• वि.सं २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका
२०८१ श्रावण १९ शनिबार ०९:०८:००
साहित्य

लेखक अमृता लम्साललाई मन परेका ५ पुस्तक 

२०८१ श्रावण १९ शनिबार ०९:०८:००
नयाँ पत्रिका

 

कतिपय किताबहरू पढेपछि सम्झनामै पनि रहन्नन् । कुनै किताब भने पढेरै नसकियोस् भन्ने लाग्छ । मलाई मनपरेका केही किताबबारे छोटो टिप्पणी:

 

द प्यालेस अफ इलुजन चित्रा बनर्जी दिवकरुनी
मलाई मनपरेको किताबमध्ये पढ्दापढ्दै हतपती नसिध्दियोस् भन्ने लागेको चित्रा बनर्जी दिवकरुनीले लेख्नुभएको ‘द प्यालेस अफ इलुजन’ हो । यो किताबको भाषाले मलाई मुग्ध पारेको थियो । यो किताब, हिन्दूहरूको ग्रन्थ महाभारतका कथालाई आधार मानेर तत्कालीन पितृसत्तात्मक समाजमा द्रौपदीले आफ्नो अस्तित्वका लागि गरेको संघर्षको बयानको आख्यान हो । अर्को अर्थमा भन्नुपर्दा, यो पुस्तक महिलावादी दृष्टिकोणले ओतप्रोत छ । कथावाचक द्रौपदीको अर्को नाम ‘पाञ्चाली’बाट गराइएको छ । त्यहाँ, आगोबाट जन्मिएको भनिएकी पाञ्चालीको विवाह पाँच पतिसँग भए पनि उनको मनमा पतिबाहेकका व्यक्तिप्रति लुकेको प्रेम सुन्दर भाषामा व्यक्त गरिएको छ ।

 

टाइमपास : द मेमोएर्स अफ प्रोतिमा वेदी – पूजा वेदी
भारतकी चर्चित ओडिसी नृत्यांगना प्रोतिमा वेदीको यो आत्मकथा उनको मृत्युपश्चात्, उनकी छोरी पूजा वेदीले सन् १९९९ मा प्रकाशन गरेकी हुन् । प्रोतिमाले जर्नलका रूपमा लेखेर राखेका आफ्ना कथामा देशका नामी पुरुषसँगको उनको रंगीन सम्बन्ध, ओडिसी नृत्य सिकेर, ‘नृत्यग्राम’ खोलेकोबारे, उनी किन आफ्नो जीवनमा त्यति असुरक्षित महसुस गरेर हुर्किइन् भन्नेबारे उल्लेख गरिएको छ । किताबको सबैभन्दा मनपरेको पक्ष भनेको यो आत्मकथा अति नै इमानदार भएर लेखिएको छ ।

 

स्वअस्तित्वको खोज अर्चना थापा
मलाई मनपरेको अर्को पुस्तक अर्चना थापाद्वारा सम्पादित अक्षर क्रिएसन्स नेपालबाट प्रकाशित ‘स्वअस्तित्वको खोज’ हो । वि. सं. २०६८ सालमा प्रकाशित यस पुस्तकले समाजमा केही न केही गरौँ भनेर सार्वजनिक क्षेत्रमा निस्किएका ३६ जना महिलाको आत्मानुभूति समेटिएको छ । यो किताब मनपर्नुको विशेष कारण योभन्दा पहिला सायद, महिलाको यस्तो कथा पनि लेख्न र सुनाउन योग्य हुन सक्छ भनेर सोचिएकै थिएन । नारीत्वको अनुभव सबै नारीमा एउटै हुँदैन, सबैका फरक–फरक अनुभव र अस्तित्व हुन्छन् र त्यसलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने सन्देशका साथ उक्त पुस्तक बजारमा आएको थियो । यो पुस्तकले महिलाहरूको संघर्ष र स्थानबारे धेरै जानकारी दिन्छ ।

 

लङ वाक टु फ्रिडम नेल्सन मन्डेला
राम्रो लागेको अर्को किताब ‘लङ वाक टु फ्रिडम’ हो । साउथ अफ्रिकाका पहिलो निर्वाचित राष्ट्रपति नेल्सन मन्डेलाको आत्मकथामा आधारित यो किताब सन् १९९४ मा प्रकाशित भएको थियो । यसमा मन्डेलाले रंगभेदको पक्षधर साउथ–अफ्रिकाका सातौँ तथा अन्तिम राष्ट्रपति एफ डब्ल्यु डी क्लर्क, जसका विरुद्ध उनले स्वतन्त्रताको लडाइँ लडिरहेका थिए, उनलाई र आफूलाई सन् १९९३ को शान्तिका लागि नोबेल पुरस्कार दिएपछिको आफ्नो मनमा उठेको तर्कनालाई दुनियाँसामु राखेका छन् । पुस्तकमा उनले यदि शान्तिको कामना गर्ने हो भने शत्रुसँग पनि मिलेर काम गर्नुपर्छ, भनेका छन् । अर्को सम्झनलायक कुरा, उनले आफ्नी दोस्री पत्नी विनी मन्डेलासँग सम्बन्ध विच्छेदबारे व्यक्त गरेको विचार थियो । उक्त पुस्तकमा व्यक्त गरिएका विचार पढ्दा उनले अफ्रिकन नेसनल कंग्रेस र उनका अनुयायीको आलोचना खप्न नसकेर विनी मन्डेलासँग छुट्टिएको हो कि जस्तो भान हुन्छ । नेल्सन मन्डेलालाई पनि हिंसात्मक आन्दोलन गरेको, हतियार भित्र्याएको आदि आरोप लागेकै हो र स्पष्ट रूपमा उनी आफैँले उक्त पुस्तकमा लेखेका छन्, आफू संलग्न पार्टीको अनुमतिविनै उनले छुट्टै निकाय खडा गरेर चे–ग्वेभेरा र माओको गुरिल्ला युद्धको अनुकरण गर्न खोजेकै हुन् र त्यसका लागि हतियार पनि भित्र्याएको पनि आफैँले लेखेका छन् । यो पुस्तकले एउटा सफल राजनीतिक व्यक्तिको जीवन पारिवारिक रूपमा कति असफल थियो भनेर देखाएको छ ।

 

सेतो बाघ डायमनशमशेर राणा 
वि.सं. २०३० सालमा साझा प्रकाशनबाट प्रकाशित ‘सेतो बाघ’ करिब चार दशकअघि नै पढेको थिएँ । डायमन शमशेर राणाद्वारा लिखित पहिलो, ऐतिहासिक उपन्यास भनिएको ‘सेतो बाघ’ले मनलाई यति आल्हादित बनाएको थियो कि त्यसको प्रभाव अझै पनि रहिरहेको छ र दराजमा भएको किताब दोहोर्‍याउन डर लाग्छ । कारण, पहिले पढ्दा लिएको रसास्वादन दोस्रोपटक पढ्दा उत्रिएला भन्ने त्रास रहन्छ । किशोरवयमा प्रेमकथाको रूपमा मनभित्र भित्रिएको उक्त किताब अहिले पढ्दा रुखो लाग्ला कि भनेर फेरि पाना पल्टाउन सकिएको छैन । नेपालको राणाकालीन समयमा, दरबारभित्रको षड्यन्त्र, जगतजंग र शाही खलककी शाहज्यादीको प्रेम, शक्ति र कुर्सीको खेल इत्यादि विषयलाई समेटेर आख्यानको रूप दिइएको छ । यो किताब त्यतिवेलाको शक्ति संघर्षको ऐना भन्न पनि मिल्छ । यसले, राणाकालमा आफ्नै परिवारभित्र पनि कति अविश्वासको वातावरण विद्यमान थियो भन्ने कुरालाई चित्रित गरेको छ ।