• वि.सं २०८१ भदौ २३ आइतबार
  • Sunday, 08 September, 2024
पवन बराइली
२०८१ श्रावण १२ शनिबार १०:२२:००
फिल्म

अभिनेता दयाहाङ राईलाई  निर्देशक निश्चल बस्नेतका दर्जन प्रश्न 

२०८१ श्रावण १२ शनिबार १०:२२:००
पवन बराइली

 

'अहिलेसम्म जति काम गरेँ, अब त्योभन्दा राम्रो गरौँ भन्ने लाग्छ । अहिले त्यस्तै राम्रो कामका लागि राम्रो स्क्रिप्टको पर्खाइमा छु ।'

 

थुप्रै नाटक निर्देशन गरिसक्नुभएको छ । तर, फिल्म निर्देशन गर्नुभएको छैन । फिल्मको निर्देशकचाहिँ कहिले बन्ने ?

 

धेरै फिल्ममा काम गरेँ । थुप्रै निर्देशकसँग संगत पनि भयो । त्यो संगतले मलाई निर्देशन सजिलो काम होइन रहेछ भन्ने महसुस गरायो । पहिले फिल्म निर्देशन गर्ने योजना पनि थियो । यस्तो किसिमको फिल्म बनाउँछु भन्ने खाका पनि तयार थियो । तर, अहिले निर्देशन गर्ने आँट मरेको छ । आँट आएपछि फिल्म निर्देशन गर्छु होला ।

 

तपाईंलाई कस्तो खालको फिल्म बनाउन मन छ ?

 

ठ्याक्कै यस्तो खालको फिल्म बनाउँछु भन्ने दिमागमा छैन । तर, मलाई ‘सोसियल ड्रामा’ मनपर्छ । ‘हिस्टोरिकल’भन्दा पनि मिथिकल क्यारेक्टरहरूको कल्पना आउँछ । तर, त्यो गर्न सजिलो छैन ।

 

मनले चाहेजस्तो फिल्म खेलिसक्नुभयो कि खेल्न बाँकी छ ?

 

मेरो दिमागमा यस्तै खालको फिल्म भन्ने छैन । ‘क्रस कल्चर भ्यालु’ भएको ‘रिदमिक’ फिल्ममा काम गर्न पाएहुन्थ्यो भन्नेचाहिँ लाग्छ । फिल्म नेपाल देखिने खालको होस् भन्ने लाग्छ । म फिल्म छायांकनका लागि नेपालका धेरै ठाउँ पुगेको छु । ती ठाउँ पुग्दा मानिसका आ–आफ्नै जीवनको लय र विश्वास पद्धति पाउँछु । हाम्रोमा हरेक समुदायको विश्वास पद्धति र मूल्य–मान्यता छन् । यसलाई एउटै मालामा उनेर फिल्म बनाउन पाए कस्तो मिठो हुन्थ्यो होला । यस्तो फिल्ममा म पनि कतै अटाउन पाएहुन्थ्यो भन्ने लाग्छ । तर, यसका लागि हरेक समुदायको विश्वास पद्धति र जीवन बुझ्न जरुरी छ । फिल्म कति म्युजिकल र रिदमिक हुन्थ्यो होला । हामीले खोजेजस्तो जीवन नै त्यहाँ आउँथ्यो होला । लभ, रोमान्स, थ्रिलर सबै प्रकारको हुन्थ्यो होला । हाम्रो जीवनको भोगाइ एउटै हुँदैन । सबैको फरक–फरक हुन्छ । हेर्दाचाहिँ रियल होस्, तर देख्दा सरियल होस् भन्ने लाग्छ । तर, निर्माण हुन गाह्रो छ । यो दिमागमा आउने कुरा हो ।

 

तपाईंले मसहित धेरै निर्देशकसँग काम गरिसक्नुभएको छ । हामी निर्देशक साँच्चै आफ्नो सिकाइ, भोगाइ र बुझाइमा फिल्म बनाइरहेका छौँ त ? 

