• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
रामचन्द्र शर्मा
२०८१ श्रावण ५ शनिबार ०८:२६:००
समाज

देश बनाउने स्वउत्थान अभियान

२०८१ श्रावण ५ शनिबार ०८:२६:००
रामचन्द्र शर्मा

 

विषय प्रवेश 

 

कुनै निम्न स्थितिबाट उन्नत वा उच्चस्तरमा पुग्ने कामको थालनी व्यक्ति स्वयंले प्रारम्भ गर्नु स्वउत्थान हो । मानिस नै अपार सम्म्भावना र क्षमताले भरिएको भगवान् हो भन्ने ज्ञान दिने अध्यात्म विज्ञानका रचयिता वेदव्यासलगायत महर्षि र शान्तिका अग्रदूत भगवान् बुद्धलगायत विभूति जन्मिएको तपोभूमि हो नेपाल । प्राकृतिक सम्पदा एवं सौन्दर्यले भरिपूर्ण रहेको नेपालको आत्मनिर्भर इतिहास छ । समृद्ध भइसक्नुपर्ने नेपाल आज निम्नस्तरमा छ । छिमेकी चीन र भारत विश्वकै दोस्रो र पाँचौँ धनी देश बनिसके । विशाल जनसंख्या भएका ती छिमेकी देशको बीचमा रहेको दुवै देशका अधिकांश जनताले भगवान् मान्ने बुद्ध र पशुपतिनाथले शोभायमान प्राकृतिक वैभवयुक्त नेपाल पछि पर्नुको कारण ठम्याई समाधान गर्दै माथि उठ्न हरेक नेपाली स्वयंबाट थालिने प्रयासलाई स्वउत्थान अभियान भनिएको हो । 

 

आमाबाट श्वास, आहार सबै पाएको गर्भको बच्चा जन्मिनासाथ श्वास र आहार नपाएर अत्तालिँदै च्याँ गर्दै आफू स्वयंले सास लिने र दुध चुस्ने कर्म गरी जीवनको सुरुवात गर्छ । कर्म गर्दै जिउँछ र कर्म गर्न छाडेपछि मर्छ । यसर्थ कर्म नै जीवन हो भन्ने प्रस्टै छ ।

 

गणतन्त्रात्मक संविधान जारी भई दुई आवधिक निर्वाचन सम्पन्न गरेको नेपालमा अहिलेसम्ममा समृद्धिको आकार देखिनुपर्नेमा शिलान्याससम्म पनि भएन र निकट भविष्यमा हुने संकेतसमेत दलहरूले देखाएका छैनन् । कृषिमा उपयोग हुने युवा श्रमशक्ति विदेश पलायन भइदिँदा उर्वर भूमि बाँझिँदै गई शून्य उत्पादनउन्मुख भयो देश । जनस्तरबाटै भए पनि देशलाई उत्पादनतर्फ उन्मुख नगराउने हो भने नेपाल र नेपालीको अस्तित्व जोखिममा पर्ने देखियो । त्यसैले स्वउत्थान जनअभियान चलाउनैपर्ने आवश्यकता महसुस भयो । यो अभियान चल्दै गर्दा या त पुराना दलले साथ दिनेछन् या जनस्तरबाटै नयाँ नेतृत्व जन्मिएर नेपाल र नेपालीलाई समृद्ध बनाउनेछ । किनभने, महान् लक्ष्यले व्यक्तिलाई कर्म गर्न सक्रिय गराउँछ । कर्मले सफलता दिन्छ । पहिला व्यक्ति त्यसपछि समाज र राष्ट्र समृद्ध हुन्छ । कर्ममा मात्र ध्यान दिएपछि फल स्वतः मिल्छ । कर्म र सफलता छुट्टाछुट्टै होइनन् । कर्म नै सफलता हो र शाश्वत नियम पनि । 

 

प्राकृतिक वैभव र ऋषिऊर्जाले सिञ्चित नेपाल 

 

