• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
गंगा खतिवडा (थपलिया)
२०८१ श्रावण १२ शनिबार ०८:२९:००
साहित्य

दृश्यचित्र, भावचित्र र ध्वनिचित्रको संगम

२०८१ श्रावण १२ शनिबार ०८:२९:००
गंगा खतिवडा (थपलिया)

 

पनौती रयालेमा जन्मिएका प्रदीप सापकोटा नियात्रा, कविता र समीक्षा विधामा कलम चलाउँछन् । कानुन व्यवसाय तथा पर्यटन क्षेत्रमा आबद्ध उनी विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा पनि सक्रिय छन् । यात्रामा अभ्यस्त हुन चाहने उनका यसअघि ‘यात्राका इन्द्रेणी रङ’ (नियात्रा संग्रह–२०७७), मनको वारपार (मुक्तक संग्रह –२०७८) प्रकाशित छन् । 

 

मानिस स्वभावैले घुमफिर गर्न रुचाउँछ । नयाँ स्थान, परिवेश, रहनसहनलाई हृदयबाट चुम्न र आँखाका दृश्यमा समाहित गर्न चाहन्छ । चाहँदैमा सबैका इच्छा कहाँ पूरा हुन्छन् र ? लेखक एक भाग्यशाली व्यक्ति हुन्, जसले आफ्ना देशका थुप्रै ग्रामीण जिल्लालाई नजिकबाट नियाल्न र भोग्न पाउने अवसर पाएका छन् । कतिपय जिल्ला कामको सिलसिलामा नुनको सोझो गर्ने बहानामा पुगेका छन् भने कतिपय वैयक्तिक यात्राको सपना साकार पार्न पुगेका देखिन्छन् । जे होस् आफू पुगेका स्थानलाई पाइतालाले स्पर्श गर्दै आँखाले दृश्य कोर्दै अन्तस्करणले सांगोपांग मालाको आकारमा उनेर पाठकलाई पहिराइदिने जुन चेष्टास्वरूप यो पुस्तकको जन्म भयो, त्यसमा हामी अनुगृहीत हुनुपर्छ ।

 

यायावरीय वृत्तिका क्रममा नजिकबाट देखेका परिवेश, भोगेका घटना र अनुभूतिहरूलाई निजात्मक रूपमा रोचकतासाथ प्रस्तुत गर्न सक्नु लेखकको खुबी हो । भुँडीपुराण प्रकाशनको प्रकाशन र वसन्तराज अज्ञातको आवरण/सज्जाभित्र १७ वटा अध्यायलाई लयबद्ध गर्दै १४४ पृष्ठको पुस्तकमा ‘यात्राको लय’ संग्रहित भएका छन् । विगतको सशस्त्र द्वन्द्वकालमा नेपाली समाजले भोग्नुपरेको विद्रूप चित्र, धार्मिक यात्रा, साहित्यिक यात्राका परिवेश उत्कृष्ट शैलीमा कैद गरिएका छन् । यात्राक्रमका परिवेश, प्राकृतिक दृश्य, कठिनतम एवं सुखद पलहरूको मिठासपूर्ण वर्णन प्रशस्त भेटिन्छन् । निजात्मकता समावेश, आतिथ्य सत्कारको प्रदर्शन, विकास र समृद्धिको चाहना, भाषिक चातुर्य, स्तरीय शब्दचयन, सुन्दर वाक्यगठन आदिले नियात्राकारको शिल्पगत वैशिष्ठ्य पोतिएको छ ।

 

वैयक्तिक अनुभूतिको वर्चस्व छरपष्ट छ ‘यात्राको लय’ मा । तर पनि पाठकलाई सँगसँगै घुमाउन सफल छन् लेखकीय शैलीबाट । नेपालका विविध भूगोललाई भावनामा उनेर अनुभूतिको पन्यूले पस्केर ज्ञानको थालीमा हालेको महसुस हरेक पाठकले गर्न सक्छन् । लेखकको आफ्नो कथा नबोलेर जातीय विभेदता, गरिबी, अशिक्षा, अज्ञानता, भौगोलिक विविधता, विकटता र प्राकृतिक सुन्दरताका पक्षहरूले चिहाएका छन् १७ अध्यायमार्फत । जातीय भेदभाव र व्यक्तिगत आचरणमा सुधारको प्रयासले सामाजिक क्रान्तिको सन्देश दिएका छन्, सहभोज शीर्षकमार्फत ।

