प्रकाशको करिअर स्थापित हुन बाँकी थियो, परिपक्व नहुँदै उनी अस्ताए
प्रकाश सानै छँदा बाढीले घर बगायो । माझीको जालमा परेर उनी बाँचे, तर बाबुआमाको निधन भयो । हजुरआमाले नै उनलाई हुर्काएकी थिइन् । काठमाडौं आइसकेपछि एसियन स्टारमा भाग लिएर प्रकाश तिमल्सिना चर्चामा आएका थिए ।
प्रकाशसँग मेरो भेट ०६६ सालमा भयो । यतिवेला मैले ‘आरती ६६’ नामको कलेक्सन एल्बम गर्दै थिएँ । शिवरात्रिको दिन ‘तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ...’ गीतको रेकर्ड चलिरहेको थियो । एउटा स्थायी गाइसकेको पनि थिएँ । स्टुडियोभित्र छिरेर एकजना भाइले भन्यो, ‘दाइ एकजना दृष्टिविहीन गायक अवसर दिनुपर्यो भनेर आउनुभएको छ । अति नै प्रतिभावान् हुनुहुन्छ ।’
मैले भित्र पठाउन भनेँ । उनी एकदमै फुर्तिला थिए । एउटा आगोको ज्वालाजस्तै । एकदमै हँसिलो मानिस । उनीसँग एउटा अलग जोस थियो । ५–७ वटा गीतहरू गाएर सुनाए ।
आधुनिक, पप, इंलिस सबै गीत गाउन सक्ने क्षमता उनीमा थियो । उनले पहिले पनि गीत रेकर्ड गराइसकेका रहेछन् । तर, ती गीत चलेका थिएनन् ।
यो भाइको मनमा एउटा तृष्णा र आगो छ । केही गर्न सके राम्रो हुन्छ भनेर मैले गाउँदै गरेको गीत उनलाई गाउन दिएँ ।
त्यो गीत ‘प्रिय तिम्रो सिउँदोमा...’ निकै चल्यो । यसको म्युजिक भिडियो पनि हिट भएको थियो । ०६७ सालमा मेरो शब्द–संगीत रहेको ‘तिम्रै हातको सिन्दुर लाउँछु, तिम्रै हातको टीका ...’ गीतमा उनको आवाज पनि धेरै चल्यो ।
प्रकाशले देश–विदेशको कन्सर्ट पनि धेरै पाए । वेला–वेला भन्थे, ‘मेरो जीवन बन्यो, धेरै भाग्यमानी रहेछु,’ त्यो सुनेर म धेरै खुसी भएँ ।
एकपटक हङकङमा कन्सर्ट गर्दा प्रकाशलाई एकजना फ्यानले एक लाख रुपैयाँ टिप्स स्टेजमै दिएछन् । ‘तिम्रै हातको सिन्दुर...’गीतमा एउटा लाइन छ : ‘हेर दिन सधैँ एकैनाशको हुँदैन, पोल्छ कुनै दिन तिमीलाई मेरो छायाले ...’ त्यो सुन्दा भावुक भएर फ्यानले एक लाख दिएका रहेछन् । बेलुकी जमघट हुँदा फ्यानले शब्द लेख्ने मानिस हो भनेर सोधेछन् । प्रकाशले उनीसँग मलाई फोनमा कुराकानी गराइदिएका थिए ।
ती फ्यानले तपाईंको सिर्जनाले मन छोयो भन्दै मलाई पनि क्यामेरा पठाइदिए । प्रकाशले नै त्यो क्यामेरा मलाई ल्याइदिएका थिए ।
उनको प्रगति देखेर मलाई पनि खुसी लागेको थियो । केही समयपछि ‘मान्छे रैछ खली...’ बोलको गीत पनि मेरै शब्द–संगीत र प्रकाशको स्वरमा निस्कियो । हामीले सहकार्य गरेका ६ वटा गीत रिलिज भए । उसको स्वरमा रेकर्ड भएका तीनवटा गीत अझै रिलिज हुन बाँकी छ ।
प्रकाश भक्तपुरस्थित मेरो घरमै आउँथे । म पनि तीनकुनेस्थित उनको कोठामा वेलावेलामा जान्थेँ । उनी बिबिसी–सिएनएन सुनिरहेका हुन्थे । अध्ययन धेरै गर्थे । डाक्टरले उनको आँखाको ज्योति फर्काउन सकिन्छ भनेका रहेछन् । उनले उपचारका लागि रकम जम्मा गर्न पनि थालेका थिए ।
