• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
अन्वेषण अधिकारी
२०८१ असार ३० शनिबार ०९:५३:००
इतिहास

अस्थिर तर समृद्ध मल्लकाल

२०८१ असार ३० शनिबार ०९:५३:००
अन्वेषण अधिकारी

 

काठमाडौं उपत्यकालाई चारैतर्फबाट डाँडाकाँडाले घेरेको हुनाले अन्यत्रबाट आएर कसैले आक्रमण गर्न सक्ने भय नै यहाँका राजामा आएन । बरु, उनीहरू एक–आपसमै झगडामा व्यस्त रहे ।

 

लिच्छविकालको अन्त्यपछि पूर्वमध्यकालका केही शताब्दी नेपालमा अस्थिरता रह्यो । यस अवधिमा विभिन्न राज्य देखापरे । काठमाडौं उपत्यकामा ठकुरी, मल्ल आदि वंशका विभिन्न राजाले शासन गरेको देखिन्छ भने द्वैध शासन पनि देखिन्छ । काठमाडौंबाहिर खस मल्लराज्य टुक्रिएर बाइसे–चौबीसे राज्य बने । मधेश क्षेत्रमा सिम्रौनगढ शक्तिशाली राज्य थियो ।

 

लिच्छविकालदेखि नै शासनसत्तामा रहेका मल्ल (तर ठूलो पदमा रहेको देखिँदैन) मध्यकालसम्म आइपुग्दा महत्वपूर्ण पदमा पुगेको देखिन्छ । यद्यपि, मध्यकालको इतिहास लिच्छविकालजस्तो सग्लो छैन । 

 

१३औँ शताब्दीको सुरुवातमै मल्लवंशका अरी मल्ल नेपालका राजा भएको देखिन्छ । उनी उपत्यकाकै मल्ल थिए, शासनसत्तामै केही महत्वपूर्ण पदमा थिए वा बाहिरबाट आएका थिए भन्ने विषय स्पष्ट छैन । उनको समयमा काठमाडौं उपत्यकामा अन्य धेरै राजा तथा सामन्त पनि देखिन्छन् । अर्थात्, शासन एकलौटी छैन । 

 

यस अवधिमा बौद्धधर्मको तन्त्रप्रधान मत महायान र गुह्यतन्त्रमा आधारित वज्रयान मतको विकास भयो । यी मतलाई तिब्बतमा फैलाउन यहाँबाट विद्वान्हरू आउजाउ गरेको पाइएको छ । यसरी तन्त्रविद्या तिब्बतमा फैलिएको हो । 

 

अरी मल्लपछि उनका छोरा अभय मल्ल र त्यसपछि नाति जयदेव मल्ल राजा भएका छन् । यसरी पहिलो मल्लवंशले निरन्तरता पाएको देखिन्छ । १४औँ शताब्दीको सुरुवातमा मल्ल राजकुमारी देवलदेवीको विवाह सिम्रौनगढ (मिथिला) का राजा हरिसिंह देवसँग भएको देखिन्छ । इस्वी १३२५ ताका दिल्ली सल्तनत (तुगलक वंश) उत्तर भारत हुँदै बंगालतर्फ विस्तार भयो । यही अवधिमा बंगालतर्फ जाने क्रममा इस्लाम राजाको यो फौजले उत्तर भारतमा पनि विभिन्न राज्यमाथि हमला गरेको थियो । बंगालमा विजयी भएर फर्कने क्रममा यो सेनाले थप त्रासदी मच्चाउन सक्ने डर भएकाले राजा हरिसिंहदेव त्यहाँबाट पहिल्यै भागे ।

 