हाम्रो देशमा अलौकिक ऊर्जा रहेकाले नै बुद्ध र ऋषिहरू जन्मिनुका साथै बाहिरबाट खप्तड र शिवपुरी बाबाहरू आई ज्ञानध्यानको साधनामा डुबे । मानिसले जन्मसँगै लिएर आएको क्षमता नै भगवान् हो, सबै मानिसमा क्षमता हुन्छ, त्यो चिनेर कर्म गरे जीवन सफल हुन्छ भन्ने  रहस्य पत्ता लगाई ऋषिहरूले वेद, पुराण र भागवत गीताको रचना गरिदिए । ब्रह्माण्डीय अवस्थितिले हाम्रो देशका सुन्दर हिमाल, नदी, झरना, ताल र मनोरम डाँडाकाँडामा विश्वका अरू देशमा नपाइने अलौकिक ऊर्जा रहेको छ । ध्यान र शान्तिको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्छ नेपाल । लामो आत्मानुसन्धान र साधनाबाट हाम्रा ऋषिमुनिले रचना गरेको आध्यात्म विज्ञानले योगध्यानको माध्यमबाट मानिसभित्र रहेको प्रतिभा, क्षमता, जीवन ऊर्जा र खुसीको खजानासँग भेट गराई एक ऊर्जाशील विवेकमान व्यक्तित्व निर्माण गरिदिन्छ । साधारण मानिस सिद्धार्थ गौतमले योगध्यानको साधनाबाट बुद्धत्व प्राप्त गरी विश्वमा शान्ति फैलाउँदै भगवान् बुद्ध बन्नुभयो । त्यही आध्यात्मिक ज्ञानको आधारमा भौतिक उन्नति गर्दै पश्चिमा देशहरू विकासको चुचुरोमा पुगेका हुन् ।

 

विकास नहुनुको कारण

 

विकास उपयुक्त मोडल र पद्धतिले हुने हो । हामीकहाँ २००७, ०४६ र ०६२/०६३ मा दल र नेताहरू आन्दोलनका मोडलको विकास गरी सत्तामा पुगे, तर विकास मोडलको व्यवस्थित बहससम्म गराएनन् । सहकार्यबाट आन्दोलन सफल बनाएका दल र नेताहरू सत्तामा पुगेपछि आफ्नो दलभित्रै गुट खडा गरी आफन्त र गुटको हित गर्न हाम्रालाई राम्रा बनाउँदै उनीहरूको कुकर्म ढाकछोप गर्ने, अरू दलका कमजोरीमा खेल्दै गालीको राजनीति गर्नमा अवाञ्छित प्रतिस्पर्धा गरे । जनताले आफैँ गरिखाने वातावरणसम्म पाएनन् । भ्रष्टाचारलगायत आपराधिक गतिविधि बढेकाले काम, शिक्षा र मामका लागि पुँजी र युवा विदेश पलायन हुन पुगे । उर्वर भूमि बाँझिँदै गए । रेमिट्यान्सले अर्थतन्त्र त धानेको छ, तर उत्पादनमा नजोडिएको हुँदा भोग विलासको सहरियापन र पारिवारिक विशृंखलता बढाएको छ । चीन र भारतले विश्वलाई बजार र अर्थतन्त्रको दृष्टिले हेर्दै आर्थिक प्रगति गरे । हाम्रो देशका राजनीतिक दल र नेताहरू हरेक कुरालाई वादको नजरले हेर्ने, कुखुरी पहिला कि अन्डा भनेझैँ राजनीतिले विकास डोर्‍याउने कि विकासले राजनीति भन्ने वादविवादमा अल्झिने, विविधतायुक्त जाति, धर्म र संस्कृतिलाई बराबरी शक्ति बाँडफाँड र सम्मान दिई विकासको अचुक साधन बनाउनुपर्नेमा विभेदजन्य व्यवहार गरिदिँदा आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा न्यूनतम साझा एजेन्डा बन्न सकेन । 

 

स्वउत्थानको आवश्यकता र महत्व 

 

विश्वको अरू कुनै देशमा नपाइने अलौकिक ऊर्जा भएको देश नेपालमा जन्मिने सौभाग्य पाएका र क्षमता भएका हामी नेपाली शासन गर्नेहरूले विकास गरिदिने आशामा दशकौँ गुजार्दा कमजोर हुँदै आयौँ । आफ्नो जीवनको बाजी लगाएर कष्टपूर्ण आन्दोलन गरेका हामी नेपाली उत्पादन र उद्यमशीलताका काम हाँस्दै खेल्दै गर्न सक्छौँ नै । स्वउत्थानको कर्मले शरीर सक्रिय भई स्वस्थ रहने र आफू बन्दा देशसमेत बन्न पुगी गौरवान्वित हुनेछौँ । स्वउत्थान स्वयंमा आर्थिक, सामाजिक र राजनीतिक जागरणसमेत भएकाले भ्रष्टाचारलगायत आपराधिक गतिविधि नियन्त्रण हुँदै स्वआर्जनको माध्यम र रोजगारीको सिर्जना भएर स्वदेशमा बसौँ भन्ने भाव जगाउनेछ । युवा र पुँजी पलायन रोकिँदै गरिखाने संस्कृति निर्माण भएर देश समृद्धिको दिशामा अघि बढ्नेछ । अतः स्वउत्थानको आवश्यकता टड्कारो र बहुतै महत्वपूर्ण छ ।

