• वि.सं २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
पोर्टर फक्स
२०८१ भदौ १ शनिबार ०८:०१:००
अनुवाद

यसकारण बचाउनुपर्छ महासागरका पिँधका जीव

२०८१ भदौ १ शनिबार ०८:०१:००
पोर्टर फक्स

 

समुद्री पिँधका सबै जलचर सफाचट गरियो भने पृथ्वीको विश्वव्यापी तापमानमा तीव्र वृद्धि हुनेछ र हामी रिकभर हुन सक्नेछैनाैँ

 

हामीमध्ये धेरैका लागि समुद्र ‘नो म्यान्स ल्यान्ड’ हो– एउटा विशाल, अन्तहीन, अमानचित्रित एवं अज्ञात जलस्थल हो । समुद्रको तीनचौथाइ भाग मानिसले कहिल्यै देखेका छैनन् । एकचौथाइ भाग मात्र विस्तृत रूपमा मानचित्रित छ यसको । जसको अर्थ हामीसँग मंगलग्रहको सतहबारे जति समझ छ, आफ्नै ग्रहको समुद्रबारे त्यति पनि समझ छैन भन्ने हो । अन्वेषण र जागरुकतामा कमीका कारण हामी यो सवालमा एकदमै कमजोर स्थितिमा छौँ । विशेषगरी समुद्रको ‘गोधूलि क्षेत्र(ट्विलाइट जोन)’ अर्थात् प्रकाश नछिर्ने गहिराइको चिसो र अँध्यारो तह र त्यसमुनिको पिधँका बारेमा हामी बिल्कुलै बेखबर छौँ । 

 

‘वुड्स होल ओसेनोग्राफिक इन्स्टिच्युसन’का वैज्ञानिकले हालैमा ‘गोधूलि क्षेत्र’को अहिलेसम्मकै व्यापक अध्ययन पूरा गरेका छन्, जसले त्यहाँका लगभग ११ अर्ब टन सूक्ष्म जीवाणु, क्रस्टेसियन (क्रयाब, लबस्टरजस्ता गँगटा प्रजाति), स्क्विड (अक्टोपसजस्ता सेफालोपोड्स), माछा र जिलेटिनस (पारदर्शी जेलीले बनेका जीव)ले मानव गतिविधिद्वारा उत्सर्जित एकतिहाइ कार्बनडाइअक्साइड अवशोषण गर्न र हामीलाई र हाम्रो ग्रहलाई विनाशकारी जलवायु परिवर्तनबाट बचाउन मद्दत गरिरहेका छन् भन्ने कुरा स्थापित गर्न सहयोग गर्छ ।

 

हामी समुद्रको गोधूलि क्षेत्रका जीवहरूको यस असाधारण सेवाबारे केही थाहा पाउन थाल्दै छौँ । यसैबीच औद्योगिक माछा फार्मका लागि चारा उत्पादन गर्ने कम्पनी र मल तथा ओमेगा–३ सप्लिमेन्ट्सका उत्पादकचाहिँ समुद्रको त्यस क्षेत्रमा दोहनको तयारी गर्दै छन् । अहिले विभिन्न देशले माछाको चारा र जैविक मलमा उपयोग गर्न त्यो क्षेत्रका जीवको व्यावसायिक रूपमा दोहनका लागि इजाजत दिनेबारे विचार गरिरहेका छन् । यस्तो निर्णयले पृथ्वीलाई कसरी असर पार्छ भनेर बुझ्न पनि यस्ता योजनालाई केही समय थाती राख्नु बुद्धिमानी हुनेछ ।

 

गोधूलि क्षेत्रमा जीवनको ‘मास माइग्रेसन (आमअप्रवासन)’ को पहिलो प्रमाणको साक्षात्कार, जुन समुद्रको ६५० फिटदेखि ३३ सय फिटबीचको गहिरो भागबाट हुने गर्छ, दोस्रो विश्वयुद्धको समयमा गरिएको थियो ।

 

