• वि.सं २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
पवन बराइली
२०८१ श्रावण २६ शनिबार ०९:३४:००
समाज

संगीतमा कर्णाली कहर

२०८१ श्रावण २६ शनिबार ०९:३४:००
पवन बराइली

 

कर्णालीबारे गीत लेखेका स्रष्टाहरूको दाबी छ – आफ्नो भोगाइ लेखेका हौँ । तर, विश्लेषकहरूको आरोप छ– समृद्ध कर्णालीलाई कमजोर देखाइयो ।

 

समाजमा अझै कर्णालीलाई ‘अभाव’, ‘गरिबी’, ‘दु:ख’, र ‘पछौटेपन’को पर्यावाचीका रूपमा चित्रण गरिन्छ । किनकि, घुमन्तेहरू कर्णाली पुग्छन्, आँगनमा खेलिरहेका बालबालिकाको तस्बिर खिचेर ल्याउँछन् । विश्लेषणहरू, अन्वेषकहरू कर्णाली पुग्छन्, भोकको आयतन नापेर आउँछन् । कर्णालीको चित्रण गर्ने सिलसिलामा पछिल्लो समय थपिएको छ, म्युजिक भिडियोहरू । ‘रेलको बाटो’..., ‘नुनको भारी...’ जस्ता म्युजिक भिडियोहरूले कर्णालीका दु:खलाई फिल्मांकन गरेर युट्युबमा भ्युअर्स बटुलेका छन् । कर्णालीबारे गीत लेखेका स्रष्टाहरूको दाबी छ – आफ्नो भोगाइ लेखेका हौँ । तर, विश्लेषकहरूको आरोप छ– समृद्ध कर्णालीलाई कमजोर देखाइयो । पछिल्लो समय बनेका यस्ता म्युजिक भिडियोमा कर्णालीको वास्तविक चित्र छ त ? कर्णालीबारे कहिलेदेखि र कस्ता–कस्ता गीतहरू बने ? गीत–संगीतको आँखीझ्यालबाट कर्णाली चिहाउँदा कस्तो देखिन्छ ? हेरौँ । 

 

कर्णालीबारे पहिलेका गीत
कर्णालीबारे सम्भवतः संसारका धेरै कुनामा सुनिएको गीत हो, लोकप्रिय गायक अमृत गुरुङले गाएको ‘स कर्णाली’ । यो गीत २०३६ सालमा डोल्पाकै स्थानीय लक्ष्मीकान्त उपाध्यायले लेखेका हुन् । उनले डोल्पाको स्थानीय मेला महोत्सवमा यो गीत गाउँदै हिँड्थे । त्यसताका यो गीत औधी चर्चित थियो । लक्ष्मीकान्त गाउँघर, लेकबेसीमा सेलिब्रिटीका रूपमा परिचित थिए । ती दिन सम्झिँदै उनी भन्छन्, ‘मैले यो गीत गोठ (रोधी) मा गाउँदागाउँदै लेखेको हुँ । त्यसवेला गाउँमा गीत गाउन लाज मान्नुपथ्र्याे । गीत त ‘गाइने’ले मात्रै गाउँछ, अरूले गाउने होइन भन्ने मानसिकता थियो । तर, पनि मैले स कर्णालीको भाका संकलन गरेर टुक्का र शब्द मिलाएर गाउन थालेँ ।’

 

लेकबेसी, मेलापात र जात्राहरूमा गाउँदै हिँड्ने ती गाउँका सेलिब्रिटीको एकदिन खास काम आयो । गाउँमा राजा वीरेन्द्रको जन्मोत्सवको कार्यक्रम हुन्थ्यो । राजाको फोटोमा माल्यपण गरेर जन्मोउत्सव मनाउँने चलन थियो । त्यही सन्दर्भमा कार्यक्रममा बोलाइयो लक्ष्मीकान्तलाई । उनले ‘स कर्णाली’ गाईदिए । भन्छन्, ‘त्यहाँ यो गीत गाएपछि मलाई झनै धेरैले चिने । म मात्रै होइन, यो जिल्ला नै निकै चर्चित भयो । त्यसपछि मलाई परपरबाट गीत गाउन बोलाउन थालियो ।’

