• वि.सं २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
मानदत्त रावल
२०८१ श्रावण १२ शनिबार ०९:५६:००
रिपाेर्ट

बिदेसिने सपना त्यागेर

२०८१ श्रावण १२ शनिबार ०९:५६:००
मानदत्त रावल

 

सुशीलको कृषिकर्ममा आफू मात्रै रोजगार छैनन्, अन्य १० जना युवालाई पनि रोजगार दिएका छन् । कृषि पेसाबाट युवाहरू पलायन भइरहेको वेला सुशीलले लोभलाग्दो र नमुना कृषि फर्म सञ्चालन गरेपछि स्थानीय बुढापाकाहरू खुसी देखिन्छन् ।

 

देशमा रोजगार छैन भन्दै धेरैजसो युवा विदेश गइरहेका छन् । तर, जुम्ला, चन्दननाथ नगरपालिका–६ छिना गाउँका युवा सुशील रावल आफ्नै जन्मभूमिमा कृषि पेसामै रमाइरहेका छन् । २०७७ सालमै जापान जाने तयारीमा जुटेका उनी पछि जापान नगएर गाउँमै कृषि पेसामा रमाउन थाले ।

 

उनले सदरमुकाम खलंगा चन्दननाथ नगरपालिका–६ मा १२ रोपनी जग्गामा कृषि खेती गरिरहेका छन् । कुरिलो, ब्रो काउली, स्कुस, भेडे खुर्सानी, अकबरे खुर्सानी, डेजिरे, खुमल सेतो र लोक जातको आलु र टमाटर उत्पादन गरिरहेका छन् । यस्तै, ओखर र स्याउका ग्राफ्टिङ बिरुवा पनि उनले उत्पादन गर्दै आएका छन् । उनले सुरुमा १० हजार रुपैयाँ लगानी गरी ओखरको बिरुवा उत्पादन गर्न सुरु गरेका थिए । अहिले वार्षिक १५ लाखको कारोबार गर्दै आएका छन् । उनले यो व्यावसायिक कृषि खेती गर्न थालेको करिब सात वर्ष भयो ।

 

सुशील कोभिडका कारण जापान जान पाएनन् । त्यसपछि कृषि पेसामा आबद्ध भए । उनी भन्छन्, ‘जापान जाने तयारीमा थिएँ । कोरानाको कारण लकडाउन भयो । त्यसपछि जापानको सपना त्यागेर आफ्नै ठाउँमा कृषि पेसामा आबद्ध भएँ ।’ उनी घरको एक्लो छोरा भएको कारणले पनि विदेश जान घरपरिवारले स्वीकृति पनि दिएन ।

 

सुशीलको कृषि फर्ममा १० जना युवालाई पनि रोजगार दिएका छन् । कृषि पेसाबाट युवा पलायन भइरहेका वेला सुशीलले लोभलाग्दो र नमुना कृषि फर्म सञ्चालन गरेपछि स्थानीय बूढापाका खुसी देखिन्छन् ।

 

उनको कृषि फर्म बाहै्रमास हरियाली देखिन्छ । धेरै प्रजातिका तरकारी लटरम्म फलिरहेका हुन्छन् । उनले मौसमी र बेमौसमी दुवै किसिमको तरकारी खेती गर्दै आएका छन् । प्रेरणाको स्रोत बनेका सुशील र उनका सहयोगी साथीहरू दिनरात कृषि फर्ममै काम गरिरहेका देखिन्छन् । सुशील भन्छन्, ‘नेपाललाई कृषि प्रधान देश भन्छौँ, तर हाम्रो जस्तो मुलुकमा यो पेसाप्रति समर्पित व्यक्तिलाई सम्मान गरिँदैन । अरूले पनि अनुसरण गरून् भन्ने उद्देश्यका साथ कृषि पेसामा हामी आबद्ध भएका हौँ ।’ सुरुवात आफैँबाट गरौँ, परिवर्तन सम्भव छ भन्ने सोचका साथ कृषि पेसामा लागेको उनी सुनाउँछन् । तरकारी उत्पादन गर्न सके बजार व्यवस्थापनको समस्या नहुने उनको बुझाइ छ ।

 

उनीहरूको अनुभवले भन्छ, गाउँघरमा पनि तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ । यसैबाट घरपरिवारको पालनपोषण गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्न सकिन्छ । कृषि क्षेत्रमा लाग्ने युवाको भविष्य राम्रो रहेको बताउँदै उनी भन्छन्, ‘विदेश जान लगानी गर्ने पैसाले कृषि क्षेत्रमा लगानी गर्न सकेको खण्डमा आम्दानी पनि राम्रो लिन सकिन्छ ।’

 

विदेशको मुख ताकेर बस्ने र विदेशतिर भौँतारिनुभन्दा कृषि क्षेत्रमा लाग्दा दाम र नाम स्वदेशमै मिल्ने सुशीलको बुझाइ छ । व्यवसाय गर्न सक्ने व्यक्तिका लागि सरकारले अनुदान पनि दिने गरेको छ । केही आफ्नो लगानी गर्न सकेको खण्डमा राज्यको अनुदान पनि मिल्ने उनी सुनाउँछन् ।

 

गतवर्ष सुशीलले कृषि विकास कार्यालय जुम्लाको एक लाख अनुदान र आफ्नो एक लाख गरी दुई लाख लगानीमा तरकारी क्षेत्र विस्तार गरेका हुन् । यस्तै उनले कृषि प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाबाट स्याउका नर्सरी रुट स्टक बिरुवा उत्पादनका लागि एक लाख ७५ हजार अनुदान प्राप्त गरेका छन् र त्यति नै रकम उनले लगानी गरेका छन् ।

 

कृषि व्यवसायमा भविष्य देखेका युवा किसान सुशील भन्छन्, ‘स्वरोजगार बनौँ, अरूको मुख नताकौँ ।’