अमेरिकी जलसेनाको समुद्री बेडा ‘युएसएस जेस्पर’को सोनार उपकरण (पानीको सतहमुनिबाट आउने संवेदनशील तथा सूक्ष्म ध्वनि रेकर्ड गर्ने उपकरण) अपरेटरहरूले समुद्रको तल्लो तहमा निवास गर्ने जलचर सतहतर्फ आउँदै र पुनः फर्कंदै गरेको ध्वनिलाई अभिलिखत गरेका थिए । त्यस सिग्नेचर ध्वनिको थप अध्ययनपश्चात् उनीहरूले समुद्रको गहिराइ जीवन्त रहेको र पृथ्वीले गर्ने परिक्रमणको लयका साथ यो तह पनि तल–माथि सर्ने कुरालाई महसुस गरे । त्यसबखत, उनीहरू पृथ्वीमा जीवहरूको विशालतम अप्रवासन साक्षात्कार गरिररहेका थिए । समुद्रको गहिराइ अर्थात् ‘गोधूलि क्षेत्र’का खरबौं जीव (कोपेपोड्स, बायोलुमिनेसेन्ट लालटिनफिस र बास्किङग सार्क (ह्वेलपछिको ठूलो सार्कमाछा)) रातको समयमा आहारको खोजीमा पौडिँदै समुद्रको सतहतर्फ आउँछन् र झिसमिसेमा लुक्न समुद्रको गहनतलतिर जान्छन् ।

 

समुद्रको सतहको लेउ(अल्गी) गोधूलि क्षेत्रको जैविक आधारशिला हो । अल्गीले जलवायु परिवर्तनको मुख्य योगदानकर्ता कार्बन डाइअक्साइडलाई फोटोसिन्थेसिस गरी जैविक कार्बन र अक्सिजनमा टुक्र्याइदिन्छ । यो प्रक्रियाले त्यस क्षेत्रका सूक्ष्मजीवका लागि चाहिने आधाभन्दा धेरै अक्सिजन र प्रशस्त कार्बनयुक्त भोजनको जोहो गरिदिन्छ । जुप्लानटन (झिँगेलगायत साना माछा) र क्रिल (गंगटा प्रजातिका साना जलचर)हरूको आहार नै लेउ हो अनि तीचाहिँ ठूला जलचरका आहार हुन् । सार्क र ह्वेलजस्ता ठूला सिकारीले समुद्रको सञ्चित कार्बन खान्छन्, त्यसलाई पचाउँछन् र मलका रूपमा निष्कासन गर्छन्, जसको धेरैजसो हिस्सा समुद्रको पिँधमा थिग्रिन जान्छ र सयाैँ, हजारौँ वर्ष लगभग जस्ताको तस्तै रहन्छ । ‘हामी यो थिग्राइलाई सामुद्रिक हिँउ(हिमपात) भन्छौँ,’ वैज्ञानिक हेइडी सोसिक (वुड्स होल ओसन ट्विलाइट जोन अध्ययनका नेतृत्वकर्ता) ले भने ।

 

समुद्रको पिँधसम्म कार्बन थिग्रँदै पुग्ने अरू तरिका पनि छन् । अल्गी, मृत प्लाक्टन (समुद्रको सतहमा पाइने साना माछा एवं सूक्ष्म जीव) लगायत पनि थिग्रँदै पिँधमा पुग्न सक्छन् । वैज्ञानिकहरू समुद्रको यस ‘महान् प्रणाली’लाई ‘जैविक कार्बन पम्प’ भन्छन्, जसलाई समुद्रको तापक्रम, प्रवाह र जलवायु परिवर्तनले प्रभावित गर्न सक्छ । रिपोर्टको अर्काे निष्कर्ष के छ भने यदि तपाईंले यस क्षेत्रका जीवहरूको दोहन गर्नुभयो वा यस पम्पलाई बन्द गरिदिनुभयो भने तपाईंले पृथ्वीको सतहमा कार्बन डाइअक्साइडको वृद्धि साक्षात्कार गर्नुपर्नेछ । कार्बन डाइअक्साइडको मात्रा दोब्बर हुन सक्छ । पृथ्वीको विश्वव्यापी तापमान ६ देखि ११ डिग्री फरेनहाइटले बढ्नेछ, जुन एक प्रलयको परिदृश्य हुनेछ, जसमा पृथ्वीको अधिकांश भाग मानिसका लागि बस्नयोग्य हुनेछैन र समुद्रमा जीवन समाप्त भएर जानेछ ।

 