 

गाउँका यी सेलिब्रिटीको दिनचर्या चलिरहेकै थियो । एकदिन गायक अमृत गुरुङको अगाडि ‘स कर्णाली’ गाएर सुनाएछन् । गुरुङलाई ‘स कर्णाली’ मन परेछ । त्यो २०५८ सालको कुरा थियो । गुरुङले उनीसँग ‘स कर्नाली’ मागेर आधिकारिक रूपमा रेकर्ड गरे । स्थानीय र नेपथ्यको सहकार्यमा गीतको भिडियो पनि बन्यो । भिडियोमा ‘क्याराभान’ फिल्मका कलाकार थिन्लेले अभिनय गरे । भिडियोमा से–फोक्सुन्डो ताल र डोल्पाआसपासको क्षेत्र देखाइयो । 

 

‘स कर्णाली’ले डोल्पालाई चिनायो, से–फोक्सुन्डो ताललाई चिनायो, कर्णालीका खर्कहरूलाई, कर्णाली नदीका बहावहरूलाई र त्यहाँका महिलाका दैनिकीलाई चिनायो । तर, गीतकार उपाध्यायलाई ? अनि कर्णालीको मौलिक भाकालाई ? यो प्रश्न वेलावेला उब्जिने गरेको छ । कर्णालीकै स्थानीय मानवशास्त्रका अध्येता माधव चौलागाईं भन्छन्, ‘स कर्णालीले कर्णालीलाई चिनायो । तर, कर्णालीको ठेट मौलिक भाकालाई चिनाएन ।’ 

 

कर्णालीबारे जनजनमा गुञ्जिएको अर्को गीत हो, ‘मनको माया हजुरको ... ।’ ५० को दशकमा निकै लोकप्रिय बनेको यो गीत बुद्धवीर लामाले लेखेका हुन् । यो गीतमा शिलाबहादुर मोक्तानको संगीतमा कुन्ती मोक्तानले स्वर दिएकी छिन् । गीतले भन्छ: 

 

मनको माया हजुरको कहिले पाउने हो, 
हुम्ला जुम्ला गाडीमा कहिले जाने हो
डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो...

 

तामाङ सेलोमा गुञ्जिने यो गीतमा ‘हुम्ला जुम्ला गाडीमा कहिले जाने हो..’ फगत थेगोको रूपमा झुन्डिएको देखिन्छ । संगति खासै नमिले पनि यो गीत त्यसताका खुब रुचाइयो । अचेल पनि कर्णालीको विकटता चित्रण गर्नुपर्‍यो भने यो गीत मानिसको दिमागमा नाच्न थाल्छ । म्युजिक नेपालले आफ्नो युट्युब च्यानलमा राखेको यो गीतको म्युजिक भिडियोमा कर्णालीको नामो निसाना छैन । यो गीत सुनेर/हेरेर निष्कर्ष यस्तो पनि निस्कन्छ, हुम्लाजुम्लामा गाडी चढ्ने बाटो छैन रहेछ । त्यहाँका मानिस पछौटेपनमा बाँचिरहेका रहेछन् । 

 

कर्णाली लामो समय उत्पीडनमा परेको साँचो हो । तर, हिजो पृथ्वीनारायण शाहलाई राज्य विस्तार गर्न आत्थु–आत्थु बनाएको ठाउँ पनि हो कर्णाली । त्यसैले कर्णालीको गौरवगाथा गीत–संगीतमा आउन सकेको छैन । गीतहरूले कर्णालीको आत्मसम्मान र समृद्धिको बाटो देखाउन सकेका छैनन् 

 

तर, यो गीतको एउटा रोचक घटना भने छ । गीतकार हर्क साउतका अनुसार यो गीत चर्चित भएपछि त्यसवेला संसद्मा समेत कुरा उठ्यो र कर्णालीमा बाटो बनाउन नेपाली सेनालाई ठेक्का दिइयो । गीतकार साउत कर्णालीमा सडकमार्ग पुग्नुमा गीतको प्रभाव पनि रहेको बताउँछन् ।

 

