
हिँड्दाहिँड्दै टक्क रोकियो
र पछाडितिर फर्केर हेर्यो
कुन गन्तव्यका निम्ति
कहाँबाट आरम्भ भएको
थियो यात्रा ?
अन्ततः
माथि आकाशमा पुगे पनि
तल जमिनतिर फर्केर हेर्यो
धर्तीलाई प्रणाम भन्यो
माटोलाई प्रणाम भन्यो
जरालाई प्रणाम भन्यो
बगिरहेको खोला
चलिरहेको बतास
र उदाइरहेको सूर्यतिर फर्केर
आफ्ना हात हल्लाइरह्यो ।
उसले महसुस गर्यो
धर्ती नभए माटो कहाँ हुन्थ्यो ?
माटो नभए जरा कहाँ हुन्थ्यो ?
जरा नभए टुप्पो कहाँ हुन्थ्यो ?
खोला, बतास र सूर्य नभए के–के हुन्थ्यो ?
हावामा उड्न पाएपछि धर्ती बिर्सियो
चुलीमा टेक्न पाएपछि
आधार शिविर बिर्सियो
धुरीमा चढ्न पाएपछि जग बिर्सियो
अबिर छोएपछि आँसु बिर्सियो।
बिर्सिंदाबिर्सिंदै
मान्छेले जीवन बिर्सियो
मान्छेले मृत्यु बिर्सियो
मान्छेले आफूले आफैँलाई बिर्सियो ।
जतिसुकै चेतनशील भने पनि
बाँसको टुप्पोले जति बुझ्यो
मान्छेको टाउकोले कहिल्यै त्यति बुझेन ।