• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
पवन बराइली
२०८१ श्रावण १२ शनिबार ०९:१३:००
फिल्म

सिने क्षेत्रमा अझै पुरुषवादी दृष्टिकोण हाबी छ

२०८१ श्रावण १२ शनिबार ०९:१३:००
पवन बराइली

 

नेपाली रंगमञ्च र सिनेमाकी अब्बल अभिनेत्री हुन्, पशुपति राई । उनले ‘बाठी रानी’, ‘बाघ भैरव’, ‘सपनाको साविति’, ‘नेपाली आमा’, ‘मायादेवीको सपना’, ‘देउराली डाँडी,’ ‘एन्टिगोनी’लगायत दर्जनाैँ नाटकमा अभिनय गरिसकेकी छिन् । ‘कबड्डी’, ‘हल्करा’लगायत फिल्ममा अभिनय गरेकी उनी ‘गाउँ आएको बाटो’मा मुख्य भूमिकामा छिन् । अभिनेत्री राईसँग रंगमञ्च र सिनेमाको अनुभवबारे पवन बराइलीले कुराकानी गरेका छन् :

 

मेरो अभिनय यात्रा झन्डै दुई दशक पुग्यो । म आफूलाई एकदमै अब्बल कलाकार मान्दिनँ । तर, कामप्रति मिहिनेत, लगनशील र इमानदारिता प्रमुख हुन् जस्तो लाग्छ । म मिहिनेत र इमानदार भएर काम गर्दै आइरहेको छु । मैले थुप्रै नाटकमा अभिनय गरिसकेकी छु । यो बीचमा मैले केही सिनेमाहरू पनि काम गरेँ । तर, मेरा लागि सिनेमा ‘गाउँ आएको बाटो’ निकै महत्वपूर्ण रह्यो । मैले ‘टोरोन्टो’, ‘बुसान’जस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने अवसर पाएँ । यसले  करिअर र काममा महत्वपूर्ण भूमिका पक्कै राख्छ । त्यहाँ मैले विश्वका विभिन्न देशका कलाकारहरूको काम हेर्ने मौका पाएँ । उनीहरूसँग सम्बन्ध विस्तार हुन पायो । उनीहरूको कामको पनि साक्षी बन्न पाइयो ।  उनीहरूसँगै उभिएर आफ्नो कामलाई हेर्न पाइयो । मैले त्यहाँको कला संस्कृति, भाषा, साहित्यलाई थप बुझ्न पाएँ । 

 

हामी त्यहाँ आफ्नो काम लिएर पुगेका थियौंँ । देशलाई प्रतिनिधित्व गरेर गइरहेका थियौं । फेस्टिभलमा अरु देशका कलाकार जसरी नै उभिएकी थिएँ । टोरोन्टोमा ‘गाउँ आएको बाटो’ हेर्ने दर्शकको उपस्थिति पनि बाक्लो थियो । देश सानो ठूलो भनेर फरक नपर्ने रहेछ । पहिलो त हाम्रो कामको महत्वपूर्ण रहेछ । म जति पनि फेस्टिभलहरूमा गएँ, त्यहाँ पुग्दा विदेशी फिल्ममेकरले नेपाली सिनेमाका बारेमा चासोका साथ हेरे । हाम्रोमा काम पनि राम्रै भइरहेको रहेछ भन्ने महसुस भयो । 

 

प्राथमिकता अनुहार कि अभिनय ?

 

फिल्म निर्देशकले अभिनयलाई भन्दा अनुहारलाई बढी प्रथामिकता दिएको पाइन्छ । हुन त त्यो उहाँहरूको व्यक्तिगत विचार पनि होला । फिल्म मेकिङ आफैँमा जोखिमको काम पनि हो । मानसिक र शारिरीक रूपमा धेरै लगानी हुन्छ । आर्थिक रूपमा पनि ठूलो लगानी हुन्छ । त्यो लगानी उठाउने मेकरलाई दबाब हुन्छ होला । पैसा कमाउने दृष्टिकोण राखेर पनि होला निर्माता/निर्देशकले अभिनय भन्दा अनुहारलाई प्रथामिकता दिएको पाइन्छ । उहाँहरूलाई अभिनय ठिकठाक गर्‍यो भन्ने चल्छ भन्ने बुझाई छ । अनुहारचाहिँ बिक्ने हुनुपर्छ भन्ने कुरालाई जोड दिइन्छ ।

 

मुख्य भूमिकामा अभिनेत्री 

 

अब मुख्य भूमिका अभिनेत्री पनि हुनुपर्छ भन्ने बहस हुन जरुरी छ । यसले केही राम्रा कुरा लिएर आउँछ । महिला कलाकार केन्द्रमा रहेको एकदमै कम सिनेमा बनेका छन् । त्यसैले गर्दा पनि काम देखाउन पाएका छैनन्जस्तो लाग्छ । महिलाहरूले कति नै क्यारेक्टरपाउँछन् र ? महिला पात्र केन्द्रमा रहेर एकदमै कम कथा लेखिएका छन् । तर, महिला केन्द्रमा रहेका सिनेमा अब्बल नै देख्छु । उनीहरूले पात्र र कथालाई न्याय नै गरेको देखिन्छ । यस्तो देख्नु व्यक्तिगत बुझाइ पनि होला । कलाकारले आफ्नो काम इमादारिताका साथ गर्ने हो ।