त्यसपछि पनि कर्णालीबारे कलाकारहरूले गीत गाउन छाडेनन् । त्यसरी गाउनेहरू प्रायः कर्णालीबाहिरकै हुन्थे । कर्णालीका लोकसंगीतका पारखीले सम्भवतः धेरैपछि आफ्नो ठाउँबारे बनेको गीत सुने । बाटो खुलेपछि मिलन लामाको अर्को गीत चर्चित बन्यो । त्यो गीत यस्तो थियो:

 

कर्णालीमा बाटो खुल्दा भुइँमा खुट्टा छैन 
मायालुलाई भेट्न जान कुनै चिन्ता भएन 
झल्को लाली ओठको 
बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको

 

यो गीतमा पनि कर्णालीलाई केवल थेगोको रूपमा प्रयोग गरियो । मध्यपश्मिाञ्चलको लोकभाकामा कर्णालीको थेगो हालेर मिलन लामा र देवी घर्तीमगरले यो लोकदोहोरी गीत  गाए ।

 

कर्णालीका दु:ख गाउने लहरमा पछिल्लो समय थपिए गायक शिशिर योगी । गीतकार सञ्जिवनी विश्वकर्माले लेखेको यो गीतमा बिबी अनुरागीले संगीत भरेका छन् । ०६३ सालमा ‘आकर्षण’ एल्बममा रेकर्ड गरिएको गीतले कर्णालीको कथा बोकेको छ । गायक योगी भन्छन्, ‘गीतमा कर्णालीको भौगोलिक विकटता र त्यहाँको नागरिकको कथाव्यथा भेटिन्छ । यो कर्णालीको मात्रै होइन, आम नेपालीको पीडा हो । गाउँघर छाडेर बिदेसिएको युवाको वियोगान्त व्यथा यस गीतमा छ ।’ गीतले भन्छ:

 

कर्णालीपारि, छैन खेतबारी, रुखो छ टारी ... झम तारा झम झम....
छ बोक्ने धोको, मुठो र डोको, मायाको भारी ... झम तारा झम झम....
जुम्लाको फापर, हुम्लाको कोदो, कुम्लाको पिठो ... झम तारा झम झम....
मनको प्यास मेट्न, तिमीलाई भेट्न, मै आउँला छिटो ... झम तारा झम झम....

 

यो गीतले कर्णालीको जनताको पीडा बोलेको गायक योगी बताउँछन् । यो गीत कर्णालीबाहिरकै गीतकारले लेखेकी छिन् । शिशिर योगीको आफ्नै युट्युब च्यानलबाट प्रसारण भएको गीतको भिडियोमा पनि कर्णालीको नामोनिसाना छैन । 

 

कर्णालीबारे बाहिरका कलाकारले गाएका यी प्रतिनिधि गीत हुन् । यही लहरमा रामचन्द्र काफ्ले, जुनु काफ्ले र सुनिल गिरीजस्ता कलाकार पनि थपिएका छन् ।

 

कर्णालीबारे अहिलेका गीत
सायद कर्णालीले आफ्नो माटोको वास्तविक भाका भन्न आफ्नै रस्तीबस्तीमा हुर्किएका कलाकार पर्खिरहेको थियो । आफ्नै सुस्केरा भन्न आफ्नै माटोमा हुर्किएका कलाकार पर्खिरहेको कर्णालीले पछिल्लो समय भेट्यो, सुरज पण्डित र रतन देवकोटाजस्ता कलाकार । त्यसो त उनीहरूभन्दा अगाडि महाशंकर देवकोटा, विमला शाही, छत्र शाही, पदम रोकायाहरूले कर्णालीको भाका गाइरहेकै थिए । कर्णालीकै कलाकारले आफ्नो ठाउँको कथा कसरी ल्याइरहेका छन् त ? 

