• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
काया जेन्क
२०८१ श्रावण १२ शनिबार ०७:४२:००
अनुवाद

असफल आफू हुन्छन्, दोष कुकुरलाई दिन्छन्

२०८१ श्रावण १२ शनिबार ०७:४२:००
काया जेन्क

 

हामीलाई असाध्य डर छ, हामीले महिनौँ वा वर्षौँ स्याहार गरेका हाम्रा प्रिय कुकुर अचानक गायब हुन सक्नेछन् । कुनै सन्की नागरिकको बेनामे ‘कल’ले उनीहरू नगरपालिकाको फन्दामा पर्न सक्नेछन् ।

 

जब म मध्य इस्तानबुलस्थित आफ्नो अपार्टमेन्टबाट बाहिर निस्कन्छु, कुकुरहरूले मलाई घेर्छन् । एउटा सडकपारि उँघेर बसेको छ । अर्काे कुकुर, सधैँ खानेकुरा या दया वा यी दुवैको खोजमा रहने उसमा उदासीन देखिन्छ । ती सहरका चोकहरूको चक्कर काट्छन्, कसाईखाना र कफी पसलहरू बाहिर पर्खिबस्छन् । केही कुकुर अस्वस्थकर रूपमा मोटा देखिन्छन्, केही मरन्च्याँसे छन् ।

 

टर्कीमा रहनु, बस्नुको अर्थ दशकौँ वा अझ शताब्दियौँ भुस्याहा कुकुरहरू ‘नेभिगेट’ गर्नु हो । केही अनुमानअनुसार यी यहाँ लगभग ४० लाखजति छन् । तर, निश्चित रूपमा संख्या यकिन गर्न गाह्रो छ । धेरै मानिसका लागि यी कुकुर टर्कीका अभिन्न अंग हुन् । तर, अब धेरै लामो समयका लागि नहुन सक्छन् । साताअघि मात्र राष्ट्रपति रेसेप तैयप एर्दाेगानको सत्तारूढ ‘जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ले संसद्समक्ष एउटा विधेयक प्रस्तुत गर्‍यो, जसमा नगरपालिकाले छाडा चौपायालाई पक्रेर आश्रयस्थलमा राख्नुपर्ने प्रावधान राखिएको छ । (तिनका अधिकांश आश्रयस्थल जीर्ण र खचाखच छन् । विधेयकले नगरपालिकालाई विद्यमान आश्रयस्थलहरूको जीर्णाेद्धार र नयाँ आश्रयस्थलहरूको निर्माणका लागि सन् २०२८ सम्मको समय दिएको छ ।) र आक्रामक, बौलाएका र रोगी कुकुरहरू मारिनेछन् ।

 

एर्दाेगानले गत मेको एक भाषणमा भुस्याहा कुकुरहरूको विषयलाई लिएर ‘कठोर’ उपाय प्रस्तावित गरेयता यो विषयलाई लिएर चर्काे बहस र विरोध प्रदर्शन भइरहेको छ । एर्दाेगानको ‘युथेनेसिया बिल(सहज/इच्छामृत्यु कानुन)’का समर्थकहरू यी भुस्याहा कुकुरका कारण भएका सडक दुर्घटना र जनधनको क्षतितर्फ औँल्याउँदै छन् । सडक कुकुरका लागि उपयुक्त घर होइन भन्छन् उनीहरू । साथै, यिनको उपस्थितिले सहरलाई मानिस र जनावर दुवैका लागि समान रूपमा खतरनाक बनाउँछ पनि भन्छन् । एर्दाेगानको यस योजनाका मलगायत आलोचकचाहिँ ‘युथेनेसिया’को सट्टा बन्ध्याकरणको तर्क गर्दै छौ । हामीलाई असाध्य डर छ, हामीले महिनौ वा वर्षाैँ स्याहार गरेका हाम्रा प्रिय कुकुरहरू अचानक गायब हुन सक्नेछन् । कुनै सन्की नागरिकको बेनामे ‘कल’ले उनीहरू नगरपालिकाको फन्दामा पर्न सक्नेछ ।

 

मलाई के लाग्छ भने, सरकारको समस्या वास्तवमा कुकुर होइन अरू नै हो । एर्दाेगानले आफ्नो २० वर्षभन्दा लामो शासनकालमा टर्कीका समस्याका लागि बुद्धिजीवी, पत्रकार, शरणार्थीलगायत अन्यलाई औँल्याउँदै आएका छन् । आफ्ना कमजोरीका लागि अरूलाई नै ‘बलिको बोका’ बनाउने कलामा उनले महारथ धेरै पहिले हासिल गरेका हुन् । अर्थतन्त्र धराशायी हुँदै गएपछि र गत वसन्तमा सम्पन्न नगरपालिका चुनावमा खराब प्रदर्शनपछि एर्दाेगान र उनको पार्टी जनताको आक्रोशलाई अन्तै मोड्न कुनै न कुनै कुरा खोजिरहेको छ ।

 

विपक्षीहरूले मार्चमा इस्तानबुल, अंकारा, इज्मिर र अन्ताल्यासहित थुप्रै प्रमुख सहरमा जित हासिल गरे । चुनावअघि नै सरकार समर्थित सञ्चारमाध्यमका समाचारले सत्तारूढ दलको लोकप्रियता घट्नुको एउटा मुख्य कारण ‘भुस्याहा कुकुरको आतंक’ भएको लेखिसकेका हुन् । ‘भुस्याहा कुकुरहरूले मानिसहरूलाई आतंकित पारिरहेको छ, तर निराकणका लागि एर्दाेगान र उनको दलको ढिलासुस्तीलाई मतदाताहरू मतपेटिकाबाट दण्डित गर्ने गरी आक्रोशित छन्,’ सरकारपक्षधर सञ्चारमाध्यमहरूले लेखेका थिए । 

