• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
डा. मिना उप्रेती
२०८१ श्रावण ५ शनिबार ०९:४३:००
रिपाेर्ट

कहाँ हराउँछन् समाजशास्त्री महिला ?

२०८१ श्रावण ५ शनिबार ०९:४३:००
डा. मिना उप्रेती

 

महिलासँग जोडिएका सामाजिक संरचना, सामाजिक मूल्य–मान्यता, नियम, कानुन यति डरलाग्दा छन् कि उनीहरूले हासिल गरेको डिग्रीले संघर्ष गर्नै सक्दैन । पढाइ र कार्यक्षेत्रमा खटिनका लागि अर्को ठूलो अवरोध बनेर उभिदिन्छ विवाह संस्था ।

 

पचासको दशकबाट त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक गरेकाले समाजशास्त्र पढ्न पाउने व्यवस्था भयो । त्यतिवेलै महिलाका क्षेत्रमा काम गर्ने भनेर केही सरकारी र गैरसरकारी संघसंस्था खुले । समाजशास्त्र पढेका महिलालाई जागिर दिन्छौँ भनेर प्रलोभन पनि देखाए । त्यसैले पचासको दशकयता रोकिएको आफ्नो पढाइ पूरा गर्न र समाजशास्त्र पढेपछि केही काम गरेर आत्मनिर्भर भइन्छ कि भन्ने हुटहुटीले समाजशास्त्र पढ्ने महिलाको संख्या ह्वात्तै बढ्यो । मेरो २६ वर्षे अध्यापन अनुभवका आधारमा भन्ने हो भने समाजशास्त्र पढ्ने महिलाको रिजल्ट पुरुषको भन्दा अब्बल आएको देखिन्छ । यसमा उनीहरूको मिहिनेत, इच्छाशक्ति, आकांक्षा र पढेपछि केही गर्छु भन्ने कुराले काम गरेको देखिन्छ । त्यसैले ५०, ६० र ७० को दशकमा समाजशास्त्र विषयमा महिलाहरूको चाप बढ्यो । र, नतिजा पनि राम्रो आयो ।

 

बाधक विवाह संस्था

 

समाजशास्त्र पढ्ने महिलाले डिग्री हातमा पाए । पढाइमा पनि अब्बल भए । काम गर्न सक्ने योग्यता पनि हासिल गरे । तर, उनीहरूलाई कार्यक्षेत्रमा उभिएर काम गर्न सबैभन्दा ठूलो व्यवधान सामाजिक संरचनाले गरिदिन्छ । महिलासँग जोडिएका सामाजिक संरचना, सामाजिक मूल्य–मान्यता, नियम, कानुन यति डरलाग्दा छन् कि उनीहरूले हासिल गरेको डिग्रीले सघंर्ष गर्नै सक्दैन । पढाइ र कार्यक्षेत्रमा खटिनका लागि अर्को ठूलो अवरोध बनेर उभिदिन्छ विवाह संस्था । विवाह गरेपछि घर, परिवार, छोराछोरीतिर ध्यान दिनुपर्ने हुन्छ । आफैँले गरेको एउटा अनुसन्धानअनुसार विवाहपछि अधिकांश महिलाको प्राथमिकता बच्चा जन्माउने देखियो । एउटा बच्चालाई हुर्काउन पाँच वर्ष लाग्दो रहेछ । विवाहपछि छोरा भयो भने ठिकै हो, होइन भने फेरि अर्को बच्चाको तयारीमा लाग्नुपर्ने सामाजिक बाध्यता बनाइएको छ । पहिलो छोरी, दोस्रो छोरी र तेस्रो पनि छोरी भयो भने ती महिलाले जीवनभर कुनै पनि अवसर पाउनै सक्दिनन् । डिग्री हातमा हुन्छ, तर घर व्यवहारमा रुमल्लिँदै उमेर बितेर जान्छ । उमेरअनुसार जिम्मेवारी पनि बढ्दै जान्छ । उसको जीवन यत्तिकै सकिन्छ ।

 