फुर्तिलो, हँसिलो र विवेकशील प्रकाश माछा–मासु खाँदैनथे । उनले गीत गाउनका लागि धेरै अभ्यास नै गर्नुपर्दैन थियो । प्रकृतिले नै त्यस्तो अद्भूत क्षमता दिएको थियो । एक–दुईचोटी सुनेपछि शब्द र अन्तरा कण्ठै हुने, सीधै मन छुने गरी गाउन सक्थे । मलाई उनको क्षमता देखेर अचम्मै लाग्थ्यो ।
बिहेपछि प्रकाश अझै व्यवस्थित भएका थिए । भैंसेपाटी सरेपछि हाम्रो भेट पातलियो, तर फोनमा कुराकानी भइरहेकै थियो । गीत–संगीतमा एउटै मानिस सधैँ चल्दैन । नयाँ– नयाँ प्रतिभाहरूको डिमान्ड बढिरहेको हुन्छ । ०७८ सालतिर प्रकाश केही समस्यामा थियो । त्यतिवेला उनले फोन गरेर मेरै शब्द र संगीतमा नयाँ गीत गाउने इच्छा व्यक्त गरे । नयाँ गीतको अफर आउन छाडेको बताउँथे । तपाईंको गीतमा मलाई लक लाग्छ भन्थे ।
मैले उनका लागि छानेर केही गीत पनि राखेको थिएँ । पहिल्यै रेकर्ड भएका तीनवटा गीत रिलिज भइरहेका थिएनन् । तर, क्यासेटको जमानामा रिलिज भएका ती गीत ०७८ सालमा ट्रेन्डिङमा आउला जस्तो लागेन । त्यतिवेला त डान्सिङ गीतहरू चलिरहेका थिए । त्यसैले मैले नयाँ गीत रचना गर्ने तयारी थालेँ । केही फरक गरौँ र प्रकाशको कमब्याकलाई पनि राम्रो बनाऔँ भन्ने थियो ।
फोनमा प्रकाश फुर्तिलो कुरा गर्थे । मैले उनको कमब्याक राम्रो होस् भन्ने चाहेको थिएँ । तीन महिनाअघि उनले फोन गरेर भने, ‘दाइ मलाई कोठाभाडा तिर्न पनि गाह्रो हुन थाल्यो । भात खान पनि समस्या होला जस्तो लाग्यो ।’ त्यो सुनेर मेरो मन दुख्यो । आफ्नो सिर्जनाले स्थापित भएको मानिस समस्यामा पर्दा दुःख लाग्नु स्वाभाविक थियो । मैले उनको आवाजलाई सुहाउने केही गीत तयार गरेर राखिसकेको थिएँ । उनलाई गीत रेकर्डिङ गर्नका लागि बोलाउने अवस्थामै थिएँ ।
प्रकाशको निधन हुनुभन्दा दुई दिनअघिदेखि म उनकै गीत गुन्गुनाइरहेको थिएँ । उनको स्वरलाई यस्तो शैली सुहाउँछ भनेर सोचिरहेकै थिएँ । एक्कासि फेसबुकमा ‘हार्दिक श्रद्धाञ्जली...’ लेखेको देखियो । पत्याउन गाह्रो भयो ।
केही घन्टा मेरो दिमागले कामै गरेन । म उनलाई रेकर्डिङका लागि बोलाउने तयारीमा थिएँ । यता, उनको निधन भइसकेछ ।
प्रकाश प्रत्येक शब्दलाई बुझेर गाउन सक्ने गायक थिए । फिलिंग्समा गाउन सक्ने खुबी थियो । प्रकाशले गिनिज बुकमा रेडर्क राख्न २२ भाषामा गीत गाउने तयारी गरिरहेका थिए । चाइनिज, कोरियन, जापानिजलगायत भाषा सिक्दै, गीत सुन्दै, त्यो गीतलाई ट्रान्सलेट गरेर तयारी गर्दै थिए ।
मेरो संगीत रहेको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ...’ उनको सर्वाधिक हिट गीत हो । यही गीतले उनलाई स्थापित गरायो । उनको निधन अनपेक्षित छ ।
प्रकाशको करियर स्थापित हुन बाँकी थियो । परिपक्व गायक हुँदै थिए प्रकाश । आफ्नो स्टारडम फेरि फर्काउने कोसिसमा थिए । तर, उनको सपना पूरा भएन । राष्ट्रले निकै राम्रो प्रतिभा गुमायो ।