 

तीन वर्षअघि जब लेखराज गिरीको शब्द र सुरज पण्डितको स्वर र संगीतमा ‘रेलको बाटो’ मानिसहरूले सुने, कर्णालीको वास्तविक आवाज आएको महसुस गरे । गीतले भन्छ:

 

रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा
हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा

 

...तुइन चढी स्कुल जान्छन् साथीभाइ गाउँमा 
कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा 

 

यो गीत हप्ता नबित्दै युट्युब च्यानलमा लाखौँले हेरे । तीन वर्ष बित्दा आज यो गीत युट्युबमा हेर्नेको संख्या करोड पुगेको छ । त्यसपछि गायक संगीतकार पण्डितले ‘सिंहदरबार’, ‘रातो किताब’जस्ता गीत बाहिर ल्याए । हरेकजसो गीतलाई दर्शकले रुचाए, कर्णालीको वास्तविक दुखाइ आएको प्रतिक्रिया दिए । गायक पण्डित भन्छन्, ‘राज्यले कर्णालीलाई हेला गरिरह्यो । कर्णालीका नागरिक वर्षाैंदेखि अनागरिक बनाइए । नेताले देशमा पानीजहाज र रेल ल्याउने सपना देखाइरहे । तर, कर्णालीका नागरिक अहिले पनि सिटामोल खान नपाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । यो कर्णालीको भोगाइ हो, मेरो आफ्नै पनि भोगाइ हो ।’ 

 

जब कर्णालीकै स्रष्टाले गीत लेखे, गीतबाट मायाप्रेमका प्रसंग कम आए । कर्णालीका दुखाइका कथा बाहिर आउन थाले । पण्डितले लेखेको अर्को गीत यस्तो छ:

 

सुकिलो लुगा लाउनेले गरिबी मेरो देखेन 
रातो किताबको पानामा व्यथा मेरो लेखेन 

 

बाल्यकालीन दिन सम्झिँदै पण्डित भन्छन्, ‘हाम्रो घरमा दिनहुँ भात खान पाइँदैनथ्यो । सात दिनमा एक दिन मात्रै भात खान पाइन्थ्यो, बाँकी दिन रोटी खाएर जीविका चलाउनुपथ्र्यो । यस्तै भोगाइहरूले मलाई गीत–संगीतमा कर्णालीको कथा ल्याउन प्रेरणा दियो ।’ उनी आफ्नो रगतमा कर्णाली मिसिएको बताउँछन् । भन्छन्, ‘पाँच केजी चामलका लागि दिनभरि लाइन बसेको छु । कर्णालीमा अभावको कथा छ, पिर छ, कष्ट छ । हृदयमा बिझाइरहने यस्ता घाउ भुल्न सक्दिनँ । यिनै कहालीलाग्दा संघर्षहरू गीतमार्फत व्यक्त गरेको हुँ ।’ 

 

कर्णालीको कथा संगीतमार्फत ल्याउने सर्जकमध्ये एक हुन्, रतन देवकोटा । उनले कर्णालीको जनजीवनमा आधारित म्युजिकल सर्ट फिल्म ‘हिरूलाल ः द सोल अफ कर्णाली’ निर्माण गरेका छन् । गीतमा सुदूरपश्चिम र कर्णालीको प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ । गीत गायिका डिक्रादेवी बादी र रचना रिमालले गाएका छन् । कर्णालीकै रंगकर्मी गोविन्द सुनारको कथा लेखन तथा क्रियटिभ निर्देशनमा भिडियो बनेको छ ।

 

गीतको शब्द, कथा र दृश्यहरू आफ्नै परिवेश अर्थात् जुम्लाको कथा समेटर गीति कथा बनाएको लेखक देवकोटा बताउँछन् । ‘हिरूलाल’ आफ्नै भोगाइको कथा रहेको उनले सुनाए । भन्छन्, ‘बुबा परदेश जाँदा आमाले वेदना पोख्न मध्यरातमा ठाडी भाका गीत गाउनुहुन्थ्यो । मैले त्यही आमाको भोगाइलाई गीतमा बुनेको हुँ ।’

 

पण्डित र देवकोटा कर्णालीको वास्तविक कथा बाहिर ल्याउने पछिल्लो पुस्ताका प्रतिनिधि स्रष्टा हुन् । उनीहरूले ल्याएका गीतहरूमा के कर्णालीको खास मर्म छ ? के भन्छन्, विश्लेषकहरू ?