उनी आफ्नो परिवार, ठूलो संख्यामा नोकर–चाकर र सहयोगीसहित ससुराली काठमाडौं उपत्यकातर्फ हिँडे । उनले तलेजु भवानीको मूर्ति सिम्रौनगढबाट बोकेर आएका थिए । तलेजु भवानी सिम्रौनगढका राजाहरूको पुज्य देवी थिइन् । सिन्धुली आइपुगेपछि बाटोमै तीनपाटन भन्ने ठाउँमा राजा हरिसिंहदेवको निधन भएको इतिहासमा उल्लेख छ । महारानी देवलदेवी र राजकुमार जगतसिंह आफ्ना सहयोगीसहित उपत्यका आइपुगे । यसपछि महारानीले तलेजु भवानीको मन्दिर भक्तपुरमा स्थापना गरिन् । आफू अभिभावकका रूपमा बसेर छोरा जगतसिंहलाई राजा बनाइन् र भक्तपुरबाट शासन थालिन् । आफ्नै नजिकको नाताकी उपत्यकाकै एक राजकन्या नायकदेवीसँग जगतसिंहको विवाह गरिदिइन् । 

 

यो दम्पतीबाट छोरी राजल्लादेवीको जन्म भयो । तर, छोरी जन्मिएको १० दिनमै नायकदेवी बितिन् । जगतसिंह पनि लामो समय बाँच्न पाएनन् । राजल्लादेवीलाई देवलदेवीले नै हुर्काइन् । 

 

देवलदेवीले ‘डोला’ ल्याएर नातिनीको विवाह गरिदिइन् भन्ने इतिहास छ । डोलाको अर्थ बेहुला ल्याइन् भनिएको हो । ज्वाइँका रूपमा यसपछि जयस्थिति मल्ल आए । 

 

उनी कुन ठाउँबाट आएका हुन् भन्ने स्पष्ट खुलेको छैन । तर, धेरै इतिहासकारले उनलाई महारानीले मिथिला क्षेत्रबाटै ल्याएको र उनी कर्णाटवंशी रहेको उल्लेख गरेका छन् । यसपछि काठमाडौं उपत्यकामा कर्णाटवंशी राजाको शासन सुरु भएको छ ।

 

तर, सुरुमा जयस्थिति एक्लो राजा छैनन् । यहाँ अन्य ‘देव’ थरधारी राजा पनि छन् । सांस्कृतिक दृष्टिले हेर्दा तलेजु र उनीहरूसँगै उपत्यकामा मिथिला संस्कृति, नयाँ सीप र विविधता भित्रियो । तर, लिच्छविकालदेखि नै जातीय वर्ग संरचनामा चलिरहेको उपत्यकामा मिथिलाबाट आएका नवआगन्तुक संख्यालाई कुन वर्गसंरचना वा तहभित्र राख्ने भन्ने अन्योल भएको देखिन्छ । यस अवधिमा उपत्यकामा शासकबीच शक्ति संघर्ष पनि चलिरहेकै थियो, मैदानमा कोही एकै मात्र प्रतापी राजा देखिँदैनन् ।

 

देवलदेवीको आगमनसँगै भक्तपुरमा तलेजु भवानीको नियमित पूजा र जात्रा पनि सुरु भएको थियोे । यसरी धार्मिक र सांस्कृतिक रूपमा पनि काठमाडौंमा मिथिलाको प्रभाव देखियो । देवलदेवीको निधनअघिसम्म जयस्थिति मल्लले पनि उनकै सल्लाह र प्रभावमा शासन चलाइरहेको देखिन्छ ।

 

सामाजिक र राजनीतिक कार्य 

 

देवलदेवीको निधनपछि जयस्थिति मल्लको हातमा शासनसत्ता आयो । उनले सबैभन्दा पहिले काठमाडौं उपत्यकालाई एक बनाए । उनी शक्तिशाली भइसकेपछि यहाँ अन्य कुनै पनि राजाको अस्तित्व देखिँदैन । त्यसपछि उनले नयाँ परिवेशमा काठमाडौं उपत्यकाको सामाजिक संरचनालाई कायम राख्नका लागि पेसागत रूपमा मानिसलाई विभाजित गरिदिए । विभाजनको काम उनी आफैँले गरेका छैनन्, यसका लागि भारतबाट शास्त्रविद मैथिली ब्राह्मण ल्याएर, उनीहरूलाई यहाँको समाज बुझेर शास्त्रलाई समेत ख्याल गर्दै विभाजन गर्न जिम्मेवारी सुम्पिएका छन् ।