 

मैले अधिकांश निर्देशकको डेब्यु फिल्ममा काम गरेको छु । कुनै पनि निर्देशकले नबुझी फिल्म बनाएका छैनन् । पहिलो फिल्ममा हामी इमानदार हुँदा रहेछौँ । दोस्रो फिल्मदेखिचाहिँ धेरै कुराको दबाब हुँदो रहेछ । दबाबलाई छल्न हामीले नियत घुसाइहाल्दा रहेछौँ । नियत घुसेपछि खुस्किहाल्छ । अधिकांश निर्देशकमा यही समस्या देखेको छु । यस्तो हुनुमा हाम्रो ज्ञानको कमजोरी भन्न मिल्दैन, भोगाइको कमजोरी पक्कै हो । 

 

मैले पनि एउटा कुनै ‘क्यारेक्टर’मा मज्जाले काम गर्न समय लगाउँछु होला । फेरि अर्काे क्यारेक्टरका लागि उत्तिकै समय लाग्छ । तर, म पनि ‘स्केप’ गर्छु । जोगिएरै काम गर्दाे रहेछु । यस्तो समस्या हुनुमा हाम्रो भोगाइको अभाव होला । हाम्रो सिनेमा निर्माणको अभ्यास पनि होला । हामीले सिनेमा निर्माणको अभ्यास थालेको ६०–७० वर्ष भयो । फिल्म कलेजहरू खुल्न थालेको २० वर्षजति भयो होला । अनि हामीसँग के अनुभव छ र ? हामीले फिल्ममा काम गर्न थाल्दा के अनुभव थियो र ? हामी अनुभव र भोगाइ नपुगेर अलि विचलित हुँदा रहेछौँ । 

 

हिजो तपाईंलाई फिल्म खेल्न मन लाग्दा फिल्म पाउनुहुन्नथ्यो । तर, आज भ्याउँदिनँ भन्दा पनि तपाईंलाई फिल्म खेलाउनेको ताँती लाग्छ । हिजोको दयाहाङ राई र आजको दयाहाङ राईमा के समानता छ ? 

 

म अहिले पनि पर्खाइमै छु । त्यतिखेर पनि पर्खाइमै थिएँ । त्यतिखेर फिल्म खेल्नुपर्छ भन्ने पर्खाइमा थिएँ । फिल्म खेल्न पाए आफ्नो काम देखाउँथेँ भन्ने लाग्थ्यो । त्यो मैले पाइसकेँ । अनुभव गरेपछि बुझ्दै छु भन्ने महसुस हुँदो रहेछ । अहिलेसम्म जति काम गरेँ, अब त्योभन्दा राम्रो गरौँ भन्ने लाग्छ । अहिले त्यस्तै राम्रो कामको लागि राम्रो स्क्रिप्टको पर्खाइमा छु । मेरो हिजो र आजको समानता यही हो । 

 

तपाईंसँग ‘लुट’को प्रसंग जोड्न मन लाग्यो । त्यसवेला म फिल्म क्षेत्रका लागि नयाँ थिएँ । निर्देशक मीन भामले तपाईंसँग चिनजान गराइदिएका थिए । तर, तपाईंसँग लुटमा काम गर्न पाउँछु होला भन्नेमा ढुक्क थिइनँ । त्यो वेला किन तपाईंलाई ‘लुट’मा काम गरौँ जस्तो लाग्यो ? 

 

पहिलो कुरा म फिल्मकै खोजीमा थिएँ । मलाई तिमी (निश्चल) ले फिल्मको प्रस्ताव लिएर आउँदा चासो लागेको थियो । तर, मान्छे त नयाँ थियो । बिस्तारै हाम्रो भेटघाट बाक्लियो । त्यसपछि एउटा माहोल बन्दै गयो । निश्चलमा त्यो समयको ‘फस्ट्रेसन’ पनि अभिव्यक्त हुन्थ्यो । हुन त समय पनि त्यस्तै थियो । यो मान्छेले पक्कै फिल्ममार्फत प्रश्न गर्छ भन्ने लाग्न थाल्यो । त्यसपछि म ढुक्क थिएँ । मलाई अग्रजहरूसँगभन्दा आफ्ना समकालीनसँग काम गर्न सजिलो लाग्छ । आफ्ना जिज्ञासा पनि सजिलै राख्न सकिन्छ । त्यसैले पनि ‘लुट’मा काम गरियो । 

 

‘लुट’मा हामीले निकै इमानदार भएर काम गरेका थियौँ । त्यतिखेर सायद हामीलाई केही गुमाउनु थिएन । ६ महिना, तीन वर्ष, पाँच वर्ष जति समय लागे पनि ‘लुट’बाहेक अरू विकल्प थिएन ।

 

लामो संघर्षपछि तपाईं व्यस्त र सफल अभिनेता हुनुभएको छ । दुई छोराको बुबा पनि हुनुहुन्छ । भोलि छोराहरूले पनि बुबाकै बाटो पछ्याए भने तपाईंलाई राम्रै सोचेछन् भन्ने लाग्छ?

