

अभिनेत्री केकी अधिकारीलाई मन परेका ८ पुस्तक

२०८१ असार ३० शनिबार ०९:४७:००
नयाँ पत्रिका

 

मुनामदन

 

लक्ष्मीप्रसाद देवकोटाका धेरै पुस्तक पढेकी छु । तर, ‘मुनामदन’ नै सबैभन्दा प्रिय लाग्छ । यो खण्डकाव्य सानैमा धेरैपटक पढेँ । यसमा तत्कालीन सामाजिक परिवेशको सटिक चित्रण छ । बाध्यतावश आफ्नो मायालु र आमालाई छाडेर बाहिर कमाउन जानुपर्ने, प्रेम र आर्थिक संघर्ष छ । मदनका लागि मुनाको समपर्ण ठूलो छ । उसको बिरामी आमालाई हेरेर बसेकी छे । नेपाली साहित्य र चलचित्रमा पनि प्रेम र समर्पणको कुरा आउँदा ‘मुनामदन’लाई मानककै रूपमा लिइन्छ । यो खण्डकाव्य अहिले पनि निकै सान्दर्भिक छ । हाम्रा दाजुभाइ–दिदीबहिनी अहिले पनि विदेश जानुहुन्छ । परिवेश भिन्न हुनुका बाबजुद पनि अहिले पनि यो उत्तिकै चर्चित छ । 

 

मोदीआइन 

 

बिपी कोइरालाका धेरै पुस्तक राम्रा छन् । ‘मोदीआइन’ मलाई विशेष लाग्छ । कुरुक्षेत्रको लडाइँलाई एउटी सेनाकी श्रीमतीको दृष्टिकोणबाट देखाइएको छ । सानो र सटिक छ । ती गर्भवती महिला युद्ध नहोस् भन्ने कामना गरेर बसिरहेकी हुन्छिन् । अन्ततः युद्ध हुन्छ । त्यसपछि घाम डुब्ला, युद्धविराम होला र श्रीमान् फर्किएर आउलान् भनेर उनी कुरेर बसिरहेकी हुन्छिन् । कौरवका तर्फबाट पाण्डवसँग श्रीमान्ले लडिरहेका हुन्छन् । अर्कोतर्फ, उसका दाजुभाइ र बाबु पाण्डवका तर्फबाट लडेका हुन्छन् । यो अलग कोणबाट लेखिएको छ । यो निकै उत्कृष्ट छ । 

 

सेतो धरती

 

अमर न्यौपानेका पुस्तक मलाई अति मन पर्छन् । ‘सेतो धरती’ त्यसमध्ये पनि मलाई विशेष लाग्छ । ‘बोक्सीको घर’ निर्माण गर्दा फेरि पढेँ । विधवाको कथा अझै गहिरो गरी बुझ्न पनि यसले सघाउँछ । ‘बोक्सीको घर’मा मैले विधवाको भूमिका गर्नुपर्ने थियो । सेतो रंगको पहिरन लगाइसकेपछि जुन ट्रमा महसुस हुन्छ, त्यो पीडा महसुस गर्न मैले अन्य विधवाको कथा पढ्नुपर्ने थियो । यस उपन्यासले विधवाको कथा गहिरो गरी प्रस्तुत गरेको छ । एउटा मानिस मरेर गइसकेपछि उसले एउटा दुःख छाडेर गएको हुन्छ । त्यसपछि बाँचेको महिलाको पूरै जीवन नै बेरंगी हुने बिडम्बना हाम्रो समाजमा छ । तारा पात्रको जन्मदेखिको मृत्युसम्मको जीवनयात्रा र भोगाइलाई सशक्त रूपमा उतारिएको छ । 

 

शिरीषको फूल

 

प्रायः महिलाबारे पुरुषले नै चित्रण गरेका हुन् । तर, पारिजातले यसमा सकम्बरीलाई अलग तरिकाले चित्रण गरेकी छिन् । यही नै उपन्यासको मुख्य कुरा हो । सुयोगवीरलाई रियलाइजेसन फिल गराइएको छ । एउटा महिलाले लेखेको उपन्यास भएकाले महिलाका सूक्ष्म भावना यहाँ छन्, जुन कुरा पुरुषले जतिसुकै लेख्दा पनि आउन सक्दैन होला । किनकि, पुस्तक लेखे पनि पुरुषले महिला भएर बाँचेको हुँदैन र यी कुरा छुट्छन् भन्ने लाग्छ । 

 

अ थाउजेन्ड स्प्लेन्डेड सन्स

 

खालिद हुसेनीको यो उपन्यासले अफगानी समाज, त्यहाँको द्वन्द्व र युद्धले निम्त्याएको गरिबीको चित्रण गरेको छ । महिलाहरूको अवस्थालाई पुरुषको आँखाबाट चित्रण गरिएको छ । मुख्य पात्र मरियमका पतिले सौता भिœयाउँछन् । तर, पनि उनले केही गुमाएजस्तो महसुस गर्दिनन् । दोस्रो विवाहका बाजबुद पतिले माया गरिरहनु नै उपकार जसरी लिन्छिन् । हाम्रो समाजमा पनि कतिपय मानिसहरू मैले दुईवटै श्रीमतीलाई मिलाएर राखेको छु भन्छन् । दुवै खुसी छन् भन्छन् । तर, के आफ्नो पतिले अर्कैसँग विवाह गर्दा कोही खुसी होला ? त्यही असमञ्जसबीच यो कथा लेखिएको छ । 

 

द डायरी अफ अ योङ गर्ल

 

एनी फ्र्यांकले १९४२ देखि १९४४ सम्मका घटनाक्रमलाई समेटेर यो डायरी लेखेकी थिइन् । डायरी लेख्न थाल्दा उनको उमेर केवल १३ वर्ष थियो । दोस्रो विश्वयुद्धको त्यो भयावह अवस्थालाई उनले कलिलो उमेरमै प्रस्तुत गरेकी छिन् । यो पढ्दा यति सानो उमेरको मानिसले पनि समाजलाई अलग दृष्टिकोणले हेर्दोरहेछ भन्ने लाग्छ । लेखन सुन्दर छ । बाल मानसिकताले देखेको विकृत दुनियाँको वर्णन छ । 

 

कर्णाली ब्लुज

 

बुद्धिसागरजीको लेखनमा धेरै बिम्बभन्दा पनि हरेक कुरालाई सरल रूपमा वर्णन गरिएको हुन्छ । यो उपन्यासले कर्णालीमै लिएर जान्छ । त्यहाँको जनजीवन र परिवेशलाई उतारेको छ । बाबु–छोराको सम्बन्धको मिठास छ । जेनेरेसन ग्यापले सोचाइमा पार्ने अन्तर देखाइएको छ । 

 

नर्वेजियन उड

 

हारुकी मुराकामीको यो उपन्यासका मुख्य पात्र टोरु वाटानावेले १९६० को दशकको टोकियोको विद्यार्थीकालबारे वर्णन गरेको छ । यतिवेला विद्यार्थीहरू स्थापित मान्यता भत्काउन लागेका हुन्छन् । यसमा बिम्बहरूको सटिक प्रयोग छ । एउटा होस्टेलमा पढ्ने विद्यार्थीहरूको जीवन, युवा–युवतीबीचको प्रेम, वियोग देखाइएको छ ।