 

त्यहीअनुसार विभिन्न ६४ पेसामा यहाँका मानिसलाई विभाजित गरेका छन् र त्यहीअनुसार उनीहरूका काम, पालना गर्नुपर्ने नियम र आचरण पनि तोकेका छन् । कतिपयले जयस्थिति मल्लले जाति प्रथा सुरु गरे भन्छन् । तर, उनले कायम रहेको जातिप्रथामा मिथिलाबाट आएका मानिसलाई मिसाउने काम मात्रै गरेका हुन् । यहाँ कायम रहेको व्यवस्थामा खलल नपुगोस् र जनतामाझ पनि लोकप्रिय हुन सकियोस् भनेर उनले पेसाअनुसार जिम्मेवारी तोकिदिएका हुन् । इतिहासअनुसार जातिप्रथा लिच्छविकालदेखि नै काठमाडौंमा थियो, किनभने उत्तर भारतमा पनि त्यो कालखण्डमा जातिप्रथा थियो र नेपालका लिच्छवि राजाहरू पनि उतैबाट आएका थिए । 

 

यसरी जयस्थिति मल्लको समय काठमाडौंलाई सामाजिक र सांस्कृतिक रूपमा एकीकरण गर्न र विभिन्न नियम बनाउनमै गयो । यसपछि आएका उनका छोरा धर्म मल्लले पनि आफ्ना बाबुकै कामलाई निरन्तरता दिए । खासै नौलो काम गरेनन् ।

 

यक्ष मल्लको आगमन

 

जयस्थिति मल्लका नाति (धर्म मल्लका छोरा) यक्ष मल्ल अर्का प्रतापी राजा थिए । उनमा सीमा विस्तारको भोक थियो । उनले आफ्नो स्तूति लगाउने क्रममा ‘गंगाको किनारसम्म सीमा फैलाएको’ उल्लेख गरेका छन् । तर, गंगा भनिए पनि त्यो स्पष्ट देखिँदैन । र, दोस्रो कुरा त्यतिवेला भारतमा बलिया शासक भएकाले पनि उनले सहजै जित्न सक्ने अवस्था देखिँदैन । त्यो गंगा सिमाना भनेको अहिलेको बागमतीको किनार हुनुपर्छ । आफ्ना पुर्खाहरू सिम्रौनगढबाट आएको हुनाले उनी पुर्खौली खोज्दै त्यतैतर्फ गए ।

 

उनको कार्यकालमा बनेपा, दोलखालगायत क्षेत्रमा पनि काठमाडौंको सेना फैलियो । तिब्बतसँग लिच्छविकालदेखि चल्दै आएको व्यापार मध्यकालको थालनीमा केही बिग्रिएको थियो । यक्ष मल्लको समय यो व्यापार फेरि बढ्यो । धेरै नाका यस समय खोलिएका छन् । यक्ष मल्ल आफ्ना छोरालाई जिम्मेवारी दिएर विभिन्न राज्य सञ्चालन गर्न दिएका थिए । कालान्तरमा यी कारणले काठमाडौंका राज्य विभाजित भए । तर, यक्ष मल्लको चाहना राज्य विभाजित गर्ने अवश्य थिएन ।

 

