• वि.सं २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
चिरञ्जीवी घिमिरे
२०८१ श्रावण १९ शनिबार ०८:२८:००
सम्झना

बिनायोले सम्झिरहने लोकगायक

२०८१ श्रावण १९ शनिबार ०८:२८:००
चिरञ्जीवी घिमिरे

 

 

‘रिटिङ रिटिङ क्या मीठो बिनायो, बिनायोले जोशीलाई चिनायो’

 

रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया अक्काका...

 

०१९ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतका सर्जक हुन्, एलपी (लक्ष्मीप्रसाद) जोशी । बिनायो पूर्वी नेपालमा बसोवास गर्ने किराँतीको लोक र मौलिक बाजा हो । त्यही बाजाको बखान जोशीले गीतमार्फत गरे । ‘बिनायो’ लाई संसारभरका नेपालीमाझ पहिचान गराउने श्रेय उनलाई जान्छ । 

 

छिप्पिएको मालिंगो खिपेर बनाइन्छ बिनायो । दुई छेउमा धागो बाँधिन्छ । जिब्रोको अगाडिपट्टिको लामो डोरीलाई झड्कारेपछि यो बाजाले धुन निकाल्छ । 

 

खासगरी किराँती महिलाले चोलीको तुनामा बाबरीफूल झुन्ड्याएर बिनायो बोक्छन् । मेलापात जाँदा होस्, हाटबजार भर्दा । लोकगायक जोशीलाई बिनायोले माया लगायो । बाजालाई चिनाउन अन्ततः उनले गीत नै रचे । रेडियो नेपालबाट सार्वजनिक भएसँगै यो लोकगीतले बिनायोलाई मात्र चिनाएन, जोशीलाई पनि चर्चाको चुचुरोमा पुर्‍यायो । बिनायो र जोशी पर्यायझैँ बन्यो । त्यसैले त जोशीकोे ‘अटो’मा राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखिदिएका थिए–

 

रिटिङ रिटिङ क्या मीठो बिनायो
बिनायोले जोशीलाई चिनायो

 

‘यो सुन्दर हस्ताक्षरसहित राष्ट्रकवि माधवप्रसाद घिमिरेले मेरो सानो अटोमा लेखिदिनुभएको थियो । यो कुरा सधैँ याद आउँछ,’ जोशीले तीन वर्षअघि भनेका थिए । यिनै लोकगायक जोशी गत १० साउनमा ८८ वर्षको उमेरमा सदाका लागि अस्ताए । 

 

खिपीमा खिपी नि बिनायो बाजा
मुखको तालमा नि बज्दै छ
गम्केर हो चट्टै ।

 

‘मेरो जन्म धनकुटामा भएको हो । त्यहाँका किराँत समुदायको बिनायो बाजा असाध्यै मन पर्थ्यो । बिनायोले मेरो पनि मन छिनाएपछि मैले बिनायो बाजामाथि गीत नै सिर्जना गरेँ,’ जोशीले तीन वर्षअघि भनेका थिए, ‘यो गीत ०१० सालतिर गाउँघरमा गाएर हिँड्थ्यौँ । रेडियोमा गाउँला । यति चर्चा होला भन्ने त कल्पना पनि थिएन । केटाकेटी, बुढापाका र तन्नेरीको मुखमा यसरी झुन्डिएला भन्ने त कहाँ सोचेको थिएँ र !,’ बिनायोलाई संसारभर रहेका नेपालीसामु चिनाउने लोकगायक जोशीलाई अब बिनायोले सम्झिरहनेछ । उनको भौतिक शरीरसँग बिनायोको अब कहिल्यै भेट हुनेछैन । तर, बिनायोमाथि जोशीको सिर्जना भने सधैँ रहिरहनेछ ।

 

जोशीले सिर्जना गरेर आफैँले गाएका एक दर्जनभन्दा बढी गीत चर्चित छन् । उनका अधिकांश गीत नेपालीको मनमस्तिष्कमा छन् । जोशीका ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो’, ‘खिपीमा खिपी नि बिनायो बाजा’, ‘उकाली ज्यानको चप्लेटी ढुंगा कान्छी मट्याङट्याङ’लगायत गीत चर्चित छन् ।

 