सामाजिक संरचनाको बन्दी भएपछि महिलाको डिग्री खोस्टामा परिणत हुन्छ । बिस्तारै महिलामा पनि पढेर के भयो त भन्ने हीनताबोध उत्पन्न हुन्छ । यसको असर पुरुषले बाहिर र महिलाले घर हेर्ने हो भन्ने भाष्य निर्माण हुन्छ । समाजशास्त्र पढेर समाजका सबै मूल्य–मान्यताबारे जानकारी त हुन्छ, तर त्यो समाजभित्रका मूल्य–मान्यताले उनीहरूलाई कार्यक्षेत्रमा देखिनबाट रोक्छ । त्यसपछि जहाँ पनि पुरुष समाजशास्त्री मात्रै हाबी हुन्छन् । महिलासँग सम्बन्धित लेख, रचना पुरुष समाजशास्त्रीले नै लेख्छ । महिलाबारे व्याख्या उसैले गर्छ । समाज कस्तो बन्ने भनेर उसैले तय गर्छ । महिला अधिकारका कुरा उसैले गर्छ । महिलाले के गर्दा राम्रो, के गर्दा नराम्रो भन्ने तराजु उसैले बोकेर बस्छ । महिलाको पीडाबारे पनि उसैले लेख्छ । सर्वज्ञानी भनेको पुरुष मात्र हुन्छ भन्ने गलत भाष्य निर्माण हुन्छ ।

 

विवाहअघि समाजशास्त्री महिला अलि स्वतन्त्र हुन्छन् । अलि सक्रिय हुन्छन् । आज जति पनि बाहिर देखिएका समाजशास्त्री छन्, उनीहरू छोरी समाजशास्त्री हुन् । उनीहरूले छोरी हुँदा नै बनाएको धरातलले बिस्तारै बुहारी हुँदा पनि काम गरेको हुन्छ । यी समाजशास्त्री किन फरक भए भनेर सामाजिक संरचनासँग जोडेर हेर्नुपर्ने हुन्छ । छोरीहरूले बुबालाई जसरी आफ्ना कुरा अभिव्यक्त गर्न सक्छन्, जसरी बुबाको आज्ञालाई तोड्न सक्छन्, बुहारी बनेपछि त्यसरी सक्दैनन् । बुहारीले सासू, श्रीमान्को अनुमति लिनुपर्ने हुन्छ । छोराछोरीको पनि व्यवस्थापन गरेर निस्कनुपर्ने हुन्छ । बुहारीसँग धेरै नियम र जिम्मेवारी लादिएका हुन्छन् । यसकारण बाहिर निस्किएर कार्यक्षेत्रमा खटिन, व्याख्या, विश्लेषण गर्न सक्दैनन् । आफ्नो क्षमता विकासका लागि काम गर्न सक्दैनन् । व्यक्ति धनी किन नहोस्, राम्रै डिग्री हासिल गरेको नै किन नहोस्, व्याख्या, विश्लेषण गर्नमा पोख्त किन नहोस्, बुहारीको श्रेणीमा बाँधिएपछि गाह्रो हुन्छ । परिवार र समाजले उसको चरित्रमाथि व्याख्या गर्छ । घर, परिवार र नातागोताले उसको श्रीमान्लाई यति धेरै दबाब दिन्छ कि, श्रीमान् पनि घोषित र अघोषित रूपमा उसलाई घरमै सीमित राख्न उद्यत हुन्छ । हिन्दु धर्ममा आधारित सामाजिक मूल्य भएको समाजमा बुहारीलाई झन् धेरै बन्धनहरू हुन्छन् । 

 

जो बाहिर निस्किएका छन्, उनीहरूलाई कार्यालयमा पुरुष सहकर्मीसँग संघर्ष गर्न त्यत्तिकै गाह्रो हुन्छ । किनभने पुरुष भनेको श्रीमतीले सहयोग गरेर घरबाट स्वतन्त्र भएर आएका हुन्छन् । महिलाहरू, जो बाहिर निस्किन्छन्, उनीहरूले घरपरिवारको जिम्मेवारी पनि सँगै लिएर आएका हुन्छन् । त्यसैले महिला बिस्तारै निराश हुन्छन् । हार्न खोज्छन् । घर व्यवहार धान्न र विवाहलाई जोगाउन बुहारीहरू बिस्तारै जागिरबाट बाहिरिन्छन् र प्रमाणपत्र थन्क्याएर आफ्नो घरायसी दैनिकीमा फर्कन्छन् । 

 