उनले दोलखा र बनेपामा पनि सहयोगी पठाएका थिए । यी दुवै राज्य भक्तपुरअन्तर्गत नै चले । राय मल्ल उनको बिँडो थामेर भक्तपुरमा बसे । अर्का छोरा रत्न मल्ल काठमाडौंमा दरबार बनाएर बसे । रत्न मल्लका छोरा सूर्य मल्लको पालासम्म आइपुग्दा पनि मूल घरका रूपमा उनीहरूले भक्तपुरलाई नै मानेको देखिन्छ । तर, भक्तपुरको दाँजोमा काठमाडौं अझै ठूलो र शक्तिशाली भएकाले भक्तपुरको अधीनस्थ हुन नचाहेको पनि देखिन्छ । सांस्कृतिक रूपमा पनि यस समय धेरै काम भए । दत्तात्रेय मन्दिर यक्ष मल्लको कार्यकालमा बनेका मन्दिरमध्ये सबैभन्दा भव्य मानिन्छ । पशुपतिनाथमा दक्षिण भारतबाट भट्ट ब्राह्मण ल्याई पूजा गर्ने बन्दोबस्त पनि उनैले गरे । उनको कार्यकालमा पाटनको मीननाथ मन्दिर, भद्रबोधिसत्व, पद्मपाणी लोकेश्वर मन्दिर र ठूलो संख्यामा विहारहरू निर्माण भएको देखिन्छ । 

 

सधैँको अस्थिर पाटन

 

राय मल्लको भक्तपुर र रत्न मल्लको काठमाडौंमा मल्ल राजाहरू सर्वस्वीकार्य रहे पनि पाटनमा लामो समय अस्थिरता नै रहेको देखिन्छ । यहाँ कहिले मल्ल राजाहरूलाई त्यहाँका सामन्तले स्विकारेका छन् त कहिले सिंह ठकुरीलाई राजा बनाएर मल्लहरूलाई चुनौती दिएका छन् । अनि, फेरि मल्ल राजाहरूले त्यहाँ गएर दबाउनु परेको पनि इतिहास छ ।

 

१७औँ शताब्दीमा हरिहरसिंहका छोरा सिद्धिनरसिंह मल्ल राजा बनेपछि बल्ल पाटनमा स्थिरता सुरु भएको थियो । यससँगै उपत्यकाका तीनवटै राज्यमा मल्लहरू राजा बने । सिद्धिनरसिंह मल्लले आफ्नो कार्यकालमा गोरखाका राजा राम शाहसँग सन्धि गरी ललितपुर र गोरखाबीच व्यापारिक सम्बन्ध बनाए । उनले पाटन दरबारअगाडि २१ वटा गजुर भएको शिखर शैलीको कृष्ण मन्दिर बनाउन लगाए । कात्तिक नाचसहित अनेक नाच प्रचलनमा ल्याए । पाटन दरबारलाई थप फैलाएर कलात्मक बनाए ।

 

उता, काठमाडौंमा सिद्धिनरसिंहका सौतेनी दाइ लक्ष्मीनरसिंह मल्ल राजा थिए । उनले तिब्बतसँगको व्यापारलाई थप बलियो बनाउने काम गरे । आफ्ना नातेदार (भान्जा वा ज्वाइँ भन्ने फरक–फरक इतिहासकारको तर्क) काजी भीम मल्ललाई तिब्बत युद्धका लागि पठाए । भीम मल्लले युद्ध जितेर काठमाडौंका व्यापारीका लागि तिब्बतमा व्यापार गर्न अलग्गै कोठीको प्रबन्धन गरिदिएका थिए, तर काठमाडौं फर्कंदा राजा लक्ष्मीनरसिंह मल्ललाई उनका आसेपासेले भीम मल्लले गद्दी ताके भनेर कान फुकेका रहेछन् । सोझा लक्ष्मीनरसिंहले शंकैका भरमा भीम मल्लको हत्या गर्न लगाए । आफ्ना पति षड्यन्त्रपूर्वक मारिएपछि भीम मल्लकी श्रीमतीले सती जाने वेला ‘नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्, दरबारमा कसैको पनि विवेक नहोस्’ भनेर श्राप दिएकाले नेपाललाई सतीले सरापेको देश पनि भनिन्छ ।

