• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
अन्वेषण अधिकारी
२०८१ श्रावण २६ शनिबार ०८:१९:००
इतिहास

नेपाली इतिहास र संस्कृति बुझाउने दर्जन पुस्तक 

२०८१ श्रावण २६ शनिबार ०८:१९:००
अन्वेषण अधिकारी

 

प्रा.डा. सोमप्रसाद खतिवडा नेपाली इतिहास र संस्कृतिका विज्ञ हुन् । खतिवडाका पुस्तक ‘नेपाली संस्कृति विश्वकोश’ र ‘बौद्ध संस्कृति कोश’ निकै चर्चित छन् । उनले अन्वेषण अधिकारीसँगको कुराकानीमा नेपाली इतिहास र संस्कृति बुझ्नका लागि पढ्नैपर्ने दर्जन पुस्तक सिफारिस गरेका छन्:

 

एन्सियन्ट नेपाल : डिल्लीरमण रेग्मीको ‘एन्सियन्ट नेपाल’ नपढी नहुने पुस्तक हो । सन् १९६४ मा पहिलोपटक प्रकाशित भएको यो पुस्तक निकै अथेन्टिक छ । उनले तीनवटा भोलुम (एन्सियन्ट नेपाल, मध्यकालीन नेपाल र आधुनिक नेपाल) पुस्तक निकालेका छन् । यसमा प्राचीनकालदेखि अहिलेसम्मको इतिहास, संस्कृति, पुरातत्वका विषयमा लेखिएको छ ।

 

लिच्छविकालका अभिलेख : धनवज्र बज्राचार्यको लिच्छविकालका अभिलेख नपढी नहुने अर्को पुस्तक हो । यसमा करिब एक हजार वर्षको लिच्छविकालीन इतिहास छ । ती इतिहासका स्रोतहरू हुन्, जो तत्कालीन राजाहरूले राखेका छन् । करिब दुई सयवटा अभिलेख यसमा छन् । बज्राचार्यकै मध्यकालका अभिलेख र शाहकालका अभिलेख अन्य उत्कृष्ट पुस्तक हुन् । 

 

नेपाल मण्डल : मेरी सेपहर्ड स्लसरको यो पुस्तक अमेरिकामा प्रकाशित भएको हो । काठमाडौं उपत्यकाको इतिहासबारे यसमा चर्चा छ । संस्कृति, कला, वास्तुकला आदि विषयमा लेखिएको यो पुस्तकमा प्राचीनकालदेखिकै चर्चा छ । यसले काठमाडौं उपत्यका कला, वास्तुकला र संस्कृतिका दृष्टिले अति सम्पन्न थियो भन्ने स्पष्ट पारेको छ । 

 

आर्ट अफ नेपाल : पी. पालको आर्ट अफ नेपालमा नेपालका मूर्ति, चित्र आदिका विषयमा विस्तृत रूपमा चर्चा गरिएको छ । यो पुस्तक अमेरिकाबाट सन् १९८५ मा प्रकाशित भएको हो । भारतीय लेखक पी. पाल परम्परागत कलाका विशेषज्ञ हुन् । पी. पालको वैष्णव आइकोनोग्राफी इन नेपाल पुस्तकमा नेपालका वैष्णव कलाकृतिबारे चर्चा गरिएको छ । 

 

नेप्लिज स्टोन स्कलप्चर : स्विस लेखक उल्रिच भोनले ६० वर्षसम्म नेपालका ढुंगाका मूर्तिहरूको अध्ययन गरेर यो पुस्तक निकालेका हुन् । बुद्धिस्ट आइकोनोग्राफी र हिन्दु आइकोनोग्राफी भनेर यसका दुईवटा भोलुम छन् । उनले त्यतिवेला खिचेका कतिपय मूर्तिहरू अहिले हराइसकेका छन् । र, पुरातत्व विभागले उनले खिचेको फोटोका आधारमा मूर्तिहरू पहिचान गरेर कतिपय मूर्तिहरू विदेशका संग्रहालयबाट नेपाल फिर्ता ल्याएको छ । 

 

नेप्लिज आर्किटेक्चर : बज्रयान बौद्ध धर्मसँग सम्बन्धित काठमाडौं उपत्यकाका धेरैजसो मूर्तिहरूको चर्चा यसमा गरिएको छ । हरेक मूर्तिहरूको महत्वबारे लेखिएको छ । बौद्ध कला पढ्नका लागि यो पुस्तकको अध्ययन जरुरी छ । यो पुस्तक भारतीय लेखक एनआर बनर्जीले लेखेका हुन् । वनर्जी मूर्तिविज्ञानका ज्ञाता हुन् । 