जागिर कि भविष्य ? यो द्विविधाबाट गुज्रिएका र घरभित्र सीमित हुन पुगेकाहरू आमा समाजशास्त्री हुन् । उनीहरूले छोराछोरीलाई विद्यालय पठाए । सबै काम सकाए । र, अब स्वतन्त्र भइयो म पढ्न जान्छु भनेर आएका हुन्छन् । तर, उनीहरूले स्थलगत रूपमा अध्ययन, अनुसन्धान वा जागिर गर्न सक्दैनन् । त्यसैले जबसम्म छोरी, बुहारी र आमाको भूमिकालाई बुझ्न सकिन्न, तबसम्म समाजशास्त्र पढेका महिलाहरू किन बाहिर आउन सक्दैनन् भन्ने कुरा बुझ्न सक्दैनौँ । अनुभवका हिसाबले हेर्ने हो भने आमा समाजशास्त्रीहरू अब्बल छन् । विश्वविद्यालयमा मात्र पढेर आएकाहरूभन्दा समाज, परिवार र समाजशास्त्रीय ज्ञान आमाहरूमा धेरै हुन्छ । सुरुदेखिका संघर्ष, अनुभव, समाजलाई बुझेका हुन्छन् । तर, हाम्रो विश्वविद्यालय र समाजले ती समाजशास्त्रीलाई चिन्दैन, उनीहरूको कुरा सुन्दैन । त्यसैले ती आमाहरूलाई अब छोरी र बुहारीले साथ दिनुपर्छ । छोरी, बुहारी र आमा समाजशास्त्रीहरू एक ठाउँमै आएपछि पुरुष समाजशास्त्रीहरूको दबदबा बिस्तारै घट्दै जान्छ ।

 

आज पनि महिलाकै कारण घर बन्छ र महिलाकै कारण बिग्रिन्छ भन्ने कुरा समाजमा स्थापित छ । श्रीमान्को सेवा गरेर र घरभित्रै सीमित भएर कुनै पनि महिला बसेको छ भने त्यो घर ‘आदर्श’ घर हुन्छ । म मेरो श्रीमान् पाल्न सक्छु भन्यो भने कस्तो उच्शृंखल भनिन्छ ।

 

डिग्री हासिल गरेर घरमा बसेमा अधिकांश समाजशास्त्री महिलाहरू श्रीमान्को सहयोगी भएका छन् । उनीहरूको अध्ययनको फाइदा पुरुषले लिएका छन् । प्रचारप्रसारमा पनि उनीहरू नै देखिएका छन् । अनुहार पनि उनीहरूकै देखिएका छन् । त्यसैले उनीहरूलाई बाहिर ल्याउनुपर्छ । 

 

‘म’ केन्द्रमा हुनुपर्ने

 

अध्ययन, अनुसन्धान गरिरहेका समाजशास्त्री महिलाहरू धेरै छन् । देश, विदेशमा काम गरिरहेका छन् । उनीहरूको एक मात्र लक्ष्य घर, परिवार, छोराछोरी, श्रीमान्भन्दा पनि अध्ययन अनुसन्धान गर्नु हो । यस्ता समाजशास्त्री मात्र अहिले बाहिर देखिएका छन् । त्यसैले महिलाहरू जहिले पनि ‘सेल्फ’ हुन सक्नुपर्छ ।

 

औँलामा गन्न मिल्ने केही समाजशास्त्री महिला पनि अवसर र पहुँचबाट वञ्चित छन् । राज्यबाट कुनै सहयोग छैन, बरु उपेक्षा खेपिरहेका छन् । महिलाहरूका लागि समावेशी भन्छ तर काम केही गर्दैन । राज्य नियम बनाउँछ, तर कार्यान्वयन गर्दैन । अर्को निजी क्षेत्र, जो जहिले पनि पुरुषको दबदबामा चलेको छ, पुरुषहरूसँग स्वतन्त्रता छ, पैसा छ, घर व्यवहार धानिदिने महिलाहरू छन् । त्यही भएर पुरुष जतिवेला पनि उपस्थित हुन्छ । विभिन्न बन्धनमा अल्झिएका महिलालाई निजी क्षेत्रमा ल्याउन चाहँदैनन् । महिलाले राम्रोसँग काम गर्न सकेन भने कार्यालय डुब्छ भनेर ल्याउनै चाहँदैनन् । यसबाट महिला बाहिर निस्किएर काम गर्ने, अनुसन्धान गर्ने होइन कि घरमा बस्ने, बच्चा जन्माउने, श्रीमान्को स्याहार गर्ने हो भन्ने हाम्रो सामाजिक सोचमा मलजल पुगेको छ ।