 

म छोराहरूको इच्छालाई स्वतन्त्र छोडिदिन्छु । र, उनीहरूले पनि मेरै काम गर्छु भनेर आए भने स्वीकार गर्छु । उनीहरूले पनि सजिलै काम नपाउलान् । काम त खोज्नैपर्ला । हाम्रो वेलामा सबै अन्धकार नै थियो । हाम्रा लागि पढ्ने र सिक्ने ठाउँ सीमित थिए । अहिले परिस्थिति फरक भएको छ । तर, कलाकारका लागि ‘ब्याकअप’ केही पनि छैन । यसले मलाई अलि निराश बनाउँछ । 

 

तर, म नयाँ पुस्तासँग निकै आशावादी छु । त्यसैले मेरा छोराछोरीले यही कर्म गर्छाैं भनेर आए भने रोक्न चाहन्नँ । किनभने, हामीभन्दा उनीहरू बुझेर–सोचेर नै आएका हुन्छन् । एउटा मान्छेले सपना पछ्याउन थालेपछि बाटो आफैँ तय हुँदै जान्छ । कहाँसम्म पुग्ने भनेर सपना देख्नचाहिँ पर्छ । छोराछोरीले बुबाको काम देखेर आउनु भनेको आकर्षित हुनु मात्रै हो । तर, आफ्नै मनले सपना देखेर आउनु राम्रो कुरा हो । 

 

पछिल्लो समय फिल्ममा नयाँ पुस्ताका कलाकार धेरै आइरहेका छन् । तर, एकदमै खारिएर कलाकार आए भन्ने स्थिति देखिन्न । यस्तो किन भइरहेको होला ?

 

अहिलेका नयाँ पुस्ता एकदमै संवेदनशील छन् । उनीहरूले आफ्नै टेक्निक बोकेर आइरहेका छन् । उनीहरूमा संवेदनशीलता मात्रै छ, प्यासन छैन । उनीहरूसँग जानकारी छ, त्यसको स्रोत कहाँ हो ? र, त्यसलाई कसरी लिने भन्ने कुराको अभाव देखिन्छ । तर, एक–अर्कालाई राम्रोसँग बुझिरहेका छैनन् । एक–अर्कालाई राम्रोसँग अध्ययन गर्ने परिपाटी कम छ । 

 

उनीहरूले आफूमा केही कुराको कमी छ कि, सिक्न पुगेको छैन कि, कुर्न पुगेको छैन कि, भनेर महसुस गर्ने समय दिइरहेका छैनन् जस्तो लाग्छ । उनीहरूमा धैर्यता कम छ । छिटै रिजल्ट खोज्छन् । त्यसले उल्टो ‘फ्रस्टेसन’ निम्त्याउँछ । घाटा आफैँलाई हुने हो । रिजल्ट आउन कसैको ढिलो हुन्छ, कसैको छिटो ।

 

म अहिलेका नयाँ पुस्ताका कलाकारमा आक्रोश कम देख्छु । हिजो हामीमा आक्रोश थियो । हामी अलि सहरमुखी पनि भयौँ । सहरमा टिक्न र परिवारको जिम्मेवारीले गर्दा हाम्रो समय दौडिएरै बित्यो । त्यसरी नै आफूलाई विकास पनि गर्‍यौँ । नेपालमा छोटो समयमा धेरै कुरा परिवर्तन भयो । अहिलेका पुस्ता ‘साइलेन्ट’ देख्छु । उनीहरूले सबै ‘बुझेका’ छन् । तर, आफैँलाई बुझ्न समय राखेका छैनन् । त्यसैले धैर्यता राख्न जरुरी छ । आफूले आफैँलाई बुझ्ने समय दिनुपर्छ होला ।

 

तपाईं–हाम्रो क्षेत्रलाई अझै पनि सुरक्षित पेसा भन्न एकदमै गाह्रो छ । हाम्रो जीवनकालमै सिनेमा क्षेत्रलाई पनि ‘प्रोफेसन’ हो भन्ने बनाउन के गर्नुपर्ला ?

