• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
दिपेन्द्र ढुंगाना
२०८१ श्रावण १२ शनिबार ०९:३७:००
खेल

ओलम्पिकमा जितको तयारी

२०८१ श्रावण १२ शनिबार ०९:३७:००
दिपेन्द्र ढुंगाना

 

२८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म पेरिसमा हुने पारा–ओलम्पिकका लागि अभ्यासरत तीन खेलाडीका संघर्ष

 

दार्चुलाको विकट गाउँबाट कीर्तिपुरसम्मको यात्रा जति नै कठिन भए पनि जीवनको एक उत्कृष्ट यात्राको रूपमा सम्झिन्छन् भरत सिंह । जन्मिँदै एक हात नभएका भरतलाई स्कुलका एक शिक्षकले कक्षामा साथीका अगाडि अपमानित गरे, जसले उनलाई गहिरो मानसिक पीडा भयो । यो अपमान सहन नसकेर उनले जीवनमा केही गर्ने अठोट लिए । त्यही अठोटले उनी अहिले पेरिस पारा–ओलम्पिकका लागि तेक्वान्दोमा तयारी गर्दै छन् ।

 

दैनिक ६–७ घन्टा प्रशिक्षणमा व्यस्त रहने भरतको जीवन संघर्षपूर्ण छ । २७ वर्षीय भरत १५ महिनादेखि राष्ट्रिय टोलीसँग प्रशिक्षण लिँदै छन् । उनले ताइवान, चीन र भियतनाममा भएको एसियाली छनोटमा पनि भाग लिएका थिए । प्रशिक्षक कविराज नेगी लामाले उनको जोश र प्रतिबद्धतासँग प्रभावित भई उनलाई निःशुल्क प्रशिक्षण दिने प्रस्ताव गरे । डेढ वर्षमा, भरतले अन्तर्राष्ट्रिय खेल जित्दै पेरिस पारा–ओलम्पिकका लागि वाइल्ड कार्ड कोटा सुरक्षित गरे, यद्यपि मेडलको प्रतीक्षा भने जारी छ । उनी नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद्को सहयोगप्रति कृतज्ञ छन् ।

 

भरतको जीवन मात्र खेलमा सीमित छैन । बिहान ४ बजे उठेर गोठको काम र दूध बेच्न थालेपछि मात्र उनी खेलमा फोकस हुन्छन्, जुन उनको परिवारको जीविकोपार्जनका लागि एक मात्र आयस्रोत हो । आमाले गहना बेचेको पैसाले र मामाको छोराले दिएको ऋणले गाई फर्म खोलेका भरत ऋण तिर्नका लागि भए पनि ओलम्पिक मेडल जित्ने दृढ विश्वास राख्छन् । प्रशिक्षक लामासँगको भेटले उनको आत्मविश्वास थप बलियो भएको भरत बताउँछन् ।

 

भरतसँगै पलेसा गोवर्धन पनि पेरिस ओलम्पिकमा सहभागी हुँदै छिन् । २० वर्षीया पलेसाले चीनमा भएको एसियाली छनोटमा स्वर्ण पदक जितेर २०२४ को पेरिस पारा–ओलम्पिकमा स्थान बनाइन् । जन्मदै बायाँ हत्केला नभएकी पलेसाले १३ वर्षको उमेरमा खेल यात्रा सुरू गरेकी थिइन् र अहिलेसम्म थुप्रै पुरस्कार जितिसकेकी छिन् । पलेसाले चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छिन् र प्रशिक्षणका लागि ६ महिनाको बिदा लिएकी छिन् । उनी लामो समयदेखि सातदोबाटो खेलकुद कम्प्लेक्समा तालिम गरिरहेकी छिन् । मार्सल आर्ट्समा सधैँ रुचि राखेकी उनले आमाबुबाको पनि सधैँ साथ पाइन् । स्कुले जीवनमा अवसर पाएपछि उनले तेक्वान्दो खेलको अभ्यासलाई निरन्तरता दिइरहेकी छिन् । 

 

प्रशिक्षक कविराज नेगी लामाले २०१५ देखि नेपाली पारा तेक्वान्दो टोलीलाई प्रशिक्षण दिइरहेका छन् । टोक्यो २०२०  पारा–ओलम्पिकमा पदक नजिते पनि टोलीको दृढ संकल्प अडिग छ । पेरिसमा नेपाली खेलाडीले अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । सन् २०१३ देखि पारा तेक्वान्दो खेल्न थालेको नेपालले २१ अन्तर्राष्ट्रिय पदक जिते पनि ओलम्पिकमा खाता खोल्न प्रयासरत नै छ । 

 

गोर्खाका ४१ वर्षीय पूर्वआर्मी भीमबहादुर कुमाल पनि पेरिस पारा–ओलम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्न अभ्यास गर्दै छन् । ०६२ सालमा २१ वर्ष हुँदा भोजपुरमा माओवादी एम्बुसमा परेर एक खुट्टा गुमाएका भीमको खेल जीवन भने ३२ वर्षको उमेरमा मात्र सुरु भयो । खुट्टा गुमाएपछि पटक–पटक आत्महत्याका बारेमा सोचेका भीमका लागि खेल एक नयां जीवनको सुरुवात भएर आयो । अहिलेसम्म उनले चार–पाँच राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन् । भीमको तयारीमा उनका कोच विजेनमान श्रेष्ठले स्विमिङ पुल, कस्ट्युम तथा दैनिक खर्च व्यवस्थापनमा सहयोगका साथै महत्वपूर्ण भूमिका खेलेका छन् । राष्ट्रका लागि नयाँ कीर्तिमान राख्दै भीमले पेरिस ओलम्पिकमा मेडल जित्ने आत्मविश्वास राखेका छन् ।