 

स्वउत्थानको रणनीति

 

(क) स्वउत्थान कार्यक्रमलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबीच अभियानको रूपमा विस्तार गर्ने ।

 

(ख) स्वउत्थान कार्यक्रमलाई उत्पादक र उपभोक्ताबीचको पुल बनाउने ।

 

(ग) जो जहाँ जे गर्दै छ सो गर्दै सोही ठाउँदेखि तन, मन र धनमध्ये सबै वा कुनै एकको माध्यमबाट स्वउत्थान कार्यक्रममा जोड्ने । 

 

(घ) स्वउत्थान कार्यक्रमबाट दिइने सेवा उचित मूल्यमा गुणस्तरीय रहनेछ ।

 

(ङ) उत्पादक कृषक, कृषक समूह, सहकारी, उद्योगी, व्यापारी, पेसागत र सामाजिक संघसंस्थाबीच सञ्जाल निर्माण गर्ने ।

 

(च) डोर टु डोर सेवा, अग्रिम बुकिङ, आवश्यक ठाउँमा खरिद–बिक्री केन्द्र राख्ने र अरूको पसलमार्फत पनि आफ्ना उत्पादन बिक्री गर्ने प्रबन्ध मिलाउने ।

 

(छ) थोरै मुनाफा धेरै सेवाग्राही जुटाएर आम्दानी बढाउन उपभोक्ताको संख्या र रुचिको अभिलेख राख्दै प्रचारप्रसारमा जोड दिने ।

 

(ज) तरकारी र फलफूल विषादिरहित हुँदै अग्र्यानिक र ताजा उपलब्ध गराउने ।

 

(झ) सानो लगानीबाट भाडाका साधन उपयोग गर्दै अनुभवका आधारमा कारोबार बढाउँदै लाने ।

 

(ञ) स्वउत्थान कार्यक्रमका सदस्यले दैनिक खुत्रुके बचतबाट क्रमशः अर्थ जुटाउँदै, सरकारी अनुदान र सुविधा सदुपयोग गर्ने ।

 

(ट) श्रम बैंक र भूमि बैंकको सेवा उपलब्ध गराउने ।

 

(ठ) योग ध्यानको साधना गराई ऊर्जाशील र विवेकी जनशक्ति निर्माण गर्ने ।

 

(ड) बाँझिएका उर्वर भूमि आवाद गर्दै खाली चौर र वन–जंगलमा फलफूल तथा घाँस लगाउने ।

 

(ढ) कोदो, फापर, गहुँ, मकै, जौजस्ता रैथाने बाली जडीबुटीलगायत कहाँ, कुन, के–कति परिमाणमा उत्पादन भइरहेका छन् र भविष्यमा के–कति गर्न सम्भव छ भन्ने डाटा संकलन गर्ने ।

 

(ण) कृषि उत्पादन गर्ने कृषक र उद्यम गर्न इच्छुकलाई उद्योग दर्तादेखि सञ्चालनको स्किम बनाइदिने ।

 

(त) गाउँदेखि सहरसम्म विकास गर्न के कुन मोडल उपयुक्त हुन्छ भन्ने तय गर्न विषयविज्ञसहित स्पटमा गई स्थानीय अनुभवी कृषक र सर्वसाधारण नागरिकबीच अन्तत्र्रिmया र बहस गर्ने ।

 

(थ) स्वउत्थान कार्यक्रमलाई के कसरी कहाँ के–केबाट कुन स्तरमा सुरु गर्ने भन्ने सन्दर्भमा आवश्यक विमर्श गरी निक्र्याेल गर्ने । 

 

(द) विकासको चिन्ता होइन, चिन्तन गर्ने बानीको विकास गर्न माध्यमिक र कलेज तहमा पढ्ने विद्यार्थी, शिक्षक, प्राध्यापकबीच अन्तत्र्रिmया र बहस गर्दै स्वउत्थान कार्यक्रममा समेट्ने ।

