• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका
२०८१ श्रावण ५ शनिबार ०८:४३:००
साहित्य

कवि प्रणिका कोयूलाई मन परेका पाँच पुस्तक

२०८१ श्रावण ५ शनिबार ०८:४३:००
नयाँ पत्रिका

 

पढ्न त म सबै विधाका किताब पढ्छु । तर, केही समययता संस्मरण र शोधमूलक दस्ताबेज बढी पढिरहेकी छु । मनपरेका किताब पनि धेरै नै छन् । तीमध्ये केहीको मात्र नाम लिनुपर्दा सकस हुँदो रहेछ । पछिल्लो समय यी पुस्तक मन परिरहेका छन् :

 

आदिवासी विद्रोहको इतिहास – राजकुमार दिक्पाल
राजेन्द्र महर्जनजीको शब्द सापटी लिन्छु, ‘सिकारीहरूको महिमामण्डनको बाढीबीच पनि सिकारहरूका पीडा र प्रतिरोधको कथा लेख्ने कोसिस सुरु भएको छ । विजयी र विलासी शासकको इतिहास भूपी शेरचनलाई जस्तै गलत लागेकाले राजकुमार दिक्पालले पनि सिकारहरूका प्रतिरोधको इतिहास लेख्ने जमर्को गरेका छन् ।’ यो सबैले विशेषगरी विकासका साझेदारलाई दोष दिँदै नेपालमा विखण्डन बढ्यो भन्नेहरूले पढ्नुपर्ने किताब हो र बुझ्नुपर्ने हो कि नेपाली आदिवासी जनजातिहरूको स्वायत्तताको लडाइँ कसैले रोपिदिएर फस्टाएको होइन ।

 

सी सेड – जोडी कान्टोर र मेगन टुहे 
यो किताब हलिउडको शक्तिशाली चलचित्र निर्माता हार्भी वाइनस्टाइनविरुद्ध यौन दुव्र्यवहार र उत्पीडनका आरोपीहरूको आवाजलाई दब्न नदिन न्युयोर्क टाइम्सका पत्रकारद्वय जोडी कान्टोर र मेगन टुहेको खोज पत्रकारिताको दस्ताबेज हो । यस विषयलाई ठोस रूपमा अगाडि ल्याउन यी दुईलाई आवश्यक भएका संस्थागत समर्थन, स्रोत र उनीहरूले अपनाएका संवेदनशीलता नेपालमा सार्वजनिक भएका तीन मिटुका घटनाको विषयमा लेखेका पत्रकारले पनि पाएका भए नेपालमा यो विषयको उठान उम्लेको दुधसरी हुन्थेन भन्ने लाग्छ । 

 

अन्डर द ब्यानर अफ हेभन – अ स्टोरी अफ भायोलेन्ट फेथ : जोन क्राकाउर
यो किताबले संयुक्त राज्य अमेरिकामा मर्मनिज्मलाई अभ्यास गर्ने मर्मन धार्मिक समूहले कसरी बालविवाह, बहुविवाह र अपराधलाई फैलाएका छन् र अमेरिकी राज्य सत्तामा यिनीहरूको पहुँचको तहलाई पनि प्रस्ट पार्दछ । यसमा १९८४ मा ल्याफार्टी दाजुभाइले गरेको हत्याकाण्डको विवरणसहित अन्य हत्या र अपराध, विशेषगरी बालिका–किशोरी र महिलाविरुद्ध भएका अपहरण, बलात्कार, बालविवाह, बहुविवाह र हत्याको शोधमूलक विश्लेषणात्मक फेहरिस्त छ । यही पुस्तकमार्फत मैले संयुक्त राज्य अमेरिकाले बालअधिकार महासन्धिको अनुमोदन नगरेको थाहा पाएँ । उसो त उक्त देशले महिलाविरुद्ध हुने सबै किसिमको विभेदको अन्त्यसम्बन्धी महासन्धि (सिड) पनि अनुमोदन गरेको छैन ।

 

महावीर पुन : सम्झना, सपना र अविरल यात्रा 
महावीर पुनको यो पुस्तक उहाँकै आविष्कार केन्द्रमा भेटेर लिएँ । यो पुस्तकबारे केही भनिरहनुपर्दैन । तर, उहाँलाई सुन्दा, पढ्दा ‘यस्तो हुँदो हो त’ भन्ने प्रश्न भने बारम्बार आउँछ ।

 

पर्सिपोलिस : मार्जेन सत्रापी
दोस्रो विश्वयुद्धपश्चात् इरानमा राजनीतिक अस्थिरताको सुरुवात कसरी, किन र कसको स्वार्थमा भयो भन्ने विषयमा मार्जेन सप्तरीले चित्रहरूमार्फत प्रस्तुत गरेको संस्मरण (ग्राफिक मेम्वार) हो । यसका दुई भाग छन्– द स्टोरी अफ अ चाइल्डहुड र द स्टोरी अफ अ रिटर्न । यो श्यामश्वेत चित्रकथामा इरानको राजनीतिक उतारचढाव पढ्दै गर्दा नेपालको दशवर्षे जनयुद्धबाट अविचलित, अप्रभावित काठमाडाैंका वर्गले देशलाई कसरी बुझ्छन् भन्ने प्रश्न वेला–वेलामा उठेका थिए । चित्रकथा पनि, चाखलाग्दो तरिकाले मानवीय भावलाई पाठकले आफ्नो परिवेश महसुस गर्ने गरी राजनीतिक विश्लेषण प्रस्तुत गर्ने माध्यम हुने रहेछ भन्नेमा विश्वस्त भएकी थिएँ ।