राजधानीले मोफसल मान्ने दमकमा बसेर पनि उनले नेपाली गीत–संगीतको उन्नयनमा ठूलो योगदान गरे । पूर्वको गाउँले जनजिब्रोको भाकालाई टपक्कै टिपेर लोकगीत सिर्जना गरेकै कारण उनका सिर्जना कालजयी बन्न पुगे । ‘मैले ०४० सालयता गीत गाएको छैन,’ उनले भनेका थिए, ‘म त दमकमा बस्छु । मलाई एउटा कुरा साह्रै अचम्म लाग्छ । काठमाडौंमा बस्नेले एउटा गीत गायो भने ऊ राष्ट्रिय कलाकार हुन्छ । हामी मोफसलमा बस्नेचाहिँ के अराष्ट्रिय कलाकार हो ?’

 

दैनिकजसो दमक– १ स्थित फाल्गुनन्द चोकमा रहेको पसलमा भेटिने जोशी डायरीमा केही न केही कोर्दै हुन्थे । उनी डायरीमा सधैँ लोकगीत सिर्जना गर्थे । ‘मनको बह पोख्दै छु । लोकगीत त सधैँ संकलन गरिरहन्छु नि ! बनाएका गीत सबै डायरीमा छन्,’ उनले भन्ने गरेका थिए, ‘गीत रेकर्ड गर्न पहिलाको जस्तो छैन । धेरै खर्चिलो छ । रचना गर्‍यो, डायरीमै थन्क्यो ।’

 

जोशी जीवनको अन्तिम क्षणमा समेत लोकगीतको संरक्षणमा लागि रहे । निधन हुनुभन्दा पाँच दिनअघिसम्म पनि उनी सांगीतिक कार्यक्रममा नै सहभागी भएका थिए । गुरुपूर्णिमाका दिन अर्थात् ६ साउनमा दमकस्थित सुरभि कला केन्द्र दमकले आयोजना गरेको गुरुपूर्णिमा विशेष कार्यक्रममा जोशी सहभागी भए । उनले त्यहाँ ‘सुरभि प्रतिभा सम्मान’ थापे । त्यति मात्र होइन, आफ्नो चर्चित गीत ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’को केही लाइन गाएरसमेत सुनाए । सधैँ जोसिला देखिने जोशी त्यो कार्यक्रममा भने अलि थकित, गलित देखिन्थे । सधैँ नाच्दै गीत प्रस्तुत गर्ने जोशीले त्यो कार्यक्रममा भने बसेर नै गीत गाए । ‘अब त गाउन के सक्थेँ र ! गाउँने रहर भए पनि गाउन नसक्ने स्थिति छ,’ जोशीले भनेका थिए । जोशी स्वास्थ्यका कारणले निकै सिथिल देखिए पनि त्यहाँ उपस्थितलाई गीत मात्र गाएर सुनाएनन् । सधैँजस्तै टुक्का जोडेर हँसाए पनि । 

 

यहाँहरूलाई फूल दिऊँ भने फूलको पातै छैन 
हाँसिदिऊँ भने अगाडिको दाँतै छैन 

 

धनकुटाको गाउँमा मेलापात गर्दा लोकगीत गुनगुनाउँदै हिँड्ने जोशीले ०१३ सालमै गीत रेकर्ड गराएका थिए । रेडियो नेपालमा गीत रेकर्ड गराउन छनोट भएपछि काठमाडौं जानुपर्ने भयो । काठमाडौं जाने उत्सुकताले गीत जन्मियो । त्यसवेला काठमाडौंलाई नेपाल भनिन्थ्यो । रेडियो नेपालमा गीत गाउन छनोट भएपछि ‘नेपाल’ कस्तो छ भन्ने कौतुहलता मनमा उब्जियो । अनि लोकगीत रचे ।

 

नेपाली माया नेपालै कस्तो छ
सरमा सर अक्षर लेख्ने नेपाली माया
नेपाली कागजैमा...

 

यो गीत रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत हो । ‘म गीत गाएर फर्किएपछि त गाउँमा मलाई हेर्नेको घुइँचो नै लाग्यो,’ जोशीले तीन वर्षअघि भनेका थिए, ‘अहिलेजस्तो मान्छेले सबै बुझेका हुँदैनथे । उनीहरूको एउटै प्रश्न हुन्थ्यो– यति सानो रेडियोमा यत्रो मान्छे कसरी पसेर गायो ?’

