• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
पवन बराइली
२०८१ श्रावण ५ शनिबार ०९:१२:००
संगीत

विभेदविरुद्ध  गाइरहन्छु 

२०८१ श्रावण ५ शनिबार ०९:१२:००
पवन बराइली

 

लोकदोहोरी क्षेत्रका बहुचर्चित गायक हुन्, राजु परियार । उनले १५ हजारभन्दा धेरै लोकगीतमा स्वर दिएका छन् । उनका ‘सुनपानीले छर्क मायालु’, ‘रुमाल धोको छु’, ‘धोका दिनेलाई के भनौँ र खोइ’, ‘फूलमा भमरा’, ‘मिर्मिरेको घाम’, ‘लालुपाते नुह्यो भुइँतिर’लगायत थुप्रै गीत लोकप्रिय छन् । उनै गायक परियारसँग लोकगीत र समाजको सम्बन्धबारे पवन बराइलीले कुराकानी गरेका छन् : 

 

लमजुङको बेंसीसहरमा जन्मेँ, हुर्कें । गुरुङ समुदायको बाहुल्य भएको मेरो गाउँ सांस्कृतिक रूपमा एकदमै धनी छ । गाउँमा मादल नबजेको दिनै हुँदैनथ्यो । विवाह, ब्रतबन्ध, सत्यनारायणको पूजा, एकादशीहरूमा गाउँमा बजार बस्थ्यो । मेलापातमा खेतालाहरूले मिठो भाका हालेर गीत गाउँथे ।

 

हाम्रो घरमा सांगीतिक माहोल थियो । त्यसैले सानैदेखि मादल बजाउन र गीत गाउन थालेँ । सत्यनारायण पूजा र एकादशी बजारमा रातभर जाग्राम बसेर गीत गाइन्थ्यो । सानै उमेरदेखि गाउँका सांगीतिक कार्यक्रममा सहभागी हुन्थेँ । म गाउँको त्यस्तै सांस्कृतिक माहोलमा हुर्किएँ । यसर्थ, आफूलाई भाग्यमानी ठान्छु । मलाई त्यही परिवेशले संगीत सिकायो । गाउँघरको संस्कृति र परिवेश मेरा लागि संगीतको पाठशाला बन्यो । म त्यही परिवेशबाट बग्दै लोकलयमा आइपुगेँ ।

 

हुन त मेरा लागि सामाजिक अप्ठ्याराहरू पक्कै थिए । गाउँमा हुने कार्यक्रममा गीत गाइन्थ्यो । सबैले मैले गाएको गीत सुन्थे, मन पनि पराउँथे । तर, सँगैसँगै जातीय भेदभाव पनि भोग्नुपर्‍यो । धारामा पानी थाप्न जाँदा हामीले छोएको पानी चल्दैन भनेर टाढा भाग्थे । यस्तो खालको विभेद मैले पनि सानैदेखि भोगेँ । पहिले गाउन हिँड्दा अन्य समुदायका कलाकार र हामीलाई एउटै मञ्चमा पनि फरक ठाउँमा राखिन्थ्यो । त्यसले मेरो मन कटक्क हुन्थ्यो । हामीलाई गानाबजानाका लागि मात्रै जन्मिएका हुन् भन्ने दृष्टिकोणले हेरिन्थ्यो । हामी बालीघरे प्रथा र नाचगानमै सीमित थियौँ । हामी दिनभरि बाली उठाउँदै ठिक्क भयौँ । बालीघरको आस गरेर बस्नुपर्ने भयो । हामीलाई जग्गा–जमिन पनि चाहिएन । हामी यसरी नै प्रयोग मात्रै भयौँ । अहिले पनि हामीलाई थाहा नहुने गरी अझै विभेद गरिन्छ । 

 

गीतमार्फत विभेदविरुद्ध आवाज उठाएँ
मैले अहिलेसम्म १५ हजारभन्दा धेरै गीत गाइसकेको छु । अधिकांश व्यावसायिक गीत गाएँ । तर, केही गीतले जातीय भेदभावविरुद्ध सन्देश बोकेका छन् । मैले १९ वर्षको उमेरमा ‘सिमकोटमा चरी नाचेछ’ गीत गाएँ । यो निकै रुचाइयो । त्यसपछि मलाई गीत समाजको सशक्त माध्यम भन्ने महसुस भयो । त्यसपछि सामाजिक जागरणका गीत गाउनुपर्छ भन्ने लाग्यो । मैले जातीय भेदभावविरुद्ध ‘सुनपानीले छर्क मायालु’ गाएँ । मलाई सुनपानी शब्दले भित्रैदेखि छोयो । त्यसपछि मैले गीतको थेगो र लय साथी रमेश बिजीलाई दिएँ ।

 

मान्छेभन्दा ठूलो जात कुन छ र ?
मैले छुँदा पानी विष हुन्छ र ?
जति सक्छेऊ तर्क मायालु
मैले छुँदा छोइन्छ भने त
सुनपानीले छर्क मायालु...

