• वि.सं २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
रामचन्द्र शर्मा
२०८१ श्रावण १९ शनिबार ०९:२७:००
इतिहास

आत्महत्याको रोकथाम,  गीता ज्ञान र ध्यान

२०८१ श्रावण १९ शनिबार ०९:२७:००
रामचन्द्र शर्मा

 

देशभर दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको समाचार गत साउन ६ गतेको नयाँ पत्रिका दैनिकले प्रकाशित गर्‍यो । प्रहरी प्रधान कार्यालयअन्तर्गतको अन्वेषण, योजना तथा विकास निर्देशनालयले गरेको अध्ययनका आधारमा प्रकाशित उक्त समाचारमा आत्महत्या गर्नेमा उमेरका हिसाबले १५ देखि २५ वर्षमुनिका २१, २५ देखि ३५ वर्षमुनिका १८.१, ३५ देखि ४५ वर्षमुनिका १३.१, ५५  देखि ६५ वर्षमुनिका ९.४, ६५ वर्षमाथिका ६.६ प्रतिशत उल्लेख छ । त्यस्तै पेसाका हिसाबले ४६.२ प्रतिशत कृषक, १५.४ प्रतिशत विद्यार्थी, ११.६ प्रतिशत गृहिणी, १.९ प्रतिशत व्यवसायी, १.९ प्रतिशत बेरोजगार, ०.५ प्रतिशत सरकारी जागिरे र जातीयताका हिसाबले ३९ प्रतिशत आदिवासी, ३१.१ प्रतिशत ब्राह्मण–क्षेत्री, २०.५ प्रतिशत दलित, ९.३ प्रतिशत मधेसी समुदाय उल्लेख गरिएको छ । त्यस्तै आत्महत्या गर्नुको कारणमा ३८.८ प्रतिशत मानसिक रोग, २७.८ प्रतिशत मानसिक तनाव, ८.२ प्रतिशत असफल प्रेम, आठ प्रतिशत आर्थिक असफलता, ७.५ प्रतिशत दीर्घरोग, ४.५ प्रतिशत लागुऔषध सेवन, २.८ प्रतिशत मदिरा सेवन रहेको देखाउँदै आत्महत्याको रोकथामका लागि सरकारलाई सचेतना, मानसिक उपचार तथा मनोपरामर्शका उपाय अपनाउन सुझाएको देखिन्छ । 

 

अध्ययनले आत्महत्याको कारण केवल मानसिक रोग, तनावलगायत बाहिरी रूप मात्र औँल्यायो, स्रोतसम्म पुगेन । आत्महत्याको सारभूत कारण नै पत्ता नलगाई दिइएका समाधानका उपाय पनि अधुरै हुने भए । समस्याको जरासम्म पुग्न नसक्नुको मूल कारण हाम्रै सर्वज्ञानी वेदव्यासलगायत महर्षिले लामो आत्मानुसन्धान गरी रचेका वेद, पुराण र भागवत गीतालाई अवमूल्यन गरेको हालको शिक्षा प्रणाली हो, अध्ययन गर्ने संस्था होइन । अहिले वैदिक धर्म ह्रासोन्मुख हुँदै गएको छ । ईश्वर को हो भन्ने गलत प्रश्न गर्ने समाज छ । यस्तो परिस्थितिमा आफूभित्रको क्षमता चिन्नतर्फ मानिस स्वयंलाई उन्मुख गराउन रचिएको गीताले समस्याको जरा पत्ता लगाउँछ । 

 

यसको मतलब आधुनिक भौतिक शिक्षाको उपेक्षा गरेर अघि बढिन्छ भन्न खोजिएको होइन । यथार्थ के हो भने भौतिक विज्ञानको बाबु अध्यात्म विज्ञान हो, जो प्राचीन छ । हाम्रा ऋषिमुनिले अनुसन्धान गरेको आध्यात्मिक ज्ञानलाई आधार मानेर पश्चिमा देश भौतिक उन्नतिको शिखरमा पुगेका हुन् । ऋषिहरूकै ज्ञानलाई प्रशोधन गरेर व्यवहारमा प्रमाणित गरी विज्ञानमा रूपान्तरण गरे आधुनिक वैज्ञानिकहरूले । उनीहरूले हाम्रो आध्यात्मिक ज्ञानलाई जग बनाएर क्रमशः आधुनिकतामा प्रवेश गरे । हामीले हाम्रा ऋषिहरूले सिर्जना गरेको आध्यात्मिक ज्ञानको अवमूल्यन गर्दै आधुनिकताका नाममा नयाँ शिक्षा अँगाल्न पुग्यौँ । हाम्रो जगको रूपमा रहेको आत्मनिर्भर र अनुशासित गुरुकुलीय शैक्षिक पद्धति विस्थापित गर्‍यौँ । अध्यात्म र भौतिक दुवै विज्ञान मानिसको प्रगति र हितरक्षाका लागि मानिसले नै सिर्जना गरेका हुन् । दुवै संयोजन गरेर अघि बढ्नुपर्नेमा मुख्य आध्यात्मिक ज्ञानलाई लत्याउँदै माटोको उपेक्षा र इँटाको प्रशंसा गर्ने गल्ती गर्‍यौँ । 

 

हामी प्रायः सबैले यो सांसारिक जगत् ठूलो भवसागर हो भन्छौँ र मान्छौँ पनि । पौडिन जाने आनन्दको स्रोत हुन्छ, त्यो भवसागर नजाने पीडाको स्रोत बन्न पुग्छ । पौडिन सिकाउँदै आनन्दमा स्थित गराउने ज्ञान र मार्ग दिन्छ भागवत गीताले । जसलाई छोटकरीमा गीता ज्ञान र ध्यानको रूपमा दर्साउने प्रयास गरिएको छ यो लेखमा ।

 

हरेक मानिसले प्राप्तको रक्षा गर्नका लागि भिन्न–भिन्न समय र स्थानमा विभिन्न रूपमा झेल्नुपर्ने स्पर्धा, संघर्ष र दुःखहरूले उसको शान्ति र आनन्द छिनिदिन्छन् । मानव जीवनको ठूलो र अन्तिम लक्ष्य आनन्द नभएपछि जीवन स्वतः असफल हुन्छ । त्यो असफलताले उल्लिखित आत्महत्याका सबैखाले कारण उत्पन्न हुन्छन् । त्यसैले जीवन असफल हुनबाट जोगाउन गीताले सफलताका लागि तीन रहस्य संकल्पको निरन्तरता, निश्चित लक्ष्यका लागि समर्पण र आत्मसंयमता खुलासा गरेको छ । किनभने लक्ष्यमा अग्रसर हुँदा अनेक आकर्षण र प्रलोभनकारी कार्ययोजना अगाडि आउन सक्छन् र त्यसमा लागेर चिन्तन गर्दा भुइँको टिप्न खोज्दा गोजीको खस्न पुगेझैँ लक्ष्य अधुरो हुनबाट ती तीन नियमले रोकिदिन्छन् ।

 

हुन त कतिपय व्यक्तिले गीता ज्ञानको विपरीत अर्थ लगाएर कर्म गर फलको आशा नगर भनी भ्रम सिर्जना गरेका छन् । यथार्थमा गीताले फलाशक्तिमा चिन्तित भएर वर्तमान समय र जीवनी ऊर्जा व्यर्थमा अपव्यय नगर । निश्चिन्त भएर कर्ममा ध्यान दिई निरन्तरता देऊ फल सुनिश्चित छ । किनकि कर्म नै सफलता हो, यो छुट्टै विषय होइन भन्ने ज्ञान दिँदै लक्ष्य सुनिश्चित गरी त्यसमा लगनशील हुन प्रेरित गर्छ । सर्वसाधारणले रोचकतापूर्वक पढून् र बुझून् भन्ने सदासयता राखी सर्वज्ञानी वेदव्यासले काव्यात्मक शैलीमा रचना गर्नुभएको महाभारत ग्रन्थ हाम्रा सामु छ । जसमा अधर्मी कौरवहरूले धर्ममा आघात पुर्‍याएको अवस्थामा युद्ध गर्नुपर्ने क्षत्रीयको कर्तव्य पूरा गर्नबाट पन्छिई विचलित भएका अर्जुनको विषाद संवादबाट सुरु भएको गीता युद्ध गर्ने अर्जुनको दृढ संकल्पमा पुगेर टुंगिएको देखाइएको छ । वास्तवमा गीता मानव मात्रको लागि रचिएको उत्कृष्ट जीवनशाश्त्र हो । जसले मनको निकृष्ट प्रवृत्तिलाई त्यागेर उत्कृष्ट जीवन जिउने सतत प्रयत्नको रूपमा योग यज्ञ, शास्त्र अध्ययन चिन्तन मनन गरी ज्ञानाग्नि प्रज्वलित गरेर रिसराग, द्वेषको आहुति दिई ज्ञान यज्ञ, आफूसँग भएको भौतिक, मानसिक एवं बौद्धिक सम्पत्तिलाई समाजसेवामा लगाउन र सो केही नभएकाहरूले अरूप्रति मैत्रीपूर्ण व्यवहार र कल्याणको कामना गरी द्रव्य यज्ञ लगाउन सुझाएको छ । त्यति मात्र नभएर फलप्रदायक सामर्थ्यलाई देवता मान्ने गीतामा हरेक मनुष्यको हृदयमा मेरो वास हुन्छ भनी भगवान् कृष्ण स्वयंको भनाइ रहेकाले मानिसलाई भगवान्तुल्य सम्मान दिएको प्रस्ट हुन्छ । विश्वका अरू सबै धर्मले भक्तलाई केही न केही धनदौलत चढाउन प्रोत्साहन गरेका छन्, तर गीता अध्याय नौको छब्बीसाँै श्लोकमा भक्तिपूर्वक शुद्ध चित्त गरी फूल मात्र चढाउँदा भगवान् खुसी हुने, अन्य धर्मावलम्बीले आफ्नो धर्मप्रति प्रश्न गर्न सक्दैनन्, तर गीताभक्त अर्जुनको जीवनमा आइपरेका संन्देहात्मक प्रश्नको चित्तबुझ्दो जवाफमा केन्द्रित छ ।

 

वैदिक यज्ञहोमादि कर्मकाण्डको नचाहिँदो आडम्बर, रहस्यमय विधिविधान र विस्तृत तयारीलाई गीताले त्यागिदिएको छ । सांसारिक भवसागरमा पौडिने ज्ञान र सीपका रूपमा गीताले अहंकार र स्वार्थ त्यागेर कर्म गर्न, मनलाई सुख र दुःखमा समभाव राख्दै राग, भय एवं क्रोधबाट मुक्त गरी स्थितप्रज्ञ बन्न, कर्तृत्वाभिमान र फलाशक्ति त्याग्न प्रकृतिप्रदत्त तीन गुण सत्व, रज र तमको सन्तुलन मिलाउन योग ध्यानको साधना गर्न र शरीर मन्दिर, आत्मा, ईश्वर हो भन्दै मनलाई तिनको सेवामा लगाएर परमानन्दमा स्थित हुन सिकाउँछ । प्रसिद्ध व्याख्याकारले गीताको १८ अध्यायलाई ६/६ अध्यायमा तीन खण्डमा बाँडी प्रत्येक खण्डले उपनिषद्को महावाक्य ‘तत् त्वम् असि’ (त्यो तिमी हौ) भन्ने जनाई मानवले आफ्नो आनन्दस्वरूप आत्मानूभूति गराउने उद्देश्यले गीताको रचना गरिएको खुलासा गरेका छन् । 

 

हाम्रा शरीरका पाँच इन्द्रियले कार्य गरेको देखिए पनि भित्री इच्छाले ती काम गराएको हुन्छ । इन्द्रियलाई दण्डित गरेर काम गर्न नसक्ने अवस्थामा पुर्‍याए पनि आँखा, कान, नाक, जिब्रो र छाला हुँदो हो त देख्दो, सुन्दो, सुँघ्दो, चाख्दो र स्पर्श गर्दो हुँ भनेर भित्री इच्छा मानिसलाई व्याकुल बनाइदिन्छ । तसर्थ, हाम्रो भित्री मनले ईच्छा जगाएर चित्तमा पुर्‍याउने र चित्तले इन्द्रियमा लगेपछि मात्र कर्मको रूपमा प्रकट हुने हो । सकारात्मक इच्छा भए सुकर्म र नकारात्मक इच्छा भए भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार र आत्महत्याका घटना घटाइदिन्छ । हाम्रो मन हाम्रै भित्री इच्छाबाट अपहरित भएर जता चाह्यो उतै लगिदिने हुँदा त्यस्तो चित्तलाई योग ध्यानको साधनाले मात्र नियन्त्रण गर्न सक्छ । त्यसैले संस्कृतमा ‘योगः चित्त वृत्ति निरोधः’ भनिएको छ । किनभने योग प्राणायाम र ध्यानले चित्तलाई सजगतापूर्वक सासमा फर्काएर इन्द्रियसँग जान रोक्दै मनको व्यवस्थापन गर्दै आत्मसंयमताद्वारा सोचको दिशा कुकर्मबाट सुकर्मतर्फ मोडेर आत्महत्याजस्ता घटना घट्नबाट रोक्छ ।

 

अध्यात्मले हरेक व्यक्तिलाई महान् लक्ष्य लिई कर्म गर्न सक्रिय गराउँछ । कर्मले सफलता दिन्छ र पहिला व्यक्ति, त्यसपछि समाज र राष्ट्रलाई समृद्ध बनाउँछ । तब देशमा सुख, शान्ति र समृद्धिको वर्षा भई दिनहुँ बढ्दै गइरहेका आत्महत्याका घटनाको रोकथाम सम्भव हुनेछ ।