विश्वको एकतिहाइ माछा–भण्डार पहिले नै अत्यधिक दोहनमा परिसकेको र माछाको जनसंख्या घट्दो क्रममा रहेको परिप्रेक्ष्यमा माछा मार्ने जहाजलाई त्यस आकर्षक क्षेत्रबाट फर्काउन गाह्रो हुन सक्छ । स्वादका दृष्टिले गोधूलि क्षेत्रका अधिकांश माछा मानिसका लागि अरुचिकर हुन सक्छन्, तर तिनीको उच्च पोषणयुक्त शरीरले तिनीलाई मत्स्य–चाराको राम्रो विकल्प बनाउँछ । मत्स्यपालन विश्वव्यापी रूपमा सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको खाद्य क्षेत्र हो, जसले मानव खपतको आधा हिस्सा ओगटेको छ । हाल मत्स्य आहारको स्रोत निख्रिँदै गएकाले दुई खर्ब ४० अर्ब डलरको यस उद्योगले प्रोटिनयुक्त गोधूलि क्षेत्रमा आँखा लगाइरहेको छ ।

 

अहिले देशहरू यो क्षेत्रका स्रोत र सम्भाव्यता मूल्यांकन गर्दै छन् । नर्वेले २०१६ मै समुद्रको यो भागको माछा मार्ने पहिलो परीक्षण अनुमति जारी गरिसकेको छ भने युरोपियन युनियनका वैज्ञानिकहरू ‘कार्बन पम्प’ वा खाद्य जालोलाई बिघ्न नपारी यहाँका जलचरहरू समात्न, तिनलाई प्रशोधन गर्न र बेच्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरिररहेका छन् । निजी क्षेत्रले पानीको सतहमुनि आधा माइलसम्म काम गर्न सक्ने नयाँ जाल र ट्राउलिंग रिगहरू तयार गरेर यो क्षेत्रमा माछा समात्न रहेका बाधा अवरोध छिचोल्न द्रुत गतिमा काम गरिरहेको छ । नर्वेको एउटा फर्मले त गोधूलि क्षेत्रका जलचरहरूलाई पिसेर तरल बनाउन आफ्नो जहाजमा प्रशोधन प्लान्ट नै निर्माण गरिसकेको छ ।

 

जब माछा मार्ने व्यावसायिक कार्यहरू गोधूलि क्षेत्रमा पुग्छन्, उनीहरू मत्स्य व्यवसायका अधिनियमहरूको अधीनमा हुनेछैनन्, किनकि यो क्षेत्रको धेरैजसो हिस्सा तथाकथित ‘हाई सी’ भाग हो, जुन कुनै एकल राष्ट्रको क्षेत्राधिकारभन्दा बाहिर छ । यी क्षेत्रमा समुद्री जैविक विविधता संरक्षणका लागि संयुक्त राष्ट्र संघको एउटा नयाँ सम्झौतामा सन् २०२३ को जुनमा हस्ताक्षर भएको छ, तर संयुक्त राज्य अमेरिकालगायत अधिकांश सदस्य राष्ट्रले यसलाई अनुमोदन गर्न बाँकी नै छ । सायद केही वर्ष अनुमोदन हुने पनि छैन । अहिलेलाई संयुक्त राष्ट्र संघ अथवा क्षेत्रीय मत्स्य व्यवस्थापन संगठनले नियमन गर्ने गरी यो क्षेत्रमा माछा मार्ने कार्यमा अस्थायी रोक लगाइनुपर्छ । 

 

कसैले ११ अर्ब टन समुद्री जीव मारेर सिद्धिन सक्दैनन् भन्ने सोच्न पनि सक्छ । तर, यस्तो सोच्नु मानव जातिको चातुर्य र मुनाफाखोर प्रवृत्तिलाई कम आँकेको हुन्छ । यो कुरा बिर्सिनुहुँदैन कि ‘ह्वेलर(ह्वेलमाछा मार्ने)’हरूले गत सय वर्षमा लगभग ३० लाख ह्वेल मारेका छन्, जसमा ९० प्रतिशत ब्लु ह्वेल समावेश छन् । 

 

स्रोत–साधन अभावका बाबजुद सामुद्रिक वैज्ञानिकले समुद्रको गहिराइका रहस्यमध्ये केहीको पर्दाफास गरेका छन् । उनीहरूले जानेका कुरा हामीले सुन्नु राम्रो हुन्छ– गोधूलि क्षेत्रका सबै जलचर सफाचट गरियो भने हामीले पृथ्वीको विश्वव्यापी तापमानमा तीव्र वृद्धि साक्षात्कार गर्न सक्छौँ, जसबाट हामी रिकभर हुन सक्नेछैनौँ । 

 

(फक्स जलवायु परिवर्तन, महासागर र चरम–मौसमी परिघटनाबारे रिपोर्टिङ गर्छन् । द न्युयोर्क टाइम्सबाट नारायण शिवाकोटीले गरेको अनुवाद ।)