 

फिल्ममा महिला कलाकार र पुरुष कलाकारलाई हेर्ने दृष्टिकोण फरक छ । महिला कलारकारलाई हेर्ने सौन्दर्य चेत अझै पनि फेरिएको देखिँदैन । यो पितृसत्तात्मक सोचको उपज हो । सिने क्षेत्रमा पनि अझै पितृसत्तात्मक सोच हाबी छ । यो सोच र मानसिकता हाम्रोमा छिट्टै हट्दैन होला । कलालाई जबसम्म ‘कमर्सियल भ्यालु’ले तौलिने गरिन्छ, तबसम्म महिला कलाकारलाई हेर्ने चेतमा परिवर्तन आउँदैन । कामका आधारमा सौन्दर्यको तुलना गर्नुपर्ने हो ।  

 

सौन्दर्यको मापदण्डलाई लिएर बहस हुनुपर्ने हो । सिनेमामा अझै पनि महिलाहरूलाई सौन्दर्यको साधन मानिन्छ । अनुहारको बनोट र बाहिरी शरीरको संरचनालाई सुन्दरताको मानक बनाइएको छ ।  यो बुझाइ सामान्य चेतले परिवर्तन हुँदैन होला । यसका लागि लामो समय लाग्न सक्छ ।

 

बाहिर देखिने सुन्दरताभन्दा भित्री गुणको सुन्दरता महत्वपूर्ण हुन्छ । तपाईं भित्री रूपमा एकदमै राम्रो हुनुहुन्छ भने बाहिरी रूपसँग तुलना गरिराख्नुपर्दैन । तपाईंको भित्री गुणचाहिँ राम्रो हुनुपर्छ । त्यसले तपाईंको सुन्दरताको मापन हुने हो । बाहिरी सुन्दरता समयअनुसार परिवर्तन हुँदै जाने कुरा हुन् । तपाईं भित्री रूपमा समयअनुसार परिपक्व हुँदै जानुहुन्छ । तर, बाहिर सुन्दरता समयअनुसार हराउँदै जान्छ । त्यसैले  जबसम्म तपाईंभित्रबाट सुन्दर हुनुहुन्छ, त्यसले तपाईंलाई सुन्दर बनाउँछ । 

 

रंगमञ्च र सिनेमा

 

सिनेमा र थिएटरमा अभिनयको हिसाबले त्यस्तो फरक छैन । यसको माध्यम मात्रै फरक हो । थिएटरमा दर्शकसँग प्रत्यक्ष रूपमा जोडिएको भएर काम गर्नुपर्ने हुन्छ । रंगमञ्चले मान्छेलाई धैर्य गर्न सिकाउँछ । आफूभित्र निरन्तर कला खोज्ने कुरा रंगमञ्चमा सिक्न सकिन्छ । थिएटरमा कलाको धेरै अभ्यास गरिन्छ साथै, अध्ययन अभ्यास पनि गरिन्छ ।  रंगमञ्चमा काम गर्दा आफ्नो जीवन चिन्ने मौका पाइन्छ । थिएटरबाट सिनेमामा आउँदा टेक्निकल पाटोलाई बुझिन्छ । सिनेमामा अभिनयका टेक्निकमा पनि ध्यान दिनुपर्छ । सिनेमामा निर्देशकको दृष्टिकोणले क्यामेराको माध्यमबाट काम गरिन्छ । मलाई अभिनयको हिसाबले थिएटर र सिनेमा एउटै लाग्छ । रंगमञ्चमा एउटा क्यारेक्टरका लागि जति मेहिनेत गर्नुपर्छ सिनेमामा पनि उति नै मिहिनेत गर्नुपर्छ । कामका हिसाबले यी दुवै विधा चुनौतीपूर्ण लाग्छ ।

 

नयाँ पुस्ताको आगमन 

 

अहिले सिनेमा र थिएटरमा नयाँ पुस्ताको उपस्थिति बाक्लो छ । थिएटरमा उत्साहजनक उपस्थिति देखिन्छ । थिएटरमा नयाँ–नयाँ कलाकारहरूले संघर्ष गरिरहेका छन् । सिनेमामा पनि नयाँ कलाकारले काम गरिरहनु भएको छ । नयाँ पुस्ताले कलाप्रति चासो र सम्मान देखाउनु आफैँमा सुखद हो । उनीहरूलाई अग्रजहरूले अनुभव बाँड्न सक्छौँ । त्यसमा उनीहरूले पनि मेहिनेत गर्न जरुरी हुन्छ । उनीहरूलाई राम्रो ‘गाइडेन्स’चाहिँ आवश्यक छ । रंगमञ्च कलाकारका लागि साधन गर्ने ठाउँ हो । रंगमञ्चमा सूक्ष्म तरिकाले अभिनयको अभ्यास गर्न पाइन्छ । रंगमञ्चले जीवनलाई सहज र सरल तरिकाले जिउन सिकाउँछ । रंगमञ्च चर्चा र प्रतिष्ठाभन्दा माथि उठेर साधाना गर्ने थलो हो । यसमा अनुशासन र अभ्यास धेरै गरिन्छ । त्यसैले रंगमञ्चबाट कलाकारिता थाल्दा राम्रो हुन्छ ।