जुम्लाको खलंगा एक पर्यटकीय नगरी हो । यहाँ ऐतिहासिक प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ, कृष्णमन्दिरदेखि थुप्रै मठमन्दिर छन् । यहाँका चन्दननाथ भैरवनाथ बाबाको आफ्नै इतिहास रहेको छ ।
यस्तै यहाँको खलंगाकै छेउछाउ चन्दननाथ नगरपालिका–७ मिचा गाउँस्थित पाँच भाइ पाण्डव वनवास गएको अवस्थामा निर्माण गरिएको पञ्चदेवलदेखि शैक्षिक पर्यटनको हब २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय पनि यहीँ छ ।
एमबिबिएसदेखि थुप्रै चिकित्सा शिक्षाका विषय अध्ययन अध्यापन र विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य उपचार गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि यही नगरीमा अवस्थित रहेको छ । खलंगा शैक्षिक पर्यटनका हिसाबले पनि उर्भर भूमि मानिन्छ । यहाँबाट जुम्ला विमानस्थलको पनि दृश्य अवलोकन गर्न सकिन्छ ।
यसै खलंगामै चन्दननाथ नगरपालिका–४ स्थित विशाल पहाडको भित्तामा बौद्ध धर्मालम्बीहरूले डुडुल चैत्य गुम्बा निर्माण गरेका छन् । यो पनि एक धार्मिक पर्यटन क्षेत्र बनेको छ । खलंगामा पुग्ने जिल्लाबाहिर वा जिल्लाभित्रका आन्तरिक पर्यटकदेखि देशबाहिरबाट आउने पर्यटक यस गुम्बामा पुग्ने गरेका छन् । बौद्ध धर्मावलम्बीहरूले आफ्नै लगानी र केही सरकारको अनुदानमा एक करोडभन्दा बढी लगानी गरेर गुम्बा निर्माण गरेका हुन् ।
यिनै पर्यटन क्षेत्रका अलावा यसै खलंगास्थित चन्दननाथ नगरपालिका–१ आचार्य गाउँको शिरमाथि एक नयाँ पर्यटकीय गन्तव्य बनेको छ । चारैतिरको रमणीय दृश्य देखिने छत्तेलचौर र भगवतीमाईको मन्दिरनजिकै नेपालको विशाल राष्ट्रिय झन्डा निर्माण गरिएको छ । त्यही दृश्य अवलोकन गर्न आन्तरिकदेखि बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । विदाका दिन त्यहाँ पुग्नेको भिड बाक्लिने क्रम जारी छ ।
त्यस्तै त्यहाँ पहाडको टुप्पोसम्म पुग्ने पाँच सय ६७ फिट लामो रेलिङसहितको ४६५ वटा सिँढी निर्माण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० लाख र चन्दननाथ नगरपालिका–१ वडा कार्यालयको २० लाख गरी ७० लाख बजेटमा नयाँ पर्यटकीय गन्तव्य निर्माण भएको वडाध्यक्ष तिलक न्यौपानेले बताए । उनले भने, ‘दुई आर्थिक वर्षको अन्तरालमा यिनै पर्यटकीय संरचना निर्माण गरिएको हो । अझै संरचना निर्माण बाँकी छ । नेपालको झन्डा बनाएको ठाउँमा घेरबार, पार्क र पार्कसम्म पुग्ने सिँढी निर्माण गर्न बाँकी छ । यसका लागि ५० लाख बजेट आवश्यक हुने देखिन्छ ।’
आउँदो आर्थिक वर्षमा बाँकी संरचना निर्माण गर्ने योजना रहेको वडाध्यक्ष न्यौपानेको भनाइ छ । बजेटका लागि कर्णाली प्रदेशदेखि संघीय सरकार पर्यटन मन्त्रालयसम्म पहल भइरहेको उनले बताए । उनले भने, ‘पर्यटन प्रवद्र्धनकै लागि यो पर्यटकीय क्षेत्र निर्माण गरिएको हो । यो ठाउँबाट पातारासी, गुठीचौर, तातोपानी गाउँपालिकासम्मका दृश्य अवलोकन गर्न सकिन्छ ।’