 

कर्णालीमा कहर मात्रै !
अहिलेका चल्तीका गीतकार हुन् हर्क साउद । पछिल्लो समय कर्णालीको मानवीय संवेदना र दु:खसँग जोडेर मात्रै गीत आएको उनी बताउँछन् । भन्छन्, ‘कर्णालीबारे बनेका गीत–संगीतमा दु:खलाई देखाएर मानवीय संवेदना बटुल्ने काम भयो । कर्णालीको सुन्दरता गीतमा एकदमै कम लेखियो ।’ कर्णालीका रारा, से–फोक्सुन्डोजस्ता पर्यटकीय स्थलबारे पनि गीतहरू आउनुपर्ने उनको धारणा छ ।

 

कर्णालीकै स्थानीय लेखक चौलागाईं पछिल्लो समय कर्णालीबारे राम्रा गीत आइरहेको बताउँछन् । भन्छन्, ‘अहिले नयाँ पुस्ताका कलाकारहरूले कर्णालीको दु:खबारे सुन्दर गीतहरू ल्याइरहेका छन् । उनीहरू त्यहीँ हुर्किएकाले सुन्दर सिर्जना आयो । उनीहरूले माटोको सुगन्धसहितको गीत ल्याइरहेका छन् ।’ उनी ‘रेलको बाटो’ गीत देउडा र नयाँ संगीतको फ्युजन मान्छन् । ‘रेलको बाटोले राज्यलाई झकझकाउने काम गरेको छ । तर, यो गीत देउडा र आधुनिक संगीतको फ्युजन हो ।’ गाउँले परिवेशमा हुर्किएका कलाकारले गाउने गीतमा मौलिक स्वाद भेटिने र गाउँ पहिल्यै छाडेर सहरमा हुर्केका कलाकारले हाइब्रिड खालको गीत गाउने उनी सुनाउँछन् । कर्णालीको सुन्दर सम्भावनाबारे गीत अझै आउनुपर्ने उनको मत छ । भन्छन्, ‘गीत–संगीतमा कर्णालीको सम्भावनाहरू अझै आउन बाँकी छ ।’

 

हुम्लाकी लेखक कुन्साङ गीत–संगीतमा कर्णालीको पीडा अझै आउनुपर्ने बताउँछिन् । ‘अहिले गाउँमा सडक पुग्नुलाई विकासको मानक मानिएको छ, उनी भन्छिन्, ‘तर बाटो पुग्नुलाई मात्रै विकास भयो भन्न मिल्दैन । गाउँमा सडक पुगेपछि स्थानीयको जीवनमा कस्तो परिवर्तन भयो त्यो महत्वपूर्ण छ ।’ बाटो पुगे पनि कर्णालीको जीवनमा खासै परिवर्तन नभएकाले यस्तै कथाहरू गीतमा अझै आउनुपर्ने उनी बताउँछिन् । 

 

कर्णालीबारे ‘जुर्मुराएको बखत’ पुस्तक लेखेका लेखक तथा विश्लेक सोमत घिमिरे कर्णालीको गौरवगाथा गीत–संगीतमा आउन नसकेको बताउँछन् । ‘गीतहरूले कर्णालीको आत्मसम्मान र समृद्धिको बाटो देखाएन । उल्टो कर्णालीलाई धेरै कमजोर देखाइयो । हिजोको कर्णाली समृद्ध थियो, अनिकाल थिएन । कर्णाली लामो समय उत्पीडनमा परेको साँचो हो,’ उनी भन्छन्, ‘तर हिजो पृथ्वीनारायण शाहलाई राज्य विस्तार गर्न आत्थुआत्थु बनाएको ठाउँ पनि हो कर्णाली । त्यसैले कर्णालीको गौरवगाथा गीत–संगीतमा आउन सकेको छैन ।’

 

तर ‘रेलको बाटो’, ‘नुनको भारी’ गीतका गीतकार गिरी भन्छन्, ‘मान्छेको जीवन दु:ख र सुखको समिश्रण हो । हामीले समाजको राम्रो र नराम्रो दुवै पक्षलाई समेटेर गीत बनाएका हौँ ।’ पण्डितकोे बुझाइमा कर्णाली दु:खको पोको मात्रै होइन । उनी भन्छन्, ‘कर्णालीमा गरिबी मात्रै छैन । कर्णाली समृद्ध पनि छ । कर्णालीको समृद्धिका गीतहरू पनि लिएर आउनेछु ।’