 

जोशी त्यसवेला दरबारका नजिक थिए । ०१९ सालमा तत्कालीन राजा महेन्द्र पूर्वाञ्चल भ्रमणमा आउने भए । जोशी सांस्कृतिक उपसमिति सचिव थिए । ‘सरकार धरान आएका वेला मैले सरकारलाई गीत सुनाउन रहर छ भनेँ । उहाँले विराटनगर आउनू भन्नुभयो,’ उनले भनेका थिए, ‘त्यो वेला दमाईं जातिले गाउने भाकाको गीत थियो । दमाईं जातिले गाउने गीत गाउन नहुने वातावरण थियो, त्यसवेला । अनि मैले सगुने गीत भनेर गाएँ ।’ जोशीले भनेका थिए । जोशीले राजा महेन्द्रको अगाडि विराटनगरमा गाएको गीत थियो–

 

के को कुर्को के कोमा कुर्को
कुरौनीको कुर्को पो साइँला ।
अहिलेको त झिल्केन मात्रै ।
पोइ त राम्रो पोहोरकोमा साइँला ।

 

‘यो गीत सुनेपछि राजा महेन्द्र मज्जाले हाँस्नुभयो । अनि मलाई बोलाउनुभयो । उहाँले बोलाएपछि मेरो त सातो गयो, हरियो–नीलो भएँ । मैले त गल्ती गाएँ कि वा त्यो गीत गाउन हुँदैनथ्यो कि भन्ने लाग्यो,’ उनले भनेका थिए, ‘म डराएर राजाको छेउमा गएर जदौ गरेँ । उहाँले तिमी काठमाडौं आउन सक्छौ ? भन्नुभयो । फागुनमा राष्ट्रिय लोकगीत सम्मेलन हुँदै छ आउनू भन्नुभयो । अनि स्वास बढ्यो । सक्छु सरकार भनेँ । अनि लामो स्वास फेरेँ ।’

 

०१९ को फागुनमा भएको राष्ट्रिय लोकगीत प्रतियोगितामा जोशीले भाग लिए । प्रतियोगितामा निर्णायक थिए— बालकृष्ण सम, धर्मराज थापा र लक्ष्मण लोहनी । उनले विराटनगरमा राजा महेन्द्रलाई नै सुनाएको गीत प्रतियोगितामा गाए । ‘म प्रतियोगितामा प्रथम भएर राजा महेन्द्रबाट स्वर्णपदक पाएँ,’ उनले भनेका थिए, ‘यो गीत रेडियो नेपालमा पनि रेकर्ड भयो । त्यो वेला एउटा गीत रेकर्ड भएको ५० रुपैयाँ पाइन्थ्यो ।

 

जोशीले विभिन्न संघ–संस्थाबाट सयौँ सम्मान पाएका छन् । तर, रेडियो नेपालले दिएको ‘सुप्रसिद्ध लोकगायक’को सम्मान उनलाई प्रिय लाग्छ । ‘मलाई वरिष्ठ लोक गायक, लोकसम्राटजस्ता सम्मान दिइयो,’ उनले भनेका थिए, ‘लोकगीत यात्राको पहिलो खुट्किलो रेडियो नेपालले दिएको सुप्रसिद्ध लोकगायकको सम्मान खास लाग्छ । यही भनेर बोलाए हुन्छ भन्ने लाग्छ ।’

 

जोशी लोकगीत सर्जक, गायक र संगीतकार मात्र थिएनन् । उनी अब्बल चित्रकार पनि थिए । उनको घर पुग्ने जो कोहीले उनको चित्रकलालाई पनि देखेका छन् । घरका भित्तामा उनले कोरेका आकर्षक र गाउँले परिवेशका चित्र देख्न पाइन्छ । उनले तत्कालीन राजा वीरेन्द्रको चित्र बनाएर २०२९ सालमा एक हजार रुपैयाँ ‘बक्सिस’ पाएका थिए । ‘त्यो वेला राजा वीरेन्द्रले एक हजार रुपैयाँ दिनुभयो । त्यसवेलाको ठूलो पैसा हो,’ जोशीले भनेका थिए, ‘चित्रकलामा पनि केही गर्न सक्छु भन्ने लागेको थियो । तर, लोकगीतजस्तो अघि बढाउन सकिनँ ।’