 

‘सुनपानी’ शब्दलाई उहाँले ‘सुनपानीले छर्क मायालु’ बनाई मिठो सिर्जना गर्नुभयो । गीतको महिला स्वर विष्णु माझीको छ । गीतको भिडियोलाई नारायण रायमाझीले निर्देशन गर्नुभयो । भिडियोमा मैले पनि अभिनय गरेको छु । यो गीत रेडियोमा अत्यधिक बज्यो । म यो गीतलाई विभेदविरुद्धको आन्दोलनमा जन्मिएको एउटा झिल्कोको रूपमा लिन्छु । ‘सुनपानीले छर्क मायालु’ले एउटा ठूलो सन्देश बोक्यो । गीत प्रेमसम्बन्धी भएपछि छुवाछुतविरुद्धकै थियो । यो मेरो जीवनको महत्वपूर्ण गीत हो ।

 

मलाई सामाजिक सन्देश बोक्ने गीत नगाई बस्न मन लागेन । समाजमा जागरण फैलाउने गीत गाउनुपर्छ भन्ने लाग्यो । त्यसैले साथीहरू मिलेर ‘आवाज कलाकार केन्द्र’ भन्ने संस्था गठन गर्‍यौँ । त्यसपछि जातीय विभेदका गीत निकाल्यौँ । त्यही संस्थाबाट ‘रुमाल धोको छु’ गीत निकाल्यौँ । गीतको शब्द झलक, संगीत म सञ्जीवनी र संगीत विवि अनुरागी दाइले गर्नुभएको हो । 

 

कतै कुनै ठाउँ छ र चोखो
अछुत भन्ने जातले नछोको 
रुमाल धोको छु 
यो खोलीको पानी कोही नखानू 
मैले छोको छु...

 

यो गीतले समाजको यथार्थलाई बाहिर ल्यायो । गीतमार्फत जातीय विभेद हट्नुपर्छ भन्ने हाम्रो आवाज थियो ।  ‘खोलीको पानी चोखो कि जुठो हो’ भन्ने प्रश्न गर्छ । मलाई गीतले निकै ठूलो सन्देश दियो भन्ने लाग्छ । यी गीतमा मेरो आफ्नै भोगाइ पनि छ । मैले ‘सुनपानीले छर्क मायालु’ र ‘रुमाल धोको छु’ धीत मारेर गाएको गीत थियो । यी गीतमा म आफैँ बगेछु । हुन त अरू पनि गीत उत्तिकै राम्रा छन् । तर, ‘सुनपानीले छर्क मायालु’मा मैले आफ्नो भोगाइ गाएको छु । ‘रुमाल धोको छु’मा जातीय छुवाछुतविरुद्ध प्रश्न गरेको छ । यी गीतले मान्छे–मान्छेबीच भेदभाव हुनुहुन्न भन्ने सन्देश दिन्छन् । जातीय विभेद गर्नु अपराध हो भन्ने सन्देश फैलाउन यिनले पक्कै भूमिका खेले भन्ने लाग्छ । यी गीत एउटा कालखण्डमा सिर्जित भयो । हामीले त्यो कालखण्ड त पार गर्‍यौँ । तर, भनेकोजस्तो परिवर्तन भएन ।

 

मैले गीत गाउन थालेको दुई दशक भयो होला । यो बीचमा देशमा ठुल्ठूला राजनीतिक परिवर्तन भए । संविधान बन्यो । तर, जातीय विभेद समाजमा जस्ताको जस्तै छ । हामी मान्छे भएर अझै बाँच्न पाएका छैनौँ । दलितहरू पनि सम्मानसाथ बाँच्न पाउनुपर्छ । अहिलेसम्म हामीले केवल सहानुभूति मात्रै पायौँ । मान्छेले मान्छेलाई विभेद गर्नेजस्तो अपराध अरू के होला ? मान्छेले मान्छेलाई छुन नहुने यो कस्तो प्रथा हो ? त्यसैले म आजभोलि गीतमा मान्छे खोज्छु । म अचेल गीतमार्फत मान्छेभित्रका मन खोज्न थालेको छु । मान्छेहरू मंगलग्रहको कुरा गरिरहेका छन् । हामी नेपाली धर्तीको कुरा गरिहेका छौं । मान्छेहरूले पशु अधिकारको कुरा गरिसके, हामी मान्छे भएर बाँच्न पाउने अधिकार मागिरहेका छौं । हामी भर्खर मानव अधिकारको कुरा गर्छौं । हामी कहाँ छौँ ? हामी कहाँनिर चुकेका छौं ? म त केवल मान्छे खोज्दै हिँड्दै छु ।

 

हिजो मैले व्यावसायिक गीत धेरै गाएँ । तर, मैले जातीय विभेदविरुद्धका गीत अझै धीत मारेर गाउन पाएको छैन । हिजो मेरा केही गीतले समाजको यथार्थलाई बाहिर ल्यायो । तर, समाजमा जातीय छुवाछुत यथावत् छ । मैले अझै समाजको यथार्थ चित्रण गर्ने गीतहरू पाएको छैन । अझै विभेदविरुद्धका गीत लेख्न बाँकी छ । आज पनि म ‘सुनपानीले छर्क मायालु’ र ‘रुमाल धोको छु’ गीत गाउँदै हिँडिरहेको छु । दलित समुदायले अझै जातीय विभेद भोग्नुपरिरहेको छ । जबसम्म समाजमा जातीय विभेद रहन्छ, त्यसवेलासम्म ‘सुनपानीले छर्क मायालु’ र ‘रुमाल धोको छु’ गाइरहन्छु ।