 

बुद्धिस्ट मोनास्ट्रिज अफ नेपाल : जोन लकको यो पुस्तकमा काठमाडौंमा रहेका बौद्ध बिहारहरूको चर्चा गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका बौद्ध बिहारहरूको महत्वबारे यसमा लेखिएको छ । नेपालका बौद्ध बिहारहरूबारे अध्ययन गर्नका लागि यो पुस्तक मूल ग्रन्थसरह नै हो । 

 

द नेप्लिज चैत्य : ‘द नेप्लिज चैत्य : फिफ्टिन हन्ड्रेड इयर्स अफ बुद्धिस्ट भोटिभ आर्किटेक्चर इन द काठमाडौं भ्याली’ चैत्यहरूबारे अध्ययन गर्नका लागि मूल ग्रन्थ नै हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित काठमाडौंका चैत्यहरूको इतिहासबारे लेखिएको छ । लेखक एन गुत्सो लामो समयदेखि नेपालको चैत्यहरूको अध्ययनमा सक्रिय छन् । 

 

एन एकाउन्ट अफ द किङडम अफ नेपाल : यो पुस्तक सन् १७९३ मा लेखिएको हो । यसमा नेपालको पौराणिक इतिहास छ । डोनाल्ड कर्क पेट्रिक कूटनीतिक मिसनका क्रममा बेलायतबाट नेपालमा आएका थिए । करिब ११ महिना यहाँ बसेर उनले यो पुस्तक लेखेका हुन् । नेपालबारे लेखिएका अंग्रेजीका भाषाका पुराना पुस्तकमध्ये यो एक हो ।

 

नेपाली मूर्तिकलाको विकासक्रम : सत्यमोहन जोशीको नेपाली मूर्तिकलाको विकासक्रम पनि पढ्नैपर्ने पुस्तक हो । यसमा प्राचिन मूर्तिहरूबारे चर्चा गरिएको छ । नेपालमा मूर्तिकलाको विकास कसरी भयो र कुन–कुन युगमा कस्ता मूर्ति बने भन्ने विषयमा लेखिएको छ । जोशीले आफ्नो लामो अध्ययन र भ्रमणपछि यो पुस्तक तयार गरेका हुन् ।

 

हिस्ट्री अफ इन्डियन एन्ड इन्डोनेसियन आर्ट : एकेकुमार स्वामीको यो पुस्तकमा मूलतः भारतीय र इन्डोनेसियाली कलाको चर्चा छ । तर, यसमा नेपालमा केही महत्वपूर्ण मूर्तिहरूबारे पनि चर्चा गरिएको छ । भारतीय लेखक स्वामी मूर्तिकलाका विशेष हुन् ।

 

गोपालराज वंशावली : यसमा नेपालका गोपाल, आभिर, किराँत, लिच्छवी र मल्ल राजाहरूको वंशावली दिइएको छ । अन्तिमपटक जयस्थिति मल्लका पालामा (६ सय वर्षअघि) संस्कृत र नेवारी मिश्रित भाषामा यो वंशावली तयार भएको थियो । मध्यकालीन नेवारी लिपिमा लेखिएको उक्त पुस्तकलाई धनवज्र बर्जाचार्य र कमलप्रकाश मल्लले सम्पादन गरेर नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरे । 

 

नेपाली संस्कृति विश्वकोश : यो १४ सय ८ पेजको छ । नेपाली संस्कृति बुझ्नका लागि यो पुस्तकको अध्ययन जरुरी छ । यसमा नेपालका ऐतिहासिकस्थल, ऐतिहासिक घटना, ऐतिहासिक व्यक्तित्व, जातजाति, धर्म, मठमन्दिर, समाज आदिबारे विस्तृत चर्चा छ ।


बौद्ध संस्कृति कोश : बौद्ध धर्म र संस्कृतिबारे अधिकांश पुस्तक नेपालभाषा वा अंग्रेजीमा छन् । नेपाली भाषामा पढ्न चाहनेलाई यो पुस्तक महŒवपूर्ण छ । नेपालका बौद्ध बिहार, बौद्ध सम्प्रदाय ( हिमाली बौद्ध धर्म, थेरवाद, महायान, बज्रयान) आदिको चर्चा छ । विभिन्न बोधिसत्वको चर्चा छ । निर्वाणको चर्चा छ । यहाँका विभिन्न विहार, चैत्य, गुम्बा र छोर्तेनहरूको चर्चा छ । बौद्ध देवीदेवताको विशेषता उल्लेख छ ।