 

लक्ष्मीनरसिंहपछि काठमाडौंमा उनका छोरा प्रताप मल्ल राजा भए । यी राजा शास्त्रका ज्ञाता थिए । निकै घमन्डी र कामुक थिए । उनले बाबुलाई नै बन्दी बनाएर शासनसत्ता हातमा लिएका थिए । हनुमानढोका दरबारको हनुमान मूर्तिनजिक उत्तरतर्फ भित्तामा १५ भाषाको लिपि छ । प्रताप मल्लको दाबी थियो । उनी यो सबै पढ्न सक्थे । एउटा छोराको शोकमा विह्वल भएकी रानीलाई सान्त्वना दिन उनले नै रानीपोखरी निर्माण गराएका थिए ।

 

भाषा 

 

नेपालको इतिहासमा मध्यकालसम्म नेपाल भाषा उल्लेख कहीँकतै भएको देखिँदैन । लिच्छविकालमा शुद्ध संस्कृति प्रयोग हुन्थ्यो भने मध्यकालतिर आइपुग्दा अभिलेखहरूमा प्रयोग भएको संस्कृत विकृत छ । तर, अभिलेखहरूमा नरहे पनि मध्यकालमै नेपाल भाषा बोलीचालीको भाषाका रूपमा विकास भइसकेको हुुनुपर्छ । किनकि, यस अवधिमा उपत्यकामा अन्य थुप्रै भाषा बोलिन्थे र ती भाषाको मिश्रणबाट नै नेपाल भाषा उत्पत्ति र प्रयोग भएको हुनुपर्छ ।

 

शासकवर्गमा मैथली भाषाको पनि प्रयोग भएको देखिन्छ । विशेषगरी, तत्कालीन राजाले एक–अर्कालाई चिठी लेख्दा वा उपत्यकाबाहिरका राजालाई चिठी लेख्दा पनि मैथिली प्रयोग गरेको देखिन्छ । यसले मल्ल राजामा आफ्ना पुर्खाको भाषा र संस्कृति जोगाइराख्नुपर्छ भन्ने चेत रहेको देखिन्छ । तर, खस नेपाली भाषा यतिवेला उपत्यकामा प्रयोगमा आएको पाइन्न ।

 

बंगालमा प्राचीन साहित्य पल्टाउँदा भेटिएका अभिलेखमा प्रयोग भएका भाषा नेपालमा उक्त अवधिभन्दा अघि नै मल्लकालमा प्रयोग भइसकेको देखिन्छ । यसले नेपाल मात्रै नभएर सिम्रौनगढका राजा बंगालसम्म पनि फैलिएका रहेछन् भन्ने पनि प्रमाणित गर्छ ।

 

सिम्रौनगढबाट बोकेर ल्याइएको तलेजु भवानीको मूर्तिले नेपालमा देवीलाई पुज्ने परम्परालाई थप प्रवद्र्धन गर्‍यो । राजाको मूल देवी भएकाले त्यसपछि पनि मल्लकालमा जहाँ–जहाँ दरबार र शासकका भवनहरू बने, त्यहाँ तलेजुको मन्दिर अनिवार्य बनाइयो । जस्तो, टोखालाई लिऊँ ।

 

कला 

 

कला र संस्कृतिका लागि मल्लकाल सबैभन्दा धेरै सम्पन्न छ । यस अवधिमा धेरै मन्दिर, विहार र देवालय बने । अभिलेखालयमा यस अवधिका ससाना ग्रन्थ भेटिएका छन् । ती ग्रन्थमा अक्षरहरूको माझमा साना–साना चित्रकला छन् । यसले मिथिला चित्रकलाको झल्को दिन्छ । धातुकला र मूर्तिकला पनि बढ्यो । तलेजु भवानीको जात्रामा दसौँ हजार मानिस सहभागी हुन थाले । इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रालगायत विगतदेखि भइरहेका जात्रालाई पनि प्रवद्र्धन गरियो । रथ तान्ने गरी धेरै जात्रा सुरु भए । यस अवधिमा टोलस्तरमा संस्थागत भजन मण्डलीहरू बनाइयो । डबलीमा नाटक देखाउन थालियो । 