 

यो कुरा साँचो हो, भुस्याहा कुकुरको संख्याले समस्या निम्त्याउँछ । केही कुकुर बौलाएका हुन्छन्, तिनले आक्रमण गर्छन् र दुर्घटना निम्त्याउँछन् । केही वर्षअघि टर्कीको दक्षिणी क्षेत्रमा भुस्याहा कुकुरले लखेट्दै गरेकी एक नौ वर्षीया बालिकाको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । विगतमा तिनको संख्या घटाउने थुप्रै प्रयास भएका छन् । २०औँ शताब्दीको सुरुतिर चलाइएको एउटा अभियान सबैभन्दा आलोचित रह्यो, जसमा हजारौँ भुस्याहा कुकुर र छाडा चौपायालाई एउटा निर्जन र बन्जर टापुमा लगेर भोकै मर्न छोडिएको थियो ।

 

मैले देखेको आधारमा म के भन्छु भने, गत वसन्तको निर्वाचनलाई छाडा चौपायाभन्दा पनि अरू नै कुराले प्रभावित गरेको हो । विश्वकै सबैभन्दा उच्च मुद्रास्फीति दर (सरकारका अनुसार करिब ७१ प्रतिशत र बाह्य अर्थशास्त्रीका अनुसार करिब ११३ प्रतिशत) भएको देशमा घरभाडा कसरी तिर्ने र आफू र आफ्नो परिवारको पेट कसरी पाल्नेजस्ता आधारभूत प्रश्नमा मानिस केन्द्रित भए । गत वर्षको तुलनामा मासुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको छ भने करिब ४० प्रतिशत मानिसले माछामासुसहितको खाना नियमित रूपमा खान सक्दैनन् । टर्कीमा न्यूनतम पेन्सन पछिल्लो वृद्धिपछि समेत पुगनपुग तीन सय ७७ डलरजति छ । म मेरो मध्यमवर्गीय छिमेकमा रद्दीका टोकरीबाट खाना टिपिरहेकोे दृश्य दिनहुँ देख्छु । यो चुनावको केही हप्तापछि सत्तारूढ दलकी एक सांसदले मोनाकोको एउटा भव्य रेस्टुराँमा आफूले खान लागेको ‘लोबस्टर’को फोटो सामाजिक सञ्जालमा पोस्ट गरिन् । अर्काेले माल्दिभ्स यात्राको पोस्ट गरे ।

 

निश्चय पनि, मानिस यी कुकुरका बारेमा क्रोधित छन् । सन् १९९० को दशकमा जब म किशोरावस्थामा थिएँ, मेरी आमाले मलाई सुत्नुअघि सडकका कुकुरलाई खुवाउन पठाउनुहुन्थ्यो । अटोमन युगमा समेत छाडा चौपायाप्रतिको यो प्रेम र चिन्ता एउटा परम्परा नै थियो । मार्क ट्विनले इस्तानबुल सहर भुस्याहा कुकुर अवलोकन गर्दै घुमेका थिए । उनले ‘सुल्तान नै आए पनि त्यहाँबाट नहट्ने जस्तो कुनै हलचल नगरी आरामले सुतेका’ कुकुर देख्दा म मुख्य सडकबाट केही पर थिएँ भनी लेखेका छन् । 

 

गत हप्ता, इस्तानबुल, इज्मिर र अन्य सहरमा मानिस यस विधेयकको विरोधमा सडकमा ओर्लिए । केहीले ठुल्ठूला ब्यानर बोकेका थिए, जसमा लेखिएको थियो, ‘हामी चुप बस्दैनौँ, हामी डराएका छैनौँ, हामी तपाईंलाई हाम्रा साथी सुम्पिदैनौँ ।’ मैले कुनै एउटा विधेयकको विरुद्धमा टर्किसहरू एकजुट भएको बिरलै देखेको छु । आलोचकहरूले थप विरोध जुलुस आयोजना गरेर उनको यो कदम रोक्न सकिने अपेक्षा गरेका छन् ।

 

म टर्कीका आवारा कुकुरहरूले मेरो अपार्टमेन्टबाहिर, मलाई मन पर्ने कफी सपको प्रवेशद्वारमा र इस्तानबुलका अन्य छरछिमेकमा, जहाँ तपाईं प्रत्येक कुनामा पानी र खानेकुरा राखिदिएको देख्न सक्नुहुन्छ, ती स्थानमा डेरा जमाइरहने अपेक्षा गर्छु । जबसम्म यी चौपाया रहलपहल, कुडा कर्कट र दयादानमा बाँच्दै टर्कीका सडकमा निर्वाध भौँतारिरहन्छन् त्यो कुलीनतन्त्रीय आडम्बरमा लिप्त र वास्तविकताबाट बढ्दो रूपमा विच्छेदित सरकारका लागि एउटा निशब्द गालीसरह भइरहनेछ ।

 

(पत्रकार तथा उपन्यासकार जेन्क हालै प्रकाशित पुस्तक ‘द लायन एन्ड द नाइटिंगेलः अ जर्नी थ्रु मोडर्न टर्की’का लेखक हुन् । –द न्युयोर्क टाइम्सबाट नारायण शिवाकोटीको अनुवाद ।)