 

यसका लागि हाम्रो सोचले पनि आकार लिनुपर्छ होला । अहिले हामी आशावादी हुने ठाउँमा छौँ । हिजो ‘लुट’ रिलिज हुँदा नेपालभर हलमा ३०–३२ सो पाउँदा निकै खुसी हुने वेला थियो । अहिले एउटा फिल्मले नेपालभर एक सयभन्दा माथि स्क्रिनिङ पाउँछ । फिल्मको स्क्रिनिङ बढेको छ । फिल्म मेकिङ संख्या पनि बढिरहेको छ । हामी अनुशासित भएर काम गर्‍यौँ भने थप व्यवस्थित हँुदै जाला । साथै उद्योगको रूपमा विकास हुँदै जाला । फिल्म उद्योगमा निजी क्षेत्रबाट व्यवसाय गर्ने माहोल सिर्जना गर्नुपर्छ होला । राज्यले पनि त्यो ठाउँमा समन्वय गर्नुपर्छ । राज्यको सम्बन्धित ठाउँसम्म पुर्‍याउने दायित्व हाम्रै हो । 

 

तर, राज्यले कलालाई सामान्य रूपमा मात्रै बुझेको छ । राज्यको सम्बन्धित ठाउँमा यसबारे ज्ञान भरिदिने मान्छेको अभाव देखिन्छ । नीतिगत तहमा काम गर्ने मान्छे नभएकाले पनि यस्तो भइरहेको होला । हामीले काम गरिदिनुपर्‍यो भनेर मात्रै भनिरह्यौँ । सबैले आ–आफ्ना क्षेत्रबाट इमानदार भएर दबाब दिन थाल्यौँ भने पक्कै राज्य पनि सुध्रिन्थ्यो होला । 

 

खासमा राज्यले फिल्मलाई बुझ्न नचाहेको हो कि हामीले बुझाउन नसकेको हो ? 

 

म ‘थिएटर फेस्टिभल’ आयोजना गर्ने दौरानमा केही मन्त्रालय पुगेको छु । त्यहाँ उहाँहरूसँग भेट्दा साह्रै सुन्दर कुरा हुन्छ । राज्यले गर्नुपर्ने कला–संस्कृतिको काम तपाईंहरूले गरिरहनुभएको छ भन्नुहुन्छ । हामी मख्ख हुन्छौँ । राजनीतिक दलका नेताहरूसँगै बसेर फिल्म पनि हेरिरहेको हुन्छु । उहाँहरूले फिल्म हेरिसकेपछि तपाईंहरूले यति राम्रो काम गर्नुभएको छ, हामीलाई खुसी लागिरहेको छ भन्नुहुन्छ । मैले कतिपय देश फिल्मका माध्यमबाट चिनेको छु । त्यहाँको मूल्य–मान्यता फिल्मको माध्यमबाट बुझेको छु । नाटकको माध्यमबाट बुझेको छु । हाम्रो मूल्य–मान्यता, विश्वास पद्धति, जीवन दर्शन, संस्कार देखाउन फिल्म सजिलो माध्यम हो । यसलाई राज्यले पनि चासो देखाइदिए पुग्थ्यो । तर, राज्यसँग कला क्षेत्रलाई हेर्ने फुर्सद छैन । तर, घरी–घरी मलाई खुसी पनि लाग्छ, किनभने राज्यले अहिलेसम्म किन यस्तो काम गरिस् भनेर हतकडी लगाएको छैन । कम्तीमा साथ सहयोग गर्छु सम्म त भनेको छ । 

 

तपाईं विश्व प्रतिष्ठित फिल्म फेस्टिबलहरूमा पुगिसक्नुभयो । फेस्टिबलमा पुग्दाको अनुभव कस्तो छ ?