 

प्रथम पुरुष आफू र आफूसँग सम्बन्धित पात्रहरूले यात्राको पृष्ठभूमि ओगटेका छन् । ‘यात्रा जता पनि छरिन सक्छ, जसरी जीवन जता पनि पुग्न सक्छ,’ ‘यात्राको लय’को मूल मर्म यही पेरिफेरीमै केन्द्रित छ । पहिलो गल्कोट यात्राको बकपत्रमा त्यहाँका विभिन्न स्थान घोडाबाँधे, घसाको ओरालो, शीतलपाटीको बयानमा आफू त्यही पुगेको अनुभव गर्न सकिन्छ । अनौठा नाम लाग्ने नरेठाँटी, दुधिलाभाँटी जस्ता स्थानहरूको वर्णनले पाठकलाई त्यसतर्फ लम्किने हुटहुटी पलाउँछ ।

 

राजा आनन्दबम मल्लको समय वि.सं. १६३० ताका एक स्वतन्त्र राज्य थियो रे ! गल्कोट मल्ल राजाको दरबार यसको प्रमाण हो । पहिले गोलकोट थियो रे, पछि अपभ्रंश भएर गल्कोट भएको रहेछ । इतिहासबारे खोज अनुसन्धानमूलक तथ्य पनि यस नियात्राको अध्यायमा पढ्न सकिन्छ । त्यस्तै ऐतिहासिक स्थल मकवानपुरगढीको महŒव र विशेषताबारे सुसूचित गर्न पनि पछि पर्दैनन् । यात्राको लहरीमा लहरिँदै मकवानपुरगढी प्रकृतिका काखमा फुलेका गुराँस, पहाड, डाँडासँग मनोवादमा तल्लीन छन् लेखक । विकासको नाममा गरिएका प्राकृतिक विनाशले गुनासो पोख्छन् नियात्राकारसँग ।

 

दार्जिलिङ हुँदै मिरिकसम्म पहाडको रानीको नाममा ख्याति कमाएको दार्जिलिङ सांस्कृतिक विविधताको धनी छ । कन्चनजंगाको छहारीमा बसेको यो सहर बेलायतको कब्जामा सन् १९६६ मा परेको थियो । नेपाली कला, साहित्य र संस्कृतिलाई उचाइमा पुर्‍याउन योगदान दिने व्यक्तित्वहरू पारिजात, अम्बर गुरुङ, रन्जित गजमेर, गायिका अरुणा लामा, लीलबहादुर क्षेत्रीजस्ता थुप्रै हस्तीको सिर्जना दार्जिलिङले नै गरेको रहेछ भन्ने बुझ्न गाह्रो परेन यस पुस्तकबाट ।

 

वराहक्षेत्र–चतराधाम यात्रा संसारकै पहिलो धाम मानिँदो रहेछ । पन्ध्र सय वर्ष पुराना पुरातात्विक महत्वका मूर्तिसमेत रहेका, ताम्रशिला उठाउन सक्नेलाई धर्मात्मी मान्ने किंवदन्ती, ऐतिहासिक महŒव र विशेषता बोकेर संसारमा परिचित गराउन सफल धार्मिक स्थलहरूको सारांश अनुसन्धान पनि समेटिएका छन् । 

 

भाषाशैली, वर्णनशिल्प, शब्द प्रयोग र प्रस्तुति उत्कृष्ट छ । म पात्रबाट उठाउन नसकेका, मनले टिप्न नसकेका अनुभवहरू वास्तविकताबाट टाढिएको हो कि भन्ने भान हुन्छ कतै कतै । एउटै स्थानलाई दुई–तीन ठाउँमा व्याख्या नगरिएको भए अझ उत्कृष्ट हुन्थ्यो नियात्रा । ‘शीतलपाटी मावि उदास र कोपरिएका भित्ता देख्दा विधवाको सिउँदोजस्तै उजाडलाग्दो देखिन्छ विद्यालय भवन ।’ यसमा प्रयुक्त भएको विधवा शब्दलाई स्कुलको भौतिक संरचनासँग नदाँजिएको भए राम्रो हुन्थ्यो । सामान्य घुमफिरलाई शिल्पकलाका बुटामा लयबद्ध गर्दै लेखिएको छ । यो एउटा दृश्यचित्र, भावचित्र र ध्वनिचित्रको संगम हो ।