 

(ध) विद्यार्थी र बेरोजगार युवाले घन्टाका हिसाबले काम गर्न पाउने र श्रमका आधारमा समेत सेयर होल्डर हुन सक्ने ।

 

प्रस्तावित योजना

 

(क) तात्कालिक योजना 

 

(१) अनलाइन र भौतिक प्रयोगशालामार्फत योगध्यानको साधनालाई सबै स्थानीय तहका वडा र गाउँटोलमा विस्तार गर्ने ।

 

(२) स्वउत्थान कार्यक्रम सञ्चालनको प्रारम्भिक तयारीको विषयमा जनप्रतिनिधि, अनुभवी कृषक, प्राविधिक र सर्वसाधारण जनताबीच वडा र गाउँटोलमा अन्तत्र्रिmया र बहस गर्ने ।

 

(३) जमिन, कृषक र उत्पादनसम्बन्धी अहिलेसम्म सरकारी तहबाट संकलित डाटा एकीकृत गर्दै अन्य आवश्यक डाटा संकलन गर्ने ।

 

(४) जमिनको चक्लाबन्दी र एक गाउँ एक उत्पादनका लागि कुन ठाउँमा केको सम्भावना छ भन्ने अध्ययन सम्बन्धित निकायको समेत सहयोग लिई गर्ने ।

 

(५) एकजनाले दश हजारको सेयर लगानी गर्नुपर्ने, पाँच किस्तामा बुझाउने र पहिलो किस्ता तिरेर कार्यक्रममा सहभागी भई कामको आधारमा बाँकी किस्ता उठाउँदै कार्यक्रम अघि बढाउने ।

 

(६) तरकारीलगायत दैनिक उपभोग्य सामग्री भ्यानमा, ठेलागाडा र साइकलमा चल्ती पसल राखी डोर टु डोर सेवा,  सम्भावित ठाउँमा सटर भाडामा लिएरै वा अरूका पसल वा फुडमान्डु, पठाओमार्फत खरिदबिक्री गर्ने ।

 

(७) खुत्रुके बचत सुरु गराउने र दीर्घकालीन योजनाको तयारी गर्ने ।

 

(ख) दीर्घकालीन योजना 

 

(१) जग्गा भाडामा लिई जडीबुटी, तरकारी एबं कागतीलगायत फलफूल, पशुपक्षी, माछा, अलैँची, अदुवा, बेसारको नर्सरीसहितको नमुना कृषि फर्म सञ्चालन गर्ने ।

 

(२) आफ्नै र अरूको उत्पादनको बजारीकरण गर्न दुई सय घरधुरीबीच एक स्टल राखी खाजा र खाद्यान्न बिक्री गर्ने प्रबन्ध आफैँ गर्ने वा अरूमार्फत गराउने ।

 

(३) सरकारसँग मिली सम्भावना हेरेर पिपिपी मोडमा हाटबजार सञ्चालन गर्ने ।

 

(४) हिमाली दृश्य अवलोकन गर्न सकिने सडकको पहुँच पुगेका हरिया डाँडाकाँडामा योगध्यानको साधना गर्ने सुविधासहितको अग्र्यानिक कृषि उत्पादनसहितका रिसोर्ट सञ्चालन गर्ने ।

 

(५) कुक, वेटर, प्लम्बर, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तथा पशुपक्षी र माछा पालनसम्बन्धी तालिम सञ्चालन गर्ने ।

 

(६) कार्यक्रम विस्तारको गति र सामथ्र्य मूल्यांकन गरी अन्य सेवा र उद्योगधन्दा सञ्चालनमा ल्याउने । 

 

अन्त्यमा, व्यक्ति–व्यक्ति मिलेर समाज र राष्ट्र बन्ने हुँदा उत्थानको कार्यक्रमिक थालनी व्यक्तिबाटै गर्न स्वउत्थान अभियानको परिकल्पना गरी रणनीति र योजना प्रस्तुत गरिएको हो । यो केवल बहसको थालनीको लागि मात्र भएकाले सम्बन्धित विषयविज्ञ, प्रबुद्ध नागरिक अगुवा र जनप्रतिनिधिको सल्लाह–सुझाबबाट योजना र कार्यक्रमले पूर्णता पाई कार्यान्वयनमा जाने अपेक्षा गरेको छु ।