 

नौ वर्षअघि हाम्रो फिल्म ‘सेतो सूर्य’ले सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘सिल्भर स्क्रिन अवार्ड’ जितेको थियो । हामी स्टेजमा अवार्ड उचालिरहँदा भारतका फिल्म निर्देशक अनुराग कश्यप आएर हामीलाई अंकमाल गरे । उनले गर्वका साथ यो साउथ एसियाको जित हो भने । अवार्ड हाम्रो फिल्मले जितेको थियो । तर, साउथ एसियाले उत्सव मनाइरहेको थियो । त्यसपछि म भेनिस फिल्म फेस्टिबलमा गएको थिएँ । 

 

यसपटक ‘गाउँ आएको बाटो’ प्रिमियरका लागि ‘टोरन्टो’ गएँ । तर, टोरोन्टोमा हामी मात्रै थियौँ । ठूलो फेस्टिबलमा हामी छौँ पनि छैनौँ पनि भन्ने महसुस भयो । फेस्टिबलमा हाम्रो फिल्म पुग्छ । दर्शकले पनि हाम्रो फिल्म हेरिरहेका छन् । त्यहाँका सञ्चारमाध्यमले हामीलाई खोजिरहेका हुन्छन् । हाम्रो फोटो खिच्ने र अटोग्राफ लिने मान्छे बाटोमै भेटिन्छन् । तर, त्यहाँ हामी थियौँ पनि थिएनौँ पनि । अरू देशले फिल्मको पोस्टर राखेर प्रचार गरेको हुन्छ । उनीहरूले त्यहाँ उत्सव मनाइरहेका हुन्छन् । तर, हामी एक्लै हुन्छौँ । हुन त हामी भर्खर त्यहाँ पुग्दै छौँ । अहिले विश्वमञ्चमा पुग्नुपर्छ भनेर ५–६ जना निर्देशकले मात्रै काम गरिरहेका होलान् । तर, १४–१५ जना भए अझ धेरै फिल्म पुग्थ्यो होला । हाम्रो फिल्म धेरै विस्तार हुन्थ्यो होला । हिजो हामीलाई त्यहाँ पुग्ने सोच आउँदैनथ्यो । हामीलाई त्यहाँ जान डर लाग्थ्यो । म दुई–तीनवटा फिल्म फेस्टिबल पुगेपछि बल्ल थाहा भयो, हैसियत बनाउन सोच पनि चाहिने रहेछ । 

 

हामी राजनीतिक रूपमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिँदा रहेछौँ । अहिले राजनीतिक अस्थिरताका कारण नागरिकमा झन् निराशा थपिँदै गएको पाइन्छ । यस्तो हुनुमा हामी नागरिक कति जिम्मेवार छौँ जस्तो लाग्छ ?

 

हामी नागरिकमा साँच्चै सुझबुझ छैन । हामीमा अपेक्षा मात्रै छ । हामीसँग संसारभरिको ज्ञान छ । तर, हाम्रो आफ्नै ज्ञान छैन । हाम्रो राज्य व्यवस्था कसरी चलिरहेको छ ? हामीले कुन विचार बोकिरहेका छौँ ? कुन विचारचाहिँ सही हो ? कुन विचार गलत हो ? कुन विचार आउँदा कति समयमा परिवर्तन देख्न पाउँछौँ ? भन्ने कुरा बुझेका छैनौँ । हामी व्यक्तिमा पुजारी भयौँ । हामी धेरै व्यक्तिवादी भयौँ । अनि हामी शिक्षित भएनौँ । शिक्षित हुन अक्षर मात्रै चिनेर भएन । हामीले ठूलो सर्टिफिकेट भएकोलाई मात्रै शिक्षित भनिरहेका छौँ । व्यावहारिक शिक्षाको कुरामा हामी कमजोरी छौँ जस्तो लाग्छ । कसैले हो त भन्यो भने हो भनेर त्यतै दौडिरहेका छौँ । हाम्रो समाज र परिवेशअनुसार पार्टीको सिद्धान्त बनेको छ कि छैन ? कुनै पार्टीको नेता मनपर्‍यो भने विचार, सिद्धान्त होइन, व्यक्तितिर केन्द्रित हुन्छौँ । हामी व्यक्तिको पछि लागेर बिग्रेका छौँ । हाम्रो सोचमा फिल्मको हिरो जस्तो एउटा आइडियल व्यक्ति आइदिन्छ र सबै चिज त्यसैले गर्छ भन्ने लाग्छ । आफ्नो कर्तव्य र जिम्मेवारी बिर्सिन्छौँ । हामी नागरिक कठोर हुन जरुरी छ । साथै, शिक्षित हुनु जरुरी छ ।