• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
जेनिफर चौधरी
२०८१ श्रावण २६ शनिबार ०७:१५:००
अनुवाद

प्रौढ नेतृत्वलाई बंगलादेशी युवाको सन्देश - अब तिम्रो समय सकियो

२०८१ श्रावण २६ शनिबार ०७:१५:००
जेनिफर चौधरी

 

झट्ट हेर्दा देखिन्छ, विद्यार्थीले चामत्कारिक रूपमा हसिनाको सर्वशक्तिमान् सरकारलाई पाँच हप्ताको छोटो अवधिमै ढालिदिए । तर, यो क्रान्ति वर्षौँ लामो थियो । विद्यार्थी आन्दोलनमा सहभागी हुनेहरू सरकार झन् तानाशाही बन्दै गएको देख्दै हुर्किएका थिए ।

 

२५ वर्षीय अबु सइद बंगलादेशको एक उत्कृष्ट विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरेका मेधावी विद्यार्थी थिए । किसान बाबुका नौ सन्तानमध्येका एक उनले एक दिन सरकारी जागिर खाने सपना देखेका थिए । सरकारी जागिरले आर्थिक स्थायित्वको सुनिश्चित गर्ने र सम्भवतः परिवारको आर्थिक स्तर उकास्ने उनको आशा थियो । तर, सरकारले सन् १९७१ मा बंगलादेशलाई पाकिस्तानबाट मुक्त गराउने ‘स्वतन्त्रता योद्धा’का सन्तानलाई सम्मानित गर्ने नयाँ कोटा प्रणाली लागू (३० प्रतिशत आरक्षण) गर्दा उच्च प्रतिष्ठित सरकारी जागिर खाने उनको सपना चकनाचुर भयो ।

 

सइदलाई थाहा थियो कि बंगलादेशमा अहिले १ करोड ८० लाख बेरोजगार युवा छन् र स्नातक गरेपछि यो घातक तथ्यांकको हिस्सा बन्न चाहँदैनथे उनी । त्यसैले कोटा प्रणाली सुधारका लागि देशव्यापी आन्दोलनका उनी मुख्य संयोजक बने । एक प्रदर्शनमा उनी प्रहरीबाट करिब १५ मिटर टाढाको दूरीमा उभिएर सरकारको विरोध गरे । अन्ततः सुरक्षाकर्मीको जवाफी कारबाहीमा उनी कहिल्यै नउठ्ने गरी भुइँमा ढले । 

 

यस निन्दनीय हत्याको भिडियो डढेलोजस्तै अनलाइनमा सल्कियो । यसले देशभरका हजारौँ विद्यार्थीलाई सडकमा उतार्‍यो । सइदको मृत्युप्रति आक्रोश र शोकमा ऐक्यबद्धता प्रकट गर्दै शिक्षाविद्, वकिल, अभिभावक र रिक्साचालकलगायत समाजका विभिन्न तह र तप्काका मानिस प्रदर्शनमा सामेल भए । त्यस्तै, सरकार समर्थित विद्यार्थी कार्यकर्ता र सशस्त्र सेनाको हातबाट मारिएका २०० जनाभन्दा बढी प्रदर्शनकारीले पनि ऐक्यबद्धता जनाएका थिए ।

 

तिनीहरूको प्रयास र उनीहरूले लिएको वास्तविक जोखिम खेर गएन । उच्च अदालतले स्वतन्त्रता सेनानीका सन्तानलाई रोजगारीमा केबल ५ प्रतिशत आरक्षण गर्ने फैसला गर्‍यो । तर, यो छुट पनि देशमा जारी अशान्ति अन्त्य गर्न पर्याप्त साबित भएन । विद्यार्थीहरू केवल कोटा प्रणालीलाई व्यवस्थित गर्नभन्दा अझ धेरै उपलब्धि हासिल गर्न चाहन्थे । उनीहरू अर्थपूर्ण, प्रणालीगत परिवर्तन चाहन्थे । उनीहरू नयाँ सरकार चाहन्थे र प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिनुपर्ने माग राखे । संसारलाई नै चकित पार्दै उनीहरूका अधिकांश माग पूरा पनि भए । बंगलादेशको भविष्यको प्रतिनिधित्व गर्ने विद्यार्थी आन्दोलनको संकल्पलाई आफूले तोड्न नसक्ने भन्दै सेख हसिनाले आफ्नो पदबाट राजीनामा मात्र दिइनन्, हतारमा देशै छोडिन् । अबु सइदजस्ता आदर्शवादी युवाहरूको नेतृत्वमा भएको विद्यार्थी आन्दोलनले १५ वर्षसम्म शासन गरेको निरंकुश शासकलाई पाँच सातापछि देशबाट खेद्न सफल भयो ।