 

जोशीलाई नजिकबाट चिन्ने गीतकार शिवशंकर थापा जोशी लोकगीतको अमूल्य सम्पत्ति भएको बताउँछन् । ‘मेरो र एलपी जोशीको घर धनकुटा नै हो । १५–२० मिनेटको फरकमा थियो । म २०१५ सालदेखि संगतमा थिएँ । उहाँ बहुप्रतिभाका धनी हुनुहुन्थ्यो । आर्ट पनि राम्रो गर्नुहुन्थ्यो । पछि लोकगीततिरै लाग्नुभयो । पूर्वीलोक गीतको सम्राट्को रूपमा चिनिनुभयो,’ जोशीको सम्झनामा उनी भन्छन्,‘उहाँ बेजोड लोकगीत गायक हुनुहुन्थ्यो । उहाँ लोकगीत क्षेत्रको अमूल्य सम्पत्ति हो । जीवनभर लोकगीतको संरक्षणमा लाग्नुभयो ।’

 

जोशीनिकट साहित्यकार धनकुटे कान्छा जोशीले लोकगीत–संगीत क्षेत्रमा ठूलो त्याग गरेको बताउँछन् । ‘नेपाली भाषा, सहित्य र संस्कृतिका एकजना अभिभावक हुनुहुन्थ्यो । मोफसमा बसेर राष्ट्रिय पहिचान बनाउनु चानचुने कुरा होइन । उहाँले सात दशकदेखि जीवनको अन्तिम क्षणसम्म ठूलो त्याग गर्नुभएको छ । लोक संस्कृति हराउँदै गएकोमा चिन्तित पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले जनस्तरबाट पाउने थुप्रै सम्मान पाउनुभएको थियो । नारायणगोपाल नातिकाजीजस्ता स्रष्टाको नामको सम्मान पनि पाउनुभएको थियो । उहाँको निधनपछि दमक नगरपालिकाले सलामी दियो । आधा दिन बिदा दियो । यसले उहाँको योगदानको कदर भएको छ ।’

 

०००                                         ०००

 

म्युजिक नेपालसँग जोशीको सधैँ गुनासो रहिरह्यो । प्रत्येक भेटमा म्युजिक नेपालले पारिश्रमिक नदिएको गुनासो गरिरहन्थे । रेडियो नेपालमा ३५ वटाभन्दा धेरै गीत गाएका जोशीको एउटा मात्र एल्बम छ । म्युजिक नेपालले ०५३ सालमा जोशीलाई आठवटा गीत गाउन लगाएर ‘रिटिङ रिटिङ...’ एल्बम निकाल्यो । जोशीको शब्द, संगीत र जोशी र लोचन भट्टराईको स्वरमा आठ गीत समावेश छन् । तर, गीतको रोयल्टी नपाएको जोशीले गुनासो गरिरहन्थे । ‘एल्बम निकालेको तीन वर्षपछि ४१ रुपैयाँ रोयल्टी दियो । त्यसपछि कति बिक्यो के भयो थाहा छैन,’ उनले भनेका थिए,‘झापा बसेर कति बिक्यो भन्ने थाहा हुँदैन । मलाई त जे भने पनि भयो नि होइन र ! युट्युबमा पनि हालेको रहेछ । मलाई त थाहै छैन ।’ जोशीले सधैँ म्युजिक नेपालका सञ्चालकलाई भेट्न खोज्दा पनि भेट नदिएको गुनासो गरिरहन्थे । 

 

प्रविधिले ल्याएको सुविधासँगै आजको गीतसंगीत र यसको बजार विश्वव्यापी बनेको छ । आर्टिफिसियल इन्टिलिजेन्सको समेत प्रयोग हुन थालेको आजको गीत संगीतको प्रतिस्पर्धामा जोशीहरूले थामेर ल्याएको लोकगीत संगीतको विरासत अबका पुस्ताले बोक्न सक्ला वा नसक्ला ? अन्त्यहीन प्रश्नसँगै लोकगीत संगीतको साधनामै जीवन अर्पेर जोशी अल्पिसकेका छन् । 

 

अल बिदा सुप्रसिद्ध लोकगायक जोशी ।