 

दलितहरू गानाबजानामा मात्रै अल्झिएर नहुने रहेछ भन्ने लाग्छ । हामी राज्यको नीति–निर्माण तहसम्म पुग्नुपर्ने रहेछ । हामी एकोहोरो कराएर मात्रै नहुने रहेछ । गीत–संगीतमा तुलनात्मक रूपमा दलित समुदायको उपस्थिति बढी छ । हिजो हामीलाई दरबारमा गीत गाउन बोलाइन्थ्यो । राज्यले हामीलाई गानाबजानाका पात्रका रूपमा मात्रै लियो । हिजो एउटा शासकले नीति बनाइदियो । शासकले मान्छे–मान्छेबीच वर्गीकरण गरिदिए । दलित समुदायबाट आउने प्रतिभालाई ‘यिनीहरूको जातै गानाबजाना गर्ने हो’ भनेर हेयका दृष्टिले हेरियो । हिजो हामीले सामाजिक विभेदका गीत गायौँ । नयाँ पुस्ताले पनि यसलाई मनन गर्नुपर्छ । 

 

हामी कलाकारले समाज, समय र परिस्थितिलाई बुझ्नैपर्छ । हामीले गीत मात्रै गाएर हुँदैन । हामीले गीतमार्फत समाजलाई प्रश्न गर्न सक्नुपर्छ । गीतमा मनोरञ्जनसँगै सन्देश मिसिएको हुनुपर्छ । गीतमा महिलाको कथा तिज र रत्यौलीमा मात्रै ल्याउने होइन, अरू वेला पनि गाइनुपर्छ । समाजमा सबैभन्दा छिटो पुग्ने गीत नै हो । शब्दलाई लयमा ढाल्नेबित्तिकै जनमानसमा सजिलै पुग्छ । गीतलाई कतिपयले रमाइलोको रूपमा लिन्छन् होला । तर, गीतले कुनै न कुनै रूपमा सन्देश दिएकै हुनुपर्छ ।

 

अहिले गीत–संगीतलाई हेर्ने दृष्टिकोण बदलिएको छ । गीत–संगीत तपस्याबाट सिर्जना हुन्छ भन्ने बुझाइको विकास भएको छ । अहिले प्रत्येक घरमा साहित्यिक जमघट हुन्छ । गीत–संगीतको कुरा हुन्छ । गीत–संगीत पनि साहित्यको विधा हो भनेर बुझ्न थालिएको छ । अहिले गीत गाउनेलाई पनि सम्मान गर्न थालिएको छ । हिजो गीत गाउनेलाई ‘गाइने’ भनिन्थ्यो । हिजो एउटा निश्चित समुदायले मात्रै गीत गाउनुपर्छ भनिन्थ्यो । आज सांगीतिक क्षेत्रमा गीत गाउन हुँदैन भन्ने समुदायको पनि उपस्थिति छ । यो नेपाली गीत–संगीतका लागि सुखद पक्ष पनि हो । अहिले संगीतको ज्ञान भएका नयाँ पुस्ताको उपस्थिति सांगीतिक क्षेत्रमा बाक्लो देखिन्छ । हिजो हाम्रो पुर्खाले जोगाइदिएको बाजा  अहिले सबैले बजाउन थाले । यो मानिसमा संगीतचेत बढेको प्रमाण हो । अहिले मगर समुदायको कौरा गीत बाँचिरहेको छ । कौरा गीतले उचाइ लिएको छ । कौरा मगर समुदायको सम्पत्ति हो । नेवार समुदायको धिमे बाजाहरू बजेको देखिन्छ । सुदूरपश्चिमको देउडादेखि पूर्वको हाक्पारेसम्म बाँचिरहेको छ । तामाङ सेलो पनि बाँचिरहेको छ । यी सबैलाई राज्यले सम्पत्तिको रूपमा बुझेर संरक्षण गर्नुपर्छ । 

 

हिजो हामीलाई मान्छे भएर बाँच्न सकस थियो । तर, गाउँमा त्यसवेला सामूहिकता थियो । गाउँमा कसैको घरमा धेरै काम हुँदा सबै मिलेर गरिन्थ्यो । अहिले त्यो संस्कार छैन । गाउँमा चौतारीहरू भेटिँदैनन् । मेरो गाउँमा चौतारी र वरपीपल छैन । धारा, कुवा, पानी पधेँरा, पुर्खाको चिनो हो । अब त त्यो पनि भेटिँदैन । गाउँको चौतारी थकाइ मार्ने मात्रै होइन, सिर्जनाको संगम पनि थियो । मैले गीत गाउँन सिकेको चौतारीबाटै हो । अब त मलाई गीत सिकाउने त्यो चौतारो पनि छैन ।