 

राजनीतिक दलले घोषणापत्रमा महिलाको कुरा उठाउँछ । महिलालाई पनि अगाडि बढाउने विषयमा छलफल गर्छ । गफ गर्छ । तर, व्यवहारमा परिणत गर्न सक्दैन । कार्यान्वयनको पाटो फितलो छ । किनभने हरेक दिन झोला बोकेर कुद्ने पुरुष हुन्छन् । दिनरात नभनी बस्ने, खाने, जमघट गर्ने, नियम–कानुन बनाउने पुरुष हुन्छन् । अधिकांश महिला राति बस्न सक्दैनन् । होटेल, रेस्टुराँमा बस्न सक्दैनन् । उसको आफ्नै परिवेश छ । सानो बच्चा छ । बाहिर बस्न अनुमति छैन । अधिकांश अन्तरक्रियामा सहभागी हुन पाउँदैनन् । जसले गर्दा उनीहरूमा सूचनाको अभाव र पहुँच कम हुन्छ । उनीहरू पुरुषजति काम गर्न सक्दैनन् ।

 

जबसम्म सामाजिक संरचनामा परिवर्तन हुँदैन, तबसम्म महिलाको कुनै पनि स्थितिमा परिवर्तन आउन गाह्रो छ । सामाजिक संरचना भत्काएर आएका महिला मात्र बाहिर देखिन्छन् । पितृसत्ता रोकिनका लागि श्रीमान् साथीमा रूपान्तरण हुनुपर्छ । अनि मात्र महिला बाहिर आउन सक्छन् । जागिर, बढुवा, ज्याला, पहुँचमा सबैमा पुरुष हाबी छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा महिलालाई रोक्न खोजेको हुन्छ । खुसी बनाएर वा दबाब र दमनमा राखेर । त्यही भए धेरै महिला बाहिर आउन सक्दैनन् । आफू जिम्मेवारी बहन गर्न सक्छु भन्दाभन्दै पनि नसक्ने ट्याग लगाइदिन्छ ।

 

योग्यताका आधारमा ध्यान दिने हो भने महिलाहरू अगाडि देखिन्छन् । तर, यहाँ त योग्यतालाई लुकाएर पुरुषको वर्चस्वलाई देखाउने काम भइरहेको छ । हामीसँग धेरै समाजशास्त्री, मानवशास्त्री महिला छन्, विज्ञहरू छन्, साहित्यकार छन्, अध्ययन अनुसन्धानरत छन् । तर, त्यसलाई मूल्यांकन गर्ने ठाउँमा महिलाहरू छैनन् । योगदान महिलाको हुन्छ । तर, मूल्यांकन पुरुषले गर्छन् । र पुरुषको नजरमा महिला कहिले पनि अब्बल हुन सक्दैनन् । सक्षम हुन सक्दैनन् । त्यसैले आदर्श पुरुष बुबाहरू, श्रीमान्हरू, छोराहरूको जन्म नभएसम्म समाजमा महिलाको आवाज सुनिँदैन । महिलाहरू अगाडि आउन सक्दैनन् ।

 

पुरुष सुरक्षित हुने मूलतः दुई सामाजिक खम्बा छन्, पहिलो– आर्थिक हैसियत अर्थात् अंश र वंश । तर, अहिले त्यसलाई बिस्तारै महिलाहरूले चुनौती दिन थालेका छन् । त्यसैले पितृसत्ता धर्मराउन थालेको छ । किनकि महिला आफैँ कमाउन थालेका छन् । बच्चा जन्माएर आफैँ पाल्न सक्ने आँट गर्न थालेका छन् । बिस्तारै महिला स्वतन्त्र हुन थालेका छन् । आर्थिक हैसियतका कारण उनीहरू बलियो हुन थालेका छन् । अर्को हो, स्थानीयता । महिलाहरू शिक्षा, रोजगार, अवसर खोज्दै सहर पस्न थालेका छन् । यसले न पुरुषको स्थानीयता रह्यो, न महिलाको । पहिले विवाह गरेर पुरुषको घर लगिन्थ्यो । घर, परिवार, साथीभाइ, ठाउँ सबै केटाको हुन्थ्यो । महिला निरीह हुन्थे । अहिले त्यस्तो स्थानीयता गुमेको छ । यसले महिलाको सशक्तीकरण बिस्तारै बढ्न थालेको छ । जसले पितृसत्ता कमजोर हुन थालेको छ । 