 

आर्थिक तथा राजनीतिक काम

 

तिब्बततिर बिग्रिएको व्यापारलाई थप बढाउने काम भयो । नेपालबाट अन्न, मकै, चामल, काष्ठकला, धातुकलालगायत सामग्री तिब्बत पठाइन्थ्यो । त्यसैगरी, भारततर्फ काष्ठकला, धातुकला, पेन्टिङलगायत पठाइन्थ्यो । उताबाट चुरा, पोते, धागो, रेशमका कपडालगायत विभिन्न कस्मेटिक सामग्री ल्याइन्थे । बिस्तारै त्यसरी सामग्री लिएर आउने मुस्लिम व्यापारीलाई मल्ल राजाले काठमाडौंमै बस्नका लागि इन्द्रचोकमा ठाउँ उपलब्ध गराए । उनीहरू पनि खुसी भएर बसे । कालान्तरमा उनीहरू बाइसे–चौबीसे राज्यमा पनि व्यापार गर्न छिरे ।

 

ठाउँ–ठाउँमा पिल्लर राखेर, बुर्जाजस्तो बनाएर, त्यसमा चौकीदारी गर्नका लागि मानिस खटाइयो । ती मानिसलाई खटाउने जिम्मेवारी द्वारेको हुन्थ्यो । त्यही आधारमा दरबारलाई सूचना पठाइन्थ्यो । कोही आउला कि भनेर यसरी हेर्नका लागि डाँडामा मानिसहरू राखिएका हुन्थे । द्वारे राख्ने चलन मल्लकालमै सुरु भएको हो । लेले, टीकाभैरव, चापागाउँ, बुङमती, टोखालगायत धेरै ठाउँमा द्वारे हुन्थे । बनेपा र दोलखा त सहयोगी राज्य नै थिए । त्यसमध्ये दोलखाका राजाले एकपटक तिब्बतसँगको व्यापारमा आफ्नो नियन्त्रण रहने भन्दै विद्रोह नै गर्न खोजेका थिए, तर भक्तपुरले दबायो । 

 

लिच्छविकालमै बनाइएका मन्दिर, ढुंगेधारालाई मल्लहरूले जीर्णोद्धार तथा मर्मत गरे । नयाँ ढुंगेधारा पनि बनाइए । मल्लहरूले राजकुलो हेर्नका लागि मानिसहरू खटाएर उनीहरूलाई तलब दिने व्यवस्था गरे । लिच्छविकालीन सम्पदाहरू संरक्षणमा पनि भूमिका खेले । मल्लकालमा शास्त्र, साहित्य, कला र संस्कृतिमा काठमाडौं र पाटन अघि देखिन्छन् । कृषि, वास्तुकला र काष्ठकलामा भक्तपुर अघि छ । आयुर्वेद शिक्षालाई यस अवधिमा प्राथमिकता दिइएको देखिन्छ । 

 

गुठी विस्तार 

 

लिच्छविकालमा पनि गुठी थियो । मल्लकालमा गुठीलाई बलियो बनाउने काम भयो । लिच्छविकालमा शास्त्र पढाउने र धर्म गर्ने थलोका रूपमा गुठी थियो । धार्मिक मन्दिरको हेरचाह गर्नका लागि राजाहरूले जग्गा राखेका थिए । मल्ल राजाहरूले यसलाई सामाजिक थलोका रूपमा विकास गरे । मच्छिन्द्रनाथको गुठी त्यतिवेला सबैभन्दा ठूलो थियो । यसको जग्गा हेरचाह गर्न छुट्टै मालअड्डा नै थियो, किनभने मच्छिन्द्रनाथको आराधना गर्दा पानी पर्छ भन्ने विश्वास छ । यही विश्वासका कारण किसानहरू गुठीलाई जग्गा दिन पाउँदा खुसी हुन्थे । राजाले पनि ठूलो जग्गा छुट्याइदिएका थिए । इन्द्रजात्राको अलग गुठी छ । त्यतिवेलाका सामाजिक परम्परा र नीति–नियम बनाउने तथा दण्ड–जरिवानाको व्यवस्था गर्ने काम पनि गुठीले नै गरेको देखिन्छ । 

 

विभाजन र पतन 

 

हरेक युगको अन्त्य आउँछ । मल्लकाल यसबाट पृथक् रहने कुरै भएन । भाइ–भाइबीचको विभाजन नै यसको मुख्य कारण बन्यो । उपत्यकालाई चारैतर्फबाट डाँडाकाँडाले घेरेको हुनाले अन्यत्रबाट आएर कसैले आक्रमण गर्न सक्ने भय नै यहाँका राजामा आएन । बरु, उनीहरू एक–आपसमै झगडामा व्यस्त रहे । कहिले भक्तपुर र पाटन त कहिले काठमाडौं र भक्तपुरबीच झगडा चल्यो । पाटन र काठमाडौंले मिलेर पनि कहिलेकाहीँ भक्तपुरलाई दबाए । पाटनमा सामन्तहरू भएका वेला काठमाडौं र भक्तपुरले मिलेर दबाएका पनि छन् ।

 

युद्ध भएका वेला जनतालाई भाडामा ल्याइने भए पनि मल्लहरूसँग स्थायी सेना थिएन । शत्रुको चियो गर्नका लागि उनीहरूले द्वारे राखेका थिए । तर, तीनवटै राज्यको एउटै द्वारे थिएनन्, उनीहरूका अलग–अलग द्वारे थिए । यहाँका राजाहरूबीच संयुक्त सेना बनाउने प्रयास पनि भएको थियो । तर, सफल भएन ।

 

पृथ्वीनारायण शाहले यी सबै घटनाक्रमलाई नियालिरहेका थिए । पहिलोपटक कीर्तिपुर आक्रमण गर्दा परास्त भएका पृथ्वीनारायण शाहले त्यसपछि उपत्यकाका हरेक गतिविधिलाई नियालिरहेका थिए । रणजित मल्लका छोरा वीरनरसिंहसँग मित लगाएर उनी भक्तपुर आएर लामो समय बसे । यहाँका जात्रा र पर्वबारे जानकारी लिए । यहाँका मानिसलाई पनि गोर्खा लगेर त्यहाँ घुमाए । अन्ततः सबै कमजोरी पत्ता लगाएपछि उनले इन्द्रजात्राका दिन आफ्नो बलियो सेनासहित उपत्यकामा हमला गरे । यस दिन राजादेखि सबै जनता जात्रामा मस्त हुने भएकाले लड्न सजिलो हुने उनको ठम्याइ थियो । काठमाडौंले यी जटिलताका बाबजुद लड्ने प्रयास गर्‍यो । जसमा जयप्रकाश मल्ल हारे । असोज २४, १८२५ मा पाटनका तेजनरसिंह मल्लले त्वं शरणम्’ नै गरे । उनी भागेर भक्तपुर गए । तर, काठमाडौं र पाटन कब्जामा लिइसकेका पृथ्वीनारायणले तत्कालै भक्तपुर आक्रमण गरेनन् । उनले एक वर्षजति समय तयारीमै खर्चिए । 

 

यतिवेलासम्म जयप्रकाश मल्ल पनि भक्तपुरमै शरण लिएर बसेका थिए । १ मंसिर १८२६ मा गोर्खाली सेनाले भक्तपुर आक्रमण गर्‍यो । तीन दिनसम्म युद्ध गरेपछि रणजित मल्लले हार स्विकारे ।