• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
दिवाकर मैनाली 
२०८१ श्रावण ५ शनिबार ०८:०४:००
रिपाेर्ट

‘खोक्पा’मा  प्राकृतिक दोहनको चिन्ता

२०८१ श्रावण ५ शनिबार ०८:०४:००
दिवाकर मैनाली 

 

बाँझो बारीमा खेती गरेर जीवन उमार्ने, चौँरी पालेर घिउ, दुध उत्पादन गर्ने परिश्रमी युवाहरू कतार, मलेसिया र साउदीको मरुभूमिमा उँट चराउन थाले । हाम्रै युवाले त्यहाँको ठुल्ठूला पूर्वाधार बनाए । 

 

गीत लेखनबाट सुरु गरेका डिआर राईले साहित्यका विविध विधामा उत्तिकै कलम चलाएको देखिन्छ । सातवटा गीति एल्बम निकालेका डिआरले ‘नयाँ मोडहरूमा’, ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’, ‘आत्मभाव’, ‘सेन्टोसा’, ‘समयको डोब’, ‘तिलस्मी’, (स्प्राउड अन द रक) र खोक्पाजस्ता कृति प्रकाशित गरिसकेका छन् । जसमध्ये खोक्पा कथासंग्रह उनको नवीन कृति हो ।

 

इलाममा जन्मेर काठमाडौंलाई कर्मभूमि बनाएका डिआरले इलाम भने बिर्सेका छैनन् । त्यसैले उनले खोक्पा कृतिमा तथाकथित आधुनिक विकासका नाममा भइरहेको वातावरण विनाश र प्राकृतिक स्रोतको दोहनमाथि गहिरो चिन्ता व्यक्त गरेको छ । खोक्पाभित्र संग्रहित ‘बुढो रुख’ यही अवधारणाको सशक्त कथा हो ।

 

कथा जगन्नाथ बडा, नन्दलाल, बुढो रुख र कथाको म पात्रबीचको मनोसंंवाद हुँदै अघि बढ्छ । गुजाराका लागि सहरमा केही समय बिताएर गाउँ पसेको म पात्रले त्यहाँको परिवर्तनमाथि प्रश्न गरिरहन्छ । चौतारोमा भएको पानीको धारा छैन, जंगल मासिएको छ । सबैभन्दा महत्वपूर्ण विषय नन्दलालको घरमाथि देखिने एक्ले रुख छैन । विश्वभरि नै प्राकृतिक स्रोतको प्रथाजनित संरक्षण प्रणालीमाथि बहस भइरहेको छ । यही बहसको केन्द्रीयतामा कथासंग्रहमार्फत डिआर उत्रिएका छन् ।

 

हाम्रो नेपाली गाउँ परिश्रमी, निश्छल, स्वावलम्बी मान्छेहरूको प्रतिबिम्ब हो । जहाँ मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको ताँती लाग्छन् । गाउँमा आरामदायी कुर्सी, टेबल तथा सोफासेट छैन, तर पिँढी छ । पिँढीमा ओछ्याइने गुन्द्री छ । मकैको खोस्टाले बनाइएको पिरा छ । चिनी, मसलादार चिया होइन, डबकामा अतिथि सत्कारका लागि दिइने नुन चियाको प्रयोग खोक्पामा पाइन्छ । तर, कोकाकोला, चाउचाउको प्रवेशसँगै आफ्नोपन बिरानो बन्दै गएको छ । यस्ता सवालहरू कथाकारले खोक्पामार्फत उठाएका छन् ।

 

बाँझो बारीमा खेती गरेर जीवन उमार्ने, चौरी पालेर घिउ, दूध उत्पादन गर्ने परिश्रमी युवाहरू कतार, मलेसिया र साउदीको मरुभूमिमा उँट चराउन थाले । हाम्रै युवाले त्यहाँको ठुल्ठूला पूर्वाधार बनाए । यही विशेषतालाई कथाकारले नरम तरिकाले गम्भीर कुराहरू पस्केका छन् । उनको बोली नरम छ, तर यो नरमपन यति कडा छ कि जीविकाका लागि सहर पसेका हरेक युवालाई पलपलमा ठुँगेर घाइते बनाउँछ । सुखदुःखमा साथ दिने हाम्रो गाउँको परम्परा हो । मर्दाको मलामी, बाँच्दाको जन्ती भन्ने उक्ति नेपाली समाजमा चलेको उखान हो । तर, डिआरले उदाहरण दिँदै मलामी पाउन नसकेको कुरा मात्र होइन, गाउँमा लास जलाउने दाउराको अभावसमेत देखाएका छन् । ११ वटा कथाहरूको फरक–फरक शैली र सन्देश हुँदाहुँदै पनि कथासंग्रहको पहिलो कथा ‘बुढो रुख’ नै यस संग्रहको सबैभन्दा अर्थदायक, सन्देशमूलक र वर्तमानको सजीव तस्बिर हो । 

 

‘लाहुरेको निसानी’मा बाजेपुस्तादेखि नातिपुस्तासम्मले भोग्दै आएको पल्टनको कहानी समेटिएको छ । ‘मायाको चिनो’ कथा प्रेम कहानीमा आधारित भए पनि जातीय छुवाछुत र युवावस्थामा हुने कमी–कमजोरीलाई सुन्दर ढंगले बुनेको छ । ‘पुच्का’ कथामा पानीपुरी बेचेर जीवन निर्वाहमा एक युवाको सफलताको कथा छ । ‘परिणाम’ कथामा ढुकुटीले टाट पल्टाएको कथा छ । समग्रतामा कथाकार डिआरका कथाहरू मूलतः स्वरोजगारमुखी अर्थथन्त्रको अभिव्यक्ति भएर आएको छ ।