 

पुँजीवादी पुरुषसत्ता झन् डरलाग्दो

 

अझै पनि विभिन्न नाममा व्यवस्थित पितृसत्ता भने बाँकी नै छ । पुँजीवादले महिला र पुरुषबीच झन् ठूलो खाडल निर्माण गरिरहेको छ । हिजोको सामाजिक पुरुषसत्ताभन्दा पनि डरलाग्दो पुँजीवादी पुरुषसत्ता अहिले कायम छ । बजारले महिला र पुरुषका लागि ल्याउने स्कुटर, बाइक, गाडीको आकार, मूल्य, रंगमा समेत विभेद गरेको छ । तिजमा बजारले रातो सारी, शृंगारका सामान, गरगहरना छ्यापछ्याप्ती ल्याइदिन्छ । जसले गर्दा महिलाहरूले पुरुषको ढाड सेकाए, खर्च बढ्यो । तिज भड्किलो भयो भन्ने आरोप लाग्ने गरेको छ । तर, त्यो बजारले गरेको हो । यसले गर्दा पुरुष फेरि हाबी हुने अवस्थामा पुगेका छन् । पुरुषले महिलालाई सामान, गहना किनिदिएको नाममा फेरि दमन गर्न थालेको छ । हिजोको घरपरिवारको दमन अब बजारसँग जोडिन थालेको छ । त्यसलाई पुँजीवादी पितृसत्ता भनिन्छ । जो कार्यालय, बजार, स्रोत सबैतिर छ । यसले पढेका, नपढेका, बुझ्ने सबै महिलालाई असर गर्छ । हिजो परिवार र समाजभित्रको पितृसत्ता आज बिस्तारै सरकारी कार्यालय, बजार र विश्वस्तरमा छ । त्यसलाई चिर्ने भनेको छोरी समाजशास्त्रीले हो । छोरीहरूलाई डोरीहरू चुँडाउन सजिलो छ, जो घरपरिवार, माइती, बाबुसँग डोरी चुँडाएर आएका हुन्छन् । तिनले श्रीमान्को बन्धन पनि चुँडाउने आँट गर्छन् ।

 

त्यसैले छोरी सशक्त हुनेबित्तिकै एउटा बलियो खुड्किलो तयार हुन्छ । त्यही भएर अहिले महिलाहरू ती बन्धन भत्काउन र चुँडाउन थालेका छन् । यसलाई प्रविधिले केही सहयोग गरेको छ । घरपरिवारका लुगा धुनदेखि घरभित्रका विभिन्न काम गर्न प्रविधिले सहयोगी भूमिका खेलेको छ । त्यो समयमा महिलाले पढ्न र काम गर्न पाएका छन् ।

 

परिवर्तन हुँदा कहिल्यै पनि सकारात्मक मात्र परिवर्तन आउँदैन । पितृसत्ता भत्काउँदा पुरुषका लागि नराम्रो भए पनि महिलाका लागि सकारात्मक हो । त्यस्तै, पुँजीवादी पितृसत्ता भत्काउन आजका छोरी, बुहारी सक्षम हुँदै गएका छन् । आज छोरीहरू बाइक चलाएर क्याम्पस जान थालेका छन् । बुहारी बाइक र गाडी चढेर कार्यालय जान थालेका छन् । छोरीबुहारीले आज राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न थालेका छन् । आफ्नो अस्तित्व देखाउन थालेका छन् । अब हिजोको पितृसत्तामा सत्ता भत्काउने बिउ पसेको छ । कहीँ बिउ उम्रिसकेका छन् । कहीँ फल लागिसकेका छन् । अब ती फलबाट अरू बीज निस्केपछि पितृसत्ता पनि ढल्छ । र, ढलाउनैपर्छ ।

 

प्रस्तुति : शान्ति तामाङ