 

यस आन्दोलनको सफलता नै मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको मूल्यमा बंगलादेशी जनता अब आर्थिक प्रगतिमा सन्तुष्ट छैनन् भन्ने बलियो प्रमाण हो । वास्तवमा, गत दशकमा सेख हसिना र उनको अवामी लिगको नेतृत्वमा बंगलादेश आर्थिक रूपमा फस्टाएको थियो । अर्थतन्त्र सफलताको सिँढीतर्फ अग्रसर हुनुको अर्थ सरकारले दण्डहीनताका साथ नागरिक अधिकार र स्वतन्त्रतालाई कुल्चन सक्छ, विपक्षी दलहरूलाई प्रतिबन्ध लगाउन सकिन्छ, विश्वव्यापी लोकतान्त्रिक मान्यताको सम्मान नगरी आफ्नो इच्छाअनुसार शासन गर्न सकिन्छ भन्ने ठानेको थियो । तर, मानव अधिकार हनन, उत्पीडन, भ्रष्टाचार र असमानतालाई आर्थिक समृद्धिका लागि चुकाउनुपर्ने अपरिहार्य मूल्यका रूपमा प्रस्तुत गर्ने हसिनाको प्रयास व्यापक रूपमा असफल भयो ।

 

वास्तवमा बंगलादेशका मेरा आमाबुबा पुस्ताका ठूलो संख्या ८० र ९० को दशकमा देश छोडेर राम्रो भविष्यको खोजीमा संयुक्तराज्य अमेरिका, बेलायत, युरोप र मध्यपूर्वसम्म पुगेका थिए । बाँकीले आफ्नो शिर झुकाए । सरकारको ज्यादतीको प्रतिरोध उनीहरूले गरेनन् । उनीहरू निरीह देखिए । तर, हालैका वर्षमा ‘जेनेरेसन जेड’ बंगलादेशी तेस्रो विकल्पतर्फ आकर्षित हुन थाले । आफ्ना आमाबाबुभन्दा विपरीत उनीहरूको सपना पश्चिमा देशका लागि आफ्नो देश छोड्नु थिएन । उनीहरूको सपना देशमै रहेर केही सुधार गर्नु थियो । भ्रष्ट सरकारको मानव अधिकार उल्लंघनलाई आर्थिक प्रगतिसँग सौदाबाजी गर्न उनीहरू तयार थिएनन् ।

 

सन् २०१८ र सन् २०१० को बीचमा मैले बंगलादेशमा विदेशी संवाददाताका रूपमा काम गर्दा दर्जनौँ युवाहरूसँग अन्तर्वार्ता लिएँ । तिनीहरू प्रायः सबै देशको द्रुत आर्थिक र प्राविधिक प्रगतिमा अविश्वसनीय रूपमा गर्व गर्थे, तर मानव अधिकार र लोकतन्त्रको पतनमा उनीहरू निराश थिए । तिनीहरू आफ्नो देशलाई माया गर्थे । विद्यमान अवस्थाप्रति मौन रहनुको सट्टा अवस्थालाई अझ राम्रो बनाएर आफ्नो देशभक्ति देखाउन चाहन्थे उनीहरू ।

 

झट्ट हेर्दा देखिन्छ, विद्यार्थीले चामत्कारिक रूपमा हसिनाको सर्वशक्तिमान सरकारलाई पाँच हप्ताको छोटो अवधिमै ढालिदिए । तर, यो क्रान्ति वर्षौँ लामो थियो । यस वर्ष विद्यार्थी आन्दोलनमा सहभागी हुनेहरू (जसले देशका लागि आफ्नो जीवन त्याग गरे) सरकार झन् तानाशाही बन्दै गएको देख्दै हुर्किएका थिए ।

 

सन् २०१८ मा बसले नियन्त्रण गुमाएपछि र दुई किशोरको मृत्यु भएपछि सडक सुरक्षा आन्दोलनको उदय भयो । बंगलादेशमा आवतजावत गर्न अप्ठ्यारो भएको भन्दै विद्यार्थीहरूले त्यतिवेला पाँच दिनसम्म सडक अवरुद्ध गरेर सुरक्षित सडकको माग गरेका थिए । सन् २०१९ मा सडक सुरक्षाको माग गर्दै सरकारको आलोचना गर्ने एक विद्यार्थीलाई सरकार समर्थित कार्यकर्ताहरूले हत्या गरेपछि विद्यार्थीहरू सडकमा उत्रिए ।

 

यी सबै आन्दोलनमा विद्यार्थीहरू आफैँले देखे कि कसरी सरकार समर्थित विद्यार्थी संगठन प्रायः यसका लागि जिम्मेवार भए तापनि आन्दोलनकारीविरुद्ध हुने हिंसाका लागि सरकारले विपक्षी दलहरूलाई अक्सर दोष लगाउँछ । बारम्बार तिनीहरूको क्रान्तिकारी आत्मा निराश थिए । तैपनि २० को दशकको मध्यमा उनीहरू किशोर–किशोरीबाट युवामा रूपान्तण भए । उनीहरूले आफ्नो जोशलाई जीवित राख्दै आफ्नो ज्ञान र परिपक्वतालाई विस्तार गरे । तिनीहरू देशलाई उकुसमुकुस पार्ने सरकारबाट मुक्ति चाहन्थे । आफ्ना सबै नागरिकको अधिकारको सम्मान र संरक्षण गर्ने लोकतान्त्रिक राष्ट्रको रूपमा देशलाई हेर्न चाहन्थे । 

 

पाँच साताको रक्तपात, पीडा, डर र चोटपछि आज उनीहरूले आफ्नो सपना पूरा गरेका छन् । युवा बंगलादेशीहरू अब देशको जिम्मेवारीमा छन् र सायद जीवनमा पहिलोपटक उनीहरूसँग भविष्यका लागि आशावादी हुने कारण छ । अवश्य पनि अब बंगलादेशी सेनाको निगरानीमा कामचलाउ सरकार हुनेछ । विगतमा जस्तै मानव अधिकारको रक्षा र लोकतन्त्रलाई अगाडि बढाउनका लागि यस्ता सरकारहरू आदर्श साबित भएनन् भन्दै कतिपय मानिस यस सम्भावनाप्रति चिन्तित छन् । तर, देशलाई यो घडीमा ल्याएका विद्यार्थी नेताहरूले यो अन्तरिम सरकार देशले पहिले देखेजस्तो नहुने वाचा गरेका छन् ।

 

यो नयाँ सरकारले जनताको भरोसामा कुठाराघात नगर्ने उनीहरूले वाचा गरेका छन् । र, मलाई थाहा छ कि उनीहरू आफ्नो वचनमा अडिग रहनेछन्, किनकि यो उनीहरूको देश, उनीहरूको भविष्य, र उनीहरूको जीवनभरको सपना हो, जुन उनीहरूले प्राप्त गर्नका लागि सबै जोखिम मोलेका थिए । यो क्रान्ति बंगलादेशमा मात्र नभई विश्वभरि लामो समयसम्म सत्तामा बसेका र सत्ताको दुरुपयोग गरेका ती व्यक्तिहरूका लागि युवाहरूको स्पष्ट सन्देश हो— अब तिम्रो समय सकियो ।

 

नयाँ पुस्ताका सदस्यहरू (जो आफ्नो अधिकार छोड्न इच्छुक छैनन् र ठूलो व्यक्तिगत मूल्य चुकाएर न्यायका लागि लड्न तयार छन्)  जिम्मेवार छन् । परिवर्तन अब अपरिहार्य छ । हामी सबै विमानमा चढ्नुपर्छ वा रेलबाट ओर्लनुपर्छ ।

 

(अलजजिरामा प्रकाशित स्वतन्त्र पत्रकार जेनिफर चौधरीको आलेख सुभाष शर्माले